तीन वर्षभित्र आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य
काठमाडौं । सरकारले आगामी तीन आर्थिक वर्षभित्र आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित मध्यमकालीन खर्च संरचना (२०८०/८१–२०८२/८३) तयार पारेको छ । राष्ट्रिय योजना आयोगले त्रिवर्षीय मध्यमकालीन खर्च संरचना र आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रमको खाकासहितको बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तथा ढाँचा, २०७९ स्वीकृत गर्दै विभिन्न आर्थिक सूचकको तीनवर्षे अनुमान सार्वजनिक गरेको हो । आयोगले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार आगामी आर्थिक वर्ष २०८०/८१ मा छ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ मा सात दशमलव चार प्रतिशत र आर्थिक वर्ष २०८२/८३ मा आठ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने अनुमान आयोगको छ । तर, चालू आव २०७९/८० का लागि सरकारले राखेको आर्थिक वृद्धिदरको लक्ष्य भने हासिल नहुने पनि आयोगले जनाएको छ । चालू आवमा आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिएकामा चार दशमलव पाँच प्रतिशत बराबर मात्रै रहने देखिएको हो । चालू आवमा सरकारले उपभोक्ता मुद्रास्फीति सात प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको थियो । तर यस वर्ष मुद्रास्फीतिले वाञ्छित सीमा नाघेर साढे सात प्रतिशतसम्म पुग्नसक्ने अनुमान आयोगको छ । त्यस्तै, आगामी आव २०८०/८१ मा छ दशमलव पाँच प्रतिशत र त्यसपछिका दुई आवमा छ प्रतिशतको वाञ्छित सीमाभित्र मुद्रास्फीति राख्ने प्रक्षेपण आयोगले गरेको छ । आगामी तीन वर्षभित्र नेपालको प्रतिव्यक्ति आयमा उल्लेखनीय सुधार हुने अनुमान पनि आयोगको छ । आयोगको विवरणअनुसार प्रतिव्यक्ति आय आव २०८०र८१ मा एक हजार पाँच सय ७२ अमेरिकी डलर, आव २०८१र८२ मा एक हजार सात सय ४० अमेरिकी डलर र आव २०८२/८३ मा एक हजार नौ सय ३५ अमेरिकी डलर पु¥याउने लक्ष्य रहेको छ । आगामी वर्षमा नेपालको भुक्तानी सन्तुलनमा घाटा बढ्दै जाने देखिएको छ । भुक्तानी सन्तुलन आगामी आव रु १० अर्ब र त्यसपछिका दुई आवमा क्रमशः रु २० अर्ब र रु २५ अर्बसम्म घाटामा रहने अनुमान आयोगको छ ।
मलाई मेयरबाट राजीनामा गराउन खोज्दैछन, यो देश कहिल्यै बन्दैन : मेयर बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले आफूलाई मेयर पदबाट राजीनामा दिन लाउन खोजेको बताएका छन् । मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सो बताएका हुन् । मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्, यो देश कहिल्यैपनि बन्दैन ।
काँग्रेस वरिष्ठ नेता पौडेलले दिए राष्ट्रपतिमा उम्मेदवारी
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिएका छन् । नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले सो पदमा उम्मेदवारी दिएका हुन् । सो अवसरमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ८ राजनीतिक दलका नेताहरु सहभागी भएका थिए । यसअघि एमालेको तर्फबाट पार्टीका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति पदमा उम्मेदवारी दिएका थिए । यही फागुन २५ गते राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ ।
योजना आयोगद्वारा आगामी आर्थिक वर्षका लागि सोह्र खर्ब अठासी अर्बको बजेट सीमा निर्धारण
काठमाडौं । राष्ट्रिय योजना आयोगले मध्यमकालीन खर्च संरचनासहित आगामी आर्थिक वर्षको बजेट सीमा (सिलिङ) तयार पारेको छ । आयोगका अनुसार आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १६ खर्ब ८८ अर्ब ४० करोडको सीमाभित्र रही बजेट तयार पार्न लागिएको हो । आगामी आर्थिक वर्षको बजेट सिलिङ चालू आर्थिक वर्षको विनियोजित बजेटभन्दा एक खर्ब पाँच अर्ब ४३ करोडले कम हो । चालू आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट ल्याएको थियो । तर मध्यावधि समीक्षामार्फत सरकारले बजेटको आकार दुई खर्ब ४४ अर्बले घटाएको छ । सुरुआती विनियोजनको तुलनामा मध्यावधि समीक्षामार्फत बजेटको आकार १४ प्रतिशतले घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड कायम गरिएको छ । अहिले अर्थतन्त्रमा देखिएका विभिन्न चुनौती र त्यसले आर्थिक सूचकहरुमा पारेको प्रभावलाई विश्लेषण गरेर बजेटको सीमा अनुमान गरिएको आयोगले जनाएको छ । ‘चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिसम्म राजस्व परिचालनमा देखिएको सङ्कुचन, वैदेशिक सहायता परिचालनमा अनुदानको घट्दो प्रवृत्ति र विनिमय दरमा भएको वृद्धिका कारण साँवा–ब्याज भुक्तानीमा पर्नसक्ने थप चाप तथा आन्तरिक ऋण भुक्तानीको व्ययभारसमेतको विश्लेषण गरी राष्ट्रिय स्रोत परिचालनको यथार्थपरक अनुमान तथा प्रक्षेपण गरिएको छ’, आयोगले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । आयोगले त्रिवर्षीय मध्यमकालीन खर्च संरचना तथा आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रमको खाकासहितको बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तथा ढाँचा, २०७९ तयार गरी स्वीकृत गरिसकेको जनाएको छ । सो मार्गदर्शन तथा ढाँचा सबै संवैधानिक निकाय तथा विषय क्षेत्रगत मन्त्रालय एवम् प्रदेश सरकारलाई समेत पठाइसकेको आयोगले जनाएको छ । मध्यमकालीन खर्चसंरचनाअनुसार सरकारी राजस्व आगामी तीन आर्थिक वर्षमा सरदर १४ प्रतिशतका दरले वृद्धि हुने अनुमान गरिएको छ । राजस्व वृद्धिको सोही अनुमानका आधारमा बजेटको आकार पनि अनुमान गरिएको हो । ‘नेपाल सरकारको कूल स्रोत आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १६ खर्ब ८८ अर्ब ४० करोड, आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ८० अर्ब २० करोड र आर्थिक वर्ष २०८२/८३ का लागि २० खर्ब ८८ अर्ब ९० करोड बराबर रहने प्रारम्भिक अनुमान छ’, आयोगले भनेको छ । आयोगका अनुसार आगामी आर्थिक वर्षको बजेटको सीमा निर्धारण गर्दा विनियोजन कुशलतालाई ध्यानमा राखिएको छ । ‘विषयगत मन्त्रालय वा निकायहरुबाट बढी बजेट माग हुने तर विनियोजित बजेट बाँडफाँट मुताबिक खर्च नहुने अवस्थालाई मनन गरी बजेट प्रणालीको अनुमान योग्यता र विनियोजन कुशलतालाई ध्यानमा राखिएको छ । आगामी आर्थिक वर्षका लागि खर्च हुने वा खर्च गर्न सकिने कार्यक्रम तथा क्रियाकलापमा मात्र बजेट व्यवस्था गर्नु उपयुक्त हुने विषयलाई मार्गदर्शनमा जोड दिइएको छ’, आयोगको विज्ञप्तिमा उल्लेख छ । रासस ।
एमालेबाट राष्ट्रपतिमा नेम्वाङको उम्मेदवारी
काठमाडौं । नेकपा (एमाले)का तर्फबाट यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा अध्यक्ष ओली नेताहरू पृथ्वीसुब्बा गुरुङ, गोर्कणराज विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा रहेका छन् । यसैगरी उनको समर्थकमा पार्टीका नेताहरू योगेशकुमार भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेका छन् । इलाम नगरपालिका-७ सुन्तलाबारीमा विसं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङले अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेका थिए । विसं २०२८ बाट राजनीतिमा निरन्तर क्रियाशील नेम्वाङ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै हाल उपाध्यक्ष रहेका छन्। विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य बन्नुभएका उनी त्यसलगत्तै पुनः राष्ट्रियसभा सदस्य भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०५६ मा इलाम(२ बाट निर्वाचित उनी संविधानसभा निर्वाचन २०६४ र २०७० मा इलाम(२ बाट निर्वाचित भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०७४ र २०७९ मा इलाम(२ बाट लगातार निर्वाचित भएका नेम्वाङ एमाले संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति भएका थिए । उनी विसं २०६३ मा पुनःस्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसद्को सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष रसभामुख र २०७२ सालमा रुपान्तरित व्यवस्थापिकाको सभामुख भएका थिए। विसं २०५१ मा न्याय कानुन तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री भएका उनी सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री थिए । राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानुन व्यवसाय (वरिष्ठ अधिवक्ता) रहेका उनले पञ्चायती निरङ्कुशताविरुद्धको राजनीतिक आन्दोलनका क्रममा पटकपटक सार्वजनिक सुरक्षाअन्तर्गत नजरबन्द परेका थिए ।
राप्रपाका मन्त्रीहरुले दिए राजीनामा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भएका मन्त्रीहरुले राजीनामा दिएका छन् । उनीहरुले शनिबार प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका हुन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उपाध्यक्ष बिक्रम पाण्डेले शहरी विकास, नेता ध्रुवबहादुर प्रधानले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेता दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री जिम्मेवारीमा रहेका थिए ।
सस्तो लोकप्रियताको लागि व्यवसायीले जथाभावी बोल्नु हुँदैन : वरिष्ठ उपाध्यक्ष ढकाल
पर्वत । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सस्तो लोकप्रियताको लागि व्यवसायीले जथाभावी बोल्न नहुने बताएका छन् । शुक्रबार पर्वत उद्योग वाणिज्य संघको ४७औँ स्थापना दिवस तथा ४०औँ वार्षिक साधारण सभाको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले व्यवसायीहरुले भोटका लागि गैरजिम्मेबार रुपमा चर्को र जथाभावी बोल्न नहुने कुरा बताएका हुन् । ‘हामीले हुललाई खुशी पार्नको लागि व्यवहारिक रुपमा सम्भव नहुने त्यस्ता केही लोकप्रिय कुरा गर्न सकिन्छ’, उनले भने। उनले व्यवसायी साथीहरुले चुनावी फण्डा बनाउने विषयले समाज र अर्थतन्त्रमा पार्ने जोखिमका बारेमा पनि विचार गर्न आग्रह गरे। ‘तपाई हामीले चुनावमा भोटका लागि यस्ता मिठा मिठा कुरा त गरौँला । तर भोलि यसलाई कसरी निकर्षमा पुर्याउने भन्ने बारेमा पनि हामीले सोच्नुपर्ने हुन्छ’, उनले भने । कोभिड र रशिया–युक्रेन युद्धलगायत समस्याहरुले गर्दा नेपालको अर्थतन्त्रमा मात्र नभई विश्व अर्थतन्त्रमा नै समस्या देखिएको बताउँदै उहाँले अब विस्तारै धेरै कुरा सकारात्मक हुँदै गएको उल्लेख गरे । ‘अर्थतन्त्र अफ्यारोमा थियो तर अहिले सुधारोन्मुख छ’, उनले भने, ‘विस्तारै धेरै कुरामा सुधार देखिन सुरुभएको छ । हामी व्यवसायीको जस्तो सुकै अफ्ठ्यारो परिस्थितिमा पनि किन्चित नहडबडाइ निरन्तर सेवा प्रदान गर्ने गरेको इतिहास छ । हामी धेरै निरास हुनुहुँदैन । नैरश्यताले हामी आफैलाई नै समस्यामा पार्छ ।’ आफू एउटा बैंकको सञ्चालक भएको नाताले धेरै ठाउँमा पटक पटक बैंकको व्याजदरको विषय उठाउने गरेको बताउँदै उहाँले धेरै व्यवसायी साथीहरुलाई कुनै एउटा बैंकको सञ्चालकको चाहनाले मात्र बैंकको व्याजदर परिवर्तन हुने भ्रम रहेको बताए । ‘धेरै व्यवसायी साथीहरुलाई के भ्रम रहेको छ भने म वा कुनै एउटा बैंकको सञ्चालकले घटाइदिने हो भने व्याजदर घट्न सक्छ । यसले त्यसो नगरेर यसले बैंकको मात्र पक्षपोषण गरेको छ । तर म के कुरा स्पष्ट पार्न चाहन्छु भने यो कुनै एउटा बैंक वा बैंकको सञ्चालकको चाहनाले मात्र परिवर्तन हुने र गर्न सकिने कुरा होइन । म आफैलाई पनि बैंकको व्याजदर घट्दा हुने फाइदा मैले बैंकबाट पाउने लाभांशभन्दा धेरै गुणा बढी हुन्छ’, उनले भने । वरिष्ठ उपाध्यक्ष ढकालले जिल्ला नगरका व्यवसायीहरुको हक, हित र संरक्षणकालागि आफूहरु लागिरहेको र निरन्तर लागि रहने प्रतिवद्धता समेत व्यक्त गरे। ‘हामीले हाम्रो निरन्तर प्रयासका बाबजुत धेरै नीतिगत कुराहरुमा सुधार ल्याएका छौ । प्रधानमन्त्री, उपप्रधान मन्त्री तथा अर्थमन्त्री र गभर्नरज्यूहरुसँगको निरन्तर पैरवी पछि हाम्रा केही मागहरु सम्बोधन भएका छन् । यसकालागि हामी फेरि पनि निरन्तर लाग्ने नै छौँ’, उनले भने।
प्रधानमन्त्रीले मलाई दबाब आयो भन्नुभएको छ : अध्यक्ष ओली
फाइल तस्बिर काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौताअनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा एमाले उम्मेदवारलाई सहयोग गर्ने दाबी गरेका छन् । शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रिय सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले प्रधानमन्त्री दाहालले आफूलाई अफ्ठ्यारो परेको र दबाब आएको कुरा गरेको भनिरहे पनि पुस १० को सम्झौताअनुसार नै एमाले उम्मेदवारलाई सघाउनेमा विश्वस्त रहेको बताए । उनले भने, ‘प्रचण्डजीले अलिकति के अफ्ठ्यारो पर्यो मलाई के के पर्यो दबाब पर्यो भनिरहनुभएको छ । तर उहाँले सम्झौताअनुसार भोट हाल्नुहुन्छ । कहाँ ८ दलको समर्थन थियो, ८ दललाई बोलाएको थियो, चिया खान बोलाए जति सबै भोट हुन्छ ।’ नेकपा एमालेले पूर्व सभामुख एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।