विकासन्युज

बैंकिङ ब्याजदर घटाउने अभियानको नेतृत्व ग्लोबल आइएमई बैंकले लिनुपर्छ: अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु कुमार अग्रवालले ब्याजदर घटाउने अभियानको नेतृत्व ग्लोबल आइएमई बैंकले लिनु पर्ने बताएका छन् । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डुको मर्जरपछिको एकीकृत कारोबार आरम्भ कार्यक्रममा बोल्दै अग्रवालले सो कुरा बताएका हुन् । ‘ठूलो बैंक बनी सकेपछि ठूलो जिम्मेवारी लिनु पर्छ, ब्याजदरमा एकरूपता ल्याए भने सहज हुनेछ, ब्याजदरमा ठूलो बैंक भएकाले भूमिका निर्वाह गर्नुपर्छ, ब्याजदर घटाउन पहल गर्नुपर्छ,’ उनले भने । अग्रवालले तरलता सहज भएको बेला उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने भन्दै अद्योगिक क्षेत्रमा गरेको लगानीबाट व्यवसायी र सरकारलाई फाइदा पुग्नुपर्नेमा जाेड दिए । मर्जर प्राप्तिमा इतिहास रच्दै नेतृत्व गरि देशकै ठुलो बैंक बनेकाले राम्राे कामको नेतृत्व गर्नुपर्ने बताए । अग्रवालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तरलता सहज र ब्याजदर घटाउन आग्रह गरेका छन् ।

तनहुँमा ४२ हजार घरधुरी स्वास्थ्य बीमामा

तनहुँ । तनहुँका ४२ हजार सात सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका एक लाख सात हजार सात सय २५ स्वास्थ्य बीमाबाट लाभान्वित भएका छन् । सरकारले नागरिकको स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य बीमा बोर्डको गठन गरेको थियो । उक्त बोर्डमार्फत् घर परिवारलाई बीमामा आबद्ध गरी सोहीमार्फत् रु एक लाख रुपैयाँसम्मको उपचार निःशुल्क हुँदै आएको छ । जिल्लामा पहिलो वर्ष आठ हजार सात सय ५१, दोस्रो वर्ष नौ हजार ४३, तेस्रो वर्ष १७ हजार तीन सय ८९, चौथो वर्ष सात हजार पाँच सय ७२ र चालु आर्थिक वर्षमा दुई हजार दुई सय ११ घर परिवार स्वास्थ्य बीमामा आबद्ध भएको कार्यालयकी दर्ता अधिकारी सिर्जना बताए । आव २०७४/०७५ बाट लागू भएको उक्त कार्यक्रमअन्तर्गत पाँच जनासम्मको सदस्य भएका परिवारले वार्षिक तीन हजार पाँच सय बुझाएर बीमामा आबद्ध हुन सकिन्छ । पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्य थप सात सय भुक्तानी गर्नुपर्ने प्रावधान छ । सरकारले विपन्न नागरिकको निःशुल्क उपचार तथा औषधिको व्यवस्थाका लागि स्वास्थ्य बीमाको अवधारणा ल्याएको थियो तर स्वास्थ्य बीमा गर्नेलाई उपचार प्रभावकारी नभएको तथा औषधि पनि पर्याप्त नपाइने गुनासो आउने गरेको छ । तनहुँमा दमौली अस्पताल, बन्दीपुर अस्पताल, भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र र जिपी कोइराला स्वासप्रश्वास उपचार केन्द्रमा स्वास्थ्य बीमाको सेवा लिन सकिने व्यवस्था गरिएको छ । वैशाख, जेठ र असार महिनामा दर्ता गर्ने सर्वसाधारणले भदौ १, साउन, भदौ र असोजमा दर्ता गर्ने सर्वसाधारणले मङ्सिर १ गते, कात्तिक मङ्सिर र पुसमा दर्ता गर्ने सर्वसाधारणले फागुन १ गते र माघ, फागुन र चैतमा दर्ता गर्ने सर्वसाधारणले जेठ १ गतेबाट सेवा प्राप्त गर्न सक्नेछन् ।

गण्डकीले आज नयाँ मुख्यमन्त्री पाउँदै

काठमाडौं । गण्डकी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता खगराज अधिकारी प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्ने बताइएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि दिएको पाँच दिनको समयसीमा आज बेलुका ४ बजे सकिँदैछ । एमालेका प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपालीले तोकिएको समयसीमाभित्रै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरिने बताए । ‘बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न हामी तम्तयार अवस्थामा छौं ‘, उनले भने, ‘अहिले गठबन्धन दलका ३२ सदस्यको समर्थन छ, विश्वासको मत लिने बेलासम्म सङ्ख्या अझ बढ्न सक्छ ।’ प्रदेशसभामा गठबन्धन दलतर्फ एमालेको २२, नेकपा माओवादी केन्द्रको आठ र राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई सिट छ । जुन सरकार गठनका लागि बहुमत सङ्ख्या हो । प्रदेशसभाका कूल ६० सिटमध्ये नेपाली कांग्रेससँग २७ र नेकपा एकीकृत समाजवादीसँग एक सिट छ । प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्य मुख्यमन्त्रीमा नियुक्त हुने संवैधानिक व्यवस्था छ । सत्तारुढ दलहरुबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँटको टुङ्गो लागेसँगै गण्डकीमा एमालेबाट अधिकारी मुख्यमन्त्री बन्ने पक्कापक्की भएको हो । नेता अधिकारी कास्की १ ९१० बाट निर्वाचित भएका थिए । विसं २०७४ मा कास्की १ बट निर्वाचित भएर सङ्घीय ससंद्मा प्रतिनिधित्व गरेका अधिकारी विसं २०७८ वैशाख ३१ मा केपी शर्मा ओली नेतृत्वमा गठित सरकारको गृहमन्त्री बनेका थिए । दोस्रो संविधानसभाको निर्वाचनपछि सुशील कोइराला नेतृत्वको सरकारमा उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्एका थिए। कास्कीको लेखनाथमा विसं २०१८ चैत २५ मा जन्मेका अधिकारी विद्यार्थी राजनीति हुँदै सक्रिय राजनीतिमा होमिएका थिए । विसं २०४० मा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति हुँदै अनेरास्ववियु केन्द्रीय उपाध्यक्षसम्मको जिम्मेवारीमा पुगेका थिए। राजनीतिक मुद्दामा पटकपटक बन्दी जीवन बताएका अधिकारी एमाले कास्कीको अध्यक्षसमेत बनेका थिए । अधिकारीको संसदीय यात्रा विसं २०५१ देखि सुरु भएको थियो । उनी पार्टीको सचेतक, पोलिटब्यूरो सदस्य, गण्डकी प्रदेश संयोजक हुँदै अहिले स्थायी कमिटी सदस्य छन् । अधिकारी एमालेको सङ्गठन विभाग प्रमुखसमेत थिए । एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपाकालमा उनले केन्द्रीय कमिटी सदस्य एवं गण्डकी प्रदेश सह–इञ्जार्चको जिम्मेवारी पाएका थिए ।

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग सञ्चालन हुनेछन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो अधिवेशन र राष्ट्रियसभाको नियमित १३औँ अधिवेशन सुरु हुनेछ । दुवै सदनका बेग्लाबेग्लै बैठकमा साझा कार्यसूचीका रुपमा सङ्घीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ । यस्तै प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रसमेत वाचन गरेर सुनाइनेछ । प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । प्रतिनिधिसभाको बैठक सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सञ्चालन गर्नुका साथै सदस्यलाई स्वागत गर्नेछन् । बैठकबाट ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि प्रतिनिधिसभा नियमावलीअनुसार सात जना सदस्य चयन गरिनेछ । सांसद सदस्य सङ्ख्याका आधारमा कांग्रेस र एमालेबाट दुई/दुई र बाँकी अन्य दलबाट प्रतिनिधित्व हुनेछ । नेपालको संविधानअनुसार निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० प्रतिनिधिसभाको बैठक बस्ने प्रावधान छ । यसैगरी पहिलो बैठक प्रारम्भ भएको दिनदेखि १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्छ । सभामुखको निर्वाचन सम्पन्न नभइसकेका कारणले हाल प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बैठक सञ्चालन गर्नेछन् । बैठकमा ज्येष्ठ सदस्य जबराले यही पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रस्तावबारे जानकारी गराउनेछन् । माओवादी केन्द्रका अध्यक्ष दाहाल यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधानको धारा ७६ को उपधारा ९२० अनुसार नियुक्त प्रधानमन्त्रीले सोही धाराको उपधारा ४ बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभामा १२ राजनीतिक दल र पाँच स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेस ८९, नेकपा एमालेका ७८, नेकपा माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालका १२, नेकपा एकीकृत समाजवादीका १०, जनमत पार्टीका छ, लोकतान्त्रिक समाजवादी पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक/एक तथा स्वतन्त्र पाँच सांसद् छन् ।

गरुडा नगरपालिकाले निजि जग्गामा बलपूर्वक बनाए सडक

रौतहट । गरुडा नगरपालिकाले जग्गाधनी संग विना कुनै सोधी खोजि नगरि निजि जग्गामा बलपूर्वक बाटो बनाएको वडा नम्बर २ का रामचन्द्र साह कानु र रामबाबु साहले आरोप लगाएका छन् । पिडितले आफु माथि अन्याय भयाे भनी मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र नेपाल पत्रकार महासंध राैतहट शाखामा आईतबार निवेदन दिदै सो आरोप लगाएका हुन् । गरुडा नगरपालिका को नगर प्रमुख कन्थमणी जयसवालको साथै ईलाका प्रहरी कार्यालय गरुडाले मिलोमतो गरी राैतहट जिल्ला अदालतको आदेश समेत कार्यान्वयन नगराएको आरोप पिडितले निवेदन मार्फत लगाएका छन् । राैतहट जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाको ईजलासले २०७९ मसिर १६ गतेका दिन निषेधाज्ञा आदेश गर्दै निवेदकको नाममा दर्ता रहेको किता नम्बर १६८५ र किता नम्बर १६८७को जग्गामा पर्ने गरि कुनै पनि किसिमको निर्माण कार्य नगर्नु नगराउनु भनि राेक लगाएका थिए । अदालतले निषेधाज्ञा आदेश गरेपछि पनि गरुडा नगरपालिका वडा नम्बर ५ का विनोद जयसवाल लगायतले बाटो निर्माण कार्य जारी नै राखेकोमा आवश्यक कार्यवाहीको माग सहित बाटो निर्माण कार्य राोक्का गराई खसालेको सर समान हटाई लैजान समेत विपक्षीमा पहलका लागि पिडितले अनुराेध गरेका छन् ।

जीवित छ तत्कालीन बाइसे चौबिसे राजाले प्रयोग गरेको तोप

बागलुङ । जैमिनी नगरपालिकाको तीन  वडाको सङ्गमस्थलमा रहेको माइकोस्थान नजिकैको तल्लो डाँडामा सानो सत्तलसँगै ढुङ्गाले छाएको मन्दिर छ । मन्दिरको भित्र बाइसे चौबिसे राजाको पालामा प्रयोग गरेको हतियार तोपको मुख्य भाग राखिएको छ । भुरे टाकुरे राजाहरुले तत्कालीन अवस्थामा राज्य गरेको स्थानमा रहेको तोप सङ्कटमा परेको छ । जिल्लाको सबैभन्दा ठूलो राज्य रहेको तत्कालीन गलकोटे राजाहरुसँग लडाइँपश्चात् राज्य एकीकरण गरिएको भन्ने स्थानमा अहिले मन्दिरसँगै तोप रहे पनि संरक्षण हुन नसकेको स्थानीयको गुनासो रहेको छ । कोतमा राखिएको तोप संरक्षण अभावमा केही भाग विसं २०३० मा खेतमा भेटिएपछि स्थानीयले पुनः बोकेर कोतमा लिएर राखेको स्थानीयले बताएका छन् । जैमिनी –१० राङ्खानी, वडा–४ सर्कुवा र वडा–७ जैदीको सङ्गमस्थलमा रहेको १८ औँ सताब्दीमा स्थापना गरिएको थन्थाप माइको मन्दिरमुनिको डाँडामा रहेको कोत घर र कोतघरमा रहेको तोप संरक्षणको पर्खाइमा रहेको स्थानीय नरविर थापाले बताए । ‘कोतमा भुरे टाकुरे राजाहरुले प्रयोग गरेको तोप छ भन्दा अचम्म हुन्छ, तर अहिले तोकपको केही कोत मन्दिरभित्र  गाडिएको अवस्थामा छ, तोपको केही भाग बाहिरै छ’, उनले भने, ‘पुरानो सत्तल स्थानीयको पहलमा मर्मतसम्भार गरिएको छ, पुरातत्व विभागले अनुसन्धान गरेपछि तोप संरक्षणमा कुनै चासो दिएन, तोपलाई संरक्षण गरेर प्रदर्शन गर्नसके धार्मिक पर्यटक भित्रन सक्नेछन्, नगरपालिकाले चासो दिनुपर्दछ ।’ मन्दिर क्षेत्र धार्मिक आस्था र विश्वासले मात्रै होइन, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण भए पनि तोप हराउने सम्भावना उत्तिकै छ । स्थानीयले तोप हराउने भएकाले गाडेर राखेका हुन् । थन्थाप माई मन्दिरदेखि एक किलोमिटर दूरीमा रहेको ऐतिहासिक कोत भवन संरक्षणको अभावमा भताभुङ्गजस्तै भएको छ । तत्कालीन भुरेटाकुरे राजाले आफ्नो सुरक्षाको लागि तयार गरेको गढी क्षेत्रको संरक्षण नहुँदा भग्नावशेषको रुपमा परिणत भएको हो । तत्कालीन राजाले आफ्नो दरबार, हतियार भण्डारण, विश्रमस्थल, रानीको सयन कक्ष तथा पूजास्थल, चौपारी, सेनाले पहरा दिने संरचना कतै पूर्णरुपले भत्किएको तथा कतै आधा पुरिँदा पहिचान गर्न नसक्ने अवस्थामा पुगेको स्थानीय टिकाराम आचार्यले जानकारी दिए । उनले कोतघर वरपर विभिन्न आकारका पर्खाल, सिँढी, ओखाललगायतका संरचना झाडीले पुरेर रुख उम्रेको उनको भनाइ छ । ‘यस क्षेत्रलाई संरक्षण गर्ने, उत्खनन गर्ने र केही जानकारीसहितको सूचना बोर्ड स्थापना गर्नेलगायतको कार्यका लागि नगरपालिकाले तगारुकता देखाउन सके पर्यटक आउन सक्ने छन्’, उनले भने, ‘कुनै सानो कुराको प्रचारप्रसार भएको देखिन्छ, यहाँ बाइसे चौबिसे राजाहरुले पड्काएको तोप जीवित छ, त्यही तोप कहिले हराउने हो पत्तो छैन, यहाँका महत्वपूर्ण सामाग्रीहरु हराई सकेको अनुमान छ, राज्यले संरक्षणमा लगानी गरे कोतघरलाई पुरानैस्वरुपमा जीर्णोद्धार गर्न सकिन्छ ।’ त्यो समयमा सत्रु पक्षबाट बच्नको लागि सेनाले प्रयोग गरेको एक थान तोपको अवशेषमात्र कोत मन्दिरमा सुरक्षित गरेर राखिएको छ । तोपको नाल र पछाडिको भागलाई मन्दिर निर्माण गरी सुरक्षा गरेको कोत मन्दिर व्यवस्थापन समितिका सचिव प्रेम थापाले जानकारी दिए । थन्थापमाईको क्षेत्रको डोका, देउराली, गुरुङकोट क्षेत्रमा तत्कालिन सेनाले निर्माण गरेका बङ्कर केही पुरिएको तथा केही आधा पुरिएको अवस्थामा छन् । सेनाले ओतको लागि निर्माण गरेका सत्तलको भङ्गावशेष देख्न सकिने सचिव थापाको भनाइ छ । ऐतिहासिक गढी क्षेत्रको संरक्षणमा राज्यले चासो नदिँदा प्राचीनकालका मौलिक सामग्री मासिँदै गएको स्थानीयको गुनासो छ । तोपको पाङ्ग्रा र त्यसलाई बाँधिने साङ्लासमेत चोरी भइसकेकाले तत्कालै संरक्षणको पहल गर्नुपर्ने सचिव थापाको भनाइ छ । राजाले दरबार वरिपरि खेती गर्दै आएको जग्गामा कालोपाती, औसेलुलगायतका बिरुवाको झाडी बनेको छ । दरबार, चौपारी जीर्ण भएका छन् । दरबार क्षेत्रदेखि करिब एक सय मिटर पूर्वपट्टि रानीले घाम ताप्दै कपाल कोर्न गरेको चट्टान जसलाई स्थानीय रानीले कपाल कोर्ने ढुङ्गाको नामले पहिचान समेत गरिएको छ । तीन वर्षअघि गण्डकी प्रदेश सरकारले साढे छ लाख र वडा कार्यालयको दुई लाख लागतमा सडक मार्गदेखि कोत भवन पुग्ने पक्की पदमार्ग र कोत क्षेत्रको तारबार गरेको भए पनि मुख्य कामजस्तै उत्खनन, सूचना बोर्ड र जीर्णोद्धार गर्न बाँकी रहेको सचिव थापाको भनाइ छ । कोतमा बडादसैँ र चैतेदसैँमा विशेप पूजा हुन्छ । उक्त क्षेत्रमा खानेपानी तारवार, झाडी सफा, पहुँचमार्ग विस्तार, ऐतिहासिक गढी संरचनाको पुनःनिर्माण, सूचनामूलक बोर्ड तथा उत्खनन्को काम बाँकी छन् । गढी क्षेत्रको संरक्षण, पुनःनिर्माण, उत्थनन्को लागि राज्यले विशेष ध्यान दिनसके पर्यटनको विकास हुनुका साथै इतिहासको अध्ययनस्थलको रुपमा विकास गर्न सकिने जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । उनले नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि ल्याएको योजना त्यही कोत मन्दिर र थन्थापमाईको मन्दिर संरक्षण र जीर्णोद्वारमा केन्द्रित हुने बताए । रासस

बझाङमा बाख्रा पालनबाट मनग्य आम्दानी

बझाङ । जयपृथ्वी नगरपालिका पडेसका किसान भरतबहादुर विष्टले बाख्रा पालनबाट लाखौंको आम्दानी गरिरहेका छन् । पुँगर लेकमा बस्ने उनले दुई बाख्राबाट सुरू गरेको व्यवसाय अहिले दुई खोर नै भरिभराउ छ । चार पुस्तादेखि पुँगरमा रमाएको विष्ट परिवारले तीन दशकयता मात्रै बाख्रापालन सुरू गरेका थिए । जिल्ला सदरमुकामबाट डेढ घण्टा मात्रै टाढा रहेको पुँगरमा उनले हरेक महिना चार/पाँच खसी बिक्री गर्दै आएका छन् । उनले भने, ‘बाख्रा सुरू गरेको समयमा एउटै बाख्रो र पाठी मात्रै थियो । पछि बढ्दै जाँदा दुई वर्षमा दर्जनको हाराहारीमा भए ।’ उनका अनुसार अहिले बाख्राको जति कारोबार गरे पनि ५५ बाख्राभन्दा तल भने कहिल्यै कम भएका छैनन् । ‘मैले जिन्दगीमा धेरै व्यवसायमा हात हाले, तर सफलता भने कतैबाट हात लागेन’, उनले भने, ‘बाख्रा व्यवसायपछि भने कहिल्यै पछाडि फर्कनुपरेन । अहिले पनि महिनामै चार/पाँच बाख्रा बेचिन्छ । त्योअनुसारको उत्पादन पनि भइरहन्छ ।’ निरन्तर सङ्घर्षपछि सफलता मिल्दै जाँदा ‘गरे हुन्छ’ भन्ने सोच थपिएको उनले बताए । उनी बाख्रालाई बाघ, स्यालबाट भने जोगाउन हम्मेहम्मे पर्ने गरेको बताउँछन् । ‘बाख्रापालनबाट केही घाटा छैन’, उनले भने, ‘दिनभर चराउँदा पनि पुग्छ, घाँस काट्नुपर्छ भन्ने हुँदैन । बिक्री नहोला भन्ने पनि छैन । दिउँसो ग्वालो (चरिचराउन गर्ने व्यक्ति) भए पुग्छ तर, ग्वालो बलियो छैन भने एकैपटक धेरै नोक्सान हुन्छ ।’ उनीसँग बाख्रा मात्रै होइन, अन्य चौपाया पनि प्रशस्तै छन् । ‘भैँसी, गाई, गोरु पनि पाल्दै आएका छौं’, उनले भने, ‘मेरा सम्पत्ति भनेकै यी चौपाया नै हुन् । यिनको रेखदेखमा लागेपछि कतै जान पाइँदैन । रेडियो सुन्नेबाहेक बाहिरी संसार पनि केही थाहा हुँदैन ।’ अहिले विष्ट परिवारलाई खसीबोका तथा बाख्रा विक्रीका लागि बाहिर जानुपर्दैन । कसैलाई चाहिएमा सम्पर्क गरेर पुँगरमै पुग्ने गरेको उनी बताउँछन् । पुँगर लेक एउटा ‘पिकनिक जोन’ पनि हो । वनभोज खान यहाँ सयौंको सङ्ख्यामा मान्छे आउँछन् । ‘मङ्सिर–पुसमा मात्रै दर्जनभन्दा बढी खसी बोका वनभोज खानेलाई विक्री गरें’, उनले भने, ‘बाख्रा व्यवसायको फाइदा पनि यही हो । बेच्ने पनि गाउँमा यसरी नै हो ।’ खसी बोका बिक्रीका लागि अहिलेसम्म दौडधुप गर्नु नपरेको उनले बताए । परिश्रम गरे हरेक कुरा सम्भव हुने बताउने विष्ट राज्यबाट अनुदान, पशु औषधिजस्ता कुराहरू केही नपाएको गुनासो गर्छन् । ‘राज्यले काम गर्नेलाई सहयोग गर्नुपथ्र्यो’, उनी भन्छन्, ‘कामै नगर्नेलाई लाखौँ, करोडौँ रूपैयाँ अनुदानको नाममा सरकारले सहयोग गर्छ तर, हामीजस्ता कृषकलाई सामान्य औषधि पनि दिँदैन ।’ राज्यबाट केही सहयोग प्राप्त नगरे पनि गाउँमै लोभलाग्दो व्यापार भएपछि निर्धक्क देखिन्छन् उनी । ‘म यहाँ बसेको तीन दशक नाघिसक्यो’, उनले भने, ‘म मात्रै होइन, बुबा, बाजेले पनि यसै ठाउँमा जीवन बिताउनुभएको थियो । पुस्तौँदेखि वस्तुभाउ पाल्दै आउँदा पनि आफूलाई कुनै निकायबाट सहयोग मिलेको छैन ।’ उनका अनुसार काम गर्ने इच्छाशक्ति भएका कृषकलाई राज्यले लगानी गर्नुपर्छ । ‘म त आफैँ पनि गर्न सक्छु, व्यवसायमा मलाई सरकारको कुनै सहयोग नभए पनि केही छैन तर, काम गर्ने इच्छाशक्ति भएका गरिब परिवारलाई राज्यले लगानी गर्ने हो भने त्यसको नतिजा पनि राम्रो आउँथ्यो होला ।’ उनी भन्छन् । अहिले विष्टले बाख्राबाटै वार्षिक सात लाखभन्दा बढी कमाउँदै आएका छन् । ‘मैले बाख्रा पालेको लामो समय भइसक्यो’, उनले भने, ‘पहिलेको आम्दानी घरखर्च मात्रै हुन्थ्यो, दुई/चार वर्षयता भने बचत पनि भइरहेको छ ।’ त्यसै आम्दानीबाट तीन जना छोराछोरीलाई कैलालीमा प्राविधिक शिक्षा पढाउँदै आएको उनले सुनाए । भरत मात्रै होइन उनका दर्जनभन्दा बढी छिमेकी नै पडेसभन्दा बढी पुँगरमै बस्छन् । भरतका छिमेकी बलराम विष्ट भन्छन् , ‘घर (पडेस) भन्दा लेक पुँगर नै सजिलो हुन्छ । यता खुला ठाउँ पनि छ । वस्तुभाउ पालनदेखि फलफूल तरकारी सबै यतै राम्रो उत्पादन हुन्छ । घरमा खेती लगाउने समयबाहेक बाँकी समय पुँगरमै बस्छौँ ।’ बलरामले पनि पुँगरमा फलफूल, तरकारी, बाख्रा, भैँसी पाल्दै आएका छन् । व्यावसायिकरूपमा नलागे पनि आफ्नो गुजाराका लागि पुँगर सजिलो भएको उनले बताए । उनले भने, ‘उत्पादन भएको केही बिक्री गर्नुपरेमा चैनपुर जान्छौँ । नत्र हाम्रो सानोतिनो उत्पादन फलफूल, तरकारी आफैँलाई ठीक हुन्छ ।’ उनका अनुसार पुँगर लेकमा सडक पुगेपछि नियमितरूपमा गाडी सञ्चालन भइरहेका छन् । ‘कहिलेकाहीँ ओखर, कागती त घरबाटै बेचिन्छ,’ उनले भने ।

इलामको विमानस्थलबाट नेपाल एयरलाइन्सले उडान भर्ने

इलाम । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान हुनेभएको छ । नेपाल एयरलाइन्सले सो विमानस्थलबाट साप्ताहिक उडान भर्न लागेको हो । यसबारे सैद्धान्तिक सहमति भइसकेको इलाम नगरपालिकाले जानकारी दिएको छ । इलाम नगर प्रमुख केदार थापाले आगामी माघ १ गतेबाट नै नियमित उडानका लागि पहल भइरहेको जानकारी दिए । यसअघि पनि इलाम नगरपालिकाले पैसा तिर्ने सर्तमा  विमानस्थलबाट तारा एयरले उडान भरेको थियो । सम्झौता मिति सकिएसँगै उडान बन्द भएको थियो । यस विमानस्थलबाट प्रायः सबै उडानमा यात्रु आउनेगरेका थिए । ताराले उडान बन्द गरेसँगै इलामबाट उडान भएको छैन । भरसक सस्तो मूल्यमा नै उडान गराउन पहल गरिने इलाम नगरपालिकाले जानकारी दिएको छ । यसका लागि उचित मूल्य निर्धारण गर्न नेपाल वायुसेवा निगमसमेत लाग्नेमा आफूहरु विश्वस्त रहेको नगर प्रमुख थापाको भनाइ छ । काठमाडौँबाट करिब एक घण्टाको उडान अवधिमा इलाम उडान गर्न सकिने यसअघि नै तारा एयरले बताएको थियो । सो विमानस्थलको छ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको छ । धावन मार्गसमेत पक्की भइसकेको छ । विमानस्थलको घेराबारा र टर्मिनल भवन निर्माणका लागि रकम विनियोजन भइसकेको जनाइएको छ । सो विमानस्थल सञ्चालन हुनसके इलाम मात्र नभएर पाँचथर, तेह्रथुम र ताप्लेजुङसम्मका यात्रुले सेवा पाउने छन् । साथै नजिक रहेको भारतका विभिन्न क्षेत्रबाट समेत काठमाडौँ उडानका लागि यात्रु आउन सक्ने छन् । रासस