विकासन्युज

राष्ट्रपति निर्वाचनसम्म सत्ता गठबन्धनलाई निरन्तरता दिने एमालेको निर्णय

काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रपतिको निर्वाचनसम्मका लागि अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको १७औँ सचिवालय बैठकले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते भएकाले उक्त समयसम्म अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। ‘यही फागुन २५ गतेसम्म राष्ट्रपति चयनको मिति तोकिएकाले त्यो बेलासम्म यही गठबन्धनलाई निरन्तरता दिन्छौँ’, उनले भने, ‘पुस १० गते जे सहमति भएको थियो । त्यही सहमतिअनुसार अगाडि बढ्ने निर्णय गरेका छौँ ।’ उनले अहिले सत्तारुढ दलको गठबन्धन नटुटेको समेत बताए । गत पुस १० गते नेकपा (माओवादी केन्द्र)सहित सत्तारुढ दलसँगको छलफलमा एमालेले राष्ट्रपति पाउने सहमति भएअनुसार नै एमालेले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय प्रचार विभाग प्रमुख गुरुङको भनाइ छ । ‘हामीले पुस १० गतेको सहमतिअनुसार नै हाम्रो पार्टीका तर्फबाट उपाध्यक्ष नेम्बाङलाई उम्मेदवार बनाएका छौँ’, उनले भने, ‘हामी पुस १० गते जे निर्णय भएको थियो । त्यसैमा जानु पर्दछ भन्ने हाम्रो जोड छ ।’ कांग्रेसबाहेक अन्य दलसँग राष्ट्रपति उम्मेदवारी विषयमा छलफल गर्ने पार्टीका तर्फबाट राष्ट्रपति बन्नुभएका पार्टीका उपाध्यक्ष नेम्वाङलाई जिताउनका लागि नेपाली कांग्रेसबाहेकका राजनीतिक दलसँग छलफल गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख गुरुङले बताए । ‘पार्टीले उठाएको राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई समर्थन गर्नका लागि कांग्रेसको आफ्नो उम्मेदवार भएका कारण कांग्रेसबाहेक सबै पार्टीलाई आजै हामीले सहयोगका लागि पत्राचार गर्ने छौँ’, उनले भने, ‘सबै पार्टीसँग सहयोगका लागि निरन्तररुपमा छलफल जारी राख्ने छौँ । कांग्रेसबाहेक सबै दललाई राष्ट्रपतिमा हामीलाई सहयोग गर्नका लागि सहमतिमा ल्याउने प्रयत्न गर्ने छौँ ।’ नेम्वाङ गत मङ्सिरमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो । राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता हुँदैछ । यस्तै बैठकले पार्टीको अर्थ तथा विभागको सचिवमा डा. दीपकप्रकाश भट्टलाई जिम्मेवारी दिने निर्णय गरेको उहाँले जानकारी दिए। यस्तै प्रचार विभाग प्रमुख गुरुङका अनुसार बैठकले एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई हटाएको छ ।

मदन भण्डारी राजमार्ग सडकको भौतिक प्रगति ४० प्रतिशत मात्रै

झापा । राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गको धरान–झापा सडकखण्डको ४० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका इञ्जिनीयर सजित शर्माका अनुसार शान्तिनगर–सर्दुखोलासम्मको एक सय ३१ किलोमिटर सडकमध्ये ९५ दशमलव ७८ किलोमिटरको ठेक्का लागिसक्यो छ । जसमध्ये हाल निर्माणाधीन अवस्थामा रहेको सडकको भौतिक प्रगति ४० प्रतिशत भएको उहाँले जानकारी दिए । उनले पाँच वटा निर्माण व्यवसायीले आयोजनासँग जिल्लागत ठेक्काको सम्झौता गरी काम गरिरहेको बताए। उनका अनुसार सो सडक खण्डअन्तर्गत सुनसरीमा १३ किमी, मोरङमा ३६ किमी, झापामा ३५ दशमलव ८ किमी र इलाममा १० दशमलव ९८ किमी सडक निर्माणको काम भइरहेको छ । उनले पूर्वी प्रस्थान बिन्दु बाहुनडाँगीदेखि शान्तिनगरको १० किमी सडकको दुवै क्षेत्रमा ड्रेन निर्माणको काम लगभग सकिएको बताए। सो सडक खण्डको ठेक्का श्रेष्ठ मोतीदान ज्वाइन्ट भेञ्चरले एक वर्षअघि नै दुई वर्षमा निर्माण गर्ने गरी सम्झौता गरेको थियो । उनले तोकिएको मितिमा बाहुनडाँगी शान्तिनगर सडकखण्डको निर्माण सम्पन्न हुने बताए। धरान–झापा सडकखण्डमा बन्ने ३७ वटा पुल र एक सय ३१ किमी सडकका लागि सङ्घीय सरकारले रु १० अर्ब १३ करोड बजेट विनियोजन गरेको छ । सो सडक खण्डमा पर्ने पुल र सडकको निर्माणमा हालसम्म चार अर्ब ८७ करोड खर्च भइसकेको उनले बताए। ‘सडकभन्दा पुल निर्माण छिटो भइरहेको छ’, उनले भने, ‘अझै ३५ दशमलव १३ किमी सडकको ठेक्का लाग्नै बाँकी छ ।’ सङ्घीय सरकारको बजेटबाट निर्माण हुने राजमार्ग दुई लेनको हुनेछ । यो राजमार्गले पूर्वको झापादेखि धरानको चतरा, उदयपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुको हेटौँडा, नवलपरासीको गैँडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको तम्घास र सिमलटारी, प्यूठानको बागदुला, र देवीस्थान, दाङको घोराही, तुलसीपुर र पुरनधारा, सुर्खेतको बोटचौर, डोटीको सिमचौर र बिपीनगर, कैलालीको सहजपुर, डडेलधुराको बुडर र जोगबुढा हुँदै रुपालसम्म पुग्नेछ । उनले यो सडक नेपालको पूर्वी सीमा मेची नदीदेखि चुरेभावर तथा भित्री मधेस छिचोल्दै पश्चिम महाकाली नदीसम्म करिब एक हजार २०० किमीको हुने बताए। रासस ।

एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रपतिमा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए। नेम्वाङ गत मङ्सिरमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट निर्वाचित भएका थिए। एमाले बैठक पार्टी कार्यालयमा जारी छ । आज राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदैछ ।

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन प्रक्रिया अन्योलमा

बुटवल । बुटवलमा निर्माण भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनमा आउन सकेको छैन । सम्मेलन केन्द्रको उद्घाटन भएको छ महिना बितिसक्दा पनि सञ्चालनसम्बन्धी आवश्यक कानुन नबन्दा अझै सञ्चालनमा आउन नसकेको हो । बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपमा निर्माण भएको अत्याधुनिक सुविधा सम्पन्न सम्मेलन केन्द्रको गत भदौ ११ गते पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। उद्घाटन भएको यति लामो समय बितिसक्दा पनि सञ्चालनसम्बन्धी आवश्यक कार्यविधि तयार नभएकाले सञ्चालनमा ल्याउन नसकिएको बुटवल सभा हल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन एकाइका आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए । उनले सम्मेलन केन्द्रको सञ्चालन समिति गठन गर्ने र समितिले सम्मेलन केन्द्र सञ्चालनका लागि निजी क्षेत्रलाई लिजमा दिन सक्ने गरी कार्यविधि स्वीकृतिका लागि सहरी विकास मन्त्रालयमा पठाइएको बताए। ‘सरकारले आफैँ सञ्चालनको जिम्मा लिँदा व्यवस्थापन समस्या देखिने भएकाले समितिले निजी क्षेत्रलाई लिजमा दिने गरी कार्यविधिमा व्यवस्था गरिएको छ’ उनले भने, ‘सायद कार्यविधि छिट्टै स्वीकृत भएर आउँछ ।’ विकास समिति ऐनअन्तर्गत सम्मेलन केन्द्र सञ्चालन समिति गठन गरेपछि त्यसले सम्मेलन केन्द्र भाडामा दिन सक्ने व्यवस्थाअनुसार अघि बढ्ने उनले बताउनुभयो । समितिमा तीन तहकै सरकारका प्रतिनिधि रहने गरी व्यवस्था गरिएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनको दीर्घकालीन योजना निर्माणका लागि विभागका उपमहानिर्देशक प्रकिरण तुलाधरको संयोजकत्वमा अध्ययन कार्यदल बनाइएको र त्यसको रिपोर्ट आएपछि मात्र सञ्चालन ढाँचा तय हुने सहरी विकास मन्त्रालयका प्रवक्ता सहसचिव प्रदीप परियारले बताए। ‘व्यावसायिक हिसाबले कुन ढाँचामा सञ्चालन गर्न उपयुक्त हुन्छ भनेर योजना बनाउने गरी काम भइरहेको छ’, प्रवक्ता परियारले भने, ‘सञ्चालन गरिसकेपछि बारम्बार समस्या आउनुभन्दा सञ्चालनमा दिगोपना रहने गरी योजना बनाउने हो त्यसैले अध्ययन रिपोर्ट कुरेका छौँ ।’ सम्मेलन केन्द्र उद्घानपछि हल भाडामा लिन चाहनेहले सम्पर्क गरे पनि कार्यविधिका कारण सेवा दिन नसकिएको आयोजना प्रमुख पन्थीले बताए। ‘हलका लागि धेरैले सम्पर्क गरेका छन् तर सञ्चालन कार्यविधिअनुसार विकास समिति नहुँदा मिल्दैन’, उनले भने, ‘उद्घाटन भएको छ महिनासम्म कार्यविधि अभावमा सञ्चालन गर्न नसक्दा राम्रो सन्देश जाँदैन ।’ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र रेखदेख र सरसफाइमा असारसम्म निर्माण कम्पनीले नै खर्च र रेखदेख गर्ने सम्झौता छ । सम्मेलन केन्द्र काठमाडौँ बाहिरको पहिलो अन्तर्राष्ट्रियस्तरको हो । एक अर्ब ११ करोड लागतमा सहरी विकास मन्त्रालयअन्तर्गत भवन निर्माण विभागले सो केन्द्र निर्माण गरेको हो । यसमा मुख्य हल एक हजार सिट क्षमताको छ । बुटवल मण्डपको साढे छ बिघा क्षेत्रफलमा एक हजार जना क्षमताको मुख्य र अन्य १२ वटा हल छन् । आकाशबाट हेर्दा नेपालको राष्ट्रिय झण्डा आकारमा तयार पारिएको सम्मेलन केन्द्रको मुख्य हल (अडिटोरियम हल) मा बाल्कोनी र भुइँतलामा गरी आठ सय ७२ वटा कुर्सी जडान गरिएको छ । यस्तै ५० र ४२ सिट क्षमताका दुई वटा लेक्चर हल तथा ८० र तीन सय जना क्षमताका सेमिनार हल रहेका छन् । साथै ७२ देखि एक सय २६ जना क्षमताका छ वटा बैठक कक्ष, तथा तीन सय ५० र पाँच सय ८६ जना क्षमताका थप दुई वटा हल छन् । सबै हलमा एक पटकमा २९ सय जना अटाउन सक्ने क्षमता छ । अपाङ्गतामैत्री सम्मेलन केन्द्रमा चार सयवटा चारपाङ्ग्रे र चार सय मोटरसाइकल पार्किङ गर्न मिल्ने गरी पार्किङस्थल र हेलिप्याडसमेत बनाइएको छ । सम्मेलन केन्द्रमा बाल उद्यान, चमेनागृह, सर्भिस भवन, कर्मचारी आवास, वाटर फाउन्टेन, पानी पोखरी, प्रवेश हुने र बाहिरिने गरी पाँच वटा अलग अलग गेट निर्माण गरिएका छन् । जसमध्ये एउटा भिआइपी गेट छ । प्रत्येक गेटमा सुरक्षागार्ड घर र टिकट काउण्टर समेत बनाइएको छ । विद्युत्का लागि छ सय ३० केभिए क्षमताको ट्रान्सफर्मर र खानेपानीका लागि बोरिङ पनि छुट्टै बनाइएको छ । सम्मेलन केन्द्र आकर्षक बनाउन केही भागमा दुबो लगाइएको छ भने सभाहल अगाडि पोखरी निर्माण गरिएको छ । जमिनमुनिको पानी रिचार्ज गर्न आठ वटा ‘रिचार्ज पिट’ पनि बनाइएको छ । सम्मेलन केन्द्र सञ्चालनका विषयमा निजी क्षेत्रले जसरी चासो र चिन्ता लिनुपर्ने त्यति हुन नसकेको र सरकारी तवरबाट पनि सञ्चालनको कार्यविधि यति लामो समयसम्म बन्न नसक्नु कमजोरी भएको नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टङ्क पोखरेल बताउँछन् । सम्मेलन केन्द्रको उद्घाटनसँगै कार्यविधि बनाउनुपर्नेमा छ महिनासम्म पनि कार्यविधिको कारण देखाएर राज्यका निकायले सञ्चालनमा बेवास्ता देखाउँदा राज्यकै लगानी डुब्ने अवस्था देखिएको उनी बताउँछन् । उनले सम्मेलन केन्द्र सञ्चालनमा अव सङ्घ, प्रदेश र स्थानीय सरकारले महत्वपूर्ण कार्यक्रम गर्दा यसलाई प्राथमिकतामा राखेर बनाउनुपर्ने र निजी क्षेत्रले पनि आफ्ना गतिविधि यही केन्द्रित गर्नुपर्ने सुझाव दिन्छन् । रासस ।

संविधानको संरक्षण र राष्ट्रियताको संवद्र्धनमा सचेत छु : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको संरक्षण र राष्ट्रियताको संवद्र्धन गर्ने अभिभाराका लागि आफू सचेत रहेको बताएका छन् । शनिवार नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संविधानको संरक्षण, राष्ट्रियताको संवद्र्धन र जनताको उन्नतिको रेखदेख गर्ने अभिभारा आफूलाई आउन लागेको बताए । उनले आफ्नो जिम्मेवारीप्रति सचेत रहेको पनि बताए । उनले सबै मिलेर राष्ट्र र संविधानको रक्षा गर्नुपर्ने र वर्तमान राजनीतिक प्रणालीको महत्व सबैले बुझ्नुपर्ने बताए । वर्तमान राजनीतिक प्रणालीमाथि खेलवाड गर्ने प्रयासहरु भइरहेको भन्दै उनले त्यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताए । उनले भने, ‘नेपालको संविधानको भावना र मर्म अंगाल्दै संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई संस्थागत गर्दै राष्ट्रपतिको संविधानको रक्षकको हैसियतको जिम्मेवारी पूरा गर्ने प्रयासमा अहिले मैले प्रथम चरणमा एउटा प्रेरणा पाएको छु नेपाली काँग्रेसबाट । अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा जुन अभुतपूर्व अधिकार, अद्वितिय अधिकार सबै जनतालाई प्रदान गरेको छ । त्यसको रक्षा गर्ने चुनौति आएको छ । नेपालको संविधानको संरक्षण, नेपालको राष्ट्रियताको संवद्र्धन, नेपाली जनताको उन्नतिको रेखदेख गर्ने जुन अभिभारा, जिम्मेवारी मलाई आउन लागिरहेको छ । यसप्रति म सचेत छु । र म सबै नेपाली दाजुभाई, दिदीबहिनीलाई आग्रह गर्न चाहन्छु, हामी सबै मिलेर यो राष्ट्रको जगेर्ना गरौँ । यो संविधानको रक्षा गरौँ । ७० वर्षसम्म लडेर प्राप्त गरेको व्यवस्थाको टुंगो लगाउन सफल भएका छौँ । यसको महत्व बुझौँ । यसको महत्व ज्यादै ठूलो छ । यसमाथि खेलवाड गर्ने प्रयासहरु नितान्त स्वार्थी प्रयास हुन् । त्यसबाट सबै नेपाली सजग रहनुपर्छ ।’ उनले आफूप्रति नेपालको राजनीतिक जगतले अपार स्नेह, सहानुभुति र सद्भाव राखेको अनुभुति आफूले गरेको बताए ।

रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बन्ने

काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय ललितपुर सानेपामा बसेको कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले नेपालको संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि नेपाली काँग्रेसद्वारा प्रश्तावित उम्मेदवारलाई विजयी गराउन यो बैठक सबै राजनीतक दलहरु एवं राष्ट्रिय सभा र प्रदेश सभाका सबै सदस्यहरुलाई आग्रह गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महले बताए । उनले २०८० साल वैशाख १० गते आईतवार हुने प्रतिनिधि सभा सदस्य चितवन जिल्ला क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेपाली काँग्रेसलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय भएको बताए । उनले । उक्त उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गर्ने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको पनि बताए । उनले उक्त उपनिर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ बमोजिम निर्वाचन आयोगमा नेपाली काँग्रेस दल दर्ता सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचि कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गरेको बताए । उनले भने, ‘नेपालको संविधानको धारा ६२ बमोजिम २०७९ फागुन २५ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि हुने निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट पूर्व सभामुख तथा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलज्युलाई उम्मेदवार प्रश्तुत गर्ने निर्णय भएको छ । नेपालको संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि नेपाली काँग्रेसद्वारा प्रश्तावित उम्मेदवारलाई विजयी गराउन बैठकले सबै राजनीतक दलहरु एवं राष्ट्रिय सभा र प्रदेश सभाका सबै माननीय सदस्यहरुमा हार्दिक अनुरोध गरेको डा. महतले बताए । बैठकले प्रतिनिधि सभा सदस्य एवं पार्टी नेता चन्द्रकान्त भण्डारीको स्वास्थ्य लाभको कामना गरेको छ । नेपाली कांग्रेसको निर्णयसँगै नेता पौडेल राष्ट्रपतिको लागि ८ दलको संयुक्त उम्मेदवार बन्नेछन् । फागुन २५ गते हुने निर्वाचनसम्म ८ दलको गठबन्धन कायमै रहेमा मतभारका आधारमा पौडेल भारी मतका साथ नेपालको नयाँ राष्ट्रपतिमा निर्वाचित हुनेछन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राप्रपा सरकारबाट बाहिरिने

फाइल तस्बिर काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिने भएको छ । आज बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको महामन्त्री शरदराज पाठकले सञ्चारमाध्यमलाई बताएका छन् । संघीय सरकारसँगै प्रदेश सरकारहरुबाट पनि बाहिरिने राप्रपाले निर्णय गरेको छ ।

राष्ट्रपतिको लागि उम्मेदवार मनोनयन दर्ता दिउँसो तीन बजेसम्म हुने

काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि आज दिउँसो तीन बजेसम्म उम्मेदवारी दर्ता हुने भएको छ । मनोनयन दर्ताका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म समय तोकिएको छ । मनोनयन दर्तास्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) मा मनोनयन दर्तास्थल तोकिएको छ । आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि नेपाली कांग्रेस र माओवादी सहितका राजनीतिक दलहरुले नयाँ गठबन्धन निर्माण गरेका छन् । जसमा नेपाली कांग्रेसले तय गर्ने व्यक्ति साझा उम्मेदवार हुनेछन् । राष्ट्रपतिको लागि को उम्मेदवार बन्ने भन्ने टुुंगो लगाउन नेपाली कांग्रेसको बैठक अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ । त्यस्तै पछिल्लो राजनीतिक घट्ना र राष्ट्रपति उम्मेदवारको विषयमा छलफल गर्न एमाले सचिवालयको बैठक पनि अहिले बसिरहेको छ ।