अन्तर्राष्ट्रिय उडान विहीन गौतमबुद्ध विमानस्थल, भारतका कारण रोकियो आइएलएस सिष्टम

<p>काठमाडौं । भारत सरकारले इन्स्ट्रमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) जडानको अनुमति नदिदा भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडान विहीन बनेको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले करोडौँ खर्च गरेर विमानस्थलमा उपकरण अवतरण प्रणाली (आइएलएस) जडान गरेको छ । तर भारत सरकारका कारण कार्यान्वयनमा आउन नसक्दा उडान प्रभावित बनेको विमानस्थल कार्यालयले जनाएको छ । आइएलएस रेडियो नेभिगेशन [&hellip;]</p>

काठमाडौं । भारत सरकारले इन्स्ट्रमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) जडानको अनुमति नदिदा भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडान विहीन बनेको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले करोडौँ खर्च गरेर विमानस्थलमा उपकरण अवतरण प्रणाली (आइएलएस) जडान गरेको छ । तर भारत सरकारका कारण कार्यान्वयनमा आउन नसक्दा उडान प्रभावित बनेको विमानस्थल कार्यालयले जनाएको छ ।

आइएलएस रेडियो नेभिगेशन प्रणाली हो । जसले विमानलाई राति वा खराब मौसममा पनि अवतरणमा सहयोग गर्छ । आइएलएस प्रणाली कार्यान्वयन गर्दा लागि भारतीय आकाश पनि प्रयोग गर्नुपर्ने हुनसक्छ । यसका लागि भारत सरकारको स्वीकृति आवश्यक पर्ने महाप्रबन्धक गोविन्दप्रसाद दाहालको भनाइ छ ।

जाडो र चिसोको समयमा बाक्लो हुस्सुका कारण भिजिविलिटी अत्यन्तै कम हुने भएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो । भैरहवा तथा आसपासमा अहिले घाम नलागेको समयमा भिजिविलिटी दुई सय मिटर हाराहारीमा पुग्छ । घाम लागेको बेला आन्तरिक उडान हुने र नभएको बेला उडान नै नहुने भइरहेको छ ।

विमानस्थलमा सामान्य अवस्थामा विमान अवतरणका लागि १५ सय मिटर भिजिविलिटी आवश्यक पर्छ । तर आइएलएस कार्यान्वयन हुने हो भने आठ सय मिटरसम्मको भिजिविलिटीमा विमान अवतरण गराउन सकिने दाहालको भनाइ छ ।

उनका अनुसार गत डिसेम्बर २० देखि हिमालयन एयरलाइन्स र २१ डिसेम्बरदेखि जजिरा एयरवेजले उडान स्थगित गरेका छन् । जजिराले डिसेम्बरसम्म उडान स्थगित जानकारी दिए पनि यो मौसमी प्रतिकुलताका कारण यो समयावधि अझै लम्बिन सक्ने देखिन्छ । आन्तरिक उडान पनि मौसमकै कारण नियमित भइरहेको छैन ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि अक्टोबरदेखि मार्चसम्मको समय उत्तम मानिन्छ । अधिकांश पर्यटक यस अवधिमा लुम्बिनी भ्रमणको कार्यक्रम बनाइरहेका हुन्छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि पर्यटन व्यवसायी पनि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्नेमा विश्वस्त थिए । तर पर्यटक आउने मुख्य सिजनमा यो विमानस्थलमा हवाई उडान अवरुद्ध हुँदा उनीहरु निराश भएका छन् ।

हाल खराब मौसमका कारण विमानस्थलमा विमान अवतरण गराउन नसक्ने भन्दै उडान स्थगित हुन थालेपछि यहाँको पर्यटन व्यवसाय प्रभावित भएको छ । प्रतिकुल मौसमका कारण बुकिङ रद्द गर्नुपरेको नेपाल टुर्स एन्ड ट्राभल एजेन्ट सङ्घ (नाट्टा)का प्रदेश अध्यक्ष रचना पन्तको भनाइ छ । ‘लुम्बिनीमा पुस, माघ र फागुनमा बढी पर्यटक घुम्न आउने गरेका छन्’, उनले भने, ‘यस्तो समयमा प्रतिकुल मौसमका कारण उडान रद्द गर्नु पर्दा पर्यटक यहाँ आउन पाएका छैनन् ।”

विसं २०२१ मा घाँसे हवाई मैदानबाट सुरु भएको भैरहवाको विमानस्थल विसं २०२३ मा आन्तरिक विमानस्थलको रुपमा हालको स्थानबाट सञ्चालनमा आएको थियो । रु ३५ अर्बको लागतमा निर्माण भएको विमानस्थल विसं २०७९ जेठ २ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेपछि सञ्चालनमा आएको थियो ।

आठ सय बिघा क्षेत्रफलमा फैलिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन किलोमिटरको रनवे छ । फोर ई क्याटेगरीको विमानस्थलमा नवौं क्याटेगरीका दमकल छन् । त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थल सरहको उडान र अवतरणको क्षमता रहेको यो विमानस्थलमा चार वटा न्यारोबडी र एउटा वटा वाइडबडी गरी पाँच वटासम्म जहाज पार्किङ गर्न सकिन्छ ।

विमानस्थलमा हालसम्म एक सय ५४ अन्तर्राष्ट्रिय उडान भएका छन् । यस अवधिमा १३ हजार पाँच सय ९३ यात्रु आएका छन् भने १८ हजार २५ यात्रु विमानस्थल हुँदै बाहिरिएका छन् ।

विमानस्थलमा उडान र अवतरणका लागि अन्तर्राष्ट्रिय विमान कम्पनीलाई आकर्षित गर्न अवतरण शुल्क, बिसान शुल्क, सञ्चार तथा उड्डयन सेवा शुल्क र सुरक्षा जाँच शुल्कमा पहिलो वर्ष शतप्रतिशत छुट प्रदान गरिएको छ । ग्राउण्ड ह्यान्डलिङमा पनि ५० प्रतिशत छुट दिइएको छ ।

Share News