विकासन्युज

नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक हो : उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताएका छन् । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेल पर्यटन विकास परिषद्ले शनिबार राति आयोजना गरेको ‘ठमेल सडक महोत्सव’को उद्घाटन गर्दै उनले संस्कृति र प्रकृतिको धनी नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताएका हुन् । बहुभाषी, बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक, रीतिरिवाज भएको नेपालले संस्कृति र प्रकृतिबाट पर्यटकलाई आकर्षित गरिरहेको उनको भनाइ छ । उपराष्ट्रपति पुनले कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा १६० अर्ब क्षति पुगेको बताए । कोरोना महामारीबाट थला परेको नेपालको पर्यटन उद्योगमा पछिल्लो समय केही सुधारको सङ्केत देखिएको उनको भनाइ थियो । उनले नयाँ सरकारले पर्यटन क्षेत्रको विकासका लागि ठोस योजना अगाडि सार्नुपर्ने बताए । नेपालको पर्यटन क्षेत्रको विकासमा व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले नेपालको पर्यटन क्षेत्रको राजधानी ठमेल भएकाले ठमेलको विकासका लागि सरकारले विशेष योजना अगाडि सार्नुपर्ने बताए । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य गङ्गा कार्की, नेकपा (एमाले)का केन्द्रीय सदस्य भीम केसीले नेपालको आर्थिक विकासको मुख्य आधार जलविद्युत्, कृषि र पर्यटन भएकाले पर्यटन क्षेत्रको विकासका लागि नयाँ सरकारले काम गर्ने विश्वास व्यक्त गरे । सरकारका मुख्यसचिव शङ्करदास बैरागीले नेपाललाई विश्वमाझ चिनाउनका लागि पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । उनले नेपालको पर्यटन प्रवद्र्धनका लागि सरकारले पर्यटन दशक मनाउन लागेको बताए । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले काठमाडौँको पर्यटन क्षेत्रको विकासका लागि महानगरपालिकाले अक्षयकोष स्थापना गरेर काम गर्दै आइरहेको बताए । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले मुलुकले सोचेजस्तो पर्यटक भित्र्याउन नसकेको भन्दै धेरैभन्दा धेरै पर्यटक भित्र्याउनका लागि सरकारले विशेष योजना अगाडि सार्नुपर्ने बताए । काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेललाई पर्यटनको विशेष क्षेत्रका रूपमा अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गरे । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले १० हजार व्यवसायी र ६० हजारले प्रत्यक्ष तथा अप्रत्ययरूपमा रोजगार पाएको ठमेलको विकासका लागि सरकारले विशेष योजना अगाडि बढाउनुपर्ने बताए ।

सन् २०२३ ले बिथोलिएको राजनीतिलाई अगाडि बढाउँछ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् । ईस्वी संवत् २०२३ को उपलक्ष्यमा जारी शुभकामना सन्देशमा उनँले नयाँ वर्षको आगमनसँगै मुलुक राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासमा अघि बढेको बताए । ‘एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्शालाई पूरा गर्न चाहन्छ,’ उनले भने । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एमालेले लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सबै आवश्यकता र अधिकार परिपूर्तिको जीवन मूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रूपमा व्यवहारमा अनुदित गर्न चाहेको बताए । ‘हामी जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त गरिबीरहित, सुशासित, आधुनिक, समृद्ध र सुविधासम्पन्न बनाउन आफूले लिएको अग्रसरतालाई अझ असाधारण र द्रूतगतिमा अघि बढाउन चाहन्छौँ,’ उनको सन्देशमा भनिएको छ । समृद्ध नेपाल, सुखी नेपालीको यस राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सुस्थिर राजनीति अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि आ–आफ्ना ठाउँबाट योगदान गर्न सबै राजनीतिक दल र पक्षहरूसँग आग्रह गरे । व्यक्ति र समूहका निजी दुराकाङ्क्षहरूले सिर्जना गर्न सक्ने अवरोधलाई पन्छाउँदै मुलुक निर्माणको प्राथमिकतामा केन्द्रित हुन सबैलाई उनले आग्रह गरेका हुन् । समृद्ध नेपाल र सुखी नेपालीको साझा राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने यस बाटोमा सबै पेसा, क्षेत्र, वर्ग र समुदायको साथ रहने छ भन्ने अपेक्षा उनको रहेको छ ।

‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमणले बङ्गुर मर्न थाले

काठमाडौं । देशका विभिन्न स्थानमा बङ्गुरमा देखापरेको ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमणका कारण म्याग्दीमा समेत बङ्गुर मर्न थालेका छन् । सदरमुकाम बेनी तथा ग्रामीण क्षेत्रमा पालिएको बङ्गुरमा सङ्क्रमण देखिएपछि हालसम्म तीन सयभन्दा बढी बङ्गुर मरेको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दीले जनाएको छ । व्यावसायिकरूपमै फार्ममा पालिएका बङ्गुर मर्न थालेपछि विज्ञ केन्द्रको टोलीले गरेको अनुगमन तथा केही फार्मबाट लिइएको नमूनामा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको विज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले जानकारी दिए । पहिलोपटक पोखराबाट ल्याइएको उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको बङ्गुर फार्ममा गरिएको बङ्गुरमा पशुपक्षी अन्वेषण परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभरको पुष्टि भएको थियो । यहाँका ४० भन्दा बढी बङ्गुर मरेपछि केन्द्र र गाउँपालिकाको पशु सेवा शाखासहितको टोलीले अनुगमन गरेको थियो । बङ्गुर फार्मबाट लैजाने मासु पसलसहित जोखिमपूर्ण मानिएका स्थानमा उच्च निगरानी राखिएको छ । केन्द्रका प्रमुख आचार्यले अफ्रिकन स्वाइन फिभरले मान्छेमा कुनै असर भने नगर्ने बताउनुभयो । बङ्गुर प्रजातिमा मात्र देखिने यो रोगको कुनै उपचार नरहेको पशु चिकित्सकले बताएका छन् । यो रोगको पूर्ण उपचार नभए पनि छ–छ महिनामा बङ्गुरलाई खोप लगाएर न्यूनीकरण गर्न सकिने केन्द्रका प्रमुख आचार्यको भनाइ छ । बेनी नगरपालिका–७ मङ्गलाघाटमा साढे दुई सय बङ्गुर मरेको अवस्थामा भेटिएको बेनी नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ । अहिले रोकथाम र नियन्त्रणका विधि प्रयोगमा केन्द्रित भएको पशु प्राविधिक प्रदीप गौतमले बताउनुभयो । यो फार्मबाट अन्यत्र पनि सङ्क्रमण फैलिएको हुनसक्छ भनेर केही ठाउँमा परीक्षण गरिएको उनले जानकारी दिए । पशु सेवा शाखाका अनुसार रनबहादुर बुढाथोकीको ४२, श्यामकुमार गोतामेको ४०, बिना गोतामेको पाँच, टकबहादुर बुढाथोकीको ६५, टीका रोकाको २६ र पूर्वराज घर्तीको सातवटा बङ्गुर मरेको विवरण सङ्कलन भएको छ । समयमै नियन्त्रणमा सतर्कता नअपनाए यो रोगबाट म्याग्दीमा करोडौँको क्षति हुने व्यवसायीको भनाइ छ । जिल्लाभित्र बङ्गुरपालन गर्ने क्षेत्रमा रोगको नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बङ्गुरपालक कृषकको भनाइ छ । पछिल्लो समय अधिकांश क्षेत्रमा सङ्क्रमण देखिएकाले रोगको शङ्का लागेका पशुलाई बथानबाट अलग्गै राखी समयमै जानकारी दिन र मरेको जनावरलाई खाडलमा पुर्ने, होटल तथा रेस्टुरेन्टबाट निस्केको मासु वा मासुजन्य खाद्य पदार्थबाट टाढा राख्नुपर्ने भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले अनुरोध गरेको छ ।

प्रधानमन्त्री पोखरा जाँदै, सबै विद्यालय बन्द हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ आज पोखरा जाने भएका छन् । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उनी पोखरा जान लागेका हुन् । प्रधानमन्त्री बिहान ११ बजे पोखरा आइपुग्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि जाने छन् । प्रमुख गौतमका अनुसार प्रधानमन्त्री प्रचण्डले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको शुभारम्भ गर्नेछन् । विमानस्थल सञ्चालनमा आउने पहिलो दिन आज काठमाडौँबाट यात्रुसहित उडेको पहिलो विमान साढे ७ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले जानकारी दिए । पहिलो विमानबाट आएका यात्रुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिने उनले बताए । विमानस्थल शुभारम्भकै अवसरमा बिहान १० बजे पोखरा महानगरपालिकाद्वारा अमरसिंहचोकबाट विमानस्थलसम्म र्याली आयोजना गरिएको छ । र्यालीका सहभागी अमरसिंहचोकबाट विमानस्थलसम्म पुगेर ११ बजे हुने उद्घाटन समारोमा सहभागी बन्नेछन् । उद्घाटन समारोहमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । उद्घाटनपश्चात दिउँसो २ बजेदेखि ४ बजेसम्म विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ भने ४ बजेदेखि साढे ५ बजेसम्म ‘फेसन शो’ को कार्यक्रम तय गरिएको छ । साँझ ६ बजे कार्यक्रमको समापन हुने महासचिव सिग्देलले जानकारी दिए । विमानस्थल शुभारम्भकै अवसरमा पोखराको हल्लनचोकमा साँझ ६ बजे भैरव नाच प्रदर्शन गर्ने तयारी गरिएको छ । उद्घाटन भव्य बनाउन पोखरा महानगरपालिकाले महानगरअन्तर्गतका महाशाखा, ३३ वडा कार्यालय, मातहतका सबै विद्यालय तथा शैक्षिक संस्था बन्द हुने जनाएको छ ।

दैनिक १५ हजार अण्डा उत्पादन, अण्डा लिन व्यापारी फार्ममै

काठमाडौं । ९ वर्षअघिदेखि तनहुँका अमृत थापा र गुरुप्रसाद पौडेलले ‘लेयस’ जातको कुखुराको पोल्टी फार्म सञ्चालन गर्दै आएका छन् । जिल्लाको म्याग्दे गाउँपालिका–६ को धयरेमा त्रिदेव पोल्टी फार्म सञ्चालन गरेका उनको फार्ममा हाल १९ हजार कुखुरा छन् । दिनमा १५ हजार अण्डा उत्पादन हुने भएकाले खरिदका लागि बाहिरबाट व्यापारी आउने हुँदा बिक्री गर्न भौतारिन पर्ने समस्या भएको सञ्चालक थापाले बताए । उनका अनुसार हालसम्म फार्ममा ६ करोड रुपैयाँ बढी लगानी भएको छ । ‘फर्ममा ९ जनाको परिवारले रोजगारी पाएका छन्, व्यवसाय सञ्चालन गर्दा मासिक ३५ लाख रुपैयाँ खर्च हुने गरेको छ, १९ हजार कुखुरालाई दैनिक करिब १ लाख २० हजार रुपैयाँ खर्च हुन्छ, आम्दानी जति सबै लगानीमा खर्चेर व्यवसाय वृद्धि गर्दै आएका छौँ,’ उनले भने । करिब ५३ रोपनी क्षेत्रफलमा ६ वटा कुखुरा फार्म निर्माण गरेर व्यवसाय सञ्चालन गर्दै आएको उनले बताए । फार्मसम्म जाने बाटो राम्रो नहुँदा ढुवानीमा ठूलो खर्च हुने गरेको छ । म्याग्दे गाउँपालिकाका अध्यक्षलगायतको अनुगमन टोली पुग्दा व्यवसायका लागि बाटो सबैभन्दा समस्या रहेको जानकारी गराएको सञ्चालक थापाले बताए । ‘चितवन र पोखराबाट कुखुराका लागि दाना खरिद हुन्छ, तर यहाँसम्म ल्याउनका लागि ट्र्याक्टरको प्रयोग गर्नुपर्ने समस्याले गर्दा खर्च बढेको छ, अण्डा निर्यात पोखरा, काठमाडौँ र चितवनमा गर्दै आएका छौँ, स्थानीय बजारले हाम्रो अण्डाको उत्पादनलाई थेग्न सक्दैनन्,’ उनले भने, ‘चितवनको अबिनास हाइलाइन नेपालबाट चल्ला ल्याउँदै आएका छौँ, चल्ला हुर्काउन अत्यन्त जोखिम छ, निश्चित तापक्रम दिनुपर्दछ, यसका लागि खट्नुपर्छ, अथक मेहेनत र परिश्रम भए पनि यस व्यवसायबाट खुसी छौँ ।’ फार्ममा भएको कुल कुखुरामध्ये ८० प्रतिशतले अण्डा दिने गरेको छ । लामो समयदेखि आवद्ध भएको हुनाले फार्ममा नियमित कर्मले आफूलाई सन्तुष्टि मिलेको अर्का सञ्चालक गुरुप्रसाद पौडेलले बताए । व्यवसाय गरेपछि आम्दानी त स्वतः हुन्छ नै त्यो भन्दा बढी मलाई आत्मसन्तुष्टि मिलेको सञ्चालक थापाले बताए ।

माया खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने समय आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर २३ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज पुस १७ गते अन्तिम दिन हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३४ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १० लाख कित्ता सेयर अति प्रभावित क्षेत्र संखुवासभाको चैनपुर नगरपालिका ८ र ९ धर्मदेवी नगरपालिकाका ३, ४ र ५, मादी नगरपालिका ४ र ६ का वासिन्दाहरुका लागि ६ लाख कित्ता र प्रभावित क्षेत्र चैनपुर, धर्मदेवी र मादी नगरपालिका माथिका वडा बाहेक स्थानीयका लागि ४ लाख कित्ता छुट्याइएको छ । यस्तै, १० प्रतिशत अर्थात् २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले न्यूनतम १० कित्ता र आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतम १ लाख कित्ता र वैदेशिक रोजगारमा रहेका नपालीहरुले अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकका तोकिएका शाखा कार्यालय, प्रभु क्यापिटल र माया खोला हाइड्रोपावरको कार्यालयबाट आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारमा रहेको नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका अवसरमा पोखरा महानगरमा आइतबार बिदा

पोखरा । पोखरामा नवनिर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका अवसरमा आइतबार पोखरा महानगरपालिकामा बिदा दिइएको छ । महानगरले आज एक सूचना जारी गरी महानगरपालिका कार्यालय महाशाखा, शाखा ३३ वटै वडा कार्यालय तथा मातहतका सबै विद्यालय तथा शैक्षिक सङ्घ संस्था बन्द हुने जनाएको छ । विमानस्थल उद्घाटन समारोहलाई भव्य बनाउन र व्यापक जनसहभागिता गराउन बिदा दिइएको महानगर प्रमुख धनराज आचार्यले बताए। उनले भने, ‘पाँच दशक लामो प्रतिक्षापछि विमानस्थल निर्माण सम्पन्न भएर उद्घाटन हुनु पोखराका लागि उत्सव हो । पोखरेलीको साथ र सहयोगबाट निर्माण भएको विमानस्थलको उद्घाटन समारोहलाई भव्य बनाउन बिदा दिएका हौँ । महानगरले निजी क्षेत्रलाई बिदा दिएर उत्सवमा सहभागी हुन आग्रह गर्दै साँझ घरघरमा दीपावली गर्नका लागि महानगरवासीमा अनुरोध गरेको छ । विमानस्थल समुद्घाटन अघि महानगरले बिहान अमरसिंहचौरबाट विभिन्न जातजातिको झाँकी, मौलिक वेषभूषासहितको ¥यालीको आयोजना गरिने जनाएको छ । पोखरा विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भव्य समारोहका बीच उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

नेपालको सार्वजनिक ऋण २० खर्ब नाघ्यो, विश्व बैंक सबैभन्दा ठूलो ऋणदाता

काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्म कूल सार्वजनिक ऋण २० खर्ब सात अर्ब ८४ करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार गत असार मसान्तको तुलनामा असोज मसान्तसम्ममा सार्वजनिक ऋण शून्य दशमलव २७ प्रतिशतले घटेको हो । गत असार मसान्तसम्ममा नेपालको कूल सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड बराबर थियो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पहिलो त्रैमासिक अवधिसम्ममा नेपालको कूल बाह्य ऋण १० खर्ब ५० अर्ब २३ करोड छ भने आन्तरिक ऋण नौ खर्ब ५७ अर्ब ६१ करोड बराबर छ । यो आँकडा गत असार मसान्तसम्मको ऋणको अवस्थासँग तुलना गर्दा बाह्य ऋण २४ अर्ब ३८ करोडले बढेको र आन्तरिक ऋण २९ अर्ब ८३ करोडले घटेको हो । चालू आवको पहिलो तीन महिनामा सरकारले कूल २४ अर्ब ७० करोड बराबर बाह्य ऋण उठाएको छ । यही अवधिमा आन्तरिक ऋण उठाएको छैन । पहिलो त्रैमासमा पाँच अर्ब ८४ करोड बराबर बाह्य ऋण तिरेको छ । विदेशी मुद्रामा लिएको ऋण विनियमदरमा भएको वृद्धिका कारण थप पाँच अर्ब ५२ करोड तिर्नुपर्ने पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । यही अवधिमा आन्तरिक ऋणको साँवा र ब्याजका रुपमा २९ अर्ब ८३ करोड भुक्तानी गरिएको छ । अहिले नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड बराबर छ । जिडिपी आकारसँग नेपालको सार्वजनिक ऋणको अवस्था तुलना गर्दा ४१ दशमलव ३८ प्रतिशत पुगेको छ । जसमध्ये बाह्य ऋण २१ दशमलव ६४ प्रतिशत र बाह्य ऋण १९ दशमलव ७३ प्रतिशत बराबर हो । आन्तरिक ऋण व्यवस्थापन बढी सकसपूर्ण अहिले नेपालका लागि बाह्य ऋणको तुलनामा आन्तरिक ऋण भुक्तानी बढी सकसपूर्ण रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका सूचना अधिकारी हिरा न्यौपाने बताउँछन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमबाट सिर्जित समस्याका कारण ब्याजदर बढ्नु र भुक्तानी गर्नुपर्ने साँवा तथा ब्याजको भार बढेका कारण समस्या रहेको उनको भनाइ छ । नेपालले विभिन्न ऋणपत्र, बचतपत्र तथा ट्रेजरी बिल सार्वजनिक गरेको आन्तरिक ऋण उठाउने गरेको छ । ‘ब्याजदर बढेका कारण आन्तरिक ऋणको व्यवस्थापनमा चाप बढेको छ । ऋणपत्र र ट्रेजरी बिलहरू महँगो ब्याजदरमा ल्याउनुपरेको छ । बाह्य ऋण सहुलियत ब्याजदरको र लामो समयका लागि लिइने भएका कारण त्यस्तो ऋण व्यवस्थापनमा समस्या छैन’, उनले भने। नेपालले विदेशी दातृ निकायबाट व्यावसायिक ऋण प्रयोग गरेको छैन । सहुलियतपूर्ण कर्जा मात्रै नेपालले लिने गरेको छ । अधिकांश बाह्य ऋण करिब एक प्रतिशत ब्याजदरमै लिइएको न्यौपाने बताउँछन् । तर नेपालले लिएको विदेशी ऋण विदेशी मुद्रामा तिर्नुपर्ने भएकाले विनियय दरमा आउने उतारचढाव भने त्यसमा रहन्छ । ‘बाह्य ऋणको चुनौती भनेको विनिमय दरको उतारचढाव हो । न्यून रकम हुने भएकाले त्यसको व्यवस्थापनका लागि हामीलाई धेरै समस्या छैन । बढी समस्या देखिएको आन्तरिक ऋणको व्यवस्थापनमा हो’, न्यौपानेले भने । पछिल्लो केही समययता ब्याजदर लगातार बढेपछि सरकारी ऋणपत्र र ट्रेजरी बिलहरू पनि उच्च ब्याजदरमा जारी गर्नुपर्ने अवस्था छ । ब्याजदरकै कारण ट्रेजरी बिल ‘अन्डर सस्क्राइब’ हुने अर्थात् सरकारले उठाउन खोजेको जति प्रस्ताव नपर्ने जस्ता समस्याहरू पनि देखिने गरेको उनी बताउँछन् । कुन देश र दातृ निकायलाई कति ऋण तिर्न बाँकी ? नेपालको सबैभन्दा ठूलो ऋणदाता विश्व बैंक समूहअन्तर्गत ‘इन्टरनेसनल डेभलपमेन्ट’ एसोसिएसन (आइडिए) हो । आइडिएसँग नेपालले पाँच खर्ब २६ अर्ब एक करोड १८ लाख बराबर ऋण लिएको छ । त्यस्तै, एसियाली विकास बैंक (एडिबी) नेपालको दोस्रो ठूलो ऋणदाता हो । एडिबीलाई नेपालले तीन खर्ब २३ अर्ब ६४ करोड ९० लाख ऋण तिर्न बाँकी रहेको छ । नेपालले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग ४८ अर्ब ४१ करोड ३४ लाख र अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) सँग ४३ अर्ब ८९ करोड ५३ लाख बराबर ऋण लिएको छ । एक्जिम बैंक लाइन अफ क्रेडिट–इन्डियासँग ३७ अर्ब ५६ करोड ६३ लाख, एक्जिम बैंक अफ चाइनासँग ३३ अर्ब ५१ करोड २८ लाख, इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी) सँग १० अर्ब २५ करोड ४४ लाख र ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट (ओएफआइडी) आठ अर्ब ३८ करोड ३३ लाख बराबर ऋण नेपालले लिएको छ । युरोपियन इन्भेस्टमेन्ट बैंक (इआइबी) को पाँच अर्ब ६१ करोड ५५ लाख, एक्जिम बैंक कोरियासँग पाँच अर्ब ६२ करोड ८५ लाख, साउदी कोषको रु तीन अर्ब तीन करोड, नर्डिक डेभलपमेन्ट फन्डको एक अर्ब ८१ करोड ८५ लाख, र कुवेतको एक अर्ब ५० करोड ५७ लाख ऋण तिर्न बाँकी छ । त्यसैगरी, नेपालले बेल्जियमसँग ५७ करोड ३६ लाख, युरोपियन इकोनोमिक काउन्सिल (इइसी) सँग १९ करोड ५३ लाख, नाजिक्सिक बैंक फ्रान्स १३ करोड ९५ लाख र एसियन पूर्वाधार लगानी बैंक (एआइआइबी) सँग तीन करोड ७० लाख बराबर ऋण लिएको देखिन्छ । नेपालले अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले स्पेसल ड्रइङ राइट (एसडिआर) अन्तर्गत मान्यता पाएका विभिन्न पाँचवटा मुद्रा (अमेरिकी डलर, जापानी येन, युरो, पाउन्ड स्टर्लिङ र चिनियाँ येन) मा तिर्नेगरी ऋण लिने गरेको छ । पछिल्लो पाँच वर्षमा दोब्बर भयो सार्वजनिक ऋण प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको अघिल्लो निर्वाचनताका नेपालको सार्वजनिक ऋण अहिलेको भन्दा आधा थियो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा नेपालको सार्वजनिक ऋण नौ खर्ब १७ अर्ब बराबर थियो । यस्तो ऋण आर्थिक वर्ष २०७५/७६ मा १० खर्ब ४८ अर्ब पुग्यो । त्यस्तै, सार्वजनिक ऋण आर्थिक वर्ष २०७६/७७ मा १४ खर्ब ३३ अर्ब र आर्थिक वर्ष २०७७/७८ मा १७ खर्ब ३७ अर्ब पुगेको देखिन्छ । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको कूल सार्वजनिक ऋण २० खर्ब १३ अर्ब पुगेको देखिन्छ । रासस ।