विकासन्युज

प्रधानमन्त्री प्रचण्डले बोलाए सचिवहरुको बैंठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न मन्त्रालयका सचिवहरुको बैठक बोलाएका छन् । उनले बिहान ११ बजे सिंहदरबारमा मन्त्रालयका सचिवहरुको बैठक बोलाएका हुन् । मन्त्रालयकोे अबस्थाबारे जानकारी लिदै प्रभावकारी ढंगले काम गर्न निर्देशन दिन सबै मन्त्रालयका सचिवको बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सन नेपाल लाइफको अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न, ५ शाखाका अभिकर्तालाई तालिम

काठमाडौं । सन नेपाल लाइफले विभिन्न जिल्लामा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले गत १३ गतेदेखि शनिबारसम्म बित्र्तामोड, इलाम, बिराटनगर, इटहरी र धरान शाखा कार्यालयहरुमा अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । जनमानसमा बिमाको महत्व, बिमा दावि भुक्तानी लगाएतका महत्वपूर्ण प्रशिक्षण कम्पनिका महाप्रबन्धक कमलराज गौतमद्धारा प्रदान गरीएको थियो । कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो । देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन समेत गर्न गइरहेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : अर्थतन्त्र चलायमान हुने विश्वास

पोखरा । पोखरामा आइतबारदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सही उपयोग भएमा यसले पोखरासँगै समग्र राष्ट्रको अर्थतन्त्र चलायमान गराउने विश्वास व्यक्त गरिएको छ । झण्डै पाँच दशकको निरन्तरको प्रयाससगै विमानस्थलबाट जहाज उड्ने र अवतरण हुन थालेसँगै आगामी दिनमा यो पोखराको समृद्धि र विकासका लागि कोसेढुङ्गा बन्नुपर्ने सरोकारवालाले बताएका छन् । विमानस्थल सञ्चालनका विभिन्न पूर्वाधारको अभावकै बीच विमानस्थल सञ्चालनमा आएपनि यसले पोखरेलीलाई कति उत्साहित बनाएको थियो भन्ने कुरालाई आइतबार उर्लेको पोखरेलीको जनसागरले प्रष्ट सङ्केत गर्दथ्यो । हजारौँ पोखरेलीको सहभागितामा भव्यताका साथ उद्घाटन भएको विमानस्थल सञ्चालनमा आएसँगै यसले आगामी दिनमा यसले गण्डकी प्रदेशसँगै समग्र राष्ट्रको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने विषय गम्भीरताका साथ उठेको छ । हालसम्मको अवस्थाले गण्डकी प्रदेश उद्योग व्यवसायका क्षेत्रमा पछि नै रहेको छ । नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्य पोखरामा हालसम्म आन्तरिक उडानका लागि सानो क्षमताको घरेलु विमानस्थल रहीआएकोमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलसँगै त्यसले अन्य सम्भावनालाई उजागर गरेको लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेय बताउँछन् । हाल पोखराबाट लगभग आधा घण्टाको दूरीमा मात्र उडान भइरहेका अवस्थामा अब भने यहाँबाट सिधैँ छ घण्टासम्मको दूरीमा यात्रा गर्न सकिने भएको छ । उद्घाटन समारोहमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले यो विमानस्थलबाट पाँच/छ घण्टाको दूरीको यात्रा गर्न सकिने भनिरहँदा पोखरेलीले लगातार ताली वर्षाएर खुसी व्यक्त गरेका थिए । यो सँगै पोखराबाट विभिन्न छिमेकी राष्ट्रमा उडान गर्न सकिने बाटो खुलेको छ । यसका लागि हवाई मार्ग तय गर्ने सम्बन्धमा राज्यले कूटनीतिक छलफल तत्काल बढाउनु अपहिार्य देखिएको छ । विमानस्थलसँग जोडिएको मुख्य पूर्वाधार सडकलाई तत्काल व्यवस्थित गर्नु अपरिहार्य देखिएको अध्यक्ष आत्रेयको भनाइ छ । ‘विमानस्थल सुरु भएसँगै आइतबार पोखराबाट लेखनाथसम्म आइपुग्न झण्डै तीन/चार घण्टा लागेको छ’, उनले भने, ‘विमानस्थलसम्म सहजरुपमा आवतजावत गर्नका लागि ट्राफिक व्यवस्थापनलाई तत्काल गम्भीरताका साथ लिनुपर्ने भएको छ ।’ विमानस्थल सञ्चालनमा आएसँगै पर्यटकलाई बस्ने किसिमका पूर्वाधारको विस्तार गर्नु आवश्यक रहेको उनले बताए । विमानस्थललाई सहीरुपमा उपयोगको वातावरण निर्माणतर्फ राज्यले ध्यान दिनुपर्ने बताउँदै उनले यसले पोखरासँगै समग्र राष्ट्रको अर्थतन्त्रमा विशिष्ट योगदान पुग्ने उल्लेख गरे । ‘आगामी दिनमा पोखरासहित समग्र गण्डकी प्रदेशमा उत्पादनलाई पनि जोड दिनु आवश्यक छ’, उनले भने, ‘यहाँका उत्पादनलाई बाहिर पठाउने अवस्था भयो भने त्यसले प्रत्येक स्थानीयको आम्दानी बढाउने र समग्र अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छ ।’ पोखरामा विद्यमान पर्यटकीय पूर्वाधारलाई पनि व्यवस्थितरुपमा उपयोग गर्नुपर्ने सरोकारवाला बताउँछन् । पोखरामा प्रत्येक दिन ४० हजारसम्म पर्यटक राख्न सक्ने क्षमता रहेको पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । तथ्याङ्कअनुसार काठमाडौं आएका विदेशी पर्यटकमध्ये ४० देखि ४५ प्रतिशत पर्यटक पोखरा आउने गर्दछन् । नेपाल आएकामध्ये करिब ६० प्रतिशत विदेशी पर्यटक मनोरञ्जनका लागि आउने गरेको र ४० देखि ४५ प्रतिशत पोखरा पुग्ने गरेका छन् । पोखरा देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा रहेको अवस्थामा सञ्चालनमा आएको पोखरा अन्तराष्ट्रिय विमानस्थलले यहाँको पर्यटनमा ठूलो योगदान पु¥याउने नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेशका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले बताए । पर्यटन क्षेत्र उद्योग, व्यवसाय, यातायातलगायतका धेरै क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित रहेको उल्लेख गर्दै उनले यसबाट धेरै क्षेत्र लाभान्वित हुने बताए । ‘पर्यटकको आगमन बढेसँगै स्वभाविकरुपमा खानेकुराको खपत हुन्छ, त्यसले उत्पादित खाद्यान्नले बजार पाउँछ’, उनले भने, ‘खाद्यान्नसँगै त्यससँग जोडिएका खाद्य उद्योग सञ्चालनमा आउने र अर्थतन्त्रलाई चलायमान बनाउने हुन्छ ।’ हिमाली, पहाडी र तराई क्षेत्रमा समेटिएको गण्डकीमा विभिन्न किसिमका उत्पादन हुने गर्दछ । हिमाली क्षेत्रमा उत्पादन हुने स्याउलगायतका फलफूलसँगै जिम्बु आदि जडीबुटीलाई निर्यात गर्न सकिन्छ भने पहाडी क्षेत्रमा फल्ने कोदो, मकै, फापर आदिलाई बजारमा पुर्याउन सकिन्छ । तराईको नवलपुर क्षेत्रमा उत्पादन हुने धान, गहुँ आदिको उत्पादन बढाउँदै आयआर्जन बढाउन सकिने सरोकारवालाको बताउँछन् ।

पहिलोपटक खुल्यो क्यासलेस मेडिकल सेन्टर : सुरूमा उपचार, त्यसपछि भुक्तानी

काठमाडौं। नेपालमै पहिलो पटक सुरूमा उपचार सेवा लिएपछि मात्रै भुक्तानी गर्न मिल्ने गरि क्यासलेस मेडिकल सेन्टर सञ्चालनमा आएको छ। जसबाट सुरूमै रकम बोकेर जानुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ। सुरूको उपचार सेवालाई विशेष ध्यान दिँदै पहिले सेवा र त्यसपछि मात्र भुक्तानी भन्ने अवधारणा ल्याइएको सञ्चालक डा. विशाल ढकालले बताए। यस किसिमको सेवा नेपालमै र संभवत दक्षिण एशियामै पहिलोपटक हो। यस मेडिकल सेन्टरमा सुरूमा उपचार सेवा लिएपछि मात्र अन्तिममा बिल प्राप्त हुनेछ। जुन रकमको भुक्तानी कुनैपनि माध्यमबाट सोही महिनाको अन्तिममा तथा किस्ताबन्दीमा भुक्तानी गर्न सकिने कार्यविधि बनाइएको छ। मेडप्रो इन्टरनेशनल प्रालीको सञ्चालनमा मेडप्रो इन्टरनेशनल मेडिकल सेन्टर राजधानीको धुम्बाराहीमा सञ्चालनमा आएको हो। जहाँ सुरूमा उपचार गरेर मात्र भुक्तानीको प्रक्रिया सुरू हुनेछ। मेडिकल सेन्टरको सुविधा लिन सुरूमा सदस्य बन्नुपर्नेछ। यस सेन्टरबाट सदस्य बनेपछि मात्र सेवा लिन सकिने भएकाले सुरूमा दर्ता हुनुपर्नेछ। यस सेन्टरमा क्रेडिट बेशमा सेवा लिन पाइनेछ। जहाँ डाक्टरहरूको अपोइन्टमेन्ट लिएर मात्र  उपचार गर्न सकिनेछ। यो पोलिक्लिनकल स्तरको मेडिकल सेन्टर रहेको छ। जसमा एक्स्रे, अल्ट्रासाउण्ड, ल्याब्रोटरी सेवा, विशेषज्ञ डाक्टरहरूको परामर्श सेवा जस्ता सुविधाहरू रहेका छन्। एकैस्थानबाट सबै किसिमका उपचार हुनेछन्। जसले घरमै पुगेर समेत उपचार सेवा गर्ने छ। अंग्रेजी नयाँ वर्ष २०२३ को उपलक्ष्यमा यस मेडिकल सेन्टरलाई सञ्चालनमा ल्याइएको हो। कम्पनीबाट सुरूमा रोग निदान गरेर सोही अनुसारको सेवा प्रदान हुनेछ। यसमा सुगर,प्रेसर, मुटुरोग लगायतका दिर्घरोगीका साथै सबै किसिमका रोगहरूको उपचार सेवा प्रदान हुनेछ। यसमा सेन्टरले विभिन्न किसिमका उपचार प्याकेज बनाएको छ। जसअन्तरगत २४ घण्टा औषधी, ल्याव तथा चिकित्सक परामर्श सेवाको सुविधा हुनेछ।

ऐतिहासिक ‘कोटघर’ पुग्न कलात्मक पदमार्ग तयार

गलकोट । गलकोट नगरपालिका –३ मा रहेको ऐतिहासिक ‘कोटघर’ लाई पर्यटकीय गन्तव्य बनाउन कलात्मक पदमार्ग निर्माण गरिएको छ । गलकोट नगरपालिकाको हटिया बजारबाट कोटघरको पहुँचमार्गदेखि कोटघरसम्म कलात्मक पदमार्ग तयार गरिएको हो । स्थानीय ढुङ्गाको प्रयोग गरेर कलात्मक पदमार्ग तयार गरिएको कोट पूजा व्यवस्थापन समितिका सचिव गुञ्जबहादुर खत्रीले बताए । गण्डकी प्रदेशको पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको दश लाख अनुदान र नगरपालिकाको सहयोगमा पदमार्ग निर्माण गरिएको हो । झण्डै १३ लाख खर्चेर पूरा गरिएको पदमार्गमा स्थानीयले तीन लाख बढीको श्रमदान गरेका थिए । एक सय ४४ सिँढी रहेको पदमार्ग निर्माणका लागि ढाँडको पाखो सामुदायिक वनमा रहेको स्थानीय कालो ढुङ्गाको प्रयोग गरिएको खत्रीले जानकारी दिए । ‘पदमार्ग र कोटघर वरपरका संरचनासमेत मल्लकालीन कलाशैली प्रयोग गरेर तयार गरेका हौँ’, उनले भने, ‘बागलुङमा कालिगड नपाएपछि म्याग्दी र गोरखाबाट ल्याएर ढुङ्गा तयार गरिएको थियो ।’ कालो रङको कटान गर्न सजिलो भएकाले उपभोक्ताले उक्त ढुङ्गा प्रयोगमा ल्याएका हुन् । पदमार्गमा ढुङ्गाको जडान बिन्दुमा मात्रै बालुवा सिमेन्टको प्रयोग गरिएको छ भने बाँकी सबै संरचना स्थानीय ढुङ्गाको प्रयोगबाट तयार भएका छन् । चार वर्षअघि नगरपालिकाले ‘गौरवको आयोजना’ को रुपमा निर्माण थालेको कोटघर पुग्ने पदमार्ग र तारवार तथा पर्खाल निर्माणको काम कोरोना महामारीका कराण रोकिएर अलपत्र परेको थियो । ५० लाखको लागतमा निर्माण थालिएको काम कोरोना महामारीका कारणबीचमै रोकिएर १२ लाख फिर्ता भएपछि पदमार्ग अलपत्र थियो । प्रयोग भएको रु ३८ लाखमध्येबाट कोट पूजा व्यवस्थापन समितिले नेपालकै सबैभन्दा ठूलो दाबी गरिएको ६० किलोको खुकुरी खरिद गरेर कोटघरमा राखेको छ । वडा कार्यालय र नगरपालिकाको पहलमा प्रदेश सरकारले अपुग रकम विनियोजन गरेपछि पदमार्गले पूर्णता पाएको उपभोक्ता समितिका सचिव सन्तबहादुर खत्रीले बताए । कोटघरको वरपर पर्खाल तयार गरिएको छ भने सोही बजेटबाट तारजाली लगाएर सुरक्षित गरिएको खत्रिले बताए । ‘मल्लकालीन इतिहास बोकेको कोटघरमा पर्यटक भित्र्याउने हाम्रो लक्ष्य हो, दसैँ र चैतेदसैँमा लाग्ने मेलामा सर्वसाधारणको भीड लाग्ने गरेको भए पनि पदमार्ग नहुँदा जोखिम थियो’, उनले भने, ‘पौराणिक महत्व झल्किने गरी कोटघरलाई तयार गर्दा पर्यटक आउँछन् र यहाँको विकास हुन्छ ।’

५१ दशमलव २९ प्रतिशतले ‘रिकभर’ भयो पर्यटन आगमन

काठमाडौं । कोरोना महामारी सुरु हुनुभन्दा अघिको तुलनामा नेपाल भित्रिने पर्यटकको सङ्ख्या ५१ दशमलव २९ प्रतिशतले ‘रिकभर’ भएको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार एक वर्षमा ६ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटक भित्रिएका छन् । जुन सन् २०२१ को तुलनामा तीन सय नौ दशमलव ७५ प्रतिशतले बढी हो भने सन् २०२० को तुलनामा एक सय ६६ दशमलव ९२ प्रतिशतले बढी हो । सन् २०२० को सुरुवातमै विश्वव्यापी कोरोना महामारीको सङ्क्रमणका कारण दुई वर्ष उल्लेख्य रुपमा घटेको पर्यटनको सङ्ख्या सन् २०२२ मा भने बढेको हो । सरकारले सन् २०१९ को तुलनामा ७५ प्रतिशतले पर्यटकको सङ्ख्या ‘रिकभर’ गर्ने लक्ष्य लिए पनि ५१ दशमलव २९ प्रतिशत ‘रिकभर’ भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले सरकारले सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने र सन् २०३३ सम्ममा वार्षिक ३५ लाख पर्यटक ल्याउने लक्ष्य लिएको बताए । ‘भारत र चीन दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक भएको नेपालमा हाम्रो लक्ष्य ठूलो होइन,’ उनले भने, ‘पर्यटक बढाउनका लागि आवश्यक पूर्वाधारको निर्माण तथा प्रचारप्रसारमा विशेष ध्यान दिन जरुरी छ ।’ सरकारले सन् २०२३र३३ को अवधिलाई नेपाल भ्रमण दशकका रुपमा मनाउने गरी कार्यक्रम अघि बढाएको छ ।

मुआब्जा विवादका कारण रेल्वे स्टेसन निर्माण अलपत्र

जनकपुर । पूर्वपश्चिम रेलमार्गअन्तर्गत जनकपुर–बर्दिबास–जयनगर खण्डको महोत्तरी बर्दिबासमा बन्न लागेको रेल्वे स्टेसनको निर्माण मुआब्जा विवादका कारण अलपत्र परेको छ । बर्दिबास–जनकपुर–जयनगर रेल्वे विस्तार तथा स्तरोन्नति आयोजनाका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा रेल्वे कम्पनीले नदिएको भन्दै अहिले बर्दिबासका बासिन्दा रेल्वे स्टेसन निर्माणमा अवरोध गर्दै आन्दोलनमा उत्रेका छन् । स्थानीय र रेल्वे कम्पनीबीच भएको सम्झौताका आधारमा मुआब्जा पाउनुपर्ने स्थानीयको माग छ । पुरानो खोल्सी कुलोदेखि पश्चिमको जग्गाको मूल्यांकन प्रतिकट्ठा १५ लाखको दर भए पनि भुक्तानी प्रतिकट्ठा १० लाखको दरले मात्र दिएको भन्दै स्थानीय आन्दोलित बनेका हुन् । सादा (खाली) कागजमा सही गराई सम्झौताभन्दा थोरै रकम दिएपछि मुआब्जा विवाद उत्पन्न भएको स्थानीय जग्गाधनी शंकर फुँयालले बताए । स्थानीय किसान निरज अधिकारीका अनुसार २०२२ सालको सर्वे नापीअनुसार खोल्सी निर्धारण गरी सोभन्दा पश्चिमको जग्गाको मुआब्जा १५ लाख प्रतिकट्ठाको दरले दिने सम्झौता भएको थियो । रेल्वे स्टेसनसमेतको निर्माणस्थलमा परेको जग्गा प्राप्तिको गर्ने प्रयोजनका लागि मुआब्जा पाउनुपर्ने जग्गाधनीहरूले मुआब्जा निर्धारण समितिले उल्लेख गरेको खोल्सी पैनी र बर्दिवास नगरपालिकाले उल्लेख गरेको खौल्सी पैनी भन्ने स्थान फरक परेको बताएका छन् । बर्दिवास नगरपालिकाले निर्धाण गरेको खोल्सी पैनी स्थानलाई आधार मानी बढी मूल्यमा मुआब्जा पाउनुपर्ने माग गरेको उनीहरूको माग छ । त्यसैगरी स्थानीय किसान भरतप्रसाद अधिकारी, पुरुषोत्तम मल्ल, विनोद दाहाल, गौरी हमाल, दुर्गा मल्ललगायत दर्जन बढी किसानहरूका अनुसार बर्दीवासमा रेल्वे स्टेसन तथा बन्दरगाह निर्माण गर्न रेल्वे कम्पनीले स्थानीय जग्गाधनीसँग प्रतिकट्ठा आठ लाखदेखि ८१ लाखसम्मको मूल्यांकन राखी ५४ बिघा जग्गा अधिग्रहण गरेको थियो । जसमा रेल्वे कम्पनीले एक अर्ब छ करोड मुआब्जा वितरण गर्नुपर्छ । अधिग्रहण गरिएका जग्गाका धनीहरूले मालमोतमा सहीछाप गरिसकेको र जग्गा रेल्वे कम्पनीका नाममा कित्ताकाटसमेत भइसकेको छ । जग्गाधनीहरूले सम्झौताअनुसारको मुआब्जा पाइएला भनेर खुरुखुरु औँठा छाप लगाए पनि अहिले बैंकबाट पैसा झिक्न जाँदा प्रतिकट्ठा १५ लाख हुनुपर्नेमा १० लाखमात्र आएको बताएका छन् । यस सन्दर्भमा रेल्वे विभागका प्राविधिक प्रमुख विनोद ओझाले बर्दीवासमा अधिग्रहण गरिएका ५४ बिघामध्ये पाँच/सात बिघा जग्गाको मात्र मुआब्जा विवाद रहेको बताए । उनले बाँकी जग्गाधनीहरूले सम्झौताअनुसार नै मुआब्जा पाएको दाबी गरे । जनकपुर–जयनगर रेल सेवा विस्तार तथा स्तरोन्नति योजनाका क्रममा भंगाहादेखि बर्दिवाससम्मको १७ किलोमिटर रेल लिक विस्तार तथा रेल्वे स्टेसन निर्माणका लागि नेपाल रेल्वे कम्पनीले एक सय १४ बिघा सर्वसाधारणको जग्गा अधिग्रहण गरेको छ । रासस

जीप व्यवसायीको मनपरी, १५ किलोमिटरकै ५५० रूपैयाँ भाडा

बझाङ । खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीका होटल सञ्चालक राजेन्द्र खत्रीलाई नजिकको तमैल बजार जान गाडी भाडाकै चिन्ता लाग्छ । कालुखेतीबाट नजिकको बजार तमैल नै हो । कालुखेतीबाट पैदल हिँड्दा साढे दुई घण्टा लाग्ने तमैलमा जीप जाँदा आधा घण्टा समय लाग्छ । त्यो दूरीमा जीप व्यवसायीले भने तीन सय ५० असुल गर्दै आएका छन् । ‘सानोतिनो सामान ल्याउन तमैल बजार पुग्नैपर्छ’, उनले भने, ‘तमैल पुग्न बाटोमै झण्डै रु हजार सकिन्छ । हामीजस्तो सानो व्यवसायीलाई छोटो बाटोमै बढी खर्च भए पनि केको व्यवसाय गर्नु ?’ खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाका कुलप्रसाद जोशी पनि सदरमुकामबाट घर जान भाडाकै चिन्ता लाग्ने बताउन्छन्। ‘घरतिर हरेक हप्ता जानुपर्छ । बाटोमै धेरै खर्च हुन्छ । जीप सञ्चालकले मनोमानी तरिकाले गाडी भाडा लिन्छन् । प्रतिवाद कसैले गर्दैैनन् ।’ उनका अनुसार छान्नामा जीप सञ्चालक कम यात्रु भए नजाने तर क्षमताभन्दा बढी भए पनि थपिहाल्छन् । ‘कति दिन तमैल बजारमै थुप्रो जीप भएर पनि हिँडेर गइयो’, उनले भने, ‘जीप नभरिञ्जेल कुनै ठाउँबाट पनि हिँड्दैनन् तर जीप भरिए जुन ठाउँबाट चढे पनि रु सयभन्दा तल लिँदैनन् ।’ खप्तडछान्नामा अघिल्लो सरकारको पालामा एक पटक मूल्य निर्धारण गरिएको थियो । ‘प्रतिकिलोमिटर रु १२ तोकेर तमैल–कालुखेती–गडराय–थामलेकको भाडा निर्धारण गरिएको थिय’, खप्तडछान्ना–५ का राजेश कार्कीले भने, ‘त्यो बेलामा कालुखेतीबाट एक सय २० मै तमैल पुग्थ्यौँ । पछि सडक बिग्रेको, डिजेलको मूल्य बढेको भन्दै व्यापारीले मूल्य बढाइरहे । पालिकाले कुनै सुनुवाइ गरेन ।’ उनका अनुसार भाडाको विषयलाई लिएर पटकपटक कुरा उठ्दा पनि पालिकाले चासो दिएको छैन । ‘कालुखेतीबाट गडरायसम्म करिब पाँच किलोमिटर दूरी छ । त्यसमा पनि व्यवसायीले रु दुई सय असुल्दै आएका छन् ।’ उनले भने । गडरायका ध्रुव रोकाया दसैँ बिदामा घर आएको बेला सम्झिँदै भन्छन्, ‘घर आएको बेला गाडी चालकसँग झगडा नै भयो । रुट प्रमिट पाएका सडकमा पनि तेब्बर भाडा लिएको भन्दै झगडा भयो । पछि ठूलो लफडा हुनसक्ने भन्दै बोलेनौँ ।’ उनी पनि पालिकाले भाडा यकिन गरी बढी पैसा असुल्ने जीप व्यवसायीलाई कारबाही गर्नुपर्ने बताउन्छन् । उनले भने, ‘जीप व्यवसायीलाई जसले जति भाडा लिए पनि हुन्छ भन्ने भएको छ । १० मिनेटको बाटोमा गाडी चढे पनि सयभन्दा बढी असुल्छन् ।’ यता जीप व्यवसायी हेमराज थापा जीप भाडा अलि बढी नै भएको स्वीकार्नु हुन्छ । उनले भने, ‘जीपको भाडा अलि बढी नै हो तर सडकको अवस्थाअनुसार त्यो भाडा केही पनि होइनजस्तो लाग्छ ।’ सरकारले सडक अलि गतिलो बनाइदिएको भए भाडा निकै सस्तो हुने उनले भने। ‘गाडी भाडाको विषयमा हामी जीप व्यवसायी आफैँले सल्लाह गरेर एक मूल्य तोकेका हौँ । गाडी छान्नामा दुई/तीन ठाउँमै खोलामा हाल्नुपर्छ । खोलामा हाल्दा हप्तामै रु आठ/दश हजारका टायर फेर्नुपर्छ । त्यो हेर्न हो भने व्यवसायीलाई पनि निकै मर्का छ ।’ उनले भने । थापाका अनुसार सरकारले सडक बलियो बनाइदिए जीप भाडा अन्य ठाउँको जस्तै हुन्थ्यो । ‘सबैले हामीलाई मात्रै दोष दिन्छन् । यहाँ हिउँदकै महिनामा पहिरो आएर सडक अवरुद्ध हुँदासमेत व्यवसायीले पहिरो पन्छाएर यात्रुको सुविधाका लागि जीप गुडाउनुपर्छ ।’ उनले भने अब नयाँ भाडा निर्धारण हुन्छ : पालिका खप्तडछान्ना गाउँपालिकाका प्रवक्ता रमानन्द जोशी भने गाउँपालिकाले प्रतिकिलोमिटर रु २० लिने निर्णय गरेर प्रशासनलाई पठाएको बताउन्छन् । ‘हामीले पालिकामा निर्णय गरेर नयाँ मूल्यदर प्रशासनलाई पठाएका छौँ । उताबाट पत्र आएको छैन । त्यसपछि जीप भाडामा एकरूपता हुन्छ ।’ उनले भने । प्रवक्ता जोशीका अनुसार छान्नामा धेरै ठाउँमा पहिरो आउँदा सडक अवरुद्ध हुने गरेको छ । ‘गत वर्षको बाढीले सडक पूरै तहसनहस गरेको हुँदा बाटो निकै अवरुद्ध हुने भएपछि जीप भाडा निर्धारण गर्न सकिएको थिएन । अब तुरुन्तै नयाँ भाडादर लागू हुन्छ ।’ सडकलाई दिगोरूपमा टिकाउन तथा बाह्र्रै महिना सञ्चालन गर्नका लागि पनि पालिकाले सबै निकायसँग छलफल गरिरहेको उनले बताए। अहिले छान्नामा मात्रै डेढ दर्जन जीप सञ्चालनमा छन् । गाडी भाडा बढी भएकै कारण व्यवसायीले जीप थप्दै गरेको स्थानीयको बुझाइ छ ।