नेपाल इन्भेष्टमेन्ट र मेगाले मर्जरकाे लागि राष्ट्र बैंकबाट पायाे अन्तिम स्वीकृति
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको छ। राष्ट्र बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले दुवै बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त भएसँगै अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि बैंकलाई एकिकृत कारोबारको बाटो खुल्ने छ । दुवै बैंकको पुस ७ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । दुई बैंकबीच १००ः९० को स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो । इन्भेष्टमेन्ट बैंकको एक कित्ता सेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुने सहमति दुई बैंकबीच भएको छ । हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८.३१ अर्ब रुपैयाँ छ भने मेगा बैंकको १६.१२ अर्ब रुपैयाँ छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी ३४.४३ अर्ब रुपैयाँ हुनेछ । मर्जरपछि बन्ने बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड रहने छ ।
ग्लोबल आईएमई बैंकलाई मर्जरको अन्तिम स्वीकृति, नाममा बीओके नहुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू(बीओके)लाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकको १४ पुस बिहीबार बसेको सञ्चालक समितिको बैंठकले दुई बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको हो । यस्तै, एकिकृत कारोबारको लागि दुवै बैंकको साधारणसभाबाट पारित गरिएको ‘ग्लोबल आईएमई बीओके लिमिटेड’ नाम भने परिवर्तन भएको छ । दुवै बैंकले अब ‘ग्लोबल आईएमई बैंक’को नामबाट एकीकृत कारोबार गर्ने भएका छन् । यसअघि प्रस्ताव गरिएको बैंकको नाममा बैंक शब्द नभएको भन्दै राष्ट्र बैंकले नयाँ नाममा ल्याउन भनेको थियो ।
जनताको विश्वास जितेर काम गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो काम गर्ने हो भनेका छन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका नेता तथा कार्यकर्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा निर्देशन दिँदै उनले जनतालाई विश्वासमा लिएर सकारात्मक काम गर्नु नै सरकारको प्रमुख कर्तव्य भएको बताएका हुन् । प्रधानमन्त्रीले राम्रो काम गरेर जनताको विश्वास जित्न जरुरी रहेको भन्दै दुःख, मेहनत, त्याग र तपस्या जेजे गरेर भए पनि राम्रो गर्न निर्देशन दिएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । दाहालले आफूले गरेको राम्रो कामको प्रचार हुन नसकेको भन्दै मध्यपहाडी लोकमार्गदेखि उत्तर–दक्षिण करिडोर आफू पहिलो पटक प्रधानमन्त्री भएपछि प्रस्तावित गरिएको भएपनि ती माओवादीले गरेका परियोजना भनेर स्थापित गर्न नसकिएको बताएको शर्माले जानकारी दिए । अहिलेको परिवर्तनका लागि मुख्य भूमिका खेलेको र उज्यालो नेपालजस्ता विकास कार्यक्रममा माओवादीकै नेतृत्व र पहलमा भए पनि त्यसको स्वामित्व लिनेमा समस्या भएको उनको भनाइ थियो । कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने र समाजवादी फोरम बनाउने चर्चा चलिरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । कर्णाली प्रदेशमा आफ्नो पार्टी सबैभन्दा अगाडि रहेकामा खुसी व्यक्त गर्दै सो क्षेत्रको विकासका लागि वर्तमान सरकारको ध्यान रहेको बताए । प्रधानमन्त्रीले कर्णालीमा बन्ने आगामी सरकारले कर्णालीका जनताका निम्ति र कर्णाली प्रदेशका निम्ति आर्थिक विकासमा गति दिने, जनतासँग जीवन्त सम्बन्ध बनाउने र जनताको विश्वास जित्ने काममा लाग्न निर्देशन दिएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक शर्माले जानकारी दिए ।
रोजगारीका लागि विभिन्न मुलुक पुगेका चार सय ४४ महिला र बालबालिका सम्पर्कविहीन
नेपालगञ्ज। रोजगारीका लागि विभिन्न मुलुक पुगेका पश्चिम नेपालका चार सय ४४ महिला तथा बालबालिका सम्पर्कविहीन भएका छन् । सन् २०२२ मा माइती नेपाल नेपालगञ्ज शाखामा खोजतलासका लागि परेको निवेदनका आधारमा चार सय ४४ महिला तथा बालबालिका सम्पर्कविहीन रहेको पाइएको संयोजक केशव कोइरालाले जानकारी दिए । उनका अनुसार बितेको एक वर्षमा यहाँ खोजतलासका लागि छ सय ९३ निवेदन परेकामा दुई सय ४९ जना मात्र फेला परेका छन् । भारत तथा तेस्रो मुलुकमा पुगेर घरपरिवारको सम्पर्कमा नरहेका व्यक्तिका आफन्तले माइती नेपालमा खोजतलास तथा उद्धारका लागि निवेदन दिएका थिए । ‘महिला तथा बालबालिका खोजतलासका लागि हामीकहाँ निवेदन परेकामध्ये दुई सय ४९ जना फेला परे पनि चार सय ४४ जना अहिलेसम्म सम्पर्कमा छैनन्’,संयोजक कोइरालाले भने, ‘घरपरिवारले दिएको निवेदनका आधारमा हामीले खोजतलास गरिरहेका छौँ तर अझै सम्पर्क हुन सकेको छैन ।’ सो अवधिमा जोखिमपूर्ण यात्रामा रहेका पाँच सय २९ जनालाई नेपालगञ्ज नाकाबाट फिर्ता पठाएकामा गत वर्ष चार सय ३४ जनालाई फिर्ता पठाइएको थियो । घरपरिवारसँगको सल्लाहबिना रोजगारी, विवाह वा घुम्न जाने बहानामा यहाँको नाकाबाट भारततर्फ जान लागेका उनीहरुलाई फिर्ता पठाइएको उनको भनाइ थियो । उक्त नाका भएर जोखिमपूर्ण यात्रा गर्ने सबैभन्दा बढी सुर्खेतका रहेको पाइएको छ । सन् २०२२ मा सबैभन्दा बढी सुर्खेतका ८६ र बाँकेका ८२ जनाले जोखिमपूर्ण यात्रा गरेका थिए । सामाजिक सञ्जालको सुझबुझपूर्ण प्रयोग नहुँदा पछिल्लो समयमा मानव बेचविखन तथा ओसारपसारको जोखिम बढेको संयोजक कोइरालाले बताए । रासस
एक वर्षमा मुस्ताङमा ६६ हजार पर्यटकले भ्रमण गरे
म्याग्दी । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा करिब ६६ हजार पर्यटकले भ्रमण गरेका छन् । सन् २०२२ मा ६५ हजार नौ सय ४० विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमले जनाएको छ । ‘कोरोना महामारी घट्नु, यातायात सुविधा, नयाँ गन्तव्यको पहिचान, प्रर्वद्धनात्मक गतिविधि र स्तरीय होटलको सुविधासँगै मुस्ताङमा पर्यटक आगमन बढेको हो’, उनले भने ‘पछिल्लो पाँच वर्षयताकै धेरै पर्यटक यसपाली आएका छन् ।’ उनका अनुसार अठतालीस देशका पर्यटक मुस्ताङ घुम्न आएका हुन् । कोरोना महामारी अघि मुस्ताङमा अधिकतम वार्षिक ६० हजारसम्म पर्यटक आएको तथ्याङ्क छ । सन् २०२१ मा दुई हजार तीन सय पर्यटक भित्रिएकोमा छ सय दुईजना उपल्लो मुस्ताङ भ्रमणमा गएका थिए । सन् २०२० मा दुइ हजार तीन सय ४७ पर्यटक मुस्ताङ आएका थिए । विसं २०२२ मा मुस्ताङ भ्रमणमा आएकामध्ये ४६ हजार सात सय २४ पर्यटक सार्क राष्ट्रका छन् । उन्नाइस हजार दुई सय छ जना तेस्रो मुलुकका हुन् भने १३ हजार छ सय २५ पर्यटक मनाङ हुँदै थोराङ्ला पास गरेर मुस्ताङ आएका छन् । यसैगरी तीन हजार दुई सय १२ पर्यटक उपल्लो मुस्ताङ घुम्न गएका छन् । कागबेनी देखि कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले सात दिनका लागि पाँच सय डलर शुल्क तिर्नुपर्छ । गण्डकी प्रदेशका लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दीमा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलुककालाई प्रतिव्यक्ति एक हजार तथा तेस्रो मुलुककालाई प्रतिव्यक्ति तीन हजार शुल्क तोकिएको छ । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किन थालेको छ । पर्यटकीय क्षेत्रका बासिन्दा, पर्यटक, होटल व्यवसायी र मजदूरलाई राहत मिलेको लोमान्थाङका घरबास सञ्चालक टासी गुरुङले बताए।
अब कुमारी बैंकले सेयरधनीलाई बढी रिटर्न दिन सक्नुपर्छ : रमण नेपाल
काठमाडाै ं। नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले कुमारी बैंकले मर्जपछि सेयरधनीहरुलाई बढी रिटर्न दिन सक्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित बैंकको एकीकृत कारोबार शुभारम्भको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मर्जरपश्चात कुमारी बैंकले सेयरधनीहरुलाई बढी रिटर्न दिन सक्नुपर्ने र नम्बर वान हुने दौडमा अगाडी बढ्नुपर्ने बताएका हुन् । उनले मर्जपछि बैंकको सिनर्जी राम्रो हुने बताए । ‘बैंक मर्जभएपछि सिनर्जी राम्रो हुन्छ, कारोबार पनि ठूलो हुन्छ, शाखा संजालमार्फत वित्तीय सेवा पनि बढ्ने र देशभर सेवा पुग्छ, राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा पनि पहुँच पुग्छ,’ उनले भने । यस्तै, उनले ठूलो चुनौती भएपनि दुवै बैंकका कर्मचारीलाई सहि व्यवस्थापन गर्नुपर्ने बताएका छन् । उनले कुमारी र एनसीसी बैंकको मर्जरमा बैंकर संघले पुर्ण सहयोग गर्ने पनि बताए ।
शान्त रारा तालको छेउमै अव्यवस्थित बस्ती
कर्णाली । हिमाली जिल्ला मुगुको सदरमुकाम गमगढीको शिरमा अवस्थित रारातालको दृश्यले कसलाई लोभ्याउँदैन होला र राराले यहाँ पुग्ने जो कोहीलाई चरम सन्तुष्टि दिन्छ । सुन्नेहरुका निम्ति भने यो सपना र कौतुहल बन्ने गर्छ । त्यसकै आकर्षण र सुन्दरताले आज संसारका करोडौँ मान्छेको ध्यान खिचेको छ । समुद्री सतहदेखि दुई हजार नौ सय ९० मिटर उचाइमा रहेको रारा तालबारे कतै नसुनेका र थाहा नपाएका बाहेक हरेक नेपालीलाई त्यसको प्रत्यक्ष दृश्यावलोकन गर्ने ठूलो धोको र हुटहुटी हुन्छ । प्रकृतिको काखमा रहेको अनुपम दृश्य नियाल्ने रहरले रारा जाने अवसर जो कोही पनि खोजिरहन्छ । त्यसका लागि विभिन्न जिल्ला तथा सहरबाट आफ्नो लामो यात्रा तय गरेर यहाँ आउँछन् । सुर्खेत–दैलेख–कालीकोट–जुम्ला हुँदै मुगु राराताल पुग्नका लागि हवाई मार्ग नभइ सडक मार्ग रोज्नेको यात्रा निकै पट्यारलाग्दो पनि हुन्छ । यद्यपि, जब रारा ताल भेटिन्छ, बाटोमा भएका कष्टकर क्षण त्यसको वैभवले बिसाईदिन्छ । उनीहरु जब रारा तालमा पुग्छन् तब त्यसको प्राकृतिक सुन्दरतासँग खेलेर निकै मस्ती गर्छन् । हरेक आन्तरिक तथा बाह्य पर्यटकलाई रारा तालको शालिनता र अनुपम दृश्यले लट्ठ बनाउँछ । स्वर्गीय आनन्द दिन्छ र त्यसको अवस्थिति, आकार र आकर्षणबाट मज्जा लिनेलाई केही सिर्जना गर्न उत्प्रेरितसमेत गर्दछ । राराको सौन्दर्यतालाई देखाउँदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश सरकारले २०७५ वैशाख १ गते मनाएको ‘रारा–कर्णाली पर्यटन वर्ष, २०७५’ को उद्घाटनको अवसरमा रारा तालको छेउमै बसेर भनेका थिए,’जन्मने हरेकले एकपटक रारा ताल पुग्नैपर्छ । भेट्नेहरुले यसको वैभव र सुन्दरता देखेर धित मरुञ्जेल आनन्द लिनेछन् । तसर्थ मर्नुअघि राराको सुन्दरतालाई स्पर्श गरौँ ।’ रारा ताल घुम्न आउने बाह्य तथा आन्तरिक पर्यटकको क्रम पछिल्लो समयमा बढिरहेको छ । मूलतः यहाँ घुम्ने, केही खर्च गरेर जाने र रमाइलो लिने ध्येयले आउने पर्यटक तालको सम्पन्नता हेरेरै मज्जा लिन्छन् । आहा १ क्या सुन्दर रारा ताल भन्छन् र खुसी मन लिएर फर्कन्छन् । तर जाँदा र आउँदा बाटोमै देखिने विस्थापित पीडितहरुको दैनिकीले अलि असहज बनाउँछ । मुगु सदरमुकाम गमगढीको शिरमा सुन्दरता दिँदै शान्तभावमा कोणधारी जङ्गलको बीचमा अवस्थित राराले संसारको मन जितेको छ । धेरैले रारा पुग्न नपाए पनि तस्वीर हेरेरै भेट्ने धोको मेटाएको पाइन्छ । तथापि सुन्दर राराको प्रवेशद्वारमै पीडाले भरिएको पीडित बस्तीले देशभरबाट ताल हेर्न आउने जो कोहीको मन भने अमिलो बनाइरहेको छ । गत असोज १९ देखि २३ गतेसम्म आएको अबिरल वर्षाका कारण रारा छायाँनाथ नगरपालिका–८ मुगु झ्यारी गाउँका एक सय १४ घरधुरी विस्थापित भएका छन् । पहिरोबाट विस्थापित भएका यहाँका स्थानीयवासी रारासँग जोडिएको बाम्नीचौरको जङ्गलमा अस्थायी बसोबास गरिरहेका छन् । उनीहरुले गाँस, बास र कपासको समस्या झेलिरहनु परेको छ । बाढीले उठिबास गरेपछि अहिले यहाँका नागरिकको जीवन नै अशान्त बनेको छ । यो कठ्याङ्ग्रिने चिसोमा पालमुनि बस्ने रहर नभइ उनीहरुका लागि बाध्यता हो । उनीहरुको ओत भनेकै प्लास्टिकको पाल हो । तुषारोले चिसिएको भूइँ न्यानो बन्न नपाउँदै अँध्यारो रात कटाउँदै आएका उनीहरुलाई बढ्दै गएको जाडोले समस्या त बनाउने नै छ, अब हिउँ पर्यो भने झनै समस्या हुने अवस्था छ ।बस्ने घर र जग्गा जमिन छोडेर भाग्नु परेपछि कडा चिसोमा अहिले उनीहरुको बास भएको छ । चिसोले बालबालिका, सुत्केरी महिला र ज्येष्ठ नागरिकलाई बाँच्न सकस भएको पीडित महिला अनिता रावलले दुखेसो पोखे । ‘पालमुनिको बासले बेहाल बनाएको छ,’ रावलले भने, ‘देश विदेशबाट मान्छेहरु आइरहन्छन्, गइरहन्छन् । हामीलाई उनीहरु हेर्दैमा दिन बित्छ ।’ रारा राष्ट्रिय निकुञ्जका बार्डेनले एक महिनाभित्र ठाउँ छोड्न चेतावनी दिँदा कहाँ गएर बस्ने होला भन्ने चिन्ता लागेको उनले बताए । रावलले भने, ‘हिउँद्को कठ्याङ्ग्रिदो चिसोमा खुला आकाशमा पालमुनि रात बिताउन हामीलाई निकै अप्ठ्यारो भएको छ । चिसोले बच्चा बिरामी पर्ने हुन् कि भन्ने चिन्ताले अझ बढी पिरोलिरहेको छ ।’ सोही गाउँका पहिरो पीडित शैलेन्द्र रावलले सिरेठो जाडोमा खुला आकाशमुनि पालको बास गर्न कुनै रहर नभएको बताए । ‘पहिरोले जोखिम बढेपछि पहिले गाउँ छोड्न भनियो,’ शैलेन्द्रले भने, ‘अहिले त्यही गाउँमा गएर बस भन्छन् । अहिले त हामीलाई गाउँ गएर बस्न निकै डर लाग्न थाल्यो ।’ विस्थापितहरुको समस्या समाधान समिति तथा सोही वडाका अध्यक्ष कर्णबहादुर रावलले २०५५ सालदेखि पहिराको जोखिमको समस्या भोग्दै आएको बताए । उनका अनुसार झ्यारी गाउँका एक सय १४ घरधुरी पहिरोको उच्च जोखिममा हुँदा सुरुमा रारा नजिकैको सल्लेरी र अहिले बाम्नीचौरमा बसालिएको छ । ‘यस वर्षको पहिराले पुर्याएको क्षतिका विषयमा राष्ट्रिय विपद् जोखिम प्राधिकरणको टोली आएर स्थलगत निरीक्षण गरेको छ,’ अध्यक्ष रावलले भने, ‘तरपनि अहिलेसम्म विस्थापित स्थानीयबासीलाई कसरी व्यवस्थापन गर्ने भन्ने कहीँ कतैबाट ठोस् निर्णय आएको छैन ।’ जहाँ भए पनि तीनै तहका सरकारको समन्वयबाट सुरक्षित ठाउँको व्यवस्था हुनुपर्ने उनले बताए । अब हिउँ पर्ने समय भएकाले झ्यारी बस्तीमा पुनः जोखिम निम्तिने खतरा कायमै रहेकाले नागरिक आफ्नो बस्तीमा जान नसकेको उनको भनाइ छ । सम्बन्धित सरोकारवालाले भने त्यहाँका स्थानीयवासीलाई पालमुनिको बास छोडेर गाउँमा जान आग्रह गर्दै आएको जनाइएको छ ।छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुबहादुर भामले पहिराले १० घरमा क्षति पुगेको तर बाँकी स्थानीयवासी डरले विस्थापित भएको बताए । ‘पहिराका कारण झ्यारी गाउँका स्थानीयवासीमा मनोवैज्ञानिक डर बढेको छ,’ उनले भने, ‘यसले गर्दा सबै घरधुरी पाल हालेर बसेकाले स्थानीय सरकार, जिल्ला प्रशासन, रेडक्रसलगायतका सहयोगी संस्थाले खाद्यान्न, पाल, लत्ताकपडा जस्ता आवश्यक सामग्री उपलब्ध गराएका छन् ।’ पहिरो बढेर गएछि ठूलो क्षति हुने कुरामा सचेत भएको बताउँदै नगर प्रमुख भामले नगरपालिका १४ वडाको भूभाग नै उस्तै रहेको जनाए । उनले भने, ‘जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर विपद् सम्पर्क व्यक्तिसहित सबै वडामा इञ्जिनीयहरुलाई फिल्ड सर्भे गर्न लगाउँदैछौँ । यकिन विवरण आएपछि वडासँगको सहकार्यमा छिट्टै काम थाल्छौँ ।’ उनका अनुसार नगरपालिका–११ मा गएको पहिराले साल्मा गाउँमा आठ जनाको मृत्यु भएको थियो । क्षति भएका घरको निर्माणका लागि राष्ट्रिय विपद् जोखिम प्राधिकरणले रु पाँच लाख उपलब्ध गराउन सबै विवरण मागेकाले प्रक्रिया अगाडि बढेको उनले बताए । पहिरो पीडित कमल रावलले रारा तालले यहाँ आउने मान्छेहरुले शान्ति, आनन्द र सुखको अनुभूति गराउँदा आफूहरुलाई दुःखले घेरेको दुखेसो पोखे । ‘रारा ताल शान र सुन्दरता दिएर अवस्थित छ तर हामी कष्टकर चिसो रात काटिरहेका छौँ,’ उनले भने, ‘त्यसको सुन्दरता हाम्रा निम्ति ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ जस्तै भएको छ ।’ जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पीडितको पुनर्वासका लागि प्रयास भइरहेको बताए । उनले भने, ‘पीडितहरुको घर निर्माणका लागि पाँच लाख रुपैयाँ दिँदैछ । पीडितको जग्गा नभएको खण्डमा किन्नका लागि तीन लाख रुपैयाँ दिने बताएको छ । घर मर्मतका लागि भने ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको प्रमुख जिल्ला अधिकारी महतले जनाए । बाम्नीचौरको जङ्गलमा बसेका झ्यारी गाउँवासी घर नफर्कने कुरा गर्छन् ।’ जिल्ला बाहिर वा भित्र जहाँ भए पनि सबै सरकार लागेर सुरक्षित ठाउँमा व्यवस्थापन गरिदिनुपर्ने उनीहरुको माग छ । यद्यपि स्थानीय प्रशासनका अनुसार उनीहरु तत्काल गाउँ फर्किनुको विकल्प छैन । रारा राष्ट्रिय निकुञ्जका वार्डेन विश्वबाबु श्रेष्ठले गत असोजको अबिरल वर्षाका कारण झ्यारी गाउँ नै खतरामा पुगेपछि त्यहाँका स्थानीयवासीको आपत्कालीन उद्धार गरिएको बताए । स्थानीयको गाउँ नै पहिरोले खस्ने अवस्था देखिएपछि उनीहरुलाई केही दिनका लागि निकुञ्जको मध्यवर्ती क्षेत्रमा राखिएको थियो । ‘आपतकालीन उद्धार गरिएका त्यहाँका स्थानीयवासीलाई हामीले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि हामीले अस्थायी व्यवस्थापन गरेका हौंँ,’ वार्डेन श्रेष्ठले भने, ‘पीडित बसेको ठाउँ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएको र कानुनले बस्न नमिल्ने हुँदा हामीले उनीहरुलाई जतिसक्दो छिटो छोड्न सम्झाइबुझाइ गरेका छौँ ।’ नेपाली सेना, प्रहरी, स्थानीय प्रशासन तथा सरकार गाउँमा पुगेर घरभित्रबाटै त्यतिबेला मानवीय हिसाबले उद्धार गरी अस्थायीकालीन् व्यवस्थापन गरेको कुरालाई राम्रोसँग बुझ्नुपर्ने उनको भनाइ छ । वार्डेन श्रेष्ठका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन ऐनले मध्यवर्ती क्षेत्रको आसपासमा बसोबास गर्न, स्रोतको उपयोग तथा स्वरुप नष्ट गर्न नपाइने भएकोले स्थानीयवासीले उक्त ठाउँ छोड्नैपर्दछ । देशको कार्यकारी प्रमुखदेखि विभिन्न निकायका उच्च अधिकारीले रारा तालको भ्रमण गरिसकेका छन् । राराको सम्पन्नतालाई दृश्यावलोकन गर्ने सबैले यहाँसम्म आइपुग्ने मार्गको विकास हुनुपर्ने सोच व्यक्त गर्दछन् । यद्यपि सुन्दर तालको छेउमा कठोर जीवन बिताइरहेका पीडित एवं विपन्नको पीडाप्रति कसैले मानवीयता देखाएको पाइँदैन । ढिलै भए पनि तीनै तहका सरकार र सम्वद्ध सरोकारवालाले बेलैमा उनीहरुको व्यवस्थापनमा ध्यान दिनुपर्छ ।
बागमती प्रदेशसभाको पहिलो बैठक भोलि बस्ने
मकवानपुर । बागमती प्रदेशसभाको ११औँ अधिवेशन भोलि पुस १८ गते दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयमा भोलि बिहान ८ बजे सर्वदलीय बैठक बसेर दिउँसोको प्रदेशसभा बैठकमा प्रस्तुत हुने कार्यसूची तयार गरीने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । प्रदेशसभा सदस्यको लागि दोस्रो कार्यकालको ११औँ बैठक सुरु हुन लागेको हो । प्रदेशसभामा अहिले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रपा, नेमकिपा, हाम्रो नेपाली पार्टी समेत गरी एक सय १० जना प्रदेशसभाका सदस्य रहेका छन् ।