राष्ट्रिय वाणिज्य बैंकले ४ वटा शाखा कार्यालयलाई छुट्यायो बजेट
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न ठाउँको ४ वटा शाखा कार्यालय भवनको आन्तरिक निर्माण कार्य गर्ने भएको छ । बैंकले विभिन्न ४ वटा शाखा कार्यालय भवनको आन्तरिक निर्माणका लागि रकम विनियोज गरेको हो । बैंकको छिन्चु, सुखिपुर, लहान र विराटचोक शाखा कार्यालय भवनको आन्तरिक कार्य गर्न रकम छुट्याएको हो । बैंकले छिन्चु शाखाका लागि ६२ लाख २७ हजार ६४० रुपैयाँ, सुखिपुर शाखाका लागि ५३ लाख ४१ हजार ३४१ रुपैयाँ, लहान शाखाका लागि १ करोड २१ लाख ६९ हजार ८४३ रुपैयाँ र विराटचोक शाखा कार्यालयका लागि ७७ लाख ११ हजार १९ रुपैयाँ छुट्याएको छ । उक्त शाखा कार्यलयको आन्तरिक कार्य गर्न बोलपत्र आह्वान गरेको छ ।
बजार अनुगमन गरेको भन्दै व्यापारीहरूले गरे विरोध
काठमाडौं । सर्लाहीको हरिवनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको अनुगमन टोलीले बजारको अनुगमन गरेको भन्दै स्थानीय व्यापारीले विरोध गरेका छन् । अनुगमन टोलीले अचानक आएर बजार अनुगमन गरेको भन्दै आक्रोशित भएका स्थानीय व्यापारीले केही समय पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध गरेका थिए । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको अनुगमन टोलीले अचानक हरिवन बजार आएर अनुगमन गरी सामान्य गल्ती, कमी–कमजोरीमा पनि जरिवाना तोकेको भन्दै हरिवनका व्यापारी आक्रोशित भएका उद्योग वाणिज्य सङ्घ हरिवनका अध्यक्ष मोहन श्रेष्ठले बताए । कार्यालयले कुनै जानकारी नै नगराई आएको र अहिलेको देशको परिस्थितिअनुसार बजार अनुगमनको कुनै आवश्यकता नरहेको अध्यक्ष श्रेष्ठले बताए । बजार अनुगमन गर्नु स्वाभाविकै भए पनि अहिले देशको आर्थिक अवस्थाका कारण व्यापारीहरू आत्मदाह गर्ने अवस्थामा पुगेका र यो अवस्थामा गरिएको बजार अनुगमनले व्यापारीलाई डस्ने काम मात्र गरेको चेम्बर अफ कमर्स सर्लाहीका अध्यक्ष रामभक्त प्रधानले बताए । उनका अनुसार बजार अनुगमनका क्रममा अनुगमन टोलीले व्यापारीका सामान्य कमी–कमजोरीमा पनि सचेत गराउनुपर्नेमा एकैपटक जरिवाना तोकेका कारण हरिवनका व्यापारी आक्रोशित भएका हुन् । अनुगमन टोलीले अचानक आएर सामान्य कमी–कमजोरीमा पनि जरिवाना तोकेपछि आक्रोशित हरिवनका व्यापारीले केही समय पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेपछि अनुगमन टोली फर्किएको अध्यक्ष प्रधानले बताए । उपभोक्ता संरक्षण ऐनअनुसार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको टोलीले बजार अनुगमन गरेको निमित्त कार्यालय प्रमुख सुरेशकुमार रेग्मीले बताए । । उनले राज्यले तोकेको कानूनको पालना गर्ने व्यापारीलाई अनावश्यक दुःख नदिएको बताए । ‘देशको आर्थिक अवस्था खराब छ भन्दैमा अनुगमन नै गर्नु नपर्ने भन्ने छैन, व्यापारीहरूले राज्यको कानून पालना गरेका छन् कि छैनन्, बजारमा कुनै गैरकानूनी कार्य भएका छन् कि छैनन्, व्यापार–व्यावसाय सञ्चालन गर्न नियमानुसार राज्यको कानूनमा बाँधिएका छन् कि छैनन् भन्ने विषयमा अनुगमन गरिएको र सचेतसमेत गराएको हो,’ निमित्त कार्यालय प्रमुख रेग्मीले भने । यता व्यापारीले अनुगमन टोलीले मानवीयता त्यागेर व्यापारीलाई अनावश्यक दुःख दिएको आरोप लगाएका छन् । स्थानीय व्यापारीको चर्को विरोधपछि अनुगमन समिति अनुगमन छाडेर फर्किएको छ ।
विद्यालय बन्द गरेर व्यवस्थापन समितिसहित शिक्षक कर्मचारीको टोली भारत भ्रमणमा
काठमाडौं । रूपन्देहीको कोटहीमाई गाउँँपालिकास्थित मर्चवार आदर्श माध्यमिक विद्यालयका शिक्षक कर्मचारीको टोली विद्यालय बन्द गरेर भारत भ्रमणमा निस्केको छ । वार्षिक परीक्षा २०७९ मुखैमा पुगेको बेला शिक्षकहरू विद्यालयमा पढाउनुभन्दा आन्तरिक समझदारीमा भारतको उत्तराखण्ड भ्रमण तिर लागेका हुन् । कक्षा १ देखि १२ सम्मका पठनपाठन पूर्णरूपले ठप्प पारेर शुक्रबार १२ गतेदेखि १७ गतेसम्मका लागि भ्रमणमा निस्केको कोटहीमाई गाउँपालिकास्थित सो विद्यालयको भ्रमण टोली शनिबार भारतको हरिद्वार पुगेको सामाजिक सञ्जाल फेसबुकमार्फत देखिएको छ । आगामी चैत ५ गतेदेखि कक्षा १ देखि कक्षा ७ र कक्षा ९ को परीक्षा सञ्चालन हुने सूचना छ । कक्षा ८ को परीक्षा चैत ६ गतेदेखि सञ्चालन हुने निश्चित छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा १० को एसइई परीक्षा पनि चैत १७ गतेदेखि सञ्चालन हुने समयसारिणी छ । फागुन १४ देखि १७ गतेसम्म भारतको उत्तराखण्ड भ्रमणमा जान लागेको भन्दै बिदाको जानकारीसहित सो विद्यालयले गाउँपालिकालाई एक पत्र पठाए पनि १२ गते शुक्रबारदेखि नै विद्यालय ठप्प बनाई व्यवस्थापन समितिसहित शिक्षक कर्मचारी यात्रामा निस्केका हुन् । विद्यालय बन्द भएकाले परीक्षाको तयारीमा बाधा पुगेको सोही विद्यालय कक्षा १० मा अध्ययनरत एक विद्यार्थीले बताए । ‘अहिले कोर्ष पनि पूरा भएको छैन, झन तयारी गराउनुपर्ने अवस्थामा विद्यालय नै बन्द गरेर हाम्रो परीक्षा र भविष्यलाई बेवास्ता गरिएको छ, मेरो नाम नखोली दिनुहोला अप्ठ्यारो पर्छ,’ उनले दुःखेसो पोख्दै भने, ‘विद्यालय बन्दको कुनै लिखित सूचना पनि छैन, मौखिक जानकारी मात्र दिइएको छ, यस विद्यालयमा विद्यार्थीको भविष्यप्रति कोही जवाफदेही देखिँदैनन्, न विद्यालय व्यवस्थापन समिति जिम्मेवार देखिन्छ न त शिक्षक नै ।’ वार्षिक परीक्षा मुखैमा पुगेको बेला शिक्षक–कर्मचारी र विद्यालय व्यवस्थापन समितिले विद्यालय बन्द गरी अक्षम्य गल्ती गरेको आक्रोश पोख्दै अभिभावक पारस यादवले भने, ‘सरोकारवाला निकायले तत्काल कारबाही गरी उचित क्षतिपूर्ति भराउने व्यवस्था हुनुपर्छ ।’ ‘मर्चवार क्षेत्रकै मुख्य विद्यालयमा भएको यस्तो गैरजवाफदेही हर्कतले मर्चवारलाई नै बदनाम गर्ने कार्य भएको छ,’ स्थानीयवासी गुरुवचन यादवले भने, ‘बालबालिकाको जीवन अन्धकारमा पारेर शिक्षक कर्मचारीसहित विद्यालय व्यवस्थापन समिति तीर्थाटन गएको कुनै फलदायी हुने छैन ।’ विद्यार्थीको भविष्यप्रति हेलचेक्र्याइँ गर्ने प्रधानाध्यापकलाई कारबाही गरी विद्यालय व्यवस्थापन समितिसँग स्पष्टीकरण माग्न र कारबाही गर्न आग्रह गर्दै यादवले भने, ‘यस्तो गल्तीप्रति गाउँपालिका शिक्षा शाखा पनि उत्तिकै जिम्मेवार छ ।’ यसबारे गाउँपालिकास्थित शिक्षा शाखा प्रमुखसित सम्पर्क हुन नसके पनि कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले विद्यालय बन्दबारे आफूलाई कुनै जानकारी नभएको बताए । ‘मनपरी हिसाबले विद्यालय बन्द गरी जान पाइने छैन, त्यसबारे विद्यालयका प्रधानाध्यापक धनञ्जय त्रिपाठीसँग सोधपुछ गर्नेछु,’ उनले भने । कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले यसबारे आफूलाई कुनै लिखित जानकारी नभएको बताए । ‘मैले मौखिक जानकारी पाएको थिएँ र विद्यालय बन्द नगर्न अनुरोध पनि गरेको थिएँ,’ उनले भने । आफ्नो अनुरोधप्रति वास्ता नगरी मनपरी ढङ्गले सबै भारत भ्रमणमा जानुभएको जानकारी पाएको उनले बताए । ‘विद्यालय खुलेपछि यसबारे सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण सोध्ने छु,’ उनले भने । रासस
राष्ट्रपतिमा प्रतिस्पर्धा गर्ने दुई ‘चन्द्र’ को हुन् ?
काठमाडौं । नेपालका तेस्रो राष्ट्रपतिका लागि राजनीति एवं संसदीय अभ्यासमा बौद्धिक र परिपक्व छवि बनाएका प्रजातन्त्रवादी र वामपन्थी फरक विचारधाराका अनुभवी २ नेताको उम्मेदवारी परेको छ । फागुन २५ गते हुने राष्ट्र प्रमुखको निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङको मात्र उम्मेदवारी परेको हो । फरक राजनीतिक पृष्ठभूमि र सिद्धान्त अँगाले पनि दुवैसँग संसद्को नेतृत्व गरेको अनुभव छ । गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेम्वाङ इलाम–२ र पौडेल निर्वाचन क्षेत्र तनहुँ–२ बाट निर्वाचित भएका हुन् । पौडेलसँग उपप्रधानमन्त्रीसहित शान्ति तथा पुनःनिर्माण, गृह, कृषि, सूचना तथा सञ्चारमन्त्रीलगायतको जिम्मेवारी सम्हालेको अनुभव छ भने नेम्वाङले कानून, न्याय तथा संसदीय, सामान्य प्रशासन मन्त्रालयलगायतमा नेतृत्व गर्ने अवसर प्राप्त गरेका थिए । दुवैले स्थानीय विकास मन्त्रालयको कार्यभार सम्हालेको अर्को संयोग पनि परेको छ । संविधान तथा ऐन–कानूनका व्याख्याता नेम्वाङले विसं २०/६३ को आन्दोलनपछि संविधानसभाको अध्यक्षसहित ५ पटक सभामुखको जिम्मेवारी कुशलतापूर्वक सम्हालेर इतिहास रचेका छन् । समाजवादका व्याख्याता पौडेलले एक कार्यकाल सभामुखको जिम्मेवारी सम्हाल्ने मौका पाएका थिए । उनीहरु दुवै आआफ्नो संसदीय दलमा वरीयताको हिसाबले दोस्रा भएको अर्को संयोग पनि परेको छ । राष्ट्रपतिका दुवै उम्मेदवारको नेपालको संसदीय अभ्यासमा विसं २०४८ देखि प्रवेश भएको हो । पौडेल कांग्रेसका हाल वरिष्ठ नेता हुन् भने नेम्वाङ एमालेका उपाध्यक्ष हुन् । यसअघि नेम्वाङ एमाले संसदीय दलको उपनेता थिए भने पौडेल भने एक पटक संसदीय दलको नेतामा निर्वाचित भई इतिहास रचेका छन् । उनले दलमा वरिष्ठ उपसभापतिको समेत जिम्मेवारी सम्हालेका थिए । नेम्वाङ विसं २०४८ मा राष्ट्रियसभा सदस्य तथा पौडेल प्रतिनिधिसभा सदस्य थिए । उम्मेदवार पौडेल वि. सं २०७४ मा बाहेक तनहुँबाट लगातार प्रतिनिधिसभामा निर्वाचित हुँदै आएका छन् भने नेम्वाङ पनि वि. सं २०५६, २०६४, २०७०, २०७४ र गत मङ्सिरमा भएको प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा इलामबाट विजयी भएका छन् । नेम्वाङभन्दा ८ वर्षले जेठा पौडेलको राजनीतिक संलग्नता विसं २०१५ देखि भएको हो । मुलुकमा लोकतन्त्र प्राप्तिका लागि विभिन्न समयमा भएका आन्दोलनका क्रममा पौडेलले वि.सं २०१८ देखि विसं २०६२ सम्म पटक पटक गरी १५ वर्ष बन्दी जीवन बिताएका छन् । उनका ‘प्रजातान्त्रिक समाजवाद, कृषि क्रान्ति र राजनीतिक विश्लेषणसँग सम्बन्धित ५ पुस्तक तथा केही रचना प्रकाशित छन् । वि.सं २०२८ देखि राजनीतिमा प्रवेश गरी निरन्तर क्रियाशील नेम्वाङ पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनका क्रममा पटक पटक नजरबन्द र ७ महिना कैद बसेका छन् । केही समय प्राध्यापनको अनुभवका साथै वरिष्ठ अधिवक्तासमेतको उपाधि हासिल गरेका नेम्वाङ नेपाल बार एसोसिएसनको महासचिवसमेत भएका थिए । उनीसँग प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको सभापति भएर काम गरेको अनुभव पनि छ । पौडेल मानवाधिकारसम्बन्धी पुरस्कारबाट र नेम्वाङ गणेशमान सिंह जनआन्दोलन पदकबाट विभूषित भएका थिए । मुलकमा मूल्यमान्यता र आदर्शको राजनीतिका लागि निरन्तर आवाज उठाउँदै आएका स्नातकोत्तर पौडेल साहित्यकार पनि हुन् । स्वतन्त्रता र कानूनी राज्यका लागि क्रियाशील नेम्वाङले बिए र बिएलको अध्ययन पूरा गरेका छन् । दुवै नेताले मुलुकको कार्यकारी पदका लागि पहल गरेतापनि दलभित्रका राजनीतिक समीकरणले त्यो अवसर दिलाउन भने सकेन । करिब एक दशकअघि भएको प्रधानमन्त्रीको निर्वाचनमा पौडेल एमालेका झलनाथ खनालसँग पराजित भएका थिए । मुलुककै सर्वोच्च पदका लागि दुवै एकैसाथ प्रतिस्पर्धामा रहनुपर्ने घटनालाई अनौठो संयोगका रूपमा हेरिएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म आठदलीय गठबन्धन र वर्तमान सत्ता साझेदार एमालेका तर्फबाट मात्र उम्मेदवारी मनोनयनपत्र दर्ता भएको थियो । मुलुकको राष्ट्राध्यक्षका रूपमा रहने राष्ट्रपति पदको निर्वाचनका लागि फागुन २५ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ । वि.सं २०७२ असोज ३ गते जारी ‘नेपालको संविधान’मा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । मुलुकमा २०६२/६३ को आन्दोलनको उपलब्धिका रूपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास भएको हो । राष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता हुने छन् । राष्ट्रपति निर्वाचनको मतदाताको सङ्ख्या सङ्घीय संसद्का ३३२ र सातै प्रदेशका प्रदेशसभा सदस्य ५५० गरी कूल ८८२ कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले ५ वर्ष हुने र २ पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ । राष्ट्रपति निर्वाचनका लागि नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सङ्घीय संसद् सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र हुनेछ । विगतमा जस्तै मुलुकका प्रमुख ठूला दल कांग्रेस र एमालेका उम्मेदवारबीचको प्रतिस्पर्धाका रूपमा यस निर्वाचनलाई हेरिएको छ । नयाँ संविधान जारी हुनुअघि र पछि डा.रामवरण यादव र विद्यादेवी भण्डारीले राष्ट्रपतिको जिम्मेवारी सम्हालेका छन् ।रासस
ईङवा हाइड्रोले फागुन २१ गतेदेखि आईपीओ बिक्री गर्ने, क-कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । ईङवा हाइड्रोपावरले फागुन २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी ६० करोड ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर बिक्री गर्नेछ । कम्पनीले १० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउँपालिका वडा नं. ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं. २ र वडा नं. ३ का बासिन्दाहरुलाई छुट्याइएको छ । यस्तै, सर्वसाधारणलाई छुट्याइएको २० प्रतिशत अर्थात् १२ करोड रुपैयाँको १२ लाख कित्ता सेयरमध्ये १ लाख २० हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई छुट्याइएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पूर्ण आवेदन नपरेमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले चैत २० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग रहेको छ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारमा रहेको नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
ठगी गर्ने सहकारीविरुद्ध उजुरी बढ्दै
काठमाडौं । पछिल्लो समय सहकारी विभागमा उजुरी गर्नेको सङ्ख्या बढेको पाइएको छ । सहकारीमा आबद्ध सदस्यले सङ्कलन गरेको निक्षेप पाउन नसकेपछि यस क्षेत्रबाट ठगिएको भन्दै न्यायका लागि उजुरी गर्न थालिएको हो । विभागमा गत मङ्सिरमा ४३ उजुरी परेकामा पुसमा चार सय ५१ उजुरी परेको अभिलेख छ । एक महिनाको अन्तरालमा चार सय आठ उजुरी थपिएको विभागका उप रजिष्ट्रार खिमानन्द आचार्यले जानकारी दिए। सहकारीमा सङ्गठित सदस्यलाई आर्थिक समस्या पर्दा त्यस स्रोतको जोहो गर्न उनीहरूबाट केही एकाइ रकम सङ्कलन गरी सम्बन्धित पक्षको हित प्रवद्र्धन तथा सामाजिक उत्थान गर्न गरिने एकीकृत प्रयास सहकारीको अवधारणा हो । सर्वसाधारणलाई ठगेका यस्ता संस्थालाई कडा कारबाही गरी कानुनी दायरामा ल्याउन जरुरी रहेको अर्थविद् राधेश्याम मालाकारले बताउनुभयो । यस अवधारणाअनुसार व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्छ । जुन उद्देश्यका लागि सहकारी संस्था खोलिए पनि ती उद्देश्यअनुसार कार्य पूरा नहुँदा तथा नियमनकारी संस्थाबाट आवश्यक प्रभावकारी भूमिका निर्वाह नगर्दा ठगी बढ्दै गएको छ । संस्था सञ्चालक तथा पदाधिकारीले सदस्यलाई सुनियोजितरूपमा उच्च प्रतिफल दिने प्रलोभनमा रकम लामो समयावधिसम्म बचत गर्न लगाउने, सङ्कलित निक्षेपलाई कर्जाका रूपमा प्रवाह गर्न नयाँ सदस्य थप गर्ने, अनुत्पादक क्षेत्रमा लगानी गर्नेजस्ता कार्यले यस क्षेत्रमा आएको जोखिमले समस्या बढ्दै गएको छ । संस्थाको एउटा उद्देश्य देखाई रकम सङ्कलन गरी उद्देश्यअनुरूपको काममा सङ्कलित रकम खर्च गर्नेतर्फ वा बचतकर्तालाई शर्त कबुलअनुसार प्रतिफल दिने कार्यतर्फ सम्बन्धित सहकारीले अग्रसरता देखाएको पाइँदैन । सहकारीमा सीमित स्रोत र साधन भएका व्यक्तिले स्वेच्छाले रकम बचत गरी आफ्ना हितको विषयमा एकसाथ मिलेर कार्य गर्दछन् । समाजमा छरिएर रहेको श्रम, सीप, प्रविधि र पुँजीलाई एकत्रित गरी सदस्यले साझा उद्देश्य प्राप्तिका लागि कार्य गर्दछन् । सदस्यले प्रजातान्त्रिक प्रणालीबाट आयआर्जनका योजना तय गर्ने हुँदा उनीहरुको आर्थिक विकासका लागि एकताबद्ध प्रयास गरी आत्मनिर्भरतातर्फ मार्ग खोज्ने प्रचलन छ । सहकारीका सेयर सदस्य नै मालिक र ग्राहक दुवै हुन् । संस्थाका संस्थापक, सञ्चालक तथा कर्मचारी स्थानीय व्यक्ति नै हुनुपर्ने व्यवस्था छ । सहकारीमा पुँजीको होइन सदस्यको महत्व हुन्छ । यो क्षेत्र बलियो सामाजिक आधार भएको समुदायमा केन्द्रित व्यवसाय भएकाले सञ्चालकहरूको संस्थामा लगानी धेरै वा थोरै नभएर एकै किसिमको हुन्छ । संस्थाले व्यावसायिक हितका लागि आफ्नो नियम, कार्यविधि र मापदण्ड तयार गरी त्यसको आधारमा कार्यसञ्चालन गरी वित्तीय, सामाजिक विकास तथा वातावरण संरक्षणको दायित्व पनि निर्वाह गर्नुपर्ने हुन्छ । सदस्यबाट मात्र बचत सङ्कलन, ऋण प्रवाह गर्नुपर्नेमा सिद्धान्त, मूल्य र मान्यताभन्दा बाहिर गएर कारोबार गर्दा जोखिम बढेर सदस्य ठगिन बाध्य भएका छन् । सहकारिताका माध्यमबाट समाजमा न्यून आयस्रोत भएका सदस्यको जीवनस्तर उकास्न र व्यापारिक एकाधिकार अन्त्य गर्न, सामाजिक विकृतिको अन्त्य गर्न सकेमा यसको मुख्य उद्देश्य पूरा हुने देखिएको बताइन्छ । मुलुकमा सहकारी संस्थाको विकास करिब सात दशक अगाडिबाट सुरुआत भएको पाइन्छ । तत्कालीन समयमा अनौपचारिकरूपमा सञ्चालित वित्तीय कारोबार गुठी, पैँचो, ढुकुटीजस्ता क्षेत्रलाई विकसित गर्ने क्रममा सहकारीको सुरु भएको पाइन्छ । विसं २०१३ मा चितवनको शारदा नगरपालिकामा स्थापना गरिएको बखान ऋण सहकारी संस्था नै देशको पहिलो सहकारी संस्थाका रूपमा लिने गरिएको छ । संविधानमा पनि देश विकासका लागि अर्थतन्त्रको एक आधारस्तम्भका रूपमा सहकारीलाई मानिएको छ । अर्थ, उद्योग र वाणिज्यसम्बन्धी नीति, सार्वजनिक निजी र सहकारी क्षेत्रको सहभागिता तथा स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने भनिएको छ । थोरै–थोरै बचत गरी समूहभित्रकै सदस्यलाई सहुलियत ब्याजदरमा कर्जा प्रदान गरिने सहकारी देशभर करिब ३५ हजार विभिन्न प्रकृतिका सहकारी संस्था दर्ता भएको भए पनि ६५ लाख सदस्य छन् । हाल प्रदेश र स्थानीय तहले यस क्षेत्रलाई व्यवस्थित गर्न थालनी गरेकाले पनि विभागमा आएका उजुरी दर्तापछि सम्बन्धित प्रदेश र स्थानीय तहमा समन्वय गर्न पीडितलाई पठाइने गरिएको छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सहकारी क्षेत्रले पाँच प्रतिशत योगदान दिएको छ । यस क्षेत्रले करिब ७० हजारलाई प्रत्यक्ष रोजगारी दिएको अनुमान छ । सहकारीमा जम्मा भएका निक्षेपमध्ये रु पाँच खरब रकम परिचालन भएको छ । कृषि, फलफूल, दूध, स्वास्थ्य, शिक्षा, ऊर्जा, सञ्चार, विद्युत्, यातायातलगायत क्षेत्रमा महत्ववपूर्ण योगदान भएको अनुमान छ । यसको योगदानको तथ्याङ्क सार्वजनिक हुन बाँकी छ । सङ्घीयता कार्यान्वयनपछि करिब २९ हजार सहकारी संस्था र व्यवस्थापन प्रणाली स्थानीय तथा प्रदेश तहमा हस्तान्तरण गरिएको छ । सहकारी संस्थाबाट महिला सशक्तीकरण, नेतृत्व विकास तथा क्षमता विकास, सामाजिक एकीकरण, उद्यमशीलता प्रवद्र्धन र गरिबी न्यूनीकरणका क्षेत्रमा योगदान भएको छ । विगतमा सहकारी दर्ता गर्न भिन्न परिवारका २५ सदस्य भए पुग्ने व्यवस्था थियो । अहिले काठमाडौँलगायत केही स्थानमा सहकारीको सङ्ख्या धेरै भएकाले दर्ता प्रक्रिया रोकिएको छ । विभागका सूचना अधिकारीका अनुसार कानुनको अभावमा निक्षेप हिनामिना गर्ने केही सहकारीलाई कालोसूचीमा राखिएको छ । सर्वसाधारणले ठगिएको रकम लुकाउने प्रवृत्तिले पनि प्रष्ट तथ्याङ्क आउन सकेको छैन् । रासस ।
सुनसरीको बर्जुमा दादुरा फैलियो, १० हजार बालबालिकालाई खोप लगाइँदै
सुनसरी । सुनसरीको बर्जु गाउँपालिकामा दादुरा फैलिएको छ । दुई साताको अवधिमा बर्जुमा २९ जना दादुरा पोजेटिभ पाइएका हुन् । बर्जुमा पहिलो पटक २ नम्बर वडामा ७ महिने शिशुमा दादुरा पुष्टि भएको थियो । हाल उक्त गाउँपालिकाको ६ मध्ये ४ वटा वडामा दादुरा संक्रमित बिरामी फेला परेका छन् । जसमध्ये केही वयश्क व्यक्ति समेत रहेका छन् । योसँगै गाउँपालिकाको एकै स्थानमा एकसाथ ५ जना बढी दादुरा संक्रमित भेटिएसँगै स्वास्थ्य कार्यालय सुनसरीले आपतकालिन कार्य योजना अघि बढाएको छ । प्रदेश १ सरकार, स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा स्थानीय निकायसँगको समन्वयमा दादुरा फैलन नदिन स्वास्थ्य कार्यालय सुनसरीले एकसाथ १० हजार बालबालिकालाई दादुरा बिरुद्धको खोप लगाउने तयारी थालेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले बताए । उनले दादुरा अति संक्रमित रोग भएकाले एउटै क्षेत्रमा ५ जना पुष्टि भए यसलाई महामारीको रुपमा लिइने बताए । उनले यसलाई रोक्नका लागि ६ महिनादेखि १५ वर्ष उमेर समूहका व्यक्तिहरुलाई अघि सारेको बताए । २९ जना पोजेटिभ केस फेला परिसकेको बर्जुमा थप केही शंकास्पद केस परीक्षणको क्रममा रहेकाले संख्या थप बढ्नसक्ने स्वास्थ्य कार्यालय सुनसरीको अनुमान छ । दादुरा तिब्र संक्रमण फैलने र जटिल प्रकृतिको रोग भएकाले फैलन नदिन रोकथामका सबै उपाय अविलम्व अवलम्वन गर्न लागिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । कार्यालयका अनुसार बर्जुका सबै ६ वटै वडाहरुमा फागुनको १६ गतेबाट एकसाथ दादुरा बिरुद्धको खोप अभियान सञ्चालनमा ल्याइनेछ । अभियानमा ६ महिना देखि १५ वर्ष सम्मका बालबालिकाहरुलाई दादुरा बिरुद्धको खोप लगाउने गरी तयारी थालिएको कार्यालयले जनाएको छ ।
शुभगृह इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीको ब्राण्ड एम्बेस्डरमा ठकुरी
काठमाडौं । शुभगृह इन्स्टिच्युट एण्ड कन्सल्टेसीको ब्राण्ड एम्बेस्डरमा सुरजसिँह ठकुरी नियुक्त भएका छन् । कन्सल्टेन्सीले आज राजधानीमा एक समारोहको आयोजना गरेर ठकुरीसँगको सम्झौतामा हस्ताक्षर गरेको छ । ‘जेन्युन सिन्स २०१४’ को नारा बोकेको शुभगृहले विद्यार्थीहरुलाई उचित सहयोग र परामर्श प्रदान गर्ने, उनीहरुको बौद्धिक जिज्ञासालाई उत्प्रेरित गर्ने विश्वव्यापी मान्यता र सहकार्यको संस्कृतिलाई बढावा दिइ आफ्नो सेवा प्रदान गरिरहेको जनाएको छ । हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै कार्यक्रमलाई सम्बोधन गर्दै ठकुरीले भने, ‘शिक्षा वा सामान्य जीवनमा सफल हुनको लागि आफ्नो दृढ संकल्पको शक्तिमा विश्वास गर्नुपर्छ भन्ने मेरो मान्यता छ, यदि तपाईले यसलाई लगनशीलता र वास्तविकतासँग जोड्नुभयो भने कुनै पनि कुरा असम्भव छैन ।’ ‘अष्ट्रेलिया, क्यानाडा, युरोप, संयुक्त राज्य अमेरिका वा युनाइटेड किंगडममा अध्ययन गर्ने विद्यार्थीहरुको सपना पूरा गर्न शुभगृहले ठूलो योगदान पुर्याएको छ । म यस लगनशील टीमको हिस्सा हुन पाउँदा उत्साहित छु र विद्यार्थीहरुलाई शुभगृहमा उनीहरुको लक्ष्य प्राप्त गर्न सहयोगका लागि तत्पर छु’, उनले भने । त्यस्तै, समारोहलाई सम्बोधन गर्दै लक्ष्य प्राप्तीका लागि इच्छुक विद्यार्थीहरुलाई कसरी शुभगृहले सधैँ सम्मान गरेको छ भन्ने भावनालाई सुरज सिंह ठकुरीले पूर्ण रुपमा बुझेका छन् भन्ने बताएका थिए । ‘उनले सही मनोवृत्ति, ठूला सपना र सच्चा सल्लाहकारको साथ भएमा जो कोही पनि सफल हुन सक्छन् भन्ने प्रमाणित गरेका छन्, हाम्रो ब्रान्ड एम्बेसडरको रुपमा उनलाई स्वागत गर्न पाउँदा हामी गर्वित छौँ’, निर्देशक सुभेन्द्र थापाले भने । साथै, उनले विश्वभर धेरै विकल्पहरु बढेसँगै नेपाली विद्यार्थीहरुसँग उच्च शिक्षा हासिल गर्न पहिलेभन्दा धेरै जानकारी र स्रोतहरु पनि बढेको बताए । संसारमा मान्यता प्राप्त उच्च शिक्षा हासिल गर्ने नेपाली विद्यार्थीहरुको विश्वव्यापी उपस्थितिले उनीहरुको क्यारियरको लागि उत्कृष्ट प्लेटफर्म सिर्जना गर्नेछ भन्ने आफ्नो अनुमान रहेको उनले बताएका थिए । शुभगृहमा आफ्नो लक्ष्य भनेको नेपाली विद्यार्थीहरुलाई अहिले र भविष्यमा उच्च स्तरको अन्तर्राष्ट्रिय शिक्षामा पहुँच प्राप्त गर्न सक्षम बनाउनु हो ताकि उनीहरुले आफ्नो देश र विश्वको विकासमा योगदान दिन सकून् भन्ने रहेको निर्देशक थापाको भनाइ थियो । शुभगृह संस्थापक सुगन्ध थापाले आवेदकहरुको लक्ष्य जेसुकै रहे पनि कम्पनीले उनीहरुलाई आफ्नो लक्ष्यमा पुग्नको लागि सही बाटो प्रदान गर्ने विश्वास व्यक्त गरेकी थिइन् । शुभगृह अष्ट्रेलिया, क्यानडा, युरोप, बेलायत र अमेरिकामा केन्द्रित रहेको शैक्षिक संस्था र परामर्शदाता हो । यसले नेपाली विद्यार्थीहरुलाई उनीहरुको शैक्षिक लक्ष्यहरु प्राप्त गर्न मद्दत गर्नमा महत्वपूर्ण भूमीका खेलेको छ र सही मार्गदर्शन प्रदान गरे वापत धेरै अन्तर्राष्ट्रिय कलेजहरुबाट ‘उत्कृष्ट परामर्शदाता पुरस्कार प्राप्त’ गरेको छ ।