विकासन्युज

म्याग्दीको सिस्नो पाँचतारे होटलदेखि विदेशसम्म

म्याग्दी । म्याग्दीका पाखापखेरामा जताततै पाइने सिस्नोलाई प्रशोधन गरी पाउडर उत्पादन गर्न थालेपछि यहाँको सिस्नो नेपालमा मात्रै होइन विदेशका पाँच तारे होटलसम्म पुग्न थालेको छ । सिस्नो विशुद्ध अग्र्यानिक उत्पादन हो । यसको उत्पादनमा न कीटनाशक औषधिको प्रयोग गर्नुपर्छ, न कृत्रिम भण्डारणको खाँचो नै पर्छ । बजार क्षेत्रमा बसोबास गर्नेहरु पछिल्लो समय ग्रामीण क्षेत्रमा उत्पादन भएका खाद्य सामग्रीको उपभोगतर्फ आकर्षित भएका छन् । कुनै समय गाउँघरका गरिबको खानाको परिकार भनिने सिस्नोलगायतका ग्रामीण उत्पादन अहिले सहरबजारका धनीको रोजाइँमा पर्न थालेका छन् । आयातित र औद्योगिक उत्पादनको उपभोगसँगै विलासी जीवनशैलीका कारण उत्पन्न हुने स्वास्थ्य समस्याबाट बच्नका लागि ग्रामीण क्षेत्रमा विषादीको प्रयोगबिना प्राङ्गारिक तरिकाले उत्पादन गरिएका तरकारी र खाद्य सामग्रीप्रति आकर्षण बढ्न थालेको छ । ग्रामीण क्षेत्रमा उत्पादन भएका खाद्यान्न, गेडागुडी र तरकारीको माग बढ्न थालेपछि सदरमुकाम बेनीमा महिला उद्यमीले ती सामग्री मात्र पाइने पसल खोलेका छन् । उत्पादनले बजार र मूल्य पाउन थालेपछि गाउँका किसान उत्साहित भएका छन् । गाउँमा उत्पादन भएको सिस्नोको पाउडर, सिमी, साग, चामल, दाल, कोदोको पिठो, भुटेको मकै, मह, घ्यू, अचार, टिमुर, बदाम, च्याउ, टुसा, मकैको आटोलगायतको माग बढ्न थालेपछि पसल सञ्चालन गरेको कालीपुलमा आग्र्यानिक उत्पादनको पसल सञ्चालन गरेकी कमला पौडेलले बताइन् । गरिबको खाना भनेर चिनिने सिस्नोको परिकार केही वर्षयता विदेश र सहर बजारमा लोकप्रिय बन्न थालेपछि म्याग्दीका उद्यमीले प्रशस्त आयआर्जन गर्न सफल भएका छन् । म्याग्दीका उद्यमीले उत्पादन गरेको स्वास्थ्यवद्र्धक सिस्नोको पाउडर हाल काठमाडौं र पोखराजस्ता ठूला सहरमा मात्र नभएर विदेशबाट समेत माग हुन थालेको छ । सिस्नो पाउडरको उपभोग गरेमा महिनावारी नियमित हुने, ग्याष्ट्रिक, स्त्रीरोग, बाथ, खाना नरुच्ने, मधुमेहजस्ता रोग निको हुने भएपछि सिस्नोको माग बढेको उद्यामीको भनाइ छ । यसलाई झोल बनाएर खानासँगै प्रयोग गर्न पनि सकिन्छ । जिल्ला लघुउद्यमी सङ्घ, म्याग्दीका अनुसार गतवर्ष म्याग्दीमा एक हजार तीन सय किलोग्राम पाउडर उत्पादन भई अन्यत्र बिक्री भएको थियो । साउनदेखि माघ महिनामा सिस्नोको मुना टिपेर पाउडर बनाउने उपयुक्त समय हो । बेनी, बागलुङ, कुश्मा, मुस्ताङ, पोखरा, काठमाडौंँलगायत स्थानबाट पाउडरको माग हुने गरेको घतान नेप्टेचौरकी उद्यमी अनिता खत्रीले बताइन् । जिल्लाको बेनी, घोरेपानी र तातोपानीका होटल तथा लजहरूमा पनि पाउडरको माग बढिरहेको छ । एक किलोग्राम पाउडरको मूल्य न्यूनतम चार सय रुपैयाँ पर्छ । करेसाबारी, खेतबारीका कान्ला, खाली जमिनमा उम्रेको सिस्नोबाट पनि आम्दानी गर्न सकिने भएपछि महिला उत्साहित भएको दानाकी उद्यमी मैती तामाङले बताए । वनस्पति विज्ञ चन्द्रमणि सापकोटाका अनुसार सिस्नोमा पाइने झुस जस्तो फर्मिक अम्ल र पोल्ने जलन हुने र हिस्टामाइले सुन्निने भएकाले सिस्नोले छुँदा निकै दुख्ने र पोल्ने हुन्छ । अङु्ग्रेजीमा यसलाई नेटल भनेर चिनिन्छ । मध्यपहाडी तथा उपत्यकामा पाइने पोल्ने झार नै सिस्नो हो र यसमा धेरै औषधीय गुण पाइएको छ । नेपालका पाँचतारे होटेलका मेनुमा पनि सिस्नो निकै लोकप्रिय छ । पात मात्र नभएर यसको जरासमेत उपयोगी हुने आर्युवेदिक चिकित्सकको भनाइ छ । सामान्यतया सिस्नोलाई पखाली उम्लेको तातोपानीमा राखी घोटेर पकाउने चलन छ । विशेषगरी यसमा नून, खुर्सानी, टिमुरको धुलो, लसुन, मकैको च्याख्ला राखेर पकाइन्छ । अन्त्यमा नून, मरिच र क्रिम हालेर नेटल सुपको रुपमा प्रयोग गर्ने चलन छ ।

आगमी तीन दिन अत्याधिक चिसो बढ्ने, सावधानी अपनाउन विज्ञको आग्रह

काठमाडौं । आगामी तीन दिन देशभर अत्याधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरुले सुझाव दिएका छन् । विज्ञहरुले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् । पछिल्लो केही दिन यता देशभर बाक्लो हुस्सु लाग्ने चिसोको उत्तारचढाव भइरहेको छ । आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा सितलहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विज्ञहरुको सुझाव छ । जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले पश्चिमी वायुका कारण चिसो बढिरहेको बताए । उनले आजदेखि तीन दिनसम्म देशको अधिकांश भागमा सितलहरको सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरे । उनले अबका केही दिनमा चिसो अत्याधिक बढ्ने भन्दै बालबालिका, वृद्धवृद्धा, दिर्घरोगी, मुटुका रोगीहरुले बिहानको समयमा घरबाहिर निस्किनु उचित नहुने बताए । ‘पश्चिम बंगालमा सिर्जना भएको न्युन चापिय अवस्था र पश्चिमी वायुको प्रभावका कारण तुँवालो लाग्ने, चिसो बढ्ने, हिमपात हुने सम्भावना रहेको छ, मर्निङ वाकमा सकेसम्म चिसोको बेलामा नजाने, सकेसम्म कोठामा नै योगाभ्यास गर्नुपर्छ,’ उनले भने । उनले फोक्सोको क्यानसरदेखि श्वासप्रश्वासमा समस्या, मुटुका बिरामीहरुमा समस्या र बालबालिका र वृद्धवृद्धामा चिसोको असर बढी हुने बताए । जलवायुविज्ञ उप्रेतीले जनवरी, फ्रेब्रुअरी र मार्चमा न्युनतम तापक्रम औसत भन्दा तल हुने र वर्षा पनि कम हुने बताए । ‘हिउँदामा वर्षा कम र चिसो बढी भएको खण्डमा यसको सबैभन्दा बढी असर वायुप्रदुषणमा पर्छ, जलवायुविज्ञ डा. उप्रेतीले अहिले समुन्द्री सतहको तापक्रम औसत भन्दा कम रहेकाले चिसो बढी रहेको बताए । ‘न्युनतम तापक्रम घट्दै जाँदा चिसो र सितलहर बढ्ने भएकाले जनवरी ४ सम्म देशको पश्चिमी भागमा यसको असर पर्छ, तापक्रममा हुने परिवर्तन र वायुमण्डलमा हुने परिवर्तनका कारण विश्वको तापक्रमलाई असर गर्ने भन्दै नेपालले पनि चिसोबाट बच्न आवश्यक शतर्कता अपनाउनु जरुरी छ,’ उनले भने । हिउँद महिनामा पानी नपर्दा वायुमण्डलमा प्रदुषण बढ्ने उनले बताए । ‘गत वर्षको यो सिजनमा पानी परिसकेको भएपनि यसवर्ष भने पानी नपरेकाले झनै समस्या सिर्जना हुनसक्छ,’ उनले भने । उनले मौसम अनुकुल नहुँदा पश्चिम तराईका केही जिल्लाहरुमा चिसोका कारण बिरामीहरु बढेको र आगामी दिनमा काठमाडौंसहित पहाडी जिल्लाहरुमा समेत यसको प्रभाव देखिने बताए । डा. उप्रेतीले देशभर चिसो बढेकाले बिहानको समयमा बाहिर हिँडडुल भरसक नगर्ने वा घरभित्रै व्यायाम गर्ने, न्यानो लुगा लगाउने, पानीमा धेरै बेर नभिज्ने, बिहान बहिर हिँड्नै परे मास्कको प्रयोग गर्ने, आगो ताप्दा झ्याल/ढोका खोलेर वा पर्याप्त हावा ओहोरदोहोर हुनेगरी मात्र आगो वा हिटर ताप्ने, गाडी चलाउँदा गति सिमित हुनेगरी चलाउने र फोग लाइटको प्रयोग गर्ने, विद्यालयमा केही दिन बिदा वा प्रविधिको प्रयोग गरी सम्भव भएसम्म अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने सुझाव दिए ।

वर्षान्त २०२२ : महामारी, जलवायु प्रकोप र बढ्दो भूराजनीतिक तनावले तड्पिएको वर्ष

काठमाडौं । कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत चुनौतीका चाङ छाडेर सन् २०२२ विश्वबाट बिदा भएको छ । चुनौती नै चुनौतीको चौबाटोमा धकेलिएको सन् २०२३ को भविष्य विभाजनको घेराबाट बाहिरिएर आपसी एकताका साथ समयको हाँक सामना गर्दै विगतका कमीकमजोरीबाट पाठ सिकेर अघिबढ्ने भन्ने निर्णयमा निर्भर हुनेछ । अन्तर्राष्ट्रिय मौद्रिक र व्यापार प्रणालीमा ठूलो उतारचढाव आयोभने अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वको आर्थिक वृद्धि यो वर्ष ३।२ प्रतिशतबाट २०२३ मा २।७ प्रतिशतमा घट्ने प्रक्षेपण गर्यो । युरोजोन र जापानमा मुद्रास्फीति नयाँ उचाईमा पुग्यो । राष्ट्रसङ्घीय व्यापार तथा विकास सम्मेलनले करिब ९० विकासशील देशको मुद्रा डलरको तुलनामा कमजोर भएको जनायोभने कोषले ६० प्रतिशतभन्दा बढी कम आय भएका विकासशील देश ऋण सङ्कटमा परेको विवरण सार्वजनिक गर्यो । अघिल्लो वर्षको प्रारम्भदेखि नै युरोपको आकाशमा मडारिएको युद्धको कालो बादल रुस–युक्रेन द्वन्द्वले विश्वभर पीडा र अनिश्चयमात्र थोपरेन अपतिु औषधिलगायत अत्यावश्यक सामग्रीको आपूर्ति शृङ्खलालाई तहसनहस बनायो । गहिरिदै गएको युक्रेन सङ्कटले क्षेत्रीय र वैश्विक सुरक्षामा अन्तहीन अवरोध खडा ग¥यो । अमेरिकासहितका पश्चिमा राष्ट्र मस्कोको विरोधमा उत्रदा चीन र इरानलगायत केही देशको मौनताले युक्रेन युद्ध अन्त्य गर्ने प्रभावकारी प्रयास हुन सकेनन् । अन्ततः विश्वव्यापी सुरक्षा व्यवस्था नै जोखिमको शिकार भयो । युक्रेन सङ्कट बढेपछि अमेरिका र उसका सहयोगीले रुसको ऊर्जा र अन्न निर्यातका माध्यम निलम्बन गर्ने, रुसी उत्पादन वहिष्कार गर्नेलगायत कठोर कदमको घोषणा गरेपछि इन्धन र खाद्यान्नको मूल्य बढेर उपभोक्तामा ठूलो चोट प¥यो । युरोपेली सङ्घमा आबद्ध देश पनि इन्धन र खाद्यान्नको बढ्दो मूल्यबाट पीडित भए भने प्राकृतिक ग्यासको किफायती प्रयोगमा जान र मूल्यलाई स्थिर राख्न बाध्य भए । यद्यपि अपेक्षित लक्ष्य र उद्देश्य हासिल हुन सकेनन् । फलतः युरोपमा मूल्यवृद्धिको पीडामाथि अस्थिरता र असुरक्षाको अर्को पीडा थपियो । अफ्रिकी देश पनि त्यसबाट अछुतो रहेनन् । खाद्यसुरक्षाका मुद्दाले उनीहरूलाई पनि आहात तुल्यायो । ताइवानको विषयलाई लिएर अमेरिका र चीनबीचको द्वन्द्व जारी रह्यो भने उत्तरकोरियाको आणविक अस्त्र निर्माणको महात्वाकाङ्क्षी योजनाले कोरियाली प्रायद्वीपमा दिगो शान्ति कायम गर्ने सत्प्रयासमा प्रतिकूल प्रभाव पार्यो । जापान, दक्षिणकोरिया र अमेरिकाको प्योङयाङलाई एक्ल्याउने रणनीतिले परिस्थितिलाई अझ जटिल र उत्तेजक बनायो । अमेरिकासम्म प्रहार गर्ने क्षमताका क्षेप्यास्त्र निर्माणमा उत्तरकोरिया अनवरत लागिरह्यो । एकपछि अर्को गर्दै एकतर्फी रूपमा लगाइएका आर्थिक नाकाबन्दीले उत्तरकोरिया आधारभूत मानवीय सहायतासमेत प्राप्त गर्न नसक्ने अवस्थामा पुग्यो । वर्ष २०२२ मा प्राकृतिक विपत्ति र जलवायुजन्य आपत्ले विश्वलाई नराम्ररी गाँज्यो । जलवायु परिवर्तनका कारण संसारमा समस्यामाथि समस्या थपिए । विश्वका धेरै देशले वन डढेलो बाढी, पहिरो र भूकम्पदेखि चरम मौसमी घटनासँग लड्नुपर्यो । जलवायु परिवर्तनसम्बन्धी समस्या बढ्दा वेमौसमी वर्षा र चक्रवातले सयौँको ज्यान लियो भने पचासौँ हजारको जीवन कष्टकर बन्यो । केही दिनअघि अमेरिकाको बफेलोले झेलेको हिमआँधी होस् वा युरोपेली र अफ्रिकी देशको सुक्खा एवम् खडेरी, जमिन र जलका जीवको अस्तित्वमा परेको सङ्कटलाई विज्ञान र प्रविधिको क्षेत्रमा भएको विकासले सघाउन सकेन । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को संस्थापक सदस्य पाकिस्तानमा बाढीमा परी एक हजार सात सय ३९ जनाले ज्यान गुमाए भने ९६ लाख बालबालिकासहित तीन करोड ३० लाख विस्थापित भए । अर्बौँका भौतिक सम्पत्ति र संरचना नष्ट भए । सार्कको अर्को सदस्य देश श्रीलङ्का आर्थिक अनुशासन कायम गर्न नसक्दा टाट पल्टियो भने राष्ट्र र जनताका निम्ति केही नगर्ने शासकहरूलाई जनताले सत्ताबाट भगाएर नयाँ राजनीतिक नेतृत्वलाई राज्यसत्तामा स्थापित गराए । भारतको आसामलगायत अन्य राज्य बाढीको चेपेटामा पर्दा दुई सय जनाभन्दा बढीको ज्यान गयो । दक्षिणअफ्रिकाको बाढीले एक सय ६१ जनालाई बगायो भने पूर्वी अफ्रिकी देश खडेरीको पीडाबाट मुक्त हुन सकेनन् । मानवीय मामिलासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालयका अनुसार सोमालियोका खडेरीले ७१ लाखलाई भोकमरीको जोखिममा धकेल्यो भने युगाण्डामा अन्तर्राष्ट्रिय समुदायले सहयोग नगरे हरेक ३६ सेकेण्डमा खान नपाएर एक जनाले मर्नुपर्ने परिस्थिति सृजना हुने युरोपेली आयोगको चेतावनी सार्वजनिक भयो । कङ्गोको अवस्था पनि दयनीय रह्यो । ब्राजिलको पहिरोमा दुई सय ३३ जना पुरिए भने इण्डोनेशियाको भूकम्पले तीन सय ३४ जनाको ज्यान लियो । हजारौँ प्रभावित भएभने करोडौँका भौतिक संरचना भग्नावशेषमा परिणत भए । सन् २०२२ आर्थिक सङ्कटका साथै राजनीतिक र सामाजिक विकृतिले भरिएको वर्ष बनेर गयो । विकासोन्मुख देशको मानव विकास सूचकाङ्कमा खासै सुधार आएन भने, विश्वव्यापी शासन प्रणालीमा पनि खासै सुधार आएन बरु गम्भीर खतरा खडा भए । जापानको पश्चिमी सहर नारामा आयोजित चुनाबी सभालाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार गरी हत्या भयो । बेलाइतकी महारानी एलेजाबेथ द्वितीय ७० वर्ष राज्यसत्ता सञ्चालन गरेर अनन्तयात्रामा निस्किए भने राजनीतिक स्थायित्व र लोकतन्त्रको जननी मानिने बेलाइतमा लिज ट्रस र बोरिस जोनसनले राजीनामा दिएपछि ऋषि सुनक ५० दिनमा देशको तेस्रो प्रधानमन्त्री हुनुभयो । बुर्किनाफासोमा दुईपटक सत्ता हत्याउने प्रयास भए जसले अन्तर्राष्ट्रिय समुदायलाई स्तब्ध बनायो । अन्तर्राष्ट्रिय फुटबलको महाकुम्भ सफलतापूर्वक आयोजना गरेर सानो खाडी मुलुक कतारले एसिया महादेशको गरिमा बढायो भने ३६ वर्षपछि साबिक विजेता फ्रान्सलाई हराएर अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधिमाथि कब्जा जमायो । अफ्रिकी मुलुक मोरक्कोको विश्वकप यात्रा र खेल प्रदर्शन पनि खेलप्रेमीका निम्ति अविष्मरणीय रह्यो । यो वर्ष समाप्त हुन एक दिन बाँकी हुँदा विश्व फुटबल इतिहासमा सबैभन्दा बढी पारिश्रमिक लिने पोर्चुगलका ‘स्टार’ सैतीस वर्षीय खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो अर्को परिचय बनाए– साउदी अरबको अल नासर फुटबल क्लबसँग वार्षिक २० करोड डलर पारिश्रमिक लिने सम्झौता गरेर । रोनाल्डोका प्रशंसकहरूमाझ यो खुशीको खबर सार्वजनिक भएको एक दिन अघि विश्वका महान् फुटबलर पेलेको निधनले दक्षिण अमेरिकी मुलुक ब्राजिललाई मात्र नभई संसारभरका फुटबलप्रेमी सबैलाई स्तब्ध बनायो । सोही दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकी माताको पनि निधन भयो । वर्षको अन्तिम दिन फेरि विश्वका एक अर्ब २० करोड क्याथोलिकमाथि बज्रपात भयो पूर्वप्रमुख पादरी बेनेडिक्टको निधनले । क्याथोलिक चर्चका विसङ्गति र विवादका बीच एक दशकअघि पदबाट राजीनामा दिएर भ्याटिकनको मठमा बस्नुभएका उनले छ सय वर्षपछि प्रमुख पादरीबाट राजीनामा गर्ने पहिलो प्रमुख पादरीका रुपमा इतिहास रच्नु भएको थियो । विश्वको जनसङ्ख्या आठ अर्ब पुगेको यो वर्षमा उत्पादन र उत्पादकत्व बढाउने खासै गतिविधि नभएकामा संयुक्त राष्ट्रसङ्घका महासचिवको चिन्ता फ्रान्सेली दैनिक ले मोन्डेमा छापियो । उनको चिन्ताको कारण जनसङ्ख्या वृद्धिमात्र नभएर हाम्रो मानव परिवारबीच बढ्दो विभाजन, पृथ्वीका प्राकृतिक स्रोतको चरम दोहन र त्यसले निम्त्याउने विपद्प्रति लक्ष्यित थियो । ‘हुँदा खाने र हुनेखाने’ बीचको गहिरो खाडल पुर्नेतर्फ विश्व समुदाय लाग्नुपर्ने महासचिवको मननीय सन्देश छ ।

नेपाल टि–२० लिग क्रिकेट : काठमाडौंले जनकपुरलाई हरायो

काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको टि–२० क्रिकेट लिग प्रतियोगितामा काठमाडौँ नाइट्स जनकपुर रोयल्सलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौं जनकपुरलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो । काठमाडौँले दिएको एक सय ८१ रनको विजयी लक्ष्य पछाएको जनकपुर १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ९० रनमा समेटियो । जनकपुरका लागि अरफुदिन असरफले सर्वाधिक ३३ रनको योगदान दिए भने सोमापाल कामीले २१ रन बनाए । त्यस्तै खड्क बोहोराले १० रन बनाउनुबाहेक अन्य व्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । काठमाडौंका अभिनास बोहोरा एक्लैले चार विकेट लिए भने अजमतुल्लाह उमरजाईले दुई विकेट लिए । त्यसैगरी कमलसिंह ऐरी, अनिल खरेल र बसिर अहमदले समान एक/एक विकेट झारे । त्यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ८० रनको योगफाल बनाएको थियो । काठमाडौँका लागि सुनाम गौतमले सर्वाधिक ६२ रनको योगदान दिएका थिए । त्यस्तै रायन बर्लले ६१ रन जोडे भने एलेक्स ब्लेकले २०, अजमतुल्लाह उमजाईले १० तथा लोकेश बमले सात रन बनाए । जनकपुरका लागि जितेन्द्र मुखियाले दुई विकेट लिए भने शरफुदिन असरफ र कप्तान ट्राभोल ग्रिफिथले समान एक/एक विकेट लिए । यससँगै पाँच खेलको काठमाडौं तीन जितसँगै छ अङ्क जोडेर अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ । त्यसैगरी छ खेल खेलेको जनकपुर चार खेलमा जित हात पार्दै आठ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ । लुम्बिनी अल स्टार छ खेलमा पाँच जित हात पार्दै १० अङ्कका साथ अङ्कताकिलाको शीर्ष स्थानमा छ । यही पुस २७ गते हुने फाइनल खेलको विजेताले ५५ लाख रुपैयाँ तथा उपविजेताले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ । रासस

एक वर्षमा ६ लाख विदेशीले गरे नेपाल भ्रमण

काठमाडौं । सन् २०२२ मा ६ लाख विदेशीले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको एक वर्षको तथ्यांक अनुसार विभिन्न देशबाट हवाई मार्गहुँदै ६ लाख १४ हजार १४८ जना विदेशी नेपाल भित्रिएका हुन । बोर्डको तथ्यांक अनुसार सबैभन्दा धेरै अक्टोबर महिनामा ८८ हजार ५८२ विदेशी नेपाल भित्रिएका छन् । तथ्यांक अनुसार जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९, मे मा ५३ हजार ६०८, जुनमा ४६ हजार ९५७ र जुलाईमा ४४ हजार ४६२ जना विदेशी हवाई मार्ग हुँदै नेपाल आएका हुन । यस्तैगरी, अगष्टमा ४१ हजार ३०४, सेप्टेम्बरमा ५८ हजार ३१४, अक्टोबरमा ८८ हजार ५८२, नोभेम्बरमा ७२ हजार ६५३ र डिसेम्बरमा ६७ हजार ९३२ जना विदेशी नेपाल आएका छन् । तथ्यांक अनुसार एक वर्षमा सबैभन्दा धेरै विदेशी भारतबाट आएका छन् । भारतबाट २ लाख ९ हजार १०५ जना नेपाल आएका हुन । यस्तै, अमेरिकाबाट ७७ हजार ९, युकेबाट ४४ हजार ७८१, अष्टेलियाबाट २६ हजार ८७४ र बंगलादेशबाट २५ हजार ३८४ विदेशी नेपाल भित्रिएका छन् । सन् २०२० मा २ लाख ३० हजार विदेशी नेपाल आएका थिए भने २०२१ मा १ लाख ४९ हजार मात्र विदेशी आएका थिए । कोरोना महामारीमा कमी आएपछि नेपाल भित्रने विदेशीको संख्यामा बृद्धि हुन थालेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सरकारले सघाउने

पोखरा । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सघाउने बताएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विमानस्थलमा आवश्यक अन्य पूर्वाधार निर्माणका लागि सरकारले भरपूर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रको आजको आवश्यकता राजनीतिक स्थायित्व र सामाजिक न्याय भएको उनको भनाइ थियो । ‘विकास, समृद्दि र सुशासन आजको आवश्यकता हो’, मन्त्री पौडेलले भने । अर्थतन्त्रमा केही समस्या भए पनि काबूभन्दा बाहिर नरहेको उल्लेख गर्दै उनले यसलाई लयमा फर्काउने विश्वास व्यक्त गरे । मन्त्री पौडेलले नवनिर्मित विमानस्थललाई चितवन, भैरहवालगायतका गन्तव्यसँग जोड्नुपर्ने बताए ।

एउटै गाउँमा फल्यो तीन करोडको सुन्तला

गलकोट । बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै तीन करोडको सुन्तला उत्पादन भएको छ । उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ ।  सिगानामा पुसको दोस्रो हप्तासम्मको विवरणअनुुसार ७५ प्रतिशत सुन्तला बिक्री भइसकेको छ । ‘सुन्तला जोन’ का रूपमा जिल्लामा आफ्नो परिचय बनाउँदै आएको यहाँका किसानले यसवर्ष सुन्तला बिक्रीबाट साढे दुई करोड बराबरको सुन्तला बिक्री गरिसकेका छन् भने अझै ५० लाखको सुन्तला बिक्री हुन बाँकी  छ । आठ रोपनी जग्गामा व्यावसायिक सुन्तलाखेती गरेका अगुवा किसान अनन्तबहादुर खड्काले यो वर्ष पाँच लाखमा आफ्नो सुन्तला बगान पोखराका व्यापारीलाई बिक्री गरेको बताए । उनले यस वर्ष सुन्तलाको उत्पादन बढे पनि मूल्य भने घट्न थालेको गुनासो गरे । ‘सिगानामा म जस्तै झण्डै ६० भन्दा बढी किसान रहेको अनुमान छ, तथ्याङ्क संकलनमा अझै कमजोर छौँ, स्थानीय वडा कार्यालयलाई यसको कुनै जानकारी छैन, कुनै किसानले न्यूनतम २५ हजारदेखि अधिकतम पाँच लाखसम्म सुन्तलाको व्यापार गर्दछन्’, किसान खड्काले भने , ‘यस वर्ष सुन्तलाको दाना निकै राम्रो छ तर धेरै स्थानमा उत्पादन बढेपछि सुन्तला व्यापारीले कम मूल्यमा सुन्तला खरिद गरेको पाइयो, हाम्रो अनुमानमा सिगानामा यस वर्ष तीन करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको छ ।’ उनका अनुसार पोखराका व्यापारीले यहाँ किसानका सुन्तला बोटबाटै टिपेर लैजाने गरेका छन् । बगैँचा विस्तार र मलजल राम्रो गरेपछि यस वर्ष किसानले सुन्तला बिक्रीबाट राम्रो आम्दानी गरेका हुन् ।  यस वर्ष सुन्तलाको राम्रो दाना फलेको भन्दै अगुवा किसान राम बहादुर खड्काले केहीले बोट नै ठेक्कामा दिएका र केहीले सुन्तला टिपेर बागलुङ बजार र पोखराको बजारमा पठाएको जानकारी दिए। उनले औँशे किराको प्रकोपले सुन्तलामा सामान्य क्षति गरे पनि सुन्तलाको उत्पादन गत वर्षको तुलनामा बढेको र दानासमेत राम्रो लागेको बताए । गत वर्ष यहाँका किसानले सुन्तला बिक्रीबाटै दुई करोड ५० लाख भित्र्याएको वडा कार्यालयको तथ्यांक छ । यस वर्ष पनि सुन्तला बिक्रीको तथ्यांक संकलन गर्न थालिएको जानकारी गराउँदै वडाध्यक्ष राजु कार्कीले सुन्तला बिक्रीकै चरणमा रहेकाले तथ्यांक संकलनमा ढिलाइ भएको बताए । उन बिक्री लक्ष्यअनुसार तीन करोडको सुन्तला उत्पादन भएको बताए । पोखराका व्यापारीले बोटमै ठेक्कामा खरिद गरेर सुन्तला लैजाने गरेका छन् भने साना व्यापारीले डोकोमा सुन्तला खरिद गरेर बजार पुर्‍याउने गरेका छन् ।  नयाँ सुन्तला बगैँचा बढिरहेकाले यहाँका किसानले वार्षिक ५० लाखका दरले सुन्तला उत्पादन वृद्धि हुने लक्ष्य लिएका छन् । सिगानामा १२ हजारभन्दा बढी सुन्तलाको बोटले उत्पादन दिइरहेको छन् भने १० हजारभन्दा बढी बोट उत्पादनको तयारीमा छन् । यहाँका किसान सुन्तलाका बिरुवामा समेत आत्मनिर्भर भइसकेका र आधा दर्जनभन्दा बढी सुन्तलाका बिरुवा उत्पादन गर्ने नर्सरी स्थापना भइसकेको यहाँका किसानले जनाएका छन् ।  सिगानामा पाँच वर्षअघिदेखि सुन्तलाखेती वृद्धिका लागि अन्य रुख फँडानी गर्ने अभियान वडा कार्यालयले चलाएको थियो । यहाँ अहिले सुन्तला प्रतिकिलो होलसेलमा ५० देखि ६० का दरले बिक्री भइरहेको छ । बोटबाटै सुन्तला खरिद गर्ने व्यापारीले सुन्तलाको दाना हेरेर एकमुष्ट बगैँचाको मूल्यमै  सम्झौता गरेर  सुन्तला टिप्न थालेका छन् ।  स्थानीय निकायमार्फत विगत पाँच वर्षयता २८ हजार सुन्तलाका नयाँ बिरुवा रोपिएको छ । वितरण गरिएको बिरुवाले अबको दुई-तीन वर्षपछि उत्पादन दिन थाल्नेछन् । सिगाना सुन्तला खेतीका लागि उपयुक्त हावापानी भएका कारण सुन्तला रोपेको तीन-चार वर्षमै उत्पादन दिन थालेको सुन्तला कृषक तुलसी खड्काले जानकारी दिए ।  सिगानाको बेँसी, वडा कार्यालय क्षेत्र, बाँस्कोटलगायत स्थानमा अधिकांश जमिन सुन्तला खेतीले ढाकेको छ । सिगानामा उत्पादन भएका सुन्तला पोखरा, चितवन र बागलुङ बजारलगायत स्थानमा निर्यात हुने गरेको छ । यहाँको सुन्तला पोखराको बजारमा अत्यधिक माग हुने गरेको पोखराबाट बागलुङ सिगानामा सुन्तला खरिद गर्न आएका व्यापारी सोमबहादुर तामाङले जानकारी दिए।  ‘सिगानाको सुन्तला बगैँचामै टिपेपछि ग्रेडिङ हुन्छ, एक क्यारेटको बढीमा आठ सयदेखि घटीमा तीन सयसम्म पर्दछ, सुन्तलाको दानाअनुसार पोखराको बजारमा मूल्य निर्धारण हुने भएकाले सुन्तलालाई ग्रेडिङ गरेर मात्रै बजारमा लैजाने गर्दछौँ’, उनले भने, ‘अहिले सुन्तलाको उत्पादन धेरै भएकाले बजार भाउ केही सस्तो छ, हामीले मङ्सिरदेखि माघसम्म गाउँगाउँ पुगी सुन्तला खरिद गरेर बजारीकरण गर्दै आएका छौँ ।’   सिगानासँगै बिहुँ, तित्याङ, भकुण्डे, लेखानी, सर्कुवा र दमेकलगायत ठाउँ सुन्तलाखेतीका लागि उर्वर मानिन्छन् । जिल्लामा करिब पाँच हजार हेक्टरभन्दा बढी जमिनमा सुन्तलाखेती हुँदै आएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । 

कर्जालाई अनुदानमा परिणत गर्न मुख्यमन्त्री पोखरेलको चीन सरकारसमक्ष आग्रह

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवाह भएको ७५ प्रतिशत कर्जालाई अनुदानमा परिणत गर्न चीन सराकारसमक्ष आग्रह गरेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले चीनको एक्जिम बैंकबाट विमानस्थल निर्माणका लागि लिइएको करिब २२ अर्बमध्ये ७५ प्रतिशत ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गरेका हुन्। ‘म नेपालस्थित चिनियाँ राजदूतावासमार्फत् चीन सरकारसमक्ष ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गर्न आग्रह गर्दछुँ,’ उनले भने। विमानस्थल निर्माणका लागि कुल लगानी करिब २२ अर्बमध्ये २५ प्रतिशत अनुदान र बाँकी ७५ प्रतिशत ऋण लिइएको थियो। मुख्यमन्त्री पोखरेलले ४७ वर्षदेखिको पोखरावासीको सपना बल्ल साकार भएको बताए। विमानस्थलबाट पहिलो चरणमा दक्षिण एसिया र दोस्रो चरणमा पश्चिमी देशमा हवाई उडान हुनुपर्ने उनको भनाइ थियो। विमानस्थल सञ्चालनमा आएपछि पोखरामा पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढ्ने मुख्यमन्त्री पोखरेलले विश्वास व्यक्त गरे। ‘पोखरामा अब कम्तीमा दुई साता बस्ने र दुई हजारभन्दा बढी डलर खर्च गर्ने पर्यटक ल्याउन सक्नुपर्छ,’ उनले भने। मुख्यमन्त्री पोखरेलले अन्तर्राष्ट्रिय सभाहल र क्रिकेट मैदान पनि पोखराका लागि आवश्यक भएको उल्लेख गर्दै यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष आवश्यक बजेटक विनियोजनका लागि आग्रह गरे।