तेह्रथुममा भएको आगलागीमा १४ घर नष्ट
सांकेतिक तस्बिर तेह्रथुम । तेह्रथुमको आठराई–६ चुहानडाँडामा शुक्रबार भएको आगलागीबाट हात्तीखर्कमा रहेका १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते भएका छन् । घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ । तामाङ समुदायको बसोबास रहेको हात्तीखर्कमा १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच घर खाली रहेको वडाध्यक्ष कृष्ण बास्कोटाले जानकारी दिए । आगलागीबाट नौ परिवारको ४१ जना विस्थापित भएका छन् । घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ । आगलागीबाट सोमबहादुर तामाङ, वीरधन घिसिङ, आशबहादुर घिसिङ, भीमबहादुर वाइबा, सूर्यबहादुर योञ्जन र सुरेन्द्र वाइबाको घर जलेर नष्ट भएको छ । दधिराम वाइबाको घरमा बस्दै आएका दोर्जे बल, दलबहादुर तामाङको घरमा बस्दै आएका सुवास घिसिङ र अमरबहादुर वाइबाको घरमा बस्दै आएका लामामणि तामाङको घरसँगै अन्नपात र लत्ताकपडा नष्ट भएको छ । राईबहादुर तामाङ, डिकमान तामाङ, शङ्खर योञ्जन, जसबहादुर घिसिङ र भक्तबहादुर वाइबाको खाली घर जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीयका गोठमा रहेका पशुचौपाया जलेर मरेका छन् । आठराईको सुक्खाग्रस्त क्षेत्रमा रहेको हात्तीखर्कमा हरेक वर्ष आगलागी हुने गरेको छ । बस्तीमा पानीको अत्यन्तै समस्या र फुसको छाना रहेका घर भएकाले बस्ती सखाप हुँदा ठूलो क्षति भएको आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताए । तमोर नदी किनारको जङ्गलबाट सुरू भएको आगो बस्तीमा पसेपछि नियन्त्रण बाहिर आउँदा सो क्षति भएको हो । अहिले बस्तीमा लागेको आगो नियन्त्रणमा आएको छ । जङ्गलमा लागेको आगो भने नियन्त्रणमा छैन । फिदिम नगर पालिकाको दमकल, प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । जङ्गलमा लागेको आगो नियन्त्रणमा नआउँदा नजिकका अन्य बस्तीसमेत जोखिममा छन् । क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ । रासस ।
पर्यटन बोर्डद्वारा एकसय १२ जना महिलालाई ट्रेकिङ गाईड तालिम प्रदान
काठमाडौं । नेपाल पर्यटन बोर्डले एक सय १२ जना महिलालाई ट्रेकिङ गाईड तालिम प्रदान गरेको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) संगको सहकार्यमा उक्त तालिम सम्पन्न भएको हो । ३५ दिन सम्म सञ्चालन भएको उक्त तालिममा २५ जिल्लाबाट प्रशिक्षार्थीहरु सहभागी भएका थिए । तालिमको समापन पछि आयोजित प्रमाणपत्र तथा ट्रेकिङ गाईड स्रोत पुस्तिकाको विमोचन गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख तथा परियोजनाका राष्ट्रिय निर्देशक डा. धनन्जय रेग्मीले पर्यटन क्षेत्रमा भएको जनशक्ति अभाव कम गर्न तालीमले सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए । ‘पर्यटनमा यसैपनि दक्ष जनशक्ति अभाव छ, त्यसमा पनि महिला सहभागिता झनै कम छ, यो अवस्थामा महिलाहरूलाई तालिम दिन सकिए यो दीगो हुनाको साथै पर्यटन क्षेत्रमा महिला सहभागिता समेत बढ्ने अपेक्षा हामीले गरेका छौं, साथै यसले रोजगारीको अवसर मिल्नुका साथै स्वरोजगार समेत सिर्जना हुनेछ’, डा. रेग्मीले भने । सो अवसरमा नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले तालिमलाई व्यवहारिक बनाउन शैद्धान्तिक तथा व्यवहारिक कक्षाहरू सञ्चालन गरिएको बताएका थिए। यस्तै नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) का कार्यकारी निर्देशक रूद्रप्रसाद चापागाईंले यो तालिमले पर्यटनमा महिला सहभागिता बढाउनुको साथै रोजगारीमा समेत योगदान पुग्ने अपेक्षा गरिएको बताए । नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष शिव अधिकारीले पर्यटन क्षेत्रमा जनशक्ति अभाव भइरहको र भइरहको जनशीक्त पनि पलायन भइरहेको अवस्थामा आयोजना गरिएको तालिमले जनशक्ति विकासमा टेवा पुग्ने अपेक्षा व्यक्त गरेका थिए । देशैभरीबाट सहभागिताको लागि आव्हन गरी तालिम सञ्चालन गर्न खोजिएकोमा तालिममा सहभागी हुन चाहनेहरूको संख्या धेरै भएपछि अन्तवार्ताको माध्यमबाट सहभागी छनोट गरी दुई चरणमा तालिम सम्पन्न गरिएको जीविकोपार्जन पुनःउत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) का जिविकोपार्जनविज्ञ धर्म दवाडीले जानकारी दिए। कार्यक्रमकै अवसरमा ट्रेकिङ गाईड सम्बन्धी स्रोत पुस्तिकाको समेत विमोचन गरिएको थियो । स्रोत पुस्तक ट्रेकिङको क्षेत्रमा काम गर्ने तथा अध्ययन गर्नेहरुका लागि समेत सहयोगी हुने नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) का प्रशिक्षक हिमाल पण्डितले बताए । यसमा सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजन सहित ट्रेकिङको सामान्य पर्यटन जानकारी, देशको भूगोल र भूगोल, वातावरण, नेपाली धर्मको इतिहास, अन्तरसांस्कृतिक पर्यटन व्यवहार, पदयात्रा र पर्वतारोहण, पदयात्रामा सुरक्षा र सुरक्षा, जोखिमहरू उल्लेख गरिएको छ ।
ग्लोबल आइएमई बैंकको ऋणपत्र बाँडफाँट, कसले कति कित्ता पाए ?
काठमाडौं । ग्लोबल आइएमई बैंकको ऋणपत्र बाँडफाँट गरिएको छ । बैंकको ५ अर्बको ऋणपत्र शुक्रबार बाँडफाँट गरिएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी दिएको छ । बैंकले माघ २९ गतेदेखि फागुन ५ गतेसम्म वार्षिक ११.२५ प्रतिशत ब्याजदरमा ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ निष्काशन गरेको थियो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । जसमध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ता ब्यक्तिगत र ४० प्रतिशत अर्थात् २० लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो । सर्वसाधारणलाई छुट्याएको २० लाख कित्तामध्ये ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको थियो । ब्यक्तिगत तवरबाट बिक्री गरिएको ऋणपत्रमा २३ जनाले ५२ लाख १५ हजार कित्ताका लागि रितपूर्वक आवेदन दिएका थिए । जुन मागभन्दा १.७४ गुण बढी हो । आवेदन दिएकाहरुलाई समान रुपमा ३० लाख कित्ता वितरण गरिएको छ । यस्तै, सर्वसाधारणलाई १९ लाख ३० हजार कित्ता निष्काशन गरिएकोमा १ हजार २६६ जनाले २१ लाख ३१ हजार २९४ कित्ताका लागि आवेदन दिएका थिए । जुन माग गरिएको भन्दा १.१० गुणा बढी हो । जसमा २५ देखि ३ लाख कित्तासम्म माग गर्ने १ हजार २६४ जनालाई ११ लाख ३१ हजार २९४ कित्ता र ५ लाख कित्ता माग गर्ने २ जनालाई समान ७ लाख ९८ हजार ७०६ कित्ता बाँडफाँट गरिएको बैंकले जनाएको छ ।
सिटिजन लाइफले सञ्चालनमा ल्यायो डायनामिक क्युआर पेमेन्ट सिस्टम, सबै शाखाबाट भुक्तानी गर्न मिल्ने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले डायनामिक क्युआर पेमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ । इन्स्योरेन्सले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै उक्त सिस्टम सञ्चालनमा ल्याएको हो । कम्पनीले आफ्ना ग्राहकको सेवा तथा सुविधालाई ध्यानमा राख्दै ई-सेवा सँगको सहकार्यमा यस सिस्टम सञ्चालनमा ल्याएको हो । उक्त सिस्टमको उद्घाटन कम्पनीका एक बीमितद्वारा बीमाशुल्कको प्रत्यक्ष भुक्तानी (लाइभ पेमेन्ट) गरी गरिएको हो । डायनामिक क्युआर पेमेन्ट सिस्टम सेवाले हरेक कारोबारको लागि फरक फरक क्युआर सिर्जना गर्ने र भुक्तानी गर्नसाथ आफै सिस्टममा अपडेट हुने कम्पनीले जनाएको छ । यस प्रकारको सिस्टमले सम्पत्ति शुद्धिकरणमा समेत सहयोग पुग्ने कम्पनीले जनाएको छ । यससँगै अब सिटिजन लाइफको १४० शाखा तथा उपशाखा कार्यालयहरुबाट डायनामिक क्युआरको माध्यमबाट भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । सिटिजन लाइफको ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज र सरल सेवा उपलब्ध गराउन कम्पनी लागि परेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्न डायनामिक क्युआर पेमेन्ट सिस्टमको माध्यमबाट बैङ्क, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।
बैंकहरुले कर्जा नदिँदा भन्सार नाकामै गाडी रोकिएको नाडाको आरोप
काठमाडौं । विभिन्न भन्सार नाकामा तीन हजार बढी गाडी रोकिएको व्यवसायीले बताएका छन् । नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङ (अटो लोन) स्वीकृत नगर्दा गाडी नाकामै रोकिएको गाडी व्यवसायीले बताएका हुन् । देशमा तरलता अभाव तथा अटो लोनमा कडाइका कारण गाडी नाकामै थन्किएको उनीहरूको भनाइ छ । नेपाल अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले भन्सार नाकामा गाडी थन्कने क्रम बढ्न थालेको जनाएको छ । नाडाका अध्यक्ष धुव्र थापाले बैंक तथा वित्तीय संस्थाले कर्जा नदिँदा भन्सार नाकामा गाडी रोकिएको बताए । विदेशी मुद्राको सञ्चितिलाई देखाउँदै सरकारले गत वैशाख १३ गतेदेखि चारपाङ्ग्रे गाडी आयातमा प्रतिबन्ध लगाएको थियो । सरकारले आयातमा प्रतिबन्ध लगाउनु अगाडिदेखि नै भन्सार नाकामा सार्वजनिक सवारी (प्यासेन्जर भेकल) थन्किएको उनले जानकारी दिए । ‘प्रतिबन्ध लाग्नु अघिदेखि नै केही व्यवसायीले गाडी छुटाउन सक्नुभएको थिएन, अहिले थपिँदै तीन हजारभन्दा बढी भइसकेको छ,’ उनले भने, ‘तत्काल राष्ट्र बैंकले अटो लोनमा गरेको कडाइ नहट्दासम्म गाडी ल्याउन सक्ने क्षमता व्यवसायीमा छैन ।’ उनका अनुसार वीरगञ्ज र भैरहवा भन्सार कार्यालयमा सबैभन्दा धेरै गाडी रोकिएको छ । ‘एउटा गाडी छुटाउन ३५ लाख रुपैयाँदेखि एक करोडसम्म भन्सार शुल्क पर्छ, धेरै गाडी छुटाउन सक्ने अवस्थामा हामी व्यवसायी छैनौं, बैंक तथा वित्तीय संस्थाले लोन नदिएसम्म गाडी ल्याउन सकिँदैन,’ उनले भने । नेपाल राष्ट्र बैंकले लागू गरेको अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई एक सय ५० प्रतिशतबाट पुरानै अवस्था ७५ प्रतिशतमा नल्याएसम्म सवारी साधनको खरिद बिक्रीमा कुनै सुधार हुन नसक्ने उनको भनाइ छ । नाडा महासचिव सुरेन्द्रकुमार उप्रेती सरकारले चार पाङ्ग्रे गाडी आयातमा लगाएको प्रतिबन्ध हटे पनि गाडी आयात हुन नसकेको बताउँछन् । नाडाका उपाध्यक्ष निराकार श्रेष्ठले कार, जीप तथा भ्यान आयातमा ठूलो कटौति भएको जानकारी दिए । गत वर्षमा वार्षिक रुपमा १८ हजारभन्दा बढी गाडीहरु भित्रिने गरेकामा हाल आठ हजार हारहारीमा मात्रै भित्रिएको छ । उनले नेपाल भित्रिएका ८५ प्रतिशत गाडी बैंक तथा वित्तीय संस्थाबाट ऋण उपलब्ध हुने गरेको भन्दै अटो लोनमा गरिएको कडाइ तत्काल हटाउन आग्रह गरे । नाडाले चालु पुँजी कर्जासम्बन्धी निर्देशिकामा भएका केही अव्यवहारिक बुँदाको संशोधनका लागि आग्रह गर्दै आएको छ । देशमा विदेशी मुद्राको सञ्चितीलाई देखाउँलै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गर्दै विभिन्न १० वस्तुको आयात माथि प्रतिबन्ध लगाएको थियो । आयातमा प्रतिबन्ध लगाएको साढे आठ महिनापछि सरकारले गत पुस १ गतेदेखि आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गरेको थियो । निर्माता कम्पनीको दबाब पछिल्लो समय नयाँ गाडी खरिदका लागि गाडी निर्माता कम्पनीबाट दबाब आउन थालेको व्यवसायीले बताएका छन् । महासचिव उप्रेतीले गाडी निर्माता कम्पनीले गाडी खरिद गर्न दबाब दिने गरेको जानकारी दिए । ‘यसअघि सरकारले गाडी आयातमा प्रतिबन्ध लगाएको छ भनेर गाडी निर्माता कम्पनीलाई भन्न हामीलाई सहज थियो, आयात प्रतिबन्ध खुल्यो, गाडी किन्ने ग्राहक छैनन्, बैंकबाट सहज रुपमा कर्जा पाइएको छैन्, नगद तिरेर गाडी खरिद गर्ने मानिस नहुँदा भएका गाडी बिक्री भएन,’ उनले भने, ‘भन्सारमा रोकिएका गाडी त छुटाउन सकिएको छैन, नयाँ कसरी ल्याउने ?’ ‘बैंक तथा वित्तीय संस्थाले अटो लोनमा कडाइ गर्दा नयाँ गाडी खरिद गर्नेलाई समस्या भयो, नगद पैसा तिरेर गाडी किन्ने न्यून छन्, गाडी आयात रोकिनुभन्दा खुल्दा झन समस्या भयो,’ उनले भने । रासस
निगमका पाइलटले एयरहोस्टेजलाई दुर्व्यवहार गरेपछि हवाइ उडानमा रोक
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमका क्याप्टेन सहित १० जनालाई हवाइ उडानमा रोक लगाएको छ । एयरहोस्टेजलाई दुर्व्यवहार गरेपछि वायुसेवा निगमका ३ जना क्याप्टेन सहित १० जनालाई हवाइ उडानमा रोक लगाएको हो । कारवाहीमा पर्नेमा क्याप्टेन मुकेश कुमार गुप्ता, लाल बहादुर थकाली, अर्विन्द राज पहारी, आइफएस आरती महर्जन, पुर जरिना श्रेष्ठ, थोमनाथ पाण्डेय, निकेश महर्जन, प्रिया बस्नेत र दिपक कुइँकेल रहेका छन् । गत साउन १२ गते मलेशियाको क्वालालम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको उडान गरेको नेपाल वायुसेवा निगमको आरए ४१६ को जहाजका क्याप्टेनले विमान परिचारिका (एयरहोस्टेज) माथि दुर्व्यवहार गरेका थिए । सोही विषयमा क्यानले कारवाही गर्दै हवाइ उडानमा रोक लगाएको हो । ‘गत श्रावण १२ गते मलेशियाको क्वालालम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको उडानमा रहेको नेपाल वायुसेवा निगमको उडान संख्या आरए–१६ का चालक दलका सदस्यले विमान परिचारिका माथि गैरव्यवसायिक कार्य तथा दुर्व्यवहार गरेको विषयमा प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ, साथै आवश्यक कारवाही गर्ने क्रममा उक्त उडानमा रहेका चालक दलका सम्पूर्ण सक्रिय सदस्यहरुलाई प्राधिकरणले तत्काल उडानमा रोक लगाएको छ,’ क्यानले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ ।
ग्लोबल आइएमई बैंकको ६४औं एक्सटेन्सन काउन्टर नवलपरासीको सर्दीमा
काठमाडौं । ग्लोबल आइएमई बैंकले नवलपरासी जिल्लाको विनयी-त्रिवेणी गाँउपालिका वडा नं ४, सर्दीमा ६४औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक दुम्कीबास शाखाको मातहतमा रहने गरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । यस एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । अधिकांश वित्तीय सूचकाङ्कहरुमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटीएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११ सयभन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ । त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
सन्दीप लामिछाने विदेश जान नपाउने, अदालतले लगायो रोक
काठमाडौं । सन्दीप लामिछाने विदेश भ्रमणमा जान नपाउने भएका छन् । उनलाई सवोच्च अदालतले विदेश भ्रमणमा जान रोक लगाएको हो । साथै, अदालतले अर्को मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ ।