
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले धेरै संख्यामा रहेका बैंक तथा वित्तीय संस्था मर्जर हुँदा सक्षम र सबल हुने बताएका छन् । उनले मर्जरले बैंक तथा वित्तीय क्षेत्रमा शुसासन कायम गर्न पनि सहयोग पुर्याउने बताए । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौं बीच भएको मर्जर पछि सोमबार एकीकृत कारोबारको उद्घाटन कार्यक्रममा बोल्ने क्रममा गभर्नर अधिकारीले सो बताएका हुन् ।
‘बैंक तथा वित्तीय क्षेत्र मर्ज हुँदा सक्षम र सवल हुनेछन्, सुशासन कायम हुनेछ’, गभर्नर अधिकारीले भने । गभर्नर अधिकारीले एक दशक अघि नै राष्ट्र बैंकले मर्जरको नीति लिएको बताउँदै २०७० को दशकमा वित्तीय क्षेत्र सुशासनको अभाव देखिएको बताए । बैंक तथा वित्तीय क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढेको हुँदा मर्जर तथा एक्विजिसनको नीति लिएको उनले बताए ।
२ सय ६८ को संख्यामा रहेका बैंकिङ संस्थाहरु अहिले ६७ वटामा झरेको गभर्नर अधिकारीको भनाइ छ । बैंकहरुको ठूलो हुँदा सेल्फ बेसिसमा अघि बढ्नुपर्ने र सानो कर्जालाई प्राथमिकता दिनुपर्ने गभर्नर अधिकारीले बताएका छन् ।