ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार आजदेखि, कूल सम्पत्ति पाँच खर्ब ५ अर्ब

<p>काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार आजदेखि हुने भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार आज (पुस २५ गते सोमबार) हुने भएको हो । ग्लोबल आईएमई बैंकले बैंक अफ काठमाण्डूलाई मर्ज गरेपछि मुलुककै ठूलो बैंक बन्ने भएको हो । यी दुई बैंकले मर्जर सम्झौता गरेको ७ [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार आजदेखि हुने भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार आज (पुस २५ गते सोमबार) हुने भएको हो । ग्लोबल आईएमई बैंकले बैंक अफ काठमाण्डूलाई मर्ज गरेपछि मुलुककै ठूलो बैंक बन्ने भएको हो ।

यी दुई बैंकले मर्जर सम्झौता गरेको ७ महिनापछि एकीकृत कारोबार हुन लागेका हुन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । अर्थात् बैंक अफ काठमाण्डूको १ सय कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् ग्लोबल आइएमई बैंकको १ सय कित्ता सेयर प्राप्त गर्नेछन् ।

नेपाल राष्ट्र बैंकले पुस १४ गते ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू (बीओके)लाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरिसकेको छ ।

मर्जर पश्चात् ‘ग्लोबल आईएमई बैंक’को नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपश्चात् बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ग्लोबल आइएमई बैंकका सीईओ रत्नराज बज्राचार्य बन्ने छन् । साथै, मर्जर पश्चात् बैंक अफ काठमाण्डूका सीईओ श्रवण लाल मास्के वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्नेछन् ।

बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको थियो । सोही सहमति अनुसार मर्जर पश्चात् बन्ने बैंकको सञ्चालक समितिको पनि टुङ्गो लागेको छ ।

मर्जरपश्चात् सञ्चालक समितिको अध्यक्षमा चन्द्र ढकाल बन्ने छन् । ग्लोबल आइएमई बैंकबाट सञ्चालकहरुमा कृष्ण प्रसाद शर्मा, देवेन्द्र प्रताप शाह, क्याविनेट श्रेठ र राम बहादुर भण्डारी सञ्चालक बन्नेछन् ।

यस्तै बैंक अफ काठमाण्डूबाट राधेश पन्त र मदन लाल जोशीलाई सञ्चालक बनाउने सहमति भएको छ ।

मर्जरपश्चात् बन्ने बैंकको चुक्ता पूँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ । बैंकको जेगडा कोष १९ अर्ब ५६ रुपैयाँ पुग्नेछ । बैंकहरुको वित्तीय विवरणका आधारमा मर्जरपश्चात् बैंकको निक्षेप ४ खर्ब १२ अर्ब रुपैयाँ र कर्जा ३ खर्ब ७७ अर्ब रुपैयाँ भन्दा बढी पुग्नेछ ।

मर्जरपश्चात् कूल सम्पत्ति ५ खर्ब ५ अर्ब र कूल पूँजी ५७ अर्ब रुपैयाँ भन्दा बढी पुग्ने बैंकले जनाएको छ ।

मर्जर पश्चात् बैंकको ४० लाखभन्दा बढी ग्राहक संख्या पुग्नेछन् । शाखा सञ्जाल देशविदेश गरी कूल १ हजार १ वटा भन्दा बढी हुनेछन् । मर्जर पश्चात् बैंकको कर्मचारी संख्या ३ हजार ७९३ जना पुग्नेछन् ।

Share News