काठमाडौं । होटल व्यवसायी महासंघको चौथो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन चितवनमा हुने भएको छ।
सम्मेलनमा देशभरका प्रदेश सङ्घ, जिल्ला सङ्घ तथा इकाईहरुबाट सम्पूर्ण व्यवसायीको प्रतिनिधित्व गर्दै करिब सात सय प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने उनले बताए।
महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेले कोरोना तथा आर्थिकमन्दीको कारणले २० देखि ३० प्रतिशत व्यवसायी पलायन भएको बताए। ‘नारायणगढ बजारमा पनि अधिकांश सटर अहिले बन्द भएका छन्। व्यवसायमा पूरै मन्दी आएको छ। सम्मेलनले व्यवसाय क्षेत्रमा केही आशाको सञ्चार गर्नेछ।’ उनले भने।
सम्मेलनमा पर्यटनसम्बन्धी विभिन्न प्रस्तुति र कार्यशाला पनि हुने उपाध्यक्ष चुकेले जानकारी दिए। उनले भने, ‘राष्ट्रिय सम्मेलनबाट भरतपुर महानगरको पर्यटकीय गतिविधि चलायमान पनि हुनेछ।’ विसं २०६७ मा स्थापना भएको होटल व्यवसायी सङ्घको पहिलो महाधिवेशन पनि चितवनमा नै भएको थियो।
यसपटक हुने चौथो महाअधिवेशन तथा दशौँ वार्षिक साधारणसभा उद्घाटन अघि भरतपुरको चौबीस कोठीबाट उद्घाटनस्थलसम्म विभिन्न सांस्कृतिक झाँकीसहितको प्रभात फेरी गरिने छ। रासस