२ वर्षमा नेपालीले लगाए विदेशी ६ करोड जोर जुत्ता, ३ हजारसम्मका जुत्ता आयात रोक्न माग
काठमाडौं । नेपाली जुत्ता उत्पादक व्यवसायीहरूको सङ्गठन फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा १६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी २०७९ सम्पन्न भएको छ । जुत्ता उत्पादन, बजारीकरण, प्रवद्र्धनका अनेकन समस्याबीच स्वेदशी उत्पादनबारे जानकारी दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरे बताउँछन् । कोभिडका कारण गत ३ वर्ष प्रदर्शनी गर्न नपाइएको भन्दै यस वर्ष ग्राहकका साथै उद्योगी र उपभोक्ताको बीचमा पुलको काम गर्ने व्यवसायीलाई लक्षित गरिएको अध्यक्ष घिमिरेले बताए । १६ करोड जोरसम्म वार्षिकरूपमा उत्पादन गर्ने नेपाली कम्पनीको क्षमता रहेको उल्लेख गर्दै उनले ३ हजार रुपैयाँसम्मका जुत्ता विदेशबाट आयातमा रोक लगाउनुपर्नेमा जोड दिए । १० करोड जुत्ता नेपाली बजारको माग रहेको बताउँदै अध्यक्ष घिमिरेले गत वर्ष ५ करोड ६५ लाख नेपाली जुत्ता बिक्री भएको जानकारी दिए । गत वर्ष विदेशबाट ४ करोड बढी र यो वर्ष २ करोड गरी कूल ६ करोड जोर जुत्ता चोरी तस्करी र वैधानिक तरिकाले नेपाल भित्रिएको उनको भनाइ छ । चोरी तस्करीबाट जुत्ता भित्रिँदा त्यसको असर नेपाली उत्पादनमा पर्ने गर्छ । अहिले नेपाली बजारमा नेपालमै उत्पादन भएका ६५ प्रतिशत जुत्ता प्रयोग भइरहेको छ । सरकारले उद्योग र वाणिज्यलाई फरक किसिमले हेरिदिनुपर्ने भन्दै घिमिरेले दक्ष तालिमको व्यवस्था गरी चोरी–पैठारी सरकारले नियन्त्रण गर्नुपर्ने धारणा राखे । ‘अहिलेसम्म ४० देखि ४५ प्रतिशत नेपाली कच्चापदार्थ नेपाली जुत्ता उत्पादनमा प्रयोग हुने गरेको छ, राज्यले सहयोग गरे ७० देखि ८० प्रतिशत नेपालमा उत्पादन भएका कच्चापदार्थ प्रयोग गर्न सकिन्छ,’ उनले भने । विश्वभरको आर्थिक सङ्कटको असर जुत्ता व्यवसायीहरूलाई पनि परेकोे छ । अहिले जुत्ता बनाउन प्रयोग हुने कच्चापदार्थ नेपालमा पनि उत्पादन हुन थालेको पवित्रा सुज इन्डष्ट्रिज प्रालिका सेल्स अफिसर डम्बर श्रेष्ठले बताए । जुत्ता तयार गर्न नेपालमा उपलब्ध भएका छाला, रेग्जिन र कपडा प्रयोग हुँदै आएको छ । तर फेन्सी चप्पल र जुत्ताका लागि भने चीन र भारतबाट कच्चापदार्थ ल्याउन पर्दा खर्च दोब्बर लाग्ने गर्छ । सोलमा प्रयोग हुने रबर, सिलिकन सोल, रबरको सोल, नरम खालको कपडा जुत्ता चप्पलमा प्रयोग गरिन्छ । उनका अनुसार चीनबाट ल्याउने कच्चापदार्थमा धेरै ‘भेरियन्ट’ हुन्छ । जुत्ता चप्पल हेर्दा उस्तै देखिए पनि कच्चापदार्थको गुणस्तरअनुसार मूल्य फरक पर्ने दाबी गर्दै उनले सस्तो र राम्रोका लागि चीनका कच्चापदार्थ प्रयोग गरेका सामान बढी बिक्री हुने बताए । केही सोल नेपालमै उत्पादन भए पनि चुजी ब्रान्डहरूका लागि भने ग्राहकहरूले बाहिरको उत्पादन खोज्ने गरेका छन् । तर सामान्य उपभोक्ताहरूलाई भने कोरोना महामारीपछि नेपाली ब्रान्ड नै उपयुक्त लाग्न थालेको छ । पछिल्लो समय ग्राहकहरूले नेपाली ब्रान्डकै जुत्ता खोज्ने गरेको भन्दै बजारमा उपलब्ध भएका ७० प्रतिशत बढी जुत्ता नेपाली उत्पादनकै बिक्री हुन थालेको उनको जिकिर छ । पहिलाको हिसाबले बिक्री बढी भए पनि नाफा भने कम बस्ने व्यवसायीहरूको भनाइ छ । उत्पादन बढी हुँदा बजारमा प्रतिस्पर्धा हुने गर्दा धेरै बिक्री हुँदा पनि मार्जिन कम बस्छ । पछिल्लो समय ग्राहकहरूले नेपाली ब्रान्ड खोज्न थालेको मोडर्न सुज प्रालिका सेल्स अफिसर प्रभाषकुमार महतोले बताए । नेपाली उत्पादन भएका सामानमा पुनः मर्मत गर्नुपर्ने समस्या निकै कम आउने उनको दाबी छ । गोल्डस्टार जुत्ताका सेल्स प्रमुख उद्धव सिटौलाले कोरोना महामारीपछि नेपाली ग्राहकहरूले नेपालमै उत्पादन भएको सामानप्रति झुकाव बढाएको जिकिर गरे । ग्राहकको झुकाव देखेर आफ्नै देशको उत्पादनमा लाग्न प्रेरणा मिलेको उनको भनाइ छ । आफ्नो कम्पनीले नेपालमा उत्पादन भएका कच्चापदार्थमा जोड दिने गरेको उल्लेख गर्दै कच्चापदार्थ चीन, भारत र ताइवानबाट ल्याउने बताए । नेपालको भन्दा गुणस्तरका लागि विदेशी कच्चापदार्थ नै राम्रो मानिन्छ । नेपालमा मुख्य कच्चापदार्थ नपाइने व्यवसायीहरूको गुनासो छ । सिटौलाका अनुसार नेपालमा ४५ प्रतिशत जुत्ता बन्ने भए पनि बाहिरबाट ४५ प्रतिशत जुत्ता आयात हुनेगर्छ । कच्चापदार्थको उत्पादन बढाउन सरकारले रुचि बढाउनुपर्ने भन्दै उनले जुत्ता आयातमा सरकारले नीति परिवर्तन गर्नुपर्ने बताए । १ हजारदेखि १४ हजार रुपैयाँसम्मका बनेका गोल्डस्टारका जुत्ता नेपालमा पाइन्छन् । रोयल फुटवेयर इन्डस्ट्रिज प्रालिका सेल्स अफिसर सन्तोष पौडेलले जुत्ता बनाउन आवश्यक पर्नेमध्ये फाइबर, पिभिसी सोलहरू नेपालमा उत्पादन हुन थालेको बताए । जुत्ता बनाउन सोल, केमिकल डेन्ड्राइड, पियु र सोल पेस्टिङ, लाछी, धागो, सियो, कपडा आदि आवश्यक पर्छ । ग्राहकहरूले खोजिरहेको जस्तो डिजाइन बनाउन नसकेको व्यवसायीहरूको भनाइ छ । पौडेलका अनुसार पहाडी र शहरी क्षेत्रमा बिक्री गरिने सामानमा फरक कच्चा पदार्थ प्रयोग गरिन्छ । गोल्डस्टारले १ हजार देखि ११ हजार रुपैयाँसम्मका जुत्ता महिला, बालबालिका, पुरुष सबैका लागि उत्पादन गर्दै आएको छ । विदेशी ब्रान्ड हेर्दा राम्रो भए पनि जुत्ताको गुणस्तर बलियो भने नेपाली उत्पादन नै हुने उनको दाबी छ ।
सानिमा मिडिल तमोर हाइड्रोपावरले माघ ४ गतेदेखि आईपीओ बिक्री गर्ने
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरले माघ ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री गर्ने भएको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ३३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकति मूल्य दरका ३३ लाख ३२ हजार ५ सय कित्ता आयोजना प्रभावितका लागि बिक्री गर्ने भएको हो । जसमध्ये ४० प्रतिशत अर्थात १३ लाख ३३ हजार कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका वडा नं. १ तथा भिक्वाखोला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखोला गाउँपालिका वडा नं. १ का बासिन्दाहरुका लागि र ६० प्रतिशत अर्थात् १९ लाख ९९ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्गका लागि निष्काशन गर्ने भएको हो । साथै सर्वसाधारणमा निष्काशन हुने सेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रहेका नेपालीहरुका लागि निष्काशन गर्ने भएको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजन प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले छिटोमा माघ १८ गते र ढिलोमा फागुन ४ गतेसम्म आवेदन दिन पाउनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ १८ गतेभित्र आवेदन दिईसक्नु पर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । स्थानिय बासिन्दाले सानिमा मिडिल तमोर हाइड्रोपावरको कार्यालय, सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
अवैध डिजिटल कारोबार बन्द गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरणले अनलाइन मार्फत हुने अवैध डिजिटल कारोबार बन्द गर्न निर्देशन दिएको छ । अनलाइन मार्फत् हुने अवैध डिजिटल कारोबार गर्ने वेबसाइट, एप र सञ्जालसम्मको पहुँच रोक्न प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको हो । नेपालमा मौद्रिक उपकरणको कानुनी मान्यता नदिएको भर्चुअल करेन्सी र नेटवर्क मार्केटिङ लगायतका डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोबार बढेकाले त्यस्ता वेबसाइट अथवा एपसम्म पहुँच पुग्न नसक्ने व्यवस्था गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो । अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन सेवालगायतका गैरकानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप, अनलाइन सञ्जाललगायतका भर्चुअल माध्यम नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न प्राधिकरणले निर्देशन दिएको हो । प्राधिकरणबाट जारी गरिएको निर्देशनको पालना नगरेको पाइएमा ऐनबमोजिम कारबाही हुने प्राधिकरणले बताएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले १४ महिनामा के-के गरे ?
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो १४ महिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् । मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा पत्रकार सम्मेलनमार्फत आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गरेका हुन् । गत २०७८ कात्तिक ११ गते प्रदेशको मुख्यमन्त्री पद बहाली गरेका पाण्डेले सरकारको साझा न्यूनतम कार्यक्रम २०७८ तर्जुमा गरी कार्यान्वयनमा ल्याएका थिए । उनले सोही साझा न्यूनतम कार्यक्रम बमोजिम वि.सं २०७९ पुस २४ गतेसम्म ४३८ दिनको अवधिभित्र प्रदेश सरकारले विभिन्न विषयसँग सम्बन्धित ऐन ६, अध्यादेश ९, नियमावली ३, विनियमावली १, निर्देशिका २, कार्यविधि १९, मापदण्ड ५ तथा आदेश १ जारी गरी कानुनी आधार तयार गरिएको पत्रकार सम्मेलनमा जानकारी गराए । उनले आफ्नो कार्यकालमा सडक पूर्वाधारतर्फ १६०.१४ किलोमिटर कच्ची, २००.७७ किलोमिटर ग्राभेल, ११६.८६ किलोमिटर कालोपत्रे, ७३.९३ किलोमिटर ढलान सडक र १९ पुल तथा झोलुङ्गे पुलरट्रस ब्रिज ६ वटा निर्माणलाई महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे । उनले गरेका महत्वपूर्ण उपलब्धिमा भवन पूर्वाधारतर्फ नयाँ भवन निर्माण २१२, पार्क तथा अन्य संरचना निर्माण २६४, सरकारी भवन मर्मत ५७ र जनता आवास इकाई ६८८ निर्माण रहेका छन् । उनको कार्यकालमा प्रदेश उच्च शिक्षा ऐन, २०७८ जारी गरी प्रदेश उच्च शिक्षा परिषद् गठन गरिएको छ । ऐन कार्यान्वयनको लागि प्रदेश उच्च शिक्षा नियमावलीको मस्यौदा तयार गरी प्रदेशस्तरमा विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना गरी शिक्षा विकासमा भूमिका बढाउने कार्य भएको, प्रादेशिक विज्ञान तथा प्रविधि विश्वविद्यालय तथा प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि जग्गा खोजी गर्न मन्त्रिपरिषद्बाट कार्यदल गठन गरी प्रक्रिया अघि बढाइएको उल्लेख गरिएको छ । उनले शैक्षिक छात्रवृत्ति निर्देशिका, २०७८ जारी गरिएको, प्रदेश विज्ञान तथा प्रविधि, अनुसन्धान र नवप्रवद्र्धन नीति, २०७८ स्वीकृत गरी कार्यान्वयन ल्याइएको, शैक्षिक उपलब्धिका आधारमा प्रदेशभित्रका २ सय माध्यमिक विद्यालयलाई २० लाख रुपैयाँ र १ सय आधारभूत विद्यालयलाई १० लाख रुपैयाँका दरले अनुदानका कार्यक्रम कार्यान्वयनमा ल्याइएको, विद्यालय भौतिक पूर्वाधार विकासअन्तर्गत ११५ विद्यालयमा २ कोठे भवन निर्माण गर्न २५ लाख रुपैयाँ र १२८ विद्यालयमा घेराबार निर्माणको लागि १५ लाख रुपैयाँका दरले बजेट व्यवस्था गरिएका जानकारी गराए ।
हर्मिता श्रेष्ठ : जसले राष्ट्र प्रमुखलाई बसमा राखेर सहर डुलाइन !
काठमाडौं । सबै देशका राष्ट्र प्रमुखलाई सवारीको विशेष व्यवस्था गरिएको हुन्छ । पदीय मर्यादा तथा सुरक्षाका कारण यस्तो व्यवस्था गर्नु देशकै मुख्य जिम्मेवारी हो । यद्यपि, शानिबार राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यले उपलब्ध गराएको सवारीको सट्टा आमनागरिकले प्रयोग गर्ने साझा बसमा यात्रा गरिन् । उनले राष्ट्रपति भवन शीतलनिवासदेखि ललितपुरको पाटनसम्म साझा यातायातमा यात्रा गरेकी हुन् । राष्ट्रपति भण्डारी पाटन क्षेत्रका सम्पदा, मदन पुरस्कार पुस्तकालय, पिम्बहाः पुखुलगायतका ऐतिहासिक धरोहरको अवलोकनका लागि त्यहाँ पुगेकी थिईन् । राष्ट्रप्रमुख साझाको बिजुली बसमा सवार हुँदा आम नागरिकमा सार्वजनिक यातायातप्रति सकारात्मक सन्देश गएको छ । त्यसले ल्याएको उत्साह सार्वजनिक यातायात चलाउँदै आएका चालक वर्गमा पनि प्रवाहित भएको छ । महाराजगञ्जबाट पाटनढोकासम्म राष्ट्रपतिसहित २८ जनालाई यात्रा गराएकी चालक हर्मिता श्रेष्ठको अनुभूति पनि गर्विलो छ । हर्मिताको संयोग र राष्ट्रप्रमुखको यात्राले जीवनभरको पेसाप्रति सम्मान थपेको मात्र छैन उनमा आफ्नो पेसाप्रति भरोसा पनि जागेको छ । २१ वर्षे पेसा अवधिमा आफूले पाएको अवसर जीवनभर स्मरणीय रहने हर्मिताको प्रतिक्रिया छ । ‘सर्वसाधारणदेखि राष्ट्राध्यक्षसम्मलाई यात्रा गराउन पाउनु मेरा लागि महत्वपूर्ण अवसर हो । यसले पेसाप्रति गौरवान्वित तुल्याएको छ,’ उनले भनिन् । राष्ट्रपतिलाई बसमा चढाएर साझा यातायातले उपलब्ध गराएको टिसर्ट, क्याप र मास्क लगाएर ड्राइभिङ सिटमा बस्दा अत्यन्त खुशी अनुभूत गरेको उनले बताइन । ‘देशको अति विशिष्ट व्यक्ति, त्यसमा पनि महिला, उहाँलाई राखेर बस अगाडि बढाउँदा महिला चालक हुनुमा गर्वले छाति फुलेको अनुभव भयो,’ हर्मिताले भनिन्, ‘अरु दिन धुलो धुवाँलाई छिचोल्दै लामो समय सडकमै बिताउने म, शनिबार मेरा लागि विशेष दिन रह्यो ।’ राष्ट्रपतिलाई निवासबाट पाटनढोका हुँदै पुनः निवास पुर्याउँदा जीवनमा महत्वपूर्ण जिम्मेवारी पूरा गरेको उनको भनाइ छ । यसले उनमा अझ उत्साह थपेको छ । ‘२ दशकदेखिको ड्राइभिङ पेसाप्रति सन्तुष्ट छु,’ हर्मिताले विभिन्न सङ्घसंस्थाको गाडी चलाएर देशका कुना काप्चासम्म पुगेको अनुभव सुनाउँदै भनिन्, ‘सिक्दासिक्दै ड्राइभिङ जीवन धान्ने पेसा बन्यो, जसकै कारण राष्ट्र प्रमुखलाई राखेर सहर डुलाउन सक्ने भएँ, यसमै खुशी छु ।’ विभिन्न संस्थामासमेत आवद्ध उहाँ सार्वजनिक यातायातको चालक हुँदा कानुनको पालनाका साथै व्यावहारिक कुराले समस्यामा पर्ने गरेको बताउँछिन् । उनका अनुसार विषेशतः ज्येष्ठ नागरिक र समस्यामा परेका यात्रुलाई सहयोग गर्दा कुनै ठाउँमा सवारीले ट्राफिक नियम उलङ्घन हुने अवस्था आउँछ । मानवीय दृष्टिबाट अस्पतालजस्ता ठाउँमा अशक्त व्यक्ति ओरालिदिनुपर्ने हुन्छ त्यतिबेला ट्राफिक प्रहरीले गर्ने व्यवहारले उनको मन दुख्छ । संविधानले समानताको सुनिश्चितता गरे पनि अझै नेपालमा अधिकांश पुरुष चालक छन् । पछिल्लो समय महिलाले पनि यो पेसालाई अँगाल्न थालेका छन् । हर्मिता पुरुषले मात्र नभएर महिलाले पनि जुनसुकै सवारी चलाउन सक्छन् भन्ने उदाहरण बनेकी छिन् । अवसर पाएमा महिला देशदेखि सवारी हाँक्ने ठाउँसम्म पुग्न सक्ने उनको विश्वास छ । राष्ट्रपतिको सवारीमा सहचालकको भूमिका निर्वाह गरेकी सरिता भुजेलको पनि उस्तै अनुभव छ । हर्मितालाई मात्र होइन, सबै महिला चालकलाई पेसाप्रति थप जिम्मेवार एवं हौसला मिलेको छ ।
कृषि विकास बैंकको सीईओका लागि आवेदन खुला, मासिक तलव ४ लाख
काठमाडौं । कृषि विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) खुला प्रतिस्पर्धाका माध्यमबाट छनोट गर्ने भएको छ । बैंकले सीईओ पदका लागि विज्ञापन आह्वान गरेसँगै खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट सीईओ पदपूर्ति गरिने बैंकले जनाएको हो । बैंकका पूर्व सीईओ अनिल उपाध्यायको कार्यकाल गत पुस १० गते सकिएपछि रिक्त रहेको छ । बैंकले सोमबार एक सूचना प्रकाशन गरी २१ दिन अर्थात् माघ १५ गतेसम्म योग्यता र अनुभव प्राप्त गरेका इच्छुक योग्य ब्यक्तिलाई आवेदन पेश गर्न आग्रह गरेको हो । बैंकको सीईओ पदका लागि आवेदन दिने ब्यक्तिको योग्यता व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विपयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनु पर्नेछ । चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्याङ्गशास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा १० वर्षको कार्यअनुभव भएको हुनु पर्नेछ । उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा उम्मेदवारहरु मध्ये ५ जनालाई सर्ट लिष्टिङ्ग गरी अन्तरवार्ताका लागि छनौट गरिनेछ । छनौट भएका उम्मेदवारहरुमध्ये शैक्षिक योग्यता तथा कार्य अनुभव, व्यावसायिक कार्य योजनाको मूल्याङ्कन प्रस्तुतीकरण तथा अन्तवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरिनेछ । सीईओलाई मासिक पारिश्रमिक ४ लाख रुपैयाँ र कार्यसम्पादनका आधारमा प्रोत्साहन रकम र अन्य सुविधाहरु प्रदान गरिनेछ । हाल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी उपमहाप्रबन्धक प्रताप सुवेदीलाई दिईएको छ ।
ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार आजदेखि, कूल सम्पत्ति पाँच खर्ब ५ अर्ब
काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार आजदेखि हुने भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार आज (पुस २५ गते सोमबार) हुने भएको हो । ग्लोबल आईएमई बैंकले बैंक अफ काठमाण्डूलाई मर्ज गरेपछि मुलुककै ठूलो बैंक बन्ने भएको हो । यी दुई बैंकले मर्जर सम्झौता गरेको ७ महिनापछि एकीकृत कारोबार हुन लागेका हुन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । अर्थात् बैंक अफ काठमाण्डूको १ सय कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् ग्लोबल आइएमई बैंकको १ सय कित्ता सेयर प्राप्त गर्नेछन् । नेपाल राष्ट्र बैंकले पुस १४ गते ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू (बीओके)लाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । मर्जर पश्चात् ‘ग्लोबल आईएमई बैंक’को नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपश्चात् बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ग्लोबल आइएमई बैंकका सीईओ रत्नराज बज्राचार्य बन्ने छन् । साथै, मर्जर पश्चात् बैंक अफ काठमाण्डूका सीईओ श्रवण लाल मास्के वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्नेछन् । बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको थियो । सोही सहमति अनुसार मर्जर पश्चात् बन्ने बैंकको सञ्चालक समितिको पनि टुङ्गो लागेको छ । मर्जरपश्चात् सञ्चालक समितिको अध्यक्षमा चन्द्र ढकाल बन्ने छन् । ग्लोबल आइएमई बैंकबाट सञ्चालकहरुमा कृष्ण प्रसाद शर्मा, देवेन्द्र प्रताप शाह, क्याविनेट श्रेठ र राम बहादुर भण्डारी सञ्चालक बन्नेछन् । यस्तै बैंक अफ काठमाण्डूबाट राधेश पन्त र मदन लाल जोशीलाई सञ्चालक बनाउने सहमति भएको छ । मर्जरपश्चात् बन्ने बैंकको चुक्ता पूँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ । बैंकको जेगडा कोष १९ अर्ब ५६ रुपैयाँ पुग्नेछ । बैंकहरुको वित्तीय विवरणका आधारमा मर्जरपश्चात् बैंकको निक्षेप ४ खर्ब १२ अर्ब रुपैयाँ र कर्जा ३ खर्ब ७७ अर्ब रुपैयाँ भन्दा बढी पुग्नेछ । मर्जरपश्चात् कूल सम्पत्ति ५ खर्ब ५ अर्ब र कूल पूँजी ५७ अर्ब रुपैयाँ भन्दा बढी पुग्ने बैंकले जनाएको छ । मर्जर पश्चात् बैंकको ४० लाखभन्दा बढी ग्राहक संख्या पुग्नेछन् । शाखा सञ्जाल देशविदेश गरी कूल १ हजार १ वटा भन्दा बढी हुनेछन् । मर्जर पश्चात् बैंकको कर्मचारी संख्या ३ हजार ७९३ जना पुग्नेछन् ।
एभरेष्ट बैंकको २ अर्बको ऋणपत्र आजदेखि बिक्री खुला, ब्याज कति दिन्छ ?
काठमाडौं । एभरेष्ट बैंकले आज (पुस २५ गते, सोमबार) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले वार्षिक ७.५० प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘एभरेष्ट बैंक उर्जा ऋणपत्र २०८९’ निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले २ अर्ब रुपैयाँ बराबरको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दर मूल्यका २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १२ लाख कित्ता व्यक्तिगतका लागि र बाँकी ४० प्रतिशत अर्थात् ८ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बैंकको उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको उक्त ऋणपत्रमा लगानीकर्ताले छिटोमा पुस २९ गते र ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ । साथै सिडिएससीको मेरो सेयर वेबसाइट वा एपबाट पनि सिआस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्रलाई केयर नेपालले केयर एनपी डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ ।