काठमाडौं । आगामी तीन दिन देशभर अत्याधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरुले सुझाव दिएका छन् । विज्ञहरुले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् ।
पछिल्लो केही दिन यता देशभर बाक्लो हुस्सु लाग्ने चिसोको उत्तारचढाव भइरहेको छ । आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा सितलहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विज्ञहरुको सुझाव छ ।
जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले पश्चिमी वायुका कारण चिसो बढिरहेको बताए । उनले आजदेखि तीन दिनसम्म देशको अधिकांश भागमा सितलहरको सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरे । उनले अबका केही दिनमा चिसो अत्याधिक बढ्ने भन्दै बालबालिका, वृद्धवृद्धा, दिर्घरोगी, मुटुका रोगीहरुले बिहानको समयमा घरबाहिर निस्किनु उचित नहुने बताए ।
‘पश्चिम बंगालमा सिर्जना भएको न्युन चापिय अवस्था र पश्चिमी वायुको प्रभावका कारण तुँवालो लाग्ने, चिसो बढ्ने, हिमपात हुने सम्भावना रहेको छ, मर्निङ वाकमा सकेसम्म चिसोको बेलामा नजाने, सकेसम्म कोठामा नै योगाभ्यास गर्नुपर्छ,’ उनले भने ।
उनले फोक्सोको क्यानसरदेखि श्वासप्रश्वासमा समस्या, मुटुका बिरामीहरुमा समस्या र बालबालिका र वृद्धवृद्धामा चिसोको असर बढी हुने बताए ।
जलवायुविज्ञ उप्रेतीले जनवरी, फ्रेब्रुअरी र मार्चमा न्युनतम तापक्रम औसत भन्दा तल हुने र वर्षा पनि कम हुने बताए । ‘हिउँदामा वर्षा कम र चिसो बढी भएको खण्डमा यसको सबैभन्दा बढी असर वायुप्रदुषणमा पर्छ,
जलवायुविज्ञ डा. उप्रेतीले अहिले समुन्द्री सतहको तापक्रम औसत भन्दा कम रहेकाले चिसो बढी रहेको बताए । ‘न्युनतम तापक्रम घट्दै जाँदा चिसो र सितलहर बढ्ने भएकाले जनवरी ४ सम्म देशको पश्चिमी भागमा यसको असर पर्छ, तापक्रममा हुने परिवर्तन र वायुमण्डलमा हुने परिवर्तनका कारण विश्वको तापक्रमलाई असर गर्ने भन्दै नेपालले पनि चिसोबाट बच्न आवश्यक शतर्कता अपनाउनु जरुरी छ,’ उनले भने ।
हिउँद महिनामा पानी नपर्दा वायुमण्डलमा प्रदुषण बढ्ने उनले बताए । ‘गत वर्षको यो सिजनमा पानी परिसकेको भएपनि यसवर्ष भने पानी नपरेकाले झनै समस्या सिर्जना हुनसक्छ,’ उनले भने ।
उनले मौसम अनुकुल नहुँदा पश्चिम तराईका केही जिल्लाहरुमा चिसोका कारण बिरामीहरु बढेको र आगामी दिनमा काठमाडौंसहित पहाडी जिल्लाहरुमा समेत यसको प्रभाव देखिने बताए ।
डा. उप्रेतीले देशभर चिसो बढेकाले बिहानको समयमा बाहिर हिँडडुल भरसक नगर्ने वा घरभित्रै व्यायाम गर्ने, न्यानो लुगा लगाउने, पानीमा धेरै बेर नभिज्ने, बिहान बहिर हिँड्नै परे मास्कको प्रयोग गर्ने, आगो ताप्दा झ्याल/ढोका खोलेर वा पर्याप्त हावा ओहोरदोहोर हुनेगरी मात्र आगो वा हिटर ताप्ने, गाडी चलाउँदा गति सिमित हुनेगरी चलाउने र फोग लाइटको प्रयोग गर्ने, विद्यालयमा केही दिन बिदा वा प्रविधिको प्रयोग गरी सम्भव भएसम्म अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने सुझाव दिए ।