विकासन्युज

संस्कार र संस्कृति जोगाउन महिला नै बढी सक्रिय

खप्तड । खप्तडछान्ना गाउँपालिका–४ की बासमती खत्री पालिकामा हुने मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रममा अग्रभाग देखिन्छन् । गाउँघरमा हुने मेलामा देउडा, विवाह, गौरा तथा पूजापाठमा गाउने माङ्गल, देउसी, भैली, गौरा पर्वमा हुने हरेक कार्यक्रम उनको प्राथमिकतामा पर्छन् । पछिल्लो साता उनी भुवा चाल केन्द्रित छन् । पुस्तौँ पुरानो पर्वलाई जोगाउनका लागि गत साता गाउँमा भुवा सुरू गरेपछि गाउँघरकी महिलालाई जम्मा पारेर हातमा ढाल तरबार बोक्दै भुवा खेल्न थालिन् । शिक्षण पेसामा आवद्ध उहाँ करिब एक दशकयता स्थानीयस्तरमा मौलिक पर्व जोगाउने अभियानमा छिन् ।  विद्यालयमा पनि बालबालिकालाई स्थानीय भाषा, संस्कृति, संस्कार जोगाउने कुरामा उनी जोड दिन्छिन् । गत सातायता खत्रीवाडा, बासकाटियाँ, माझिगाउँलगायतका गाउँका महिलाको समूहले पाण्डवको विजयोत्सव आफूले पनि मनाउनुपर्ने भन्दै भुवा खेल्न थालेका हुन् । ‘प्राचीनकालीन युद्धमा पनि एक्लैले लडेर पनि सम्भव भएन होला’, उनले भनिन्, ‘पाण्डव र कौरवको लडाइँमा पनि भित्री हात महिलाकै थियो । त्यो बेलाको युद्धमा महिलाले साथ दिन हुने तर अहिले पाण्डवको विजयोत्सवमा महिला किन नहुने भन्दै हामी पनि भुवा चालमा सहभागी भएका हौँ ।’ द्वापरगुगमा पाण्डव र कौरवको लडाइँपश्चात पाण्डवको विजयीपछि मनाउने पर्वमा भुवामा पुरूषले मात्रै भुवो खेल्दै आएका थिए । सिन्धुघाँटीको सभ्यतादेखि फैलिँदै आएको हिन्दू समुदायमा पुरूषलाई फरक क्षमता भएको देखाउन पनि समुदायले महिलालाई बन्देज गरेको थियो । ‘थाहा पाउने उमेरदेखि नै आफ्नो रहरलाई थन्क्याउँदै पुरूषले खेलेको भुवोमा रमाउँदै आएका थियौँ’, स्थानीय धनलक्ष्मी खत्रीले भनिन्, ‘अब समय फेरिएको छ । महिलालाई फरक तरिकाले हेर्ने नजर बदलिँदै गएका छन् । संस्कार, संस्कृति, परम्परालाई जोगाउन पुरूषभन्दा महिलाको जिम्मेवारी बढी हुँदैगएको महसुस पनि भइरहेको छ ।’ उनका अनुसार अहिले धेरै गाउँहरू पुरुषविहीनजस्तै छन् । ‘परदेशमा जाने पुरुषको सङ्ख्या बढी छ । गाउँघरमा जन्तीदेखि मलामी नपाउने अवस्था भइसक्यो । बालबालिका, वृद्ध र महिलाको सङ्ख्या मात्रै गाउँमा छ । अब पुरुषले गर्ने हरेक काम महिलाले गर्नुपर्ने बाध्यात्मक परिस्थिति नै आइसक्यो’, उनले भनिन् । खप्तडछान्ना –४ की सरस्वती रोकायाका अनुसार समाज परिवर्तन आफैँबाट सुरू गर्नुपर्छ । ‘महिलाहरू चुलोचौकामा मात्रै सीमित होइन, हरेक गतिविधिमा अगाडि सर्नुपर्छ’, उनले भनिन्, ‘हरेक पर्वहरू हेर्ने हो भने पनि महिलाबिना शोभा नै देखिँदैन । त्यसैले घरदेखि चुलोचौकासम्म नै महिलाको उपस्थिति अति आवश्यक छ ।’ पर्वहरूमा सामेल गराएजस्तै अन्य ठाउँमा पनि महिलालाई सहभागिता गराउनुपर्ने उनको भनाइ छ । ‘देउता रिसाउने भन्दै महिलाले चाहेर पनि भुवा खेल्न पाएका थिएनन्’, खप्तडछान्ना गाउँपालिका–४ का पुष्पराज रोकायाले भने, ‘अहिलेको पिँढी महिलालाई कुनै ठाउँमा पनि बन्देज गर्नुहुँदैन भन्ने पक्षमा छ । त्यसैले यस पर्वमा पनि महिलाई सहभागी गराइएको हो ।’ उनका अनुसार राज्यले पनि महिला भन्दैमा आरक्षण कोटामा खुम्च्याउनु हुँदैन । प्रतिस्पर्धामा जाने हो भने महिला कुनै कुरामा पनि कम नहुने उनले बताए । ‘अहिले खप्तडछान्नामा महिलाले खेलेको भुवाको आकर्षण नै बेग्लै छ’, उनले भने, ‘ढाल तरबार छुनै नपाउने महिलाहरू पहिलो दिन अनुभव गर्दै दोस्रो दिनदेखि मौलिक पोशाकमा सजिएका महिलाको भुवानाच कुनै पुरुषको भन्दा कम थिएन ।’ हरेक गाउँमा मनाइने भुवापर्वको समयमा केही घटना घटे वा त्यस समयमा परिवारमा कसैको ज्यान गए सो समुदायले आफूलाई अशुभ हुने जनाउँदै मनाउन छाडेको स्थानीय माधव जोशीले बताए । रासस

बैतडी बजारमा ‘हर्न’ बजाउन निषेध

बैतडी । बैतडीमा पहिलोपटक हर्न बजाउन निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सुरक्षानिकाय, जिल्ला ट्राफिक, यातायात व्यवसायी र सरोकारवाला सहितको सर्वपक्षीय छलफलबाट बैतडी जिल्लाका बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरिएको हो। बढ्दो ध्वनि प्रदूषण कम गर्न पहिलो चरणमा जिल्लाको सदरमुकामस्थित गोठलापानी बजार क्षेत्रमा सवारी हर्न बजाउन निषेध गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। ध्वनि प्रदूषणमुक्त बनाउने उद्देश्यले शुरुमा गोठलापानी बजार क्षेत्रमा लागू गरिएको र विस्तारै जिल्ला अन्य बजारमा पनि लागू गरिने पन्थीको भनाइ छ। बजार क्षेत्रलाई ध्वनि प्रदूषणमुक्त बनाउन सर्वपक्षीय बैठकबाट हर्न निषेध गर्ने निर्णय गरिएको यसलाई पूर्ण रूपमा कार्यान्वयनका लागि सरोकारवाला सबैको सहयोगको खाँचो रहेको पन्थीले बताए। उनले भने, ‘ध्वनि प्रदूषण नियन्त्रण गर्न गोठलापानी बजार क्षेत्रमा हर्न बजाउन नपाइने निर्णय गरिएको छ। कार्यान्वयनमा सहयोग गर्न सबैलाई अपिल पनि गर्दछौं।’ पछिल्लो समय जिल्लाका बजार क्षेत्रमा सवारीसाधनको जथाभावी हर्नले ध्वनि प्रदूषण बढ्दै गएकाले यो निर्णयबाट कम हुने अपेक्षा गरिएको छ। कसैले नियमको पालना नगरेको पाइए तत्काल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

खोटाङमा विद्युतीकरणको काम तीव्र

खोटाङ । १० स्थानीय तह रहेको खोटाङमा अहिले अधिकांश स्थानीय तहमा विद्युतीकरणको काम भइरहेको छ । पाँच वर्षभित्र सबै ठाउँमा विद्युत् विस्तार गरिसक्ने संघीय सरकारको योजनाअनुसार जिल्लाका दशवटै स्थानीय तहमा बसोबास गर्ने उपभोक्ताको घरमा बिजुली बाल्ने गरी विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले विद्युतीकरणलाई तीव्रता दिएको हो । ऐसेलुखर्क गाउँपालिकामा १८ महिनाभित्र विद्युतीकरणको सम्पूर्ण काम सक्नेगरी शनिबारदेखि विस्तृत सर्भे सुरु गरिएको छ । सात वडा रहेको ऐसेलुखर्क गाउँपालिकाका सबै उपभोक्ताको घरमा विद्युत् विस्तार गर्ने योजनासहित ठेकेदार कम्पनी सिग्माकोनले सर्भेको काम सुरु गरेको हो । ऐसेलुखर्क –१ राखाबाङ्देल, वडा नं २ बाकाचोल र वडा नं ३ ऐसेलुखर्कमा ठेकेदार कम्पनीका दुई–दुई जना प्राविधिकको टोलीले सर्भे सुरु गरेको गाउँपालिकाका प्रवक्ता टेकेन्द्र राजभण्डारीले बताए । सात वडामध्ये जलेश्वरी, राखाबाङ्देल र बाकाचोललाई हालसम्म विद्युतले छोएको छैन । वडा नं ७ माक्पा, वडा नं ५ महेश्वरी, वडा नं ६ ज्यामिरे र ऐसेलुखर्कबजारमा मात्र विद्युत् विस्तार भएको छ । बाँकी वडा र उपभोक्ताको घरमा विद्युत् विस्तारका लागि शुक्रबार गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राई, नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालय, प्राधिकरणको दिक्तेल वितरण केन्द्रका प्रमुख तथा प्रतिनिधिबीचको बैठकले १८ महिनाभित्र विद्युतीकरणको काम सम्पन्न गर्ने निर्णय गरेको छ । गाउँपालिकाका सात वडामध्ये अहिले माक्पामा मात्र अधिकांश उपभोक्ताको घरमा विद्युत् विस्तार भएको प्रवक्ता राजभण्डारीले बताएका छन् । प्राविधिक टोलीले ट्रान्समिसन लाइनको रुट निश्चित गर्दै पोल राख्ने स्थान, विस्तार गर्न लाग्ने तार, लाभान्वित हुने उपभोक्तालगायतका बारेमा डिटेल सर्भे गर्ने जनाइएको छ । पाँच वर्षभित्र सबै ठाउँमा विद्युत् विस्तार गरिसक्ने नेपाल सरकारको योजनाअनुसार हाल जिल्लाका दशवटै स्थानीय तहमा डिटेल सर्भेको काम सुरु गरिएको विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिए । ठेकेदार कम्पनीले ऐसेलुखर्कका सबै वडामा १८ महिनाभित्र डिटेल सर्भे एवं विद्युतीकरणको काम सम्पन्न गर्ने गरी प्राधिकरणसँग ठेक्का सम्झौता गरेको जनाइएको छ । केपिलासगढी गाउँपालिकामा डिटेल सर्भेको काम सम्पन्न भइसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारका लागि शनिबार हलेसी तुवाचुङ नगरपालिकामा समेत छलफल गरिएको जनाइएको छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विसं २०५७ मा उद्घाटन गरेको केन्द्रीय प्रसारण लाइनको विद्युत् अहिलेसम्म जिल्लाका सबै स्थानीय तहमा बसोबास गर्ने उपभोक्ताको घरमा विस्तार हुन सकेको छैन । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा केन्द्रीय प्रसारण लाइनको विद्युत् उपभोग गर्ने २२ हजार दुई सय ८२ घरधुरी उपभोक्ता रहेको प्राधिकरणले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित सबस्टेशनबाट प्रदेश नं १ अन्तर्गत पर्ने खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका उपभोक्तालाई विद्युत् वितरण गरिएको छ । तीन जिल्लाका उपभोक्ताका लागि वितरण गरिएको विद्युतमा पटक–पटक समस्या देखिने गरेको छ भने उक्त समस्या दीर्घकालीनरूपमा समाधान गर्न टावर अनिवार्य रहेको विज्ञहरूले बताएका छन् । जिल्लामा उत्पादन गरिएका तीनवटा जलविद्युत् आयोजनाबाट १०.६ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएका छन् । साप्सुखोला जलविद्युत् आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत आयोजना र मेवाखोला हाइड्रोपावर गरी १०.६ मेगावाट जलविद्युत् ३३ केभी केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सु खोलाबाट उत्पादन गरिएको साप्सुखोला जलविद्युत आयोजना ६.६ मेगावाट, केपिलासगढी गाउँपालिकाको वडा नं ६ दिप्सुङ र वडा नं ७ सुङ्देलको सिमानामा पर्ने रावाखोलाबाट तीन मेगावाट र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मेवाखालाबाट एक मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ । जिल्लाका फरक–फरक तीनवटा खोलाबाट उत्पादन गरिएका जलविद्युत् बुइपास्थित ३३ केभी प्रसारण लाइनमा जोडिएको हो । जिल्लामा उत्पादित विद्युतमध्ये तीन भागमा एक भाग पनि खपत भएको छैन । जिल्लामा विस्तार गरिएका केन्द्रीय प्रसारणलाइनको विद्युत् पटक–पटक अवरुद्ध हुँदा विद्युत् उपभोक्ता हैरानीमा पर्नेे गरेका छन् । यतिसम्मकि जिल्लामा अलि बढी पानी पर्दा, अलि ठूलो हावा चल्दा र बाढीपहिरो आउनासाथ विद्युत् अवरुद्ध हुने गरेको छ । एकै दिनमा दर्जनौं पटक विद्युत् आउने र जाने समस्याले जिल्लाका सेवाग्राही मारमा परेका छन् । झ्याप्प आउने र झ्याप्प जाने केन्द्रीय प्रसारण लाइनको विद्युतले विद्युतीय उपकरणमा क्षति पुगेको र नियमित काम गर्न नसकिएको सेवाग्राहीको गुनासो छ । लामो दूरी, जङ्गलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जानाले पटक–पटक विद्युत् अवरुद्ध हुने गरेको प्राधिकरणले बताउँदै आएको छ ।

२० अर्बमा जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण कार्य अर्को वर्षदेखि सुरु हुने

काठमाडौं । जगदुल्ला जलविद्युत् आयोजना आगामी वर्षदेखि निर्माणमा जाने भएको छ । आयोजनाले मुआब्जा वितरण, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र विद्युत् खरिद बिक्री सम्झौता (पिपिए)को काम पनि अन्तिम चरणमा पुगेछ ।   आयोजनाका व्यवस्थापक सञ्जय सापकोटाले अर्को वर्षदेखि निर्माण सुरु गर्ने बताए। दुई सय ५२ रोपनी जग्गा अधिग्रहणदेखि डिपिआर सम्पन्न भइसकेको सापकोटाले बताए। अर्धजलाशयुक्त आयोजना स्वदेशी लगानीबाट निर्माण गर्ने भनिएको छ । आयोजनाको विद्युत् खरिद बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौताका लागि फाइल पुगेको आयोजना प्रमुख सापकोटाले बताए। विद्युत् उत्पादनगृह रहेको इलमा सडक लैजानका लागि त्रिवेणीबाट काम सुरु भएको र विद्युत् उत्पादनगृहलगायतका ठाउँमा पूर्वाधारका काम भइरहेको उनले बताए। त्यस्तै आयोजना निर्माण गर्न  एक वर्षभित्र ठेकेदार र परामर्शदाता छनोटको काम सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । निर्माण सुरु भएको पाँच वर्षभित्र विद्युत् उत्पादन हुने आयोजना प्रमुख सापकोटाले दाबी गरे । जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा २३ मिटर अग्लो ड्याम निर्माण गरेर ६.१ किलोमिटर सुरुङमार्फत मुड्केचुला गाउँपालिका–४ इलमा पानी खसालेर विद्युत् एक सय छ मेगावाट विद्युत् उत्पादन हुने छ । आयोजना निर्माण गर्न विभिन्न निकायले सेयर लगानी गर्ने बताएको छ । सेयर लगानीकर्तामा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको नौ प्रतिशत रहेको छ । त्यस्तै कर्णाली प्रदेश सरकारको पाँच प्रतिशत र प्रभावित क्षेत्रका दुई पालिका मुड्केचुला र जगदुल्लाको एक प्रतिशत सेयर रहेको छ ।  बाँकी ४९ प्रतिशत सेयर सर्वसाधारणका लागि भन्दै सबैका लागि खुला गरिने बताइएको छ । २० अर्ब रुपैयाँ लगानीमा निर्माण हुने आयोजनाबाट दैनिक एक करोड २० लाख  रुपैयाँ आम्दानी हुने कम्पनीले जनाएको छ । आयोजना निर्माणपछि राज्यलाई वार्षिक झण्डै रु २९ करोड राजस्व उपलब्ध हुने बताइएको छ । विसं २०७४ जेठ १६ गते कम्पनी स्थापना गरिएको थियो ।   प्रदेश सरकारले ११ लाख ७१ हजार पाँच सय कित्ता सेयर खरिद गरेवापत रु ११ करोड ७१ लाख ५० हजार रकम जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडलाई अघिल्लो वर्ष भुक्तानी गरिसकेको छ । यही ठाउँमा ८३ मेगावाटको अर्को जलविद्युत् आयोजना निर्माण गर्न अहिले सम्भाव्यता अध्ययनको कामसमेत सुरु भएको छ ।

विद्यार्थीहरु पढ्दै उद्यमी बन्दै

चितवन । विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा विशिष्टताको प्रवर्धन कार्यक्रमअन्तर्गत विद्यार्थीलाई उद्यमी बनाउन चितवनका तीन क्याम्पसलाई छनोट गरेको छ । क्याम्पसबाट प्राप्त प्रस्तावनाका आधारमा आयोगले विद्यार्थी पढ्दै उद्यमी बन्न पाउने अवसरका लागि चितवनका तीन क्याम्पसलाई छनोट गरेको हो । अनुदान आयोगले छानेको क्याम्पसमा भरतपुरको सप्तगण्डकी बहुमुखी, प्रेसिडेन्सी  र सहिद स्मृति क्याम्पस रहेका छन् । देशभरबाट १८ क्याम्पस अनुदान आयोगले छनोट गरेको हो । देशभरका उत्कृष्ट शैक्षिक संस्थालाई विश्वविद्यालय अनुदान आयोगले यो परियोजनाका लागि छनोट गरेको छ । यस कार्यक्रमअनुसार हरेक क्याम्पसबाट उद्यमशील बन्नका लागि ३० विद्यार्थी छनोट हुनेछन् । उनीहरूले उद्यमशीलताको तालिम लिइसकेपछि सबै प्रक्रिया पूरा गरेर विद्यार्थीले व्यवसाय गर्न  पाँच लाखदेखि ४० लाखसम्म प्राप्त गर्नेछन् । छनोटमा परेका विद्यार्थीले देश तथा विदेशमा गएर उद्यमशीलतासम्बन्धी तालिम लिने अवसर पनि प्राप्त गर्नेछन् । तालिमका लागि प्रतिविद्यार्थी ५० हजार र पाठ्यक्रमको विकास गर्न क्याम्पसले १५ लाख प्राप्त गर्ने सप्तगण्डकी बहुमुखी क्याम्पस व्यवस्थापन विभागका प्रमुख डा. कपिलदेव सुवेदीले जानकारी दिए । उनले भने, ‘पढ्दै र कमाउँदै कार्यक्रमलाई उच्च शिक्षामा प्रयोग गर्न खोजिएको छ । यसका लागि क्याम्पसले विद्यावारिधि गरेका प्राध्यापक नियुक्त गरेर काम शुरु गर्नुपर्छ । यो नयाँ अवधारणाअनुसार आएको योजना हो । विद्यार्थीले ३० देखि ६० घण्टासम्म उद्यमशीलता तालिम पनि यो योजनाको लागि लिनुपर्ने हुन्छ ।’ उनले क्याम्पसहरूले पाएको यो राम्रो अवसर भएकाले यसलाई सहीरूपमा सदुपयोग गर्नुपर्ने बताए । रासस

आजको मौसम : हल्का वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । सो प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा भई प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै देशको हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ । राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही प्रदेश नं १ को पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षा तथा प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिम तराईका केही र मध्य तथा पूर्वी तराईका थोरै भू–भागमा हुस्सु–कुहिरो लागेको अवस्था रहेको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री र अधिकमत तापक्रम १५ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम शून्य दशमलव एक डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २४ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

आजदेखि कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार, चुक्ता पूँँजी २६ अर्ब पुग्ने

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले आज पुस १७ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । हाल मर्जर प्रक्रियामा रहेका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा पछि मर्जर सम्झौता गरेका यी दुई बैंकले सबैभन्दा पहिला एकीकृत कारोबार गर्न सफल भएका हुन् । मर्जर सम्झौता भएको ३ महिनामा नै यी दुई बैंकको एकीकृत कारोबार हुन लागेको हो । कुमारी बैंक र एनसीसी बैंकबीच गत असोज १० गते मर्जर सम्झौता भएको थियो । एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले मर्जर सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । यी दुई बैंक १ः१ स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने बताइएको छ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल बन्नेछन् । कुमारी बैंकका रामचन्द्र खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुने छन् । नेपाल राष्ट्र बैंकले गत पुस ६ मा दुवै बैंकलाई मर्जरका लागि अन्तिम स्विकृती दिएको थियो । एकीकृत कारोबार पश्चात् चुक्ता पूँजी २६ अर्ब २३ करोड रुपैयाँ, कूल निक्षेप ३ खर्ब २ अर्ब रुपैयाँ र कर्जा २ खर्ब ८० अर्ब रुपैयाँ पुग्नेछ । मर्जरपश्चात् शाखा संख्या ३०६, एटीएम संख्या ३४४, एक्स्टेन्सन काउन्टर ४७ वटा र शाखारहित शाखा ६२ वटा पुग्नेछन् ।

नबिल बैंकसहित ६ कम्पनीको आज सेयर किने लाभांश पनि पाइने, कुनको कति ?

काठमाडौं । विभिन्न ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । नबिल बैंक, हिमालयन बैंक, महालक्ष्मी विकास बैंक, सिद्धार्थ इन्स्योरेन्स, नेपाल दूरसंचार (एनटीसी) र बुटवल पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी ६ कम्पनीले पुस १८ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन् । नबिल बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १८.५० प्रतिशत बोनस सेयर र ११.५० प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले ३८ औं वार्षिक साधारण सभा पुस २९ गते सिल्भर ओक ब्याक्वेट तथा इभेन्ट सेन्टर गैह्रीधारा, काठमाडौंमा बिहान १० बजे बोलाएको छ । हिमालयन बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद गरी कूल १९.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न बैंकले ३० औं वार्षिक साधारण सभा पुस २८ गते होटल सोल्टी सोल्टीमोड काठमाडौमा बिहान ११ बजे बोलाएको छ । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ६.४७ प्रतिशत नगद गरी कूल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले २१ औं वार्षिक साधारण सभा पुस २९ गते लैनचौर ब्याङ्क्वेटमा बिहान १० बजे बोलाएको छ । नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) ले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १५ औं वार्षिक साधारण सभा पुस २८ गते राष्ट्रिय सभा गृह पदर्शनी मार्ग काठमाडौंमा बिहान १० बजे बोलाएको छ । त्यस्तै बुटवल पावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनससशेयर र ७.५ प्रतिशत नगद गरी कूल १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ३० औं वार्षिक साधारण सभा पुस ३० गते कार्की ब्याक्वेंट बबरमहल काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ०.४७३७ प्रतिशत नगद गरी कूल ९.४७३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २१ औं वार्षिक साधारण सभा पुस २९ गते नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटीमण्डमा बिहान ११ बजे बोलाएको छ ।