काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २१ वटा विद्युतीय संस्थालाई मर्ज गरेर एक बनाउनु असाधारण भएको बताएका छन् ।
ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको मर्जरपछिको एकीकृत कारोबार आरम्भ कार्यक्रममा उनले सो कुरा बताएका हुन । उनले ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालको नेतृत्वको बैंक मर्जरले वित्तीय क्षेत्रमा ठूलो फड्को मारेको बताए ।
‘मर्जरले ठूला परियोजनामा लगानीको स्रोत निश्चित भएको छ, बैंकिङ क्षेत्रमा दखिएको अस्वस्थ प्रतिस्पर्धा हट्दै जाने हाम्रो अपेक्षा छ’, उनले भने, ‘अर्थतन्त्र सुधार गर्ने सरकारको मुख्य एजेन्डा हो, निजि क्षेत्रका माग सम्बोधन गर्न र अर्थतन्त्र सुधार गर्न अर्थमन्त्री, गभर्नर र म आफू स्वयंम बसेर छलफल गरिरहेका छौँ ।’
यस्तै, उनले पुँजी बजारको सकारात्मक सुधारले अर्थतन्त्र सहज भएको बताउँदै बत्तीय क्षेत्रले आपसी समझदारी अनुसार लगानी गर्नुपर्नेमा जोड दिए ।
‘चन्द्र ढकालको आर्थिक विकास र मेरो राजनीतिक विकास एउटै हो, हामी दुई सामान्य परिवारबाट आएर छोटो समयमा यति धेरै उचाइ हासिल गर्नु आफैमा एउटा ठूलो काम हो’, उनले भने ।