डेढ दर्जन लघुवित्त मर्जरमा, कुनको कोसँग ?
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा मर्जरको लहर चलेको छ । बैंक तथा वित्तीय संस्थाहरुको संस्था घटाउन राष्ट्र बैंकले मर्जरमा सेवा सुविधा नै प्रदान गरेपछि धमाधम मर्ज हुन थालेका हुन् । राष्ट्र बैंकले विशेषगरी वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थाहरुको संख्या घटाउन मर्जरमा जोड दिईरहेको छ । वाणिज्य बैंक र लघुवित्तलाई मर्जरका माध्यमबाट संख्या घटाउन राष्ट्र बैंकले प्रोत्साहन पनि गर्दै आएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जरमा दिने सुविधालाई चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षमार्फत् नै निरन्तरता दिएको थियो । पुस मसान्तभित्र एकीकृत कारोबार गरे वाणिज्य बैंक र वित्तीय संस्थालाई विभिन्न सहुलियत प्रदान गर्ने व्यवस्था गरेको छ । सोही अनुसार पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुमा पनि मर्जरको लहर चलेको हो । राष्ट्र बैंकले दिने सहुलियत पुस मसान्तमा सकिने भएपनि म्याद थपका लागि लघुवित्तका सञ्चालकहरु लविङ गरिरहेका छन् । लघुवित्तका सञ्चालकहरुले मर्जरमा गएका लघुवित्तलाई सहुलियतको व्यवस्था असार मसान्तसम्म पुर्याउन राष्ट्र बैंक पुग्ने गरेका छन् । हालसम्म १८ वटा लघुवित्त वित्तीय संस्थाहरुले एक आपसमा गाभ्ने तथा गाभिने र प्राप्तिका लागि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सिवाइसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त, साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्त, डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्त, नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त, धौलागिरी लघुवित्त र खप्तड लघुवित्त, नयाँ सारथी लघुवित्त र विजय लघुवित्त, सामुदायिक लघुवित्त र बीपीडब्लु लघुवित्त, नेरूडे लघुवित्त र मिर्मिरे लघुवित्त, स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जरका लागि सम्झौता भएको हो । स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच पुस १८ गते प्रारम्भिक सम्झौता भएको हो । दुवै लघुवित्त १ः१ स्वाप रेसियो अनुपातमा मर्ज हुने सहमति भएको छ । तर, डीडीए रिपोर्टमा फरक आएमा सोही बमोजिम मर्ज हुने भनिएको छ । दुवै लघुवित्तले शैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन दिएका छन् । राष्ट्र बैंकको स्वीकृति पश्चात् ६ महिना अर्थात् जेठ महिनाभित्र एकीकृत कारोबार गर्ने लक्ष्य राखिएको छ । मर्जरपश्चात् स्वरोजगार लघुवित्तका अध्यक्ष ज्ञानेन्द्र प्रसाद पाण्डे बन्ने छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा समता लघुवित्तका सीईओ डा. मदन घिमिरे रहने सहमति भएको छ । स्वरोजगारका सीईओ मनोज कृष्ण उप्रेती भने डीसीईओ बन्नेछन् । मर्जर पश्चात् लघुवित्तको चुक्ता पूँजी १ अर्ब पुग्नेछ । स्वरोजगाकार लघुवित्तको चुक्ता पूँजी ५० करोड रुपैयाँ र समता घरेलुको ३४ करोड रुपैयाँ रहेको छ । मर्जर पश्चात् लघुवित्तको पोर्टफोलियो १० अर्ब भन्दा बढी हुनेछ । १५० वटा शाखा कार्यालय र २ लाख सदस्य पुग्नेछन् । मर्जरपश्चात् केन्द्रिय कार्यालय काठमाडौं उपत्यकामा सार्ने सहमति भएको छ । नेरूडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच गत पुस ११ गते मर्जर सम्झौता भएको हो । मोरङ्गको बिराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरूडे लघुवित्त र काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्तबीच १ः१ स्वाप रेसियो अनुपातमा मर्ज हुने भएका हुन् । डीडीए रिपोर्टमा धेरै तलमाथी भए सोही अनुसार मर्ज हुने जनाइएको छ । मर्जरपश्चात् लघुवित्तको अध्यक्ष मिर्मिरे लघुवित्तका अध्यक्ष टेक बहादुर बोहरा र सीईओ नेरुडे लघुवित्तका सीईओ भोजराज बस्याल बन्ने सहमति भएको छ । मर्जर पश्चात् नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ । हाल नेरूडे लघुवित्तको चुक्ता पूँजी ६० करोड र मिर्मिरे लघुवित्तको चुक्ता पूँजी ५३ करोड रुपैयाँ रहेको छ । मर्जर पश्चात् बन्ने लघुवित्तको चुक्ता पूँजी १ अर्ब १५ करोड भन्दा बढी पुग्नेछ । दुवै लघुवित्तले शैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन दिएका छन् । शैद्धान्तिक स्वीकृति पाएको ६ महिनाभित्र एकीकृत कारोबार गर्ने लक्ष्य लिएको छ । सामुदायिक लघुवित्त र बीपीडब्लु लघुवित्तबीच गत पुस १ गते मर्जर सम्झौता भएको हो । दुवै लघुवित्तको स्वाप रेसियो भने डीडीए रिपोर्ट अनुसार निर्धारण गरिने बीपीडब्लु लघुवित्तका सीईओ दिलिप पोख्रेलले जानकारी दिए । ‘बिपीलब्ल्यू लघुवित्त धितोपत्र बजारमा सूचीकृत हुन बाँकी छ, आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिइसकेको छ, सर्वसाधारणका लागि सेयर जारी गरेपश्चात् सेयर मूल्यलाई आधार मानेर डीडीए रिपोर्ट तयार गरिनेछ,’ सीईओ पोख्रेलले भने । मर्जर पश्चात् सामुदायिक लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जर पश्चात् बन्ने लघुवित्तको अध्यक्षमा सामुदायिक लघुवित्तबाट र सीईओमा बिपीडब्लु लघुवित्तका सीईओ दिलिप कार्की बन्नेछन् । मर्जर पश्चात् लघुवित्तको चुक्ता पूँजी १५ करोड रुपैयाँ पुग्नेछ । सामुदायिक लघुवित्तको हालको केन्द्रिय कार्यालयलाई केन्द्रिय कार्यालयको रुपमा तोकिएको छ । मर्जर लघुवित्तका ४१ वटा शाखा कार्यालय पुग्नेछन् । बैशाख अन्तिमसम्म एकीकृत कारोबार गर्ने लक्ष्य राखेका यी दुवै लघुवित्तले शैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाउने तयारी रहेको सीईओ पोख्रेलले बताए । नयाँ सारथी र विजय लघुवित्तबीच गत मंसिर २६ गते मर्जर सम्झौता भएको हो । दुवै लघुवित्त १ः१ स्वाप रेसियो अनुपातमा मर्ज हुने सहमति भएको छ । मर्जर पश्चात् लघुवित्तको अध्यक्षमा नयाँ सारथी लघुवित्तका अध्यक्ष लोक बहादुर खड्का र सीईओमा विजय लघुवित्तका सीईओ वसन्त लम्साल बन्नेछन् । मर्जर पश्चात् डीसीईओमा भने नयाँ सारथी लघुवित्तका सीईओ सरोज घिमिरे बन्नेछन् । दुवै लघुवित्तबीच बैशाख मसान्तसम्म एकीकृत कारोबार गर्न लक्ष्य लिएको सीईओ घिमिरेले जानकारी दिए । उनका अनुसार शैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन पेश गर्ने तयारी रहेको छ । मर्जर पश्चात् लघुवित्तको नाम विजय लघुवित्त वित्तीय संस्थाको नामबाट उकीकृत कारोबार हुनेछ । नयाँ सारथीको केन्द्रिय कार्यालयलाई मुख्य अफिसका रुपमा तोकिएको छ । मर्जर पश्चात् बन्ने लघुवित्तका ८८ वटाशाखा कार्यालय र ग्राहक सदस्य १ लाख ३० हजार भन्दा बढी पुग्नेछ । धौलागिरी लघुवित्त र खप्तड लघुवित्तबीच गत मंसिर १८ गते सम्झौता भएको हो । दुवै लघुवित्तलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले पुस १८ गते शैद्धान्तिक स्वीकृति प्रदान गरिसकेको छ । मर्जर पश्चात् धौलागिरी लघुवित्तको नामबाट एकीकृत कारोबार गर्ने सहमति भएको छ । मर्जर पश्चात् लघुवित्तको अध्यक्षमा धौलागिरी लघुवित्तका अध्यक्ष ईश्वरलाल राजभण्डारी र सीईओमा खप्तड लघुवित्तका सीईओ सुरेश बहादुर बम रहने सहमति भएको छ । बैशाखसम्म एकीकृत करोबार गर्ने लक्ष लिइएको छ भने स्वाप रेसियो डीडीए रिपोर्ट अनुसार निर्धारण गरिनेछ । धौलागिरी लघुवित्तको केन्द्रिय कार्यालय बागलुङलाई मुख्य कार्यालयका रुपमा तोकिएको छ । मर्जर पश्चात् लघुवित्तको चुक्ता पूँजी १४ करोड ३१ लाख रुपैयाा पुग्नेछ भने ५० वटा शाखा कार्यालय पुग्नेछ । राष्ट्रियस्तरको धौलागिरी लघुवित्तको केन्द्रीय कार्यालय बागलुङमा रहेको छ । सुदूपश्चिम प्रदेश कार्यक्षेत्र रहेको खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ । नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तबीच गत असोज २६ गते मर्जर सम्झौता भएको हो । दुवै लघुवित्तलाई मर्जरका लागि राष्ट्र बैंकले शैद्धान्तिक स्वीकृति पनि प्रदान गरिसकेको छ । प्रारम्भिक सम्झौता अनुसार दुवै लघुवित्त १००ः८२ स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । मर्जर पश्चात् बन्ने लघुवित्तको नाम नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त रहने सहमति भएको छ । फागुन भित्र एकीकृत कारोबार गर्ने लक्ष राखिएको छ । मर्जर पश्चात् बन्ने लघुवित्तको अध्यक्ष र सीईओ दुवै नेशनल लघुवित्तले पाउने सहमति भएको छ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका अध्यक्ष केशवप्रसाद आचार्य र प्रमुुख कार्यकारी अधिकृतमा राम बहादुर यादव रहने सहमति भएको छ । मर्जर पश्चात् चुक्ता पूँजी सवा १ अर्ब भन्दा बढी पुग्नेछन् भने शाखा २०४ वटा कार्यालय पुग्नेछन् । डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तबीच गत असोज १४ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्त वित्तीय संस्थालाई गाभ्ने भएको हो । चितवनको भरतपुरमा केन्द्रीय कार्यालय रहेको डिप्रोक्सले काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको आदर्श लघुवित्तलाई प्राप्ति गर्न लागेको हो । सम्झौतामा डिप्रोक्स लघुवित्तको तर्फबाट सञ्चालक समिति अध्यक्ष दिपक खनाल र आदर्श लघुवित्तको तर्फबाट सञ्चालक समिति अध्यक्ष सूर्यकुमारी श्रेष्ठले हस्ताक्षर गरेका हुन् । राष्ट्र बैंकले फागुन १८ गतेसम्म मर्जरका लागि अन्तिम समय दिएको छ । मर्जर पश्चात् लघुवित्तको सीईओ शेष प्रसाद आचार्य बन्नेछन् । उनी हाल डिप्रोक्स लघुवित्तका सीईओ हुन् । साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तबीच गत भदौ २ गते सम्झौता भएको हो । दुवै लघुवित्त १००ः८७ को स्वाप रेसियो अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात् आरएमडिसी लघुवित्तको १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन् । मर्जर पछि बन्ने कम्पनीको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाका नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बन्ने संचालक समितिमा दुबै संस्थाका संस्थापक समूहबाट २/२ जना, सर्वसाधारण समूहबाट १/१ जना र विशेषज्ञ सञ्चालक, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले व्यवस्था गरे बमोजिम १ जना नियुक्ति गर्ने सहमति भएको छ । मर्जर पश्चात् लघुवित्तको सीईओमा साना किशान लघुवित्तका सीईओ डा. शिव राम प्रसाद कोइराला बन्नेछन् । सिवाइसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तबीच गत असार २२ गते मर्जर सम्झौता भएको थियो । सिवाइसी नेपाल लघुवित्तको केन्द्रिय कार्यालय कास्कीमा रहेको छ भने आँधिखोला लघुवित्तको केन्द्रिय कार्यालय स्याङ्जामा रहेको छ ।
सार्कलाई अघि बढाउन प्रयत्न भइरहेको छ : सचिव पौडेल
काठमाडौं । परराष्ट्र मन्त्रालयले संसदीय समितिलाई दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क लाई अघि बढाउने प्रयत्न भइरहेको जानकारी दिएको छ । राष्ट्रियसभा, राष्ट्रिय सरोकार समितिको आजको बैठकमा समिति सदस्यले सार्कका बारेमा राख्नुभएको जिज्ञासामा परराष्ट्रमन्त्रालयका सचिव भरतराज पौडेलले नतिजा नदेखिए पनि सार्कलाई अघि बढाउन प्रयास भइरहेको जानकारी दिए । उनले बहुपक्षीय र क्षेत्रीय केही पक्षमध्ये सार्क स्थापनाको बडापत्रको परिभाषा तयार गर्दैखेरि आधारभूत सिद्धान्तका रूपमा कुनै पनि विषयमा सबैको सहमति नभएसम्म अघि बढ्न सक्दैन भन्ने प्रावधानले प्रभाव पारेको बताए । नेपाल अध्यक्ष राष्ट्र भए पनि आठ वटा सदस्य राष्ट्रमध्ये एउटा मात्र भएको उल्लेख गर्दै उनले भने, ‘नतिजा नदेखिएकाले त्यो जिज्ञासा उठ्नु स्वाभाविक रहेको छ ।’ सन् १९८४ मा स्थापना भएको सार्कका सदस्य राष्ट्रमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स्, भूटान, श्रीलङ्का र कान्छो सदस्यका रूपमा अफगानिस्तान रहेका छन् । दक्षिण एशियाली क्षेत्रमा गरिबी निवारण गर्ने प्रमुख उद्देश्यका साथ स्थापना भएको सार्क पछिल्ला वर्षमा प्रभावकारी हुन नसकेको गुनासो उठ्दै आएको छ ।
चीनले कोभिड नियन्त्रणका लागि खोप र व्यक्तिगत स्वास्थ्य सुरक्षामा जोड दिने
बेइजिङ । चीनले पछिल्लो समयमा त्यहाँ विस्तारित भएको कोभिड १९ को सङ्क्रमणको नियन्त्रणका लागि कोरोना विरुद्धको खोपको बुस्टर मात्रा लागाउनुपर्नेमा जोड दिएको छ। चीनले हालै सार्वजनिक गरेको कोरोना नियन्त्रण सम्बन्धी प्रोटोकलमा सो कुरामा जोड दिइएको चिनियाँ राजधानी बेइजिङबाट प्राप्त भएको समाचारमा जनाइएको छ। सो समाचारअनुसार चीन सरकारले हाल त्यहाँ विस्तारित भएको सो सङ्क्रमणको नियन्त्रण गर्न बुस्टरकै दोस्रो मात्रा लागाउनुपर्ने तथा हरेक व्यक्तिले व्यक्तिगत सुरक्षा अपनाउनुपर्ने जनाइएको हो। सो प्रोटोकलअनुसार यहाँको कोभिड नियन्त्रण सम्बन्धी निकायले बढी उमेरका नागरिकलाई यस कार्यका लागि बढी मात्रामा जोड दिएको छ।सो उमेरका नागरिकलाई खोपको बुस्टर मात्रा दिनुपर्ने र पहिलो बुस्टर मात्रा लगाएकाहरुलाई पनि दोस्रो मात्रा दिइनुपर्ने सो विभागले जनाएको छ। यसका साथै हरेक व्यक्तिले आफ्नो सुरक्षातर्फ आफै सतर्क र सजग हुनुपर्नेमा पनि जोड दिइएको सो समाचारमा जनाइएको छ। सो प्रोटोकलअनुसार यहाँका स्वास्थ्य अधिकारीहरुले अब कोरोना विरुद्धको खोप नलगाएका मानिसहरुको खोजी गरी सो खोप लगाउने र यदि पहिलो मात्राको बुस्टर खोप लगाएका व्यक्ति छन् भने उनीहरुलाई सो खोप लगाएको छ महिनापछि अर्को मात्रा लगाइने जनाएका हुन्। त्यसैगरी व्यक्तिगत रुपमा यो महामारीको नियन्त्रणका लागि व्यक्तिले पनि पहल गर्नुपर्ने र यसका लागि उनीहरुले अनिवार्य मात्रामा मास्क लगाउनुपर्ने तथा हात धुने या सरसफाई रहनुपर्नेमा पनि जोड दिइएको छ। पछिल्ला केही दिनयता चीनमा व्यापक मात्रामा कोरोनाका सङ्क्रमितहरु बढिरहेका बताइएको छ। त्यसपछि चीन सरकारले यो नयाँ स्वास्थ्य प्रोटोकल जारी गरेको जनाएको छ। रासस
चीनमा सवारी दुर्घटना, सत्र जनाको मृत्यु
चीन । पूर्वीचीनको जियाङ्सी प्रान्तको नानचाङ काउन्टीमा आइतबार बिहान भएको एउटा भीषण सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य २२ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको स्थानीय अधिकारीले जनाएका छन् । रासस
तनहुँको ताललाई धार्मिक पर्यटनसँग जोड्ने युवाको प्रयास
गण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको आँखे ताललाई धार्मिक पर्यटनसँग जोड्ने अभियानका सुरु भएको छ । नगरपकालिका वडा नं १ ज्यामिरबोटे र वडा नं २ सुन्दरी गाउँका युवाहरु आँखे तालको प्रवद्र्धनमा लागेका हुन् । पृथ्वी राजमार्गअन्तर्गतको कोत्रे तथा गगनगौडाबाट करिब छ किलोमिटरको दूरीमा रहेको ताल दुई वडाको सिमानास्थित ज्यामिरबोटेमा पर्छ । परापूर्वकालदेखि धार्मिक आस्था एवं विश्वाससँग जोडिएको ताललाई धार्मिक पर्यटनको गन्तव्य बनाउने उद्देश्यका साथ पाँच वर्षदेखि युवाहरु त्यसको संरक्षण र प्रवद्र्धनमा जुटेका हुन् । चार वर्षअघि सुन्दरी गाउँ र ज्यामिरबोटेका स्वदेश तथा विदेशमा रहेका युवाले सक्रियता देखाएका थिए । उनीहरुबाट ९० हजार सङ्कलन गरी अभियान सुरु भएका आँखे ताल संरक्षण एवं सिद्धिकाली मन्दिर निर्माण समितिका सचिव सञ्जय ढकालले जानकारी दिए । ताल रहेको स्थानलाई व्यवस्थित गर्दै त्यही परिसरमा सिद्धिकालीको मन्दिर समेत बनाउनका लागि स्थानीय समाजसेवी डिल्लीराम अधिकारी, कृष्णराज अधिकारी र तीर्थराज ढकालले जग्गा दान गरेका छन् । मन्दिर निर्माण एवं तालको संरक्षणका लागि हालसम्म छ लाख २५ हजार नगद खर्च भएको छ । ‘निर्माणका लागि जग्गादानसँगै स्थानीय जनश्रमदान अत्यधिक छ, त्यही सहयोगले हामी मन्दिर निर्माणलाई अन्तिम चरणमा पुर्याउनुका साथै ताललाई केहीमात्रामा भने पनि व्यवस्थित गर्न सफल बनेका छौँ’, सचिव ढकालले भने । यस ठाउँमा मन्दिर निर्माणका क्रममा उत्खनन गर्दा प्राचीन मौलोसँगै महेन्द्रकालीन मुद्रासमेत फेला परेको उनले जानकारी दिए। उनले यसको ऐतिहासिकता अनुसन्धान गर्न बाँकी रहेको बताए । मन्दिर तथा जलाशय संरक्षणका लागि शुक्लागण्डकी नगरपालिका वडा नं १ बाट दुई लाख ५० हजार र वडा नं २ बाट ५० हजार नगद प्राप्त भइसकेको छ भने बाँकी रकम चन्दामार्फत् जुटाइएको छ। यहाँको जलाशय क्षेत्रफलका हिसाबले ताल जति ठूलो नभए पनि परावूर्वकालदेखि नै तालका रुपमा लिने गरिएको स्थानीय बुढापाकाहरु बताउँछन् । युवाको सक्रियतामा यहाँको जलाशयलाई नेपालकै पहिलो जलविद्युत् गृह फर्पिङको जलाशयको स्वरुपमा स्टिलको रेलिङसहित गोलाकार रुपमा संरक्षण गरिएको छ । आँखे तालको अस्तित्व प्राचीनकालदेखि रही आएको बताउँदै ८९ वर्षीय शिवप्रसाद पौडेल यो स्थल धार्मिक आस्था एवं विश्वासका कारण पनि महत्ववूर्ण रहेको बताए । यस क्षेत्रमा छ पुस्ताअघिदेखि नै मन्दिर रहेको बताउँदै उनले हालको मन्दिर निर्माण क्रममा प्राप्त भग्नावशेषसँगै काठका ठुटाले त्यसको स्पष्ट सङ्केत गर्ने उल्लेख गरे । यस स्थलको संरक्षण र विकास गर्दै यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउन सकिने उनको भनाइ छ । कोत्रे तथा गगनगौडाबाट आउने यहाँको बाटोलाई व्यवस्थित गर्दै ज्यामिरबोटे र सुन्दरी गाउँको बीचमा पर्ने गुवे खोलामाथि पक्की पुल आवश्यक रहेको पौडेलले बताए । जग्गादाता डिल्लीराम अधिकारीका अनुसार परापूर्वकालमा यस ठाउँमा जमिन भासिएर भ्वाङ(भुवान) परेछ । त्यसलाई पुर्ने क्रममा अधिकारीका हजुरबुवाको आँखा फुटेछ । ज्यातिषीसँग हेराउँदा त्यहाँ बाराहीको थान रहेको पाइएपछि पूजाआजा गरिँदै आइएको हो । त्यसै समयदेखि नै यहाँको जलाशयलाई आँखे ताल भनिएको उनले बताए । युवा जागरुकतामा यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन थालिएको प्रयासले यहाँको प्रवद्र्धन र विकासमा महत्वपूर्ण टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । मन्दिर तथा तालको संरक्षणकै उद्देश्यका साथ आँखे ताल एवं सिद्धिकाली मन्दिर निर्माण समितिले दुई वर्षयता सिद्धिकाली कप भलिबल प्रतियोगिता पनि गर्दै आएको छ । पृथ्वी राजमार्गको गगनगौँडाबाट पाँच किलोमिटरको दुरीमा पुग्न सकिने उक्त क्षेत्र विगतमा बीचमा पर्ने खुदी खोला र गुवे खोलामा पक्की पुल नहुँदा लामो समयदेखि ओझेलमा परेको थियो । पछिल्ला समयमा दुवै खोलामाथि पक्की मोटरेवल पुल बनेपछि स्थानीय खुसी बनेका छन् । पुल बनेसँगै कास्कीको पोखरा महानगरपालिका वडा नं ३२ पृथ्वी राजमार्गमा पर्ने तल्लो गगनगौडाबाट आँखे तालसम्म आठ/दश मिनेटकै अन्तरालमा सवारी साधनबाट पुग्न सकिन्छ । खुदी खोलामाथिको पुल गण्डकी प्रदेश सरकारको तीन करोड ७५ लाख १२ हजार लागतमा सम्पन्न भएको हो भने गुवे खोलाको पुल तटबन्धसहित करिब पौने तीन करोडको लागतमा सम्पन्न हो । रासस
छात्राको मृत्युपछि सिरहाको मिर्चैया तनावग्रस्त, पाँच राउण्ड गोली चल्यो
सिरहा । सिरहाको मिर्चैया-३ मा रहेको विद्यालयमा अध्ययनरत एकजना छात्राको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ। शुक्रबार विद्यालयमा छँदा औषधि खाने क्रममा ‘स्प्रिट’ पिएर विरामी भएकी सगरमाथा उच्च माध्यामिक विद्यालयमा अध्ययनरत १६ वर्षे सृनजाकुमारी महराको उपचारको क्रममा निधन भएको थियो। शनिबार राति १२ बजे उपचारको क्रममा फुलबारी मेमोरियल अस्पतालमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी हरिबहादुर वलीले जानकारी दिए। छात्राको मृत्यु भएपछि आक्रोशित विद्यार्थी र अभिभावकले विद्यालय तोडफोड गरेका छन्। आन्दोलनका क्रममा भिडले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी नारावाजी समेत गरेका थिए। आक्रोशित आन्दोलनकारी अनियन्त्रित भएपछि भीडलाई तितरवितर बनाउन तीन सेल अश्रु ग्यास र पाँच राउण्ड हवाई फायर गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कबारीले जानकारी दिए। गत शुक्रबार सामान्य पेट दुखेपछि विद्यालयकी शिक्षिका अम्बिका लम्सालले औषधि खाने क्रममा पानीको सट्टा स्प्रिट पिलाउँदा छोरी बिरामी भएको बुबा धर्मेन्द्र महराले बताए। स्प्रिट पिएपछि बिरामी भएकी सृनजालाई उपचार नगरी विद्यालयका प्रिन्सिपल प्रदीप तिवारीले घर पुर्याएकाले समयमै उपचार हुन नसकेको उनले बताए। ‘प्रिन्सिपल सरले थोरै स्प्रिट पिएकाले नसा लागेको र केहीवेर सुताएपछि निको हुन्छ भनेपछि हामीले विश्वास गर्यौं’, उनले भने, ‘अवस्था खराव हुँदै गएपछि अस्पताल पुर्यायौँ तर ढिला भइसकेको रहेछ।’ दुईजना प्रहरी नियन्त्रणमा प्रहरीले औषधि दिने शिक्षिका अम्बिका लम्साल र प्रिम्सिपल प्रदीप तिवारीलाई नियन्त्रणमा लिएको छ। मृतकका बुबा धर्मेन्द्रले दोषिमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन्। जाहेरी दिएपछि प्रहरीले अनुसन्धानका लागि दुवै जनालाई नियन्त्रणमा लिएको हो। डिएसपी वलीले घट्ना सम्बन्धमा छानबिन भइइहेको बताए। ‘विद्यालयले पनि घट्ना स्वीकार गरिसकेको छ, स्प्रिट पिउने अवस्था कसरी भयो भन्ने विषयमा अनुसन्धान जारी छ’, उनले भने।
रुद्रलाल समाजेवा पुरस्कार ८० वर्षे मोक्तानलाई
काठमाडौं । प्रदेश नं १ का पहाडी क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा निस्वार्थ रुपमा समाजसेवामा जीवन अर्पण गरेका ८० वर्षे मनु मोक्तानलाई आइतवार रुद्रलाल समाज सेवा पुरस्कारबाट सम्मान गरिएको छ । गैरसरकारी संस्था महासंघ र छत्रलक्ष्मी-रुद्रलाल स्मृति प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधिश तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष अनुपराज शर्माले मोक्तानलाई सम्मान गरेको हो । उनी विरामी भएका कारण उनको सम्मान नेपाल तामाङ घेदुङ संघका अध्यक्ष मोहन गोलेले सम्मान थाप्दै उहाँको घरमा पुर्याइदिने बचन दिए । कार्यक्रममा गैरसरकारी संस्था महासंघका सल्लाहकार एवम् प्रतिष्ठानका अध्यक्ष शान्तलाल मुल्मीद्वारा लिखित अंग्रेजी पुस्तक रिलेन्टलेस जर्नीको लोकार्पण गरिएको थियो । कार्यक्रममा पूर्व प्रधानन्यायधिस शर्माले नेपाल वृद्धाश्रमको रुपमा परिणत हुन लागेको र नेपाली परिवारलाई आर्थिकभन्दा पनि वढी सामाजिक चुनौति वढी देखिन थालेको बताए । उनले अहिलेको व्यवस्था अंग्रजी शव्द ‘गन’को तन्त्र हो कि महादेवको अनियन्त्रित टोली ‘गण’को को तन्त्र भएको हो कि भन्ने व्यंग्य गरे । उनले समाजसेवा निस्वार्थ हुनुपर्ने र मोक्तानले गरेको समाजसेवा अतुलनीय भएको भन्दै रुद्रलाल मुल्मीका विगतका समाजसेवा र उनका छोरा शान्तलाल मुल्मीका समाजसेवाको अनुकरण गर्नुपर्ने बताउँदै समाजसेवाको सिद्धान्त र क्रियाकलाप बुझ्न लोकार्पण गरिएको पुस्तक अध्ययन गर्नुपर्ने बताए । वरिष्ठ मानवअधिकारकर्मी प्रा.कपिल श्रेष्ठले राणाकाल, पञ्चालतकाल र प्रजातान्त्रिक कालमा मुल्मी परिवारले सामाजिक कार्य गरेको चर्चा गरे । राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहले पुस्तकले आफूले आफैलाई चिन्नुपर्ने र आफैलाई पहिला खोतल्न अभिप्रेरणा दिने बताए । नेपाल मानव अधिकार आयोगका पूर्व सदस्य गौरी प्रधानले महात्मा गान्धीको अनुसरण गरी नेपालमा तुलसी मेहरसँग सहकार्य गरी नेपालमा स्वतन्त्रता, आत्मनिर्भरता र अहिंसाको शिक्षा रुद्रलाल मुल्मीले दिएको बताए । मुल्मीले महिलाहरुको उद्धार गरी सिपमुलक तालिम दिने, शिक्षा दिने, नेपाली स्वदेशी उत्पादनमा अभिप्रेरणा जगाउने कार्य गरेको प्रधानले जानकारी दिए । रुद्रलाल मुल्मीले सामाजिक कल्याणको कार्य गरेको उनको छोरा शान्तलाल मुल्मीले सामाजिक विकासका लागि काम गरेको र आफूहरुको पालामा आएर सामाजिक सशक्तिकरणका कार्य गरेको दृष्टान्त गौरी प्रधानले प्रस्तुत गरे । अमेरिकाका लागि नेपालका पूर्व राजदुत डा.अर्जुन कार्कीले रुद्रलाल मुल्मीले राज्यसत्ता फेर्नेदेखि जनताको जीवनशैली फेर्नेसम्म कार्य गरेको र सोको अभिलेखिकरण गर्ने काम पुस्तकमार्फत केही हदसम्म भएको जानकारी दिए । पुस्तकका लेखक शान्तलाल मुल्मीले मनु तामाङको सामाजिक कार्य र समाजेवी रुद्रलाल मुल्मीमा कार्यगत विशेषता मिल्दाजुल्दा खालको देखिएको र निस्वार्थ रुपमा सेवा गर्नेलाई बर्षेनी सम्मान गर्दै जाने बताए । आफू कुनै लेखक नभएको तर लकडाउनका बेलामा यत्तिकै बस्नुभन्दा किताव लेख्नु राम्रो भनेर नेपालीमा मभित्रको म लेखेको र अहिले अंग्रेजीमा रिलेन्टलेस जर्नी पुस्तक प्रकाशन गरेको जानकारी दिए ।
सहकारीको समस्यामा सरकार निरपेक्ष भएर बस्न सक्दैन : बालकृष्ण खाँड
काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाँडले सहकारीमा देखिएको चुनौतीहरु अन्य क्षेत्रको जस्तै राष्ट्रिय समस्या भएकाले सरकारले यो हाम्रो सरोकारको विषय होइन भनेर भन्न नसक्ने बताएका छन् । उनले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ देखि मन्त्रीहरु यस विषयमा गम्भीर भएर काम गर्ने विश्वास रहेको बताए । नेपालको सहकारी अभियानको शिर्ष निकाय राष्ट्रिय सहकारी महासंघको सल्लाहकार समितिको बैठकमा महासंघका सल्लाहकार समेत रहेका गृहमन्त्री खाँडले सबै मिलेर वर्तमान संकटबाट मुलुकलाई बचाउनुपर्ने बताए । ‘उद्योग व्यवसायीहरु, बैंक वित्तियदेखि सबै क्षेत्र संकटमा छ, त्यसैले यो सहकारीको समस्यामा सरकार निरपेक्ष भएर बस्न सक्दैन,’ उनले भने ‘यो समस्यामा सरकारविरुद्ध अभियान होइन, अन्तर्राष्ट्रिय जगतमा भएको आर्थिक संकोचका कारण सबैमा चुनौति छ, नयाँ सरकार बने पनि नेतृत्वको अनुभव भएको व्यक्ति सरकारमा रहेकाले सहकारीको विषयलाई उहाँले गम्भिरतापूर्वक लिनेहुन्छ भन्ने मेरो विश्वास छ ।’ पूर्व मन्त्री तथा महासंघका सल्लाहकार गणेश साहले तत्काल समाधान गर्नुपर्ने समस्या र दीर्घकालिन रुपमा समाधान गर्नुपर्ने चुनौतिहरुमा आफ्नो साथ रहने बताए । पूर्व मन्त्री तथा महासंघका निर्वतमान अध्यक्ष केशव बडालले सहकारीको विषयमा नीति निर्माता, दलका नेताहरुलाई बुझाउनका सबैजना एकताबद्ध भएर जुट्नुपर्ने बताए । पूर्व गृहराज्य मन्त्री तथा महासंघका सल्लाहकार दीपक बास्कोटाले सहकारीले राम्रो राजश्व बुझाएका छन् संकटको समयमा राज्यले सहकारीलाई सहयोग गर्नुपर्ने बताए । उनले राज्यले राष्ट्रिय सहकारी बैंकमार्फत सफ्ट लोन दिने व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले केही समयका लागि बचत तथा ऋणको कारोबार गर्ने वित्तीय सहकारी संस्था दर्ता रोकेर व्यवस्थापन गर्न समेत आग्रह गरे । उनले भने, ‘सहकारी अनुगमनको जिम्मेवार सहकारी विकास बोर्डलाई दिने र उसले महासंघसँगको सहकार्यमा अनुगमन गर्ने कार्य गर्नुपर्छ ।’ सल्लाहकार डा. उषा झा र सल्लाहकार रविन्द्र केसीले सन्दर्भ ब्याजदरलाई स्वचालित बनाउनुपर्ने र जोखिम व्यवस्थापनमा राज्यले सहयोग गर्नुपर्नेमा जोड दिए । महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीको ब्याजदरमा सन्दर्भ ब्याजदरको रुपमा रहेको क्यापिङ सिस्टम हटाउनुपर्ने, सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्नुपर्ने, ऋण असुलीका लागि प्रभावकारी भूमिकाका लागि तत्काल राज्यबाट सहयोग चाहिने बताए । महासंघका उपाध्यक्ष रमेश पोखरेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष तथा संचालक खेम पाठक, संचालक राजेन्द्र पौडेलले सहकारीको वर्तमान अवस्थाको विषयमा सल्लाहकारहरुलाई जानकारी गराए । महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले महासंघको नीति, कार्यक्रम तथा गतिविधिहरुको विषयमा प्रस्तुती गरिन् ।