हर्मिता श्रेष्ठ : जसले राष्ट्र प्रमुखलाई बसमा राखेर सहर डुलाइन !

<p>काठमाडौं । सबै देशका राष्ट्र प्रमुखलाई सवारीको विशेष व्यवस्था गरिएको हुन्छ । पदीय मर्यादा तथा सुरक्षाका कारण यस्तो व्यवस्था गर्नु देशकै मुख्य जिम्मेवारी हो । यद्यपि, शानिबार राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यले उपलब्ध गराएको सवारीको सट्टा आमनागरिकले प्रयोग गर्ने साझा बसमा यात्रा गरिन् । उनले राष्ट्रपति भवन शीतलनिवासदेखि ललितपुरको पाटनसम्म साझा यातायातमा यात्रा गरेकी हुन् । [&hellip;]</p>

काठमाडौं । सबै देशका राष्ट्र प्रमुखलाई सवारीको विशेष व्यवस्था गरिएको हुन्छ । पदीय मर्यादा तथा सुरक्षाका कारण यस्तो व्यवस्था गर्नु देशकै मुख्य जिम्मेवारी हो । यद्यपि, शानिबार राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यले उपलब्ध गराएको सवारीको सट्टा आमनागरिकले प्रयोग गर्ने साझा बसमा यात्रा गरिन् । उनले राष्ट्रपति भवन शीतलनिवासदेखि ललितपुरको पाटनसम्म साझा यातायातमा यात्रा गरेकी हुन् ।

राष्ट्रपति भण्डारी पाटन क्षेत्रका सम्पदा, मदन पुरस्कार पुस्तकालय, पिम्बहाः पुखुलगायतका ऐतिहासिक धरोहरको अवलोकनका लागि त्यहाँ पुगेकी थिईन् । राष्ट्रप्रमुख साझाको बिजुली बसमा सवार हुँदा आम नागरिकमा सार्वजनिक यातायातप्रति सकारात्मक सन्देश गएको छ । त्यसले ल्याएको उत्साह सार्वजनिक यातायात चलाउँदै आएका चालक वर्गमा पनि प्रवाहित भएको छ ।

महाराजगञ्जबाट पाटनढोकासम्म राष्ट्रपतिसहित २८ जनालाई यात्रा गराएकी चालक हर्मिता श्रेष्ठको अनुभूति पनि गर्विलो छ । हर्मिताको संयोग र राष्ट्रप्रमुखको यात्राले जीवनभरको पेसाप्रति सम्मान थपेको मात्र छैन उनमा आफ्नो पेसाप्रति भरोसा पनि जागेको छ । २१ वर्षे पेसा अवधिमा आफूले पाएको अवसर जीवनभर स्मरणीय रहने हर्मिताको प्रतिक्रिया छ । ‘सर्वसाधारणदेखि राष्ट्राध्यक्षसम्मलाई यात्रा गराउन पाउनु मेरा लागि महत्वपूर्ण अवसर हो । यसले पेसाप्रति गौरवान्वित तुल्याएको छ,’ उनले भनिन् ।

राष्ट्रपतिलाई बसमा चढाएर साझा यातायातले उपलब्ध गराएको टिसर्ट, क्याप र मास्क लगाएर ड्राइभिङ सिटमा बस्दा अत्यन्त खुशी अनुभूत गरेको उनले बताइन । ‘देशको अति विशिष्ट व्यक्ति, त्यसमा पनि महिला, उहाँलाई राखेर बस अगाडि बढाउँदा महिला चालक हुनुमा गर्वले छाति फुलेको अनुभव भयो,’ हर्मिताले भनिन्, ‘अरु दिन धुलो धुवाँलाई छिचोल्दै लामो समय सडकमै बिताउने म, शनिबार मेरा लागि विशेष दिन रह्यो ।’

राष्ट्रपतिलाई निवासबाट पाटनढोका हुँदै पुनः निवास पुर्याउँदा जीवनमा महत्वपूर्ण जिम्मेवारी पूरा गरेको उनको भनाइ छ । यसले उनमा अझ उत्साह थपेको छ । ‘२ दशकदेखिको ड्राइभिङ पेसाप्रति सन्तुष्ट छु,’ हर्मिताले विभिन्न सङ्घसंस्थाको गाडी चलाएर देशका कुना काप्चासम्म पुगेको अनुभव सुनाउँदै भनिन्, ‘सिक्दासिक्दै ड्राइभिङ जीवन धान्ने पेसा बन्यो, जसकै कारण राष्ट्र प्रमुखलाई राखेर सहर डुलाउन सक्ने भएँ, यसमै खुशी छु ।’

विभिन्न संस्थामासमेत आवद्ध उहाँ सार्वजनिक यातायातको चालक हुँदा कानुनको पालनाका साथै व्यावहारिक कुराले समस्यामा पर्ने गरेको बताउँछिन् । उनका अनुसार विषेशतः ज्येष्ठ नागरिक र समस्यामा परेका यात्रुलाई सहयोग गर्दा कुनै ठाउँमा सवारीले ट्राफिक नियम उलङ्घन हुने अवस्था आउँछ । मानवीय दृष्टिबाट अस्पतालजस्ता ठाउँमा अशक्त व्यक्ति ओरालिदिनुपर्ने हुन्छ त्यतिबेला ट्राफिक प्रहरीले गर्ने व्यवहारले उनको मन दुख्छ ।

संविधानले समानताको सुनिश्चितता गरे पनि अझै नेपालमा अधिकांश पुरुष चालक छन् । पछिल्लो समय महिलाले पनि यो पेसालाई अँगाल्न थालेका छन् । हर्मिता पुरुषले मात्र नभएर महिलाले पनि जुनसुकै सवारी चलाउन सक्छन् भन्ने उदाहरण बनेकी छिन् । अवसर पाएमा महिला देशदेखि सवारी हाँक्ने ठाउँसम्म पुग्न सक्ने उनको विश्वास छ । राष्ट्रपतिको सवारीमा सहचालकको भूमिका निर्वाह गरेकी सरिता भुजेलको पनि उस्तै अनुभव छ । हर्मितालाई मात्र होइन, सबै महिला चालकलाई पेसाप्रति थप जिम्मेवार एवं हौसला मिलेको छ ।

Share News