काठमाडौं । भारत सरकारले उडान अनुमति नदिदा पोखरा–बनारसको उडान रोकिएको छ । पोखरा विमानस्थलको औपचारिक उद्घाटनको दिन निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले पोखराबाट भारतको बनारस उडानको तयारी थालेको थियो ।
पहिलो उडान अन्तर्राष्ट्रिय गर्ने तयारी स्वरुप बुद्धले आन्तरिक तयारी सबै पूरा गरेको थियो । तर अन्तिम समयमा भारत सरकारबाट अनुमति नपाउँदा उडान रोकिएको बुद्धले जनाएको छ ।
भारतले अनुमति नदिएपछि पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका दिन आन्तरिक उडान मात्रै हुने भएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक विक्रम गौतमका अनुसार विभिन्न वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडानका लागि चासो दिएको बताए । अन्तर्राष्ट्रिय उडानका लागि केही समय लाग्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घण्टासम्म सञ्चालनको लक्ष्य राखिएको उनले बताए।
निर्देशक गौतमले भने, ‘कति ‘विजेनश’ प्राप्त हुन्छ त्यसका आधारमा विमानस्थल सञ्चालन गर्ने हो, हामी सन् २०२३ फेब्रअरीदेखि दैनिक १८ घण्टासम्म सञ्चालन गर्न सकिन्छ भन्नेमा छौँ ।’