बैंक तथा वित्तीय क्षेत्र मर्ज हुँदा सक्षम र सबल हुन्छन् : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले धेरै संख्यामा रहेका बैंक तथा वित्तीय संस्था मर्जर हुँदा सक्षम र सबल हुने बताएका छन् । उनले मर्जरले बैंक तथा वित्तीय क्षेत्रमा शुसासन कायम गर्न पनि सहयोग पुर्याउने बताए । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौं बीच भएको मर्जर पछि सोमबार एकीकृत कारोबारको उद्घाटन कार्यक्रममा बोल्ने क्रममा गभर्नर अधिकारीले सो बताएका हुन् । ‘बैंक तथा वित्तीय क्षेत्र मर्ज हुँदा सक्षम र सवल हुनेछन्, सुशासन कायम हुनेछ’, गभर्नर अधिकारीले भने । गभर्नर अधिकारीले एक दशक अघि नै राष्ट्र बैंकले मर्जरको नीति लिएको बताउँदै २०७० को दशकमा वित्तीय क्षेत्र सुशासनको अभाव देखिएको बताए । बैंक तथा वित्तीय क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढेको हुँदा मर्जर तथा एक्विजिसनको नीति लिएको उनले बताए । २ सय ६८ को संख्यामा रहेका बैंकिङ संस्थाहरु अहिले ६७ वटामा झरेको गभर्नर अधिकारीको भनाइ छ । बैंकहरुको ठूलो हुँदा सेल्फ बेसिसमा अघि बढ्नुपर्ने र सानो कर्जालाई प्राथमिकता दिनुपर्ने गभर्नर अधिकारीले बताएका छन् ।
ढकालको नेतृत्वमा २१ संस्थालाई एउटा बनाउनु असाधारण : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २१ वटा विद्युतीय संस्थालाई मर्ज गरेर एक बनाउनु असाधारण भएको बताएका छन् । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको मर्जरपछिको एकीकृत कारोबार आरम्भ कार्यक्रममा उनले सो कुरा बताएका हुन । उनले ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालको नेतृत्वको बैंक मर्जरले वित्तीय क्षेत्रमा ठूलो फड्को मारेको बताए । ‘मर्जरले ठूला परियोजनामा लगानीको स्रोत निश्चित भएको छ, बैंकिङ क्षेत्रमा दखिएको अस्वस्थ प्रतिस्पर्धा हट्दै जाने हाम्रो अपेक्षा छ’, उनले भने, ‘अर्थतन्त्र सुधार गर्ने सरकारको मुख्य एजेन्डा हो, निजि क्षेत्रका माग सम्बोधन गर्न र अर्थतन्त्र सुधार गर्न अर्थमन्त्री, गभर्नर र म आफू स्वयंम बसेर छलफल गरिरहेका छौँ ।’ यस्तै, उनले पुँजी बजारको सकारात्मक सुधारले अर्थतन्त्र सहज भएको बताउँदै बत्तीय क्षेत्रले आपसी समझदारी अनुसार लगानी गर्नुपर्नेमा जोड दिए । ‘चन्द्र ढकालको आर्थिक विकास र मेरो राजनीतिक विकास एउटै हो, हामी दुई सामान्य परिवारबाट आएर छोटो समयमा यति धेरै उचाइ हासिल गर्नु आफैमा एउटा ठूलो काम हो’, उनले भने ।
राहदानी सेवा पूर्णरूपमा सुचारु, सहज प्रक्रियाका लागि गृहकार्य हुँदै
काठमाडौं । विद्युतीय राहदानी जारी गर्ने कार्यअन्तर्गत प्रमाणीकरण प्रक्रियामा देखिएको प्राविधिक समस्या हल भएको छ । विद्युतीय राहदानीसम्बन्धी सेवाग्राहीको तथ्याङ्क प्रविष्टीपछि प्रमाणीकरण गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि यही पुस १७ गतेदेखि सेवा प्रभावित बनेको थियो । सेवा प्रभावित भएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्राविधिक टोलीले विभागको निरीक्षण तथा प्राविधिक समस्याको विश्लेषणका लागि सूचना प्रविधि शाखाका प्राविधिकलाई परिचालन गरेको थियो । समस्याको पहिचान गर्न प्राविधिक व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले तीन जना प्राविधिक नेपाल पठाएको थियो । प्राविधिकले प्रमाणीकरण प्रक्रियामा देखिएको समस्या हल गरेपछि सेवा सुचारु भएको हो । राहदानी विभागले आज एक सूचना जारी गर्दै विद्युतीय राहदानी वितरणमा देखिएको समस्या समाधान भएको जनाएको छ । राहदानीको फाराम भर्नेदेखि अन्य प्रक्रियामा लामो लाइन लाग्ने र सेवाग्राहीले सास्ती झेल्नुपर्ने अवस्था अन्त्य गर्न प्रधानमन्त्री प्रचण्डले सचिवहरूसँगको बैठकमा निर्देशन दिएका थिए । सोही निर्देशनानुसार राहदानी प्राप्त गर्ने प्रक्रियालाई समस्यारहित र अझै चुस्तदुरुस्त तथा प्रभावकारी बनाउन आवश्यक प्रक्रिया अघि बढाउने विभागले जनाएको छ ।
विभिन्न दुर्घटना तथा घटनाको अनुसन्धानमा महत्त्वपूर्ण बन्दै सिसीटिभी फुटेज
काठमाडाैं । सडक तथा विभिन्न क्षेत्रमा राखिएका सिसिटिभी घटना, दुर्घटना तथा आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोगी बन्दै आएको छ । यति महत्त्वपूर्ण भएर पनि अझै नेपालका सडक तथा संवेदनशील क्षेत्रहरूमा पर्याप्त मात्रामा सिसिटिभी जडान गर्न सकिएको छैन । नेपाल प्रहरीको अभिलेखले पनि धेरै घटना सिसिटिभी को श्रव्य दृश्यकै आधारमा अनुसन्धान गरी निष्कर्षमा पुगिएको र कारबाही भएका छन् । समाजमा शान्तिसुरक्षा कायम गर्न, सवारी दुर्घटना न्यूनीकरण तथा दुर्घटना भएमा उक्त घटनामा संलग्नलाई पहिचान तथा कारबाही गर्न, चोरी, डकैतीलगायतका आपराधिक क्रियाकलापलाई न्यूनीकरण तथा नियन्त्रण गर्दै प्रहरी परिचालनलाई सहज र प्रभावकारी बनाउन सिसिटिभी प्रभावकारी रहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राई बताउँछन् । उनले प्रमाण बेसमा काम हुने भएकाले सिसी क्यामेरा महत्त्वपूर्ण रहने र अझै धेरै ठाउँमा आवश्यक भएको बताए । गत साउन २४ गते दिउँसो काठमाडौँ लाजिम्पाटमा होम ट्युसन पढ्न गएकी १८ वर्षीया किशोरी साँझसम्म कोठामा फर्किनन् । साँझ प्रहरीकहाँ जानकारी पुगेपछि काठमाडौँ उपत्यका प्रहरी कार्यालयको सिसिटिभी फुटेजका आधारमा उनी चढेको ट्याक्सी र किशोरी झरेको स्थान पत्ता लाग्यो । चालक फेला पारी सोधपुछ गरेपछि प्रहरीले किशोरीलाई फेला पार्न सफल भयो । काठमाडौँको पुतलीसडकस्थित सेन्चुरी बैंकबाट पैसा निकाली फर्किने क्रममा एक महिलाको ५० हजार हरायो । त्यहाँको सिसिटिभी परीक्षण गर्दा एकजना मोटरसाइकल चालकले टिपेको फेला पारेपछि उक्त रकम पनि फिर्ता गराउन प्रहरी सफल भयो । यी दुईवटा प्रतिनिधि घटना हो । यस्तै र अन्य आपराधिक घटना तथा दुर्घटनाको सफल अनुसन्धानमा सिसिटिभी क्यामेराको फुटेज महत्त्वपूर्ण सहयोग बन्दै आएको छ । त्यति मात्रै होइन दैनिक ट्राफिक चापको व्यवस्थापनका साथै विभिन्न समयमा राजनीतिक दल वा अन्य समूहले गर्ने जुलुस, सभा र सम्मेलनमा अवाञ्छित गतिविधि गर्नेहरूलाई पक्राउ गर्न समेत सिसिटिभी प्रभावकारी बनेको प्रहरी प्रवक्ता राई बताउँछन् । नेपाल प्रहरीले आफ्नै अप्टिकल फाइबर प्रयोग गरी २०६३ सालमा ११ वटा क्यामेरामार्फत गतिविधि नियन्त्रण सुरु गरेको थियो । हाल काठमाडौं उपत्यकामा मात्रै तीन हजार दुई सय ३१ क्यामेराहरू सञ्चालित छ । प्रहरीले यो सङ्ख्या बर्सेनि बढाउँदै लगिरहेको छ । तर अझै पर्याप्त छैन । हाल नेपालभर १० हजार एक सय ३२ सिसी क्यामरा जडान भएकामा सात हजार चार सय २८ चालू अवस्थामा रहेका छन् । गत आर्थिक वर्ष ०७८/०७९ मा सिसिटिभी फुटेजका आधारमा सात सय ८२ र चालु आवमा दुई सय ६८ वटा घटनाको सफल अनुसन्धान भएको प्रहरीको अभिलेखमा उल्लेख छ । आव ०७८/०७९ मा उपलब्ध गराइएका फुटेजकै आधारमा ट्राफिक नियम उल्लङ्घन गरी फरार सात हजार चार सय सात, ट्राफिक लेन/फिल्ड अनुशासनअन्तर्गत तीन हजार आठ सय ४० जना कारबाहीमा परेका थिए । चालु आवको मङ्सिर मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गरी फरार रहेका तीन हजार नौ सय ८७, ट्राफिक लेन/फिल्ड अनुशासन कारबाही एक हजार आठ सय ५७ जनालाई सिसिटिभी कै आधारमा पहिचान गरी कारबाही गरिएको प्रहरीले जनाएको छ । कुनै पनि सवारी दुर्घटना वा घटनापश्चात् पीडितले सिसिटिभी फुटेजका लागि सम्बन्धित प्रहरी कार्यालयहरूमा निवेदन दिने व्यवस्था गरिएको छ । निवेदन प्राप्तपश्चात् सम्बन्धित प्रहरी कार्यालयहरूले सिसिटिभी फुटेज प्राप्तिका लागि कारणसहित काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा अनुरोध गरेपश्चात् मात्र उक्त कार्यालयले घटना अनुसन्धान प्रयोजनार्थ फुटेज उपलब्ध गराउँछ ।
विद्युतीय चुलो जडानका लागि सिन्धुपाल्चोकले माग्यो प्राधिकरणसँग सहयोग
सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाले गाउँपालिकाका प्रत्येक घर धुरीलाई विद्युतीय चुलो वितरण गर्ने योजना अघि बढाएको छ । ‘हाम्रो लगानी हाम्रै सम्पत्ति’ भन्ने नाराका साथ गाउँपालिकाले सो योजना अघि सारेको हो । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले विद्युतीय चुलो वितरण कार्यक्रम सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसमक्ष आवश्यक सहयोगको लागि मागपत्र बुझाएका छन । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शेरबहादुर तामाङ, गाउँपालिकाका अध्यक्ष नेपालसहितको टोलीले मागपत्र बुझाएको हो । आगामी आवभित्र पालिकाभित्रका सबै घरधुरीलाई विद्युतीय चुलो वितरण गरिसक्ने गाउँपालिकाका अध्यक्ष नेपालले जानकारी दिए । उनले जनताका आवश्यक दैनिकीलाई मध्यनजर गर्दै जनताका मागलाई सम्बोधन गर्दै अघि बढ्ने बताए । उनले गाउँपालिकालाई दाउरा र ग्यास चुलोरहित बनाउन सो अवधारणालाई अघि बढाइएको बताए । मागपत्रलाई सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सो कार्यक्रम सञ्चालनका लागि आवश्यक ट्रन्सफर्मर, प्लास्टिक, कोटेड, तारलगायत आवश्यक सहयोगको लागि प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष नेपालले जानकारी दिए ।
आज बैंकिङ क्षेत्रका लागि ऐतिहासिक दिन, ग्लोबल आइएमई बैंक लिडर बन्यो : अध्यक्ष ढकाल
काठमाडौं । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले मर्जर पश्चात् ग्लोबल आइएमई बैंक नम्बर वान बन्ने बताएका छन् । सोमबार ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको मर्जरपछिको एकीकृत कारोबार आरम्भ कार्यक्रममा उनले यसअघि पनि नम्बर वान रहेको बैंक मर्जर पश्चात् झनै नम्बर वान बैंक बन्ने दाबी गरेका हुन । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको मर्जर नेपाली बैंकका लागि आजको दिन ऐतिहासिक दिन भएको भन्दै उनले मर्जरको नेतृत्व ग्लोबल आइएमई बैंक ले नै गरेको बताए । ‘५ वाणिज्य बैंक, १० विकास र ६ वटा फाइनान्स कम्पनी गरि २१ वटा संस्थाको एउटा बैंक बनेको छ, दुई बराबर दुई चार होइन ५ को नितिमा गएको छ’, उनले भने, ‘हाम्रो मर्जरले अन्य संस्थालाई पनि मर्जरमा जान प्रोत्साहन गरेको छ ।’ उनले बैंकका सेयरधनी लगायत कर्माचारिको अथक प्रयासले मर्जर सफल भएको भन्दै बैंक अधिकास सुचकमा नम्बर वान भएको बताए । मर्जर पश्चात १० प्रतिशत बजार हिस्सा ग्लोबल बैंक्ले ओगट्ने बताउँदै आकारमा मात्रै नभएर गुणस्तरीयता मा पनि रचनात्मक परिवर्तन ल्याउने उनले बताए । एउटै परियोजना निर्माण गर्न धेरै बैंकको सहयोग आवस्यक रहेकोमा मर्जर पश्चात् एउटै बैंक ले ठूलो परियोजना निर्माण गर्ने उनको भनाई छ ।
सरकारले निजी क्षेत्रलाई कहिल्यै हतोत्साहित गर्दैन : मुख्यसचिव बैरागी
काठमाडौं । नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले सरकारले निजि क्षेत्रलाई कहिल्यै पनि हतोत्साहित नगर्ने बताएका छन् । उनले सरकार सधैं निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंको मर्जर पछि सोमबार एकीकृत कारोबार कार्यक्रम उद्घाटनको अवसरमा मुख्यसचिव बैरागीले सो बताएका हुन् । ‘सरकारले निजी क्षेत्रलाई कहिल्यै हतोत्साहित गर्दैन, सदैब निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छ’, उनले भने, ‘निजी क्षेत्रले मनोबल कमजोर बनाएर होइन दरिलो बनाएर अघि बढ्नुपर्छ ।’ मुख्यसचिव बैरागीले सरकारको पहिलो निर्णय नै निजी क्षेत्रको हितमा काम गर्ने भएकाले निजी क्षेत्रप्रति जिम्मेवार रहेको पुष्टि गर्ने उनले बताए । ‘सरकारको पहिलो निर्णय नै निजी क्षेत्रको हितमा काम गर्ने निर्णयले नै निजी क्षेत्रप्रति सरकार जिम्मेवार रहेको पुष्टि गर्छ, अब ढुक्क भएर लगानी गर्न निजी क्षेत्र अगाडि बढ्नुपर्छ’, मुख्यसचिव बैरागीले भने ।
गोरखामा सञ्चालित अवैध क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय
गोरखा । गोरखाभित्र सञ्चालनमा रहेका सबै अवैध क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय भएको छ । जिल्ला अनुमगन समितिको जिल्लाभित्र सञ्चालनमा रहेका अवैध क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्र बन्द गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरले जानकारी दिए । ‘दर्ता भई सञ्चालन रहेर पनि नवीकरण नभएका, आयोजनाको नाममा अनुमति लिएर आयोजना सम्पन्न भएपछि पनि सञ्चालन भइरहेका क्रसर उद्योग बन्द गर्ने निर्णय बैठकले गरेको छ’, उनले भने, ‘त्यसबाहेक आयोजनाको नाममा अन्यत्र निर्माण सामग्री बिक्री गर्दै आएका क्रसर उद्योग तथा अवैध बालुवा प्रशोधन उद्योग पनि बन्द गर्ने निर्णय गरिएको छ ।’ गोरखामा सञ्चालनमा रहेका अधिकांश क्रसर उद्योग दर्ता भएर पनि नवीकरण नभएको र दर्ता भएको ठेगानामा सञ्चालनमा नरहेको पर्यटन तथा घरेलु उद्योग कार्यालय गोरखाका प्रमुख सूर्य भुजेलको भनाइ छ । जिल्लामा अहिले सिम्रन क्रसर उद्योग, माई मनकामना क्रसर उद्योग, गोरखकाली क्रसर उद्योगले दर्ता नवीकरण नगरी उद्योग सञ्चालन गरिरहेका छन् । यी उद्योगको २०७३/७४ मा नै म्याद सकिएको भए पनि अहिलेसम्म पनि नवीकरण नगरी सञ्चालनमा रहेको उनले बताए । बैठकले जिल्लाभित्र सञ्चालनमा रहेका १२ भन्दाबढी बालुवा प्रशोधन उद्योग तत्कालका लागि बन्द गर्ने निर्णय गरेको उनले बताए । सञ्चालनमा रहेका बालुवा प्रशोधन कसरी सञ्चालन भइरहेका छन् भन्ने बारेमा सम्बन्धित स्थानीय तह अनविज्ञ छन् । बैठकले सञ्चालित प्रशोधन उद्योग कानुन विपरित भए नभएको अनुसन्धान गरेर मात्र थप निर्णय गर्ने उनले बताए । बन्द गरिएका उद्योगमा रहेका कच्चापदार्थ स्टक प्रमाणित गरी सात दिनभित्र विवरण पठाउन भनिएको छ । मापदण्ड विपरित रहेका उद्योग बन्द गराउन स्थानीय तहलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले आवश्यक सुरक्षा व्यवस्था मिलाउने निर्णय बैठकले गरेको प्रमुख थापामगरले जानकारी दिए । जिल्ला समन्वय समितिका प्रमुख थापामगरको अध्यक्षतामा भएको बैठकमा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगर, पालुङटार नगरपालिकाका प्रमुख विवस चिन्तन, गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सिना (साकार), गोरखाका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आर्चाय लगायतको सहभागिता रहेको थियो ।