असला माछाको पारखीको गन्तव्य बन्दै तातोपानी
म्याग्दी । बेनी नगरपालिका–४ तातोपानी म्याग्दी नदीको असला माछाको स्वादका पारखीहरूका लागि नयाँ गन्तव्य बनेको छ । प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो । असला माछाको स्वाद लिन देशका विभिन्न ठाउँबाट पाहुना आउन थालेका तातोपानीको थकाली होटलकी सञ्चालक मना तुलाचनले बताए । ‘यसअघि तातोपानी डुबेर उपचार गराउन आउने बिरामीका लागि पोषिलो खुराकका रुपमा प्रयोग हुने असला माछाको स्वाद लिन पछिल्लो समय टाढा–टाढाबाट पाहुना आउनुहुन्छ’, उनले भने, ‘यहाँ आउने पाहुनाले असलालाई स्वादिलो मानेर कोसेलीका रूपमा लैजाने पनि गर्नुभएको छ ।’ जिल्ला सदरमुकाम बेनीबजारबाट आठ किलोमिटर टाढा रहेको तातोपानी जोड्ने सडक गत वर्ष कालोपत्र भएपछि कुण्डमा स्नान गर्ने र असला माछाका पारखीहरूको गन्तव्य बनेको हो । बेनी, बागलुङ, कुश्मा, पोखरा, चितवन, काठमाडौँलगायत देशका विभिन्न ठाउँका पाहुना माछाको स्वाद लिन आउने गरेको होटल व्यवसायी पदम बानियाँले बताए । उनका अनुसार मुस्ताङ जाने र फर्कने क्रममा तातोपानी स्नान गर्न आउँछन् । ‘स्वादिलो हुने भएकाले तातोपानीमा स्नान गरेपछि बिरामीले यहाँका माछालाई पौष्टिक आहारका रूपमा खाने गर्दथे’, बानियाँले भने, ‘पछिल्लो समय तातोपानी घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकले स्नान गरेपछि ताजा माछाको सुप बनाएर खाने र फ्राइ गरेर कोसेली लिएर फर्कने गरेका छन् ।’ म्याग्दी नदीको किनारमा रहेका बजार दरबाङ र बाबियाचौर क्षेत्रबाट समेत माछा मारेर व्यापारीले बिक्रीका लागि तातोपानीसम्म ल्याउने गरेका छन् । अन्यत्रभन्दा तातोपानीका माछा बढी स्वादिष्ट मानेको बेनीका व्यवसायी कृष्णराज पौडेलले बताए । जाल, तेरी, ढडिया र बल्छीको माध्यमबाट माछा मारेर बेरोजगार युवाहरूले आम्दानी गरिरहेका छन् । ताजा माछाप्रति केजी एक हजार पाँच सय रुपैयाँमा बिक्री हुने गरेको छ । प्रतिप्लेट माछा चार सयदेखि पाँच सय रुपैयाँमा बिक्री हुन्छ । असला माछा खानकै लागि तातोपानीमा आउनेलाई पु¥याउन धौधौ भएको होटल हिमालयनका सञ्चालक कुमार केसीले बताए । “माछा कमै पाइन्छ, माग भने ह्वात्तै बढेको छ, तातोपानीकुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र घुम्न आएका पर्यटकको माग थेगिनसक्नु हुन थालेपछि पु¥याउन सकिएको छैन”, उनले भने, “माछा कमै पाइने भएकाले कोसेलीका रूपमा लिएर जान चाहनेलाई दिएर पठाउन हम्मेहम्मे परेको छ ।” व्यवसायीका अनुसार दैनिक एक सय किलोग्रामभन्दा बढी माछा खपत हुने गरेको छ । माछासँगै कोदो र फापरको ढिँडोले यहाँका होटल व्यवसाय पनि राम्रोसँग फस्टाएको छ । फापरको ढिँडो, रोटी, माछाको सुप र फ्राइ आइटमका खाना पर्यटकको रोजाइमा रहेको होटल श्रेष्ठ हट स्प्रिङ इनका प्रबन्धक प्रशान्त श्रेष्ठले बताए । प्राकृतिक उपचारको चिकित्सालयका रूपमा विकसित हुँदै गइरहेको तातोपानी कुण्डमा स्नान गर्ने बिरामी बढेका छन् । गत साउनदेखि माघसम्म नौ हजार जनाले तातोपानी कुण्ड स्नान गरेका कुण्ड व्यवस्थापन समितिले जनाएको छ । जमिनमुनिबाट ४८ डिग्री सेन्टिग्रेटको तापक्रममा बीरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाइ, सड्किएको, मर्किएको, बज्रिएकोसहित चिसोबाट उत्पन्न सबैखाले रोग निको हुने जनविश्वास छ ।
हल्ट प्राइज केसिएमको आयोजनामा रिडिजाइनिङ फेसन ग्रयान्ड फाइनल हुँदै
ललितपुर । महिनौको मेहेनत र लगनशीलताका साथ हल्ट प्राइज केसिएमले आज ‘फेशन रिडिजाइनिङ अन’ क्याम्पस फिनाले आयोजना गर्दै छ। कार्यक्रम काठमाण्डू म्यानेजमेन्ट कलेज (केसीएम) मा हुँदैछ । जसमा समुदायको विभिन्न उद्योगहरुबाट निर्णायकहरु रहने आयोजकले जनाएको छ । दिगो ब्राण्ड ‘कासा’ को संस्थापक रामिला नेम्कुल, नेपाल प्राइभेट इक्विटी एसोसिएशनका प्रमुख तथा कार्यकारी चार्टर्ड फाइनान्सियल एनालिस्ट सुयाश खरेल, कोक्रोमाकी संस्थापक रेवती गुरुङ, इन्स्टिट्यूट फर इन्डिजिनियस अफेयर्स एण्ड डेभलपमेन्टको बोर्ड निर्देशक तथा विश्व बैंकका सल्लाहकार सन्दीप श्रेष्ठ र वेदाका सी.इ.ओ. निर्देश दावा मुल्याकनकर्ताको रुपमा सहभागी हुनेछन् । आफ्ना कार्यक्रम तथा योजनाहरूलाई फेशन उद्योगको टिकाऊका लागि स्पोन्सर गर्ने प्रायोजकहरूलाइ आयोजकले धन्यवाद दिएको छ । आईडीपी एजुकेशन स्टूडेन्ट सर्भिसेज नेपाल, होक्काइडो रामेन हाउसऽ डेक्काइडो रेस्टोरेन्ट, र जेन्ट्स पार्कले कार्यक्रममा स्पोन्सर गरेका छन् ।
नुवाकोटमा लिच्छवीकालीन विहारको अध्ययन सुरु
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–२ महामण्डलमा अवस्थित प्रसिद्ध विहार स्वयम्भू-चैत्यको पुरातत्व विभागले अध्ययन थालेको छ । प्राप्त इतिहासअनुसार करिब चौध सय वर्षअघि लिच्छवीकालीन समयमा निर्माण गरिएको उक्त विहार जीर्ण भएसँगै उत्खनन, अध्ययन, अन्वेषणसहित पुरातात्विक स्वरुपमा पुनःनिर्माणका लागि पुरातत्व विभागले अध्ययन सुरु गरेको हो । अध्ययनका लागि बेलायतको दुराम विश्वविद्यालयबाट आएका पुरातत्वविद्ले अत्याधुनिक उपकरणको प्रयोगबाट जमिनमुनि रहेका संरचनाको जानकारी सङ्कलन सुरु गरेको विभागमा प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार अहिले देखिएका स्वयम्भू-चैत्यको संरचना निकै पुरानो पाइएको छ । विद्यमान अवस्थामा रहेका संरचनाको पुरातात्विक स्वरुपसमेत नमिलेको पाइएकाले जमिनमुनिको भागबाट अध्ययन सुरु भएको हो । ‘अध्ययनको प्रतिवेदन प्राप्त गर्न केही दिन लाग्नेछ’, प्रवक्ता कुँवरले भने, ‘जमिनमुनिको भागमा पाइएको तथा देखिएका तथ्यका आधारमा अर्को चरण (जमिनमाथि)को अध्ययन सुरु हुनेछ ।’ स्वयम्भू (चैत्य)को अध्ययनका लागि शनिबार यहाँ आएको बेलायतको दुराम विश्वविद्यालयका दुई सदस्य पुरातत्वविद्ले अत्याधुनिक उपकरणको सहायताले सङ्कलन गर्नुपर्ने विवरण लिएर आइतबार फर्किएका छन् । स्वयम्भू (चैत्य)को अहिलेको अहिलेको अवस्था छरिएका ढुङ्गाका स–साना चैत्यहरूको बीचमा फराकिलो पीठको बीचमा थप अर्को (पूर्णता पाउन बाँकी रहेको) मूल चैत्य अवस्थित छ । चैत्यको पूर्वी मोहडामा दायाँ–बायाँ दुईवटा सिंहको मूर्ति राखेर प्रवेशद्वार बनाइएको छ भने चैत्यको अगाडि बायाँ भागमा गणेशको मूर्ति देखिएकाले त्यसको दायाँ भागमा भैरवको मूर्ति नहुनुले जमिनमुनिको उत्खननको आवश्यकता पहिचानका लागि नगरपालिकाले अनुरोध गरेर अध्ययनको माग गरेको विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले बताए । उनका अनुसार यत्रतत्र (पुरातात्विक संरचनाअनुसार नमिलेको अवस्थामा) गणेश, भीमसेन, गरुडासन विष्णु, सरस्वतीलगायतका मूर्ति पाइएका छन् । मूल स्तूप र यस आसपासमा पुरातात्विक संरचनाअनुसार भैरवलगायतका मूर्ति हुनुपर्ने स्थानको संरचना खलबलिएको पाइएकाले उत्खननका लागि गरिएको अध्ययनको प्रतिवेदनले थप तथ्य बाहिर आउने आशा छ । ‘चैत्यस्थलको चारै दिशामा टुटेफुटेका पुरातात्विक वस्तु तथा निर्माणका संरचना यत्रतत्र देख्न पाइन्छ’, नगरप्रमुख श्रेष्ठले भने, ‘लामो इतिहास, ऐतिहासिक संरचना र संस्कृतिको भरिपूर्ण रहेको विहारलाई लिच्छवीकालदेखि शाहकालसम्मको विभिन्न तथ्यसँग जोडेर गरिएको प्रचार अहिलेसम्म यथार्थमा प्रश्न उठेकाले भ्रम हटाउन अध्ययन थालिएको हो ।’ विदुर नगरपालिका–२ मा अवस्थित साततले दरबार नेपाल एकीकरणको समयमा नुवाकोटमाथि विजयी भएपश्चात पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएका थिए । सोही दरबारको परिसरको उत्तरतर्फ मल्लकालीन तलेजु (तुलजा) भवानीको मन्दिर रहेको छ । उक्त मन्दिरको उत्तरतर्फमा अवस्थित यहाँको विहार–स्वयम्भू (चैत्य)सहितका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक संरचना भने लिच्छवीकालीन रहेको विभिन्न तथ्य र शिललेखमा उल्लेख गरिएको भए पनि यकिन कुन समयमा के प्रयोजनका लागि निर्माण गरिएको थियो भन्ने थाहा नभएकाले अहिले गरिएको अध्ययनलाई महत्वको रूपमा लिएको नुवाकोट दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुनप्रसाद फुँयालले बताए । रासस
छ्याङ्दी हाइड्रोपावरले १५० प्रतिशत हकप्रद जारी गर्ने
काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । फागुन १२ गते बसेको हाइड्रोको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १५० प्रतिशत अर्थात एक बराबर १.५ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नियमनकारी नियकाहरुबाट भने स्वीकृति हुनु पर्ने छ । त्यसपछि मात्रै कम्पनीले उक्त प्रस्तावलाई आगामी वार्षिक साधारण सभामा पेश गर्ने छ । यसअघि कम्पनीले सेयरधनीलाई ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको थियो । जुन २०७८ पुस ३० गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले रद्द गरिदिएको थियो । त्यसको करिब एक वर्षपछि भने कम्पनीले १५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको हो ।
आजको मौसम : हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजना लामिछानेका अनुसार आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज काठमाडौंमा आंशिकदेखि सामान्य बदली रही छिटफुट वर्षाको सम्भावना रहेको छ । अबको केही दिन प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशकमा बिहान र बेलुका मौसम खुल्ने भए पनि दिउँसो, मध्याह्न र अपराह्न बदली रहने मौसमविद् लामिछानेले उल्लेख गरे । आज काठमाडौंको न्यूनतम तापक्रम १० र अधिकतम तापक्रम २३ डिग्री सेल्सियस रहेको छ ।
गाउँपालिकाद्धारा वडावासीको स्वास्थ्य बीमा, पहिलो पटकमै दुई हजारले पाए सुविधा
रसुवा । कालिका गाउँपालिकाले आफ्ना वडावासीलाई स्वास्थ्य बीमा गरिदिएको छ । वडावासीले सहज स्वास्वास्थ्य सेवा पाऊन् भन्ने उद्देश्यले गाउँपालिकाले आफ्ना क्षेत्रमा बसोबास गर्ने सबै स्थानीय बासिन्दालाई स्वास्थ्य बीमा गराइदिएको हो । यसबाट एक हजार आठ सय ९२ घरपरिवारका १२ हजार छ सय ९२ स्थानीयवासीले पहिलोपटक सुविधा पाउने ग्रामीण अस्पताल जिबजिबेका जनस्वास्थ्य निरीक्षक उत्सव पौडेलले जानकारी दिए । उनले यही फागुन १ गतेबाट एकवर्षे बीमाको सुविधा लागू भइसकेको र बीमाकर्ताले प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले सुविधा पाउने बताउनुभयो । पाँच गाउँपालिका रहेको जिल्लामा कालिकाले आफ्ना वडावासीलाई पहिलोपटक स्वास्थ्य बीमामा सहयोग गरेको हो । कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाका अनुसार अनुसार गाउँपालिकाले बीमाका लागि वार्षिक एक करोड रुपैयाँ भुक्तानी गर्दै जाने छ । स्थानीय सरकारले गरिदिएको बीमाबाट ग्रामीण दूरदराजका बासिन्दालाई उपचारमा निकै सहजता मिल्ने जिबजिबेका समाजसेवी साधुराम पौडेलले बताए । यार्सा, सरमथली, भोर्ले सरसिउ, बेताङ, जिबजिबे, ज्याङलाङ, रूप्सेपानी, भदौरेसमेत आसपासका ग्रामीणवासीलाई प्राथमिक उपचारमा मद्दत पुु¥याउने उद्देश्यका साथ विसं २०३३ मा जिबजिबेकमा स्वास्थ्य सस्था स्थापना गरिएको थियो । यसका लागि तत्कालीन अग्रज समाजसेवी चुडामणिा पौडेल, देवीदत्त पौडेल, गोविन्दप्रसाद देवकोटा एवं डिल्लीराज देवकोटा लगायतले योगदान दिएका थिए । सो अस्पतालमा दम, रूघाखोकी, गानुगोला, ज्वरो, झाडापखला, बाथ, उच्च रक्तचापलगायत दैनिक सरदरमा दैनिक ३५-४० बिरामी आउने गरेको डा सरोज श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्रोत साधनको अभावमा अस्पतालमा उपचार हुन नसकेका बिरामीमध्ये वार्षिक सरदर पाँचदेखि १० जनालाई सुविधायुक्त अस्पतालमा सिफारिस गर्ने गरिएको छ । सो अस्पतालले सुरक्षित मातृत्व सेवा, क्षयरोग उपचार, प्रयोगशाला, फार्मेसी, परिवार नियोजन, दन्त, मेडिकल सर्जिकल, गर्भपतनलगायत सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा पाँच चिकित्सक कार्यरत रहेको सो अस्पतालका प्रमुख डा बिनित रेग्मीले बताए । पन्ध्र शय्या क्षमताको अस्पतालमा डिजिटल प्रणालीको एक्सरे, औषधिसहितको व्यवस्था रहेको र स्थानीयस्तरमा उपचार हुन नसकेका बिरामीलाई सुविधासम्पन्न अस्पतालमा लान एम्बुलेन्ससमेत रहेको बताइएको छ । उत्तरी रसुवाका लागि सदरमुकाम धुञ्चेमा १५ शय्या क्षमताको अस्पताल छ भने अन्य स्थानका लागि स्वास्थ्यचौकी छन् । लाङटाङ, टिमुरे, स्याफ्रुबेँसी, धुञ्चे, हाकु, डाडागाउँ, ठूलोगाउँ, कर्मिडाँडा, पारच्याङ, यार्सा, थुमन, चिलिमे, गोल्जुङसमेतका स्थानमा स्वास्थ्यचौकी रहेको र प्राथमिक उपचार स्वास्थचौकीमा नायबसुब्बास्तरको प्राविधिक हेल्थ असिस्टेन्टको नेतृत्वमा सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको दुई अस्पतालमा दुईवर्षे कार्यकालका लागि करार सेवाअन्तर्गतका दर्जनौं चिकित्सक राखिए पनि साधन स्रोतको अभावमा बिरामीलाई काठमाडौं सिफारिस गर्ने परिपाटी भने अन्त्य हुन सकेको छैन । रासस
एक हजार बढी सहकारीको श्रेस्ता अनुसन्धान गरिने, सञ्चालकको बैंक खातासँगै विदेश जान रोक्का
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशको अर्थतन्त्रको तेस्रो महत्वपूर्ण खम्बाका रूपमा रहेको तथा आर्थिक सामजिक रुपान्तरणको आशालाग्दो सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न आवश्यक पहल सुरु गरेको छ । सहकारी क्षेत्रमा देखिएका विकृति र बचतकर्ताको बचत सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइदिन सरोकारवालाको आग्रहमा मन्त्रालयले आवश्यक पहल सुरु गरेको छ । मन्त्रालयका सचिव डा दामोदर रेग्मीले बचतकर्ताको बचत सुरक्षा र सहकारी अभियानको मूल्य, मान्यतामा आँच आउन नदिन मन्त्रालय संवेदनशील रहेको बताए । सहकारी विभाग, समस्याग्रस्त सहकारी विकास समिति, राष्ट्रिय सहकारी महासङ्घ, सहकारीका प्रदेश जिल्ला र विषयगत सङ्घलाई समन्वयात्मकरूपमा काम गर्न निर्देशनका साथै मन्त्रालयले पनि यसको नियमित अनुगमन गरिरहेको छ । उनले भने, ‘अनुगमन गर्नुपर्ने निकायको निस्क्रियता वा गलत प्रवृत्तिलाई प्रोत्साहन नदिन मन्त्रालय सचेत छ ।’ सचिव रेग्मीले अहिलेसम्म बचतकर्ताले मागदाबी गरेको रु एक अर्ब ४४ करोड रकममध्ये ४५ करोड रकम फिर्ता गरिसकेको र बाँकी रकम फिर्ता गर्न समस्याग्रस्त सहकारी विकास समितिबाट पहल भइरहेको बताए । समस्याग्रस्त सहकारीका एक हजारभन्दा बढी श्रेस्ता माग गरी अनुसन्धान भइरहेको तथा एक सयभन्दा बढी चल-अचल सम्पत्ति रोक्का राखी सञ्चालकको राहदानी, बैंक खाता र विदेश जान रोक्का गरिएको मन्त्रालयले जनाएको छ । कानुनको परिपालना नगर्ने र बचतकर्ताको बचत सुरक्षा नगर्ने सहकारीलाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट कारबाही भइरहेको जानकारी दिँदै मन्त्रालयले कुनै सहकारीले गलत काम गरेको पाइएमा त्यस्ता सहकारी संस्थाको विवरण उक्त समिति, सहकारी विभाग, प्रदेशस्थित सहकारी विभाग र मन्त्रालयमा पठाउन सबै बचतकर्तालाई सुझाव दिएको छ । असल सहकारीलाई प्रोत्साहन र गलत कार्य गर्ने सहकारीलाई कानुनको दायरामा ल्याउन सहकारी सङ्घ र महासङ्घ अब निस्क्रिय रहेर बस्न नमिल्ने मन्त्रालयको भनाइ छ । उक्त कार्यमा विभागलाई सक्रिय भएर लाग्न र नियमित प्रगति उपलब्ध गराउन रजिष्ट्रार र निर्देशकलाई निर्देशनसमेत दिइसकेको छ । रासस
अलैँची बिक्रीबाट २० करोड आम्दानी
लमजुङ । अलैँची दाना बिक्रीबाट यहाँका किसानले २० रुपैयाँ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ लमजुङका अनुसार यसवर्ष जिल्लामा तीन सय ८० मेट्रिक टन अलैँची बिक्री भएको थियो । विसं २०४१ देखि अलैँची खेती विस्तार भएपछि यसवर्ष हालसम्मकै बढी अलैँची बिक्रीबाट सो रकम आम्दानी भएको हो । यस वर्ष किसानले प्रतिकिलो अलैँची कम्तीमा पाँच सय ५० रुपैयाँ देखि सात सयसम्ममा र गत वर्ष नौ सय ५० देखि एक हजार पाँच सय रुपैयाँ बढी मूल्यमा बिक्री गरेका थिए । यसअघि उनीहरुले सबैभन्दा बढी विसं २०७७ मा तीन हजार पाँच सय क्विन्टल अलैँची दाना बिक्रीबाट १८ करोड २० लाख रुपैयाँ आम्दानी गरेका थिए । कार्यालयका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार गत वर्ष किसानले तीन सय ३५ मेट्रिक टन अलैँची बिक्रीबाट १५ करोड रुपैयाँ आम्दानी गरेका थिए । विसं २०७६ मा जिल्लामा दुई हजार क्विन्टल अलैँची बिक्री गरेर कृषकले १२ करोड रुपैयाँ आम्दानी गरेका थिए । विसं २०७५ मा सात सय ५० क्विन्टल बिक्रीबाट कृषकले रु पाँच करोड २५ लाख आम्दानी गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष जिल्लाका अधिकांश किसानको अलैँची उत्पादनमा वृद्धि भएको बताइएको छ । मस्र्याङ्दी गाउँपालिका–५ सन्जापुका आशबहादुर गुरुङले पनि गत वर्षभन्दा यस वर्ष दोब्बर अलैँची उत्पादन गर्दै बिक्री भएको बताए । दश रोपनी क्षेत्रफलमा लगाएको अलैँची खेतीबाट यस वर्ष सात क्विन्टल ९४ किलो उत्पादन भएको उनको भनाइ छ । उनले यस पटक करिब ५ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिए । गत वर्ष जम्मा तीन क्विन्टल ८० किलो बिक्रीबाट झण्डै रु चार लाख प्राप्त भएको उनको भनाइ छ । उनले भने, ‘विसं २०७३ मा सबैभन्दा बढी प्रतिकिलो रु दुई हजारसम्मसमेत बिक्री गरेको थिएँ ।’ सो गाउँका ९५ घरधुरीमध्ये ८५ घरधुरीले धेरै–थोरै अलैँची खेती गरेका छन् भने गत वर्ष चार/पाँच किलो उत्पादन गर्ने किसानले यस वर्ष १५–२० भन्दा बढी उत्पादन गरेर बिक्री गरेका छन् । सन्जापुका किसानले गाउँमा गत वर्ष ६० क्विन्टल बिक्री गरेकामा यस वर्ष एक सय १३ क्विन्टल बिक्री गरेका छन् । अलैँची किसान गुरुङले भने, ‘बर्सेनि मूल्य घटबढ त भइहाल्छ तर यसरी मूल्य घट्दा नराम्रो लाग्छ । तलबाटै साहुहरूले मूल्य दिन सक्दैनौँ भन्छन् । बाध्यता छ, यहाँ राखेर मात्र काम छैन, पैसा चाहिन्छ । राखेर पनि पछि उनीहरुलाई नै बिक्री गर्नुपर्छ, बजार व्यवस्थापन पनि भएन ।’ मूल्य घटे पनि नोक्सान भने नभएको र यसरी उत्पादन बढ्दा धेरै अलैँची खेती गरौँजस्तो लागेको उनले सुनाए । किसानका अनुसार अलैँचीका मूल्यमा समस्या छ, तर बिक्रीमा समस्या छैन । जिल्लाका किसानले कुनै बेला प्रतिकिलो दुई हजार दुई सयसम्म अलैँची दाना बिक्रीबाट लिने गरेका थिए । तर त्यसयता सो रकमको तुलनामा धेरै न्यून मूल्यमा बिक्री गर्दै आएका छन् । जिल्लामा उत्पादित अलैँची को माग उच्च रहँदै आएको छ । भारतको एकाधिकारका कारण कृषकको मागअनुसार अलैँची दानाको मूल्य नपाएको कृषक बताउँछन् । जिल्लामा एक हजार हेक्टर क्षेत्रफल जमिनभन्दा बढी क्षेत्रफलमा अलैँची खेती हुँदै आए पनि पाँच सय हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन हुँदै आएको बताइएको छ । उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रूपमा मस्र्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होलासोथर , दोर्दी र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ । सो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको छ । जिल्लामा सात सय मिटरदेखि एक हजार दुई सय मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही र एक हजार दुई सयदेखि एक हजार छ सय मिटर उचाइमा गोलशाही र त्यसदेखि दुई हजार दुई सय मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आएका छन् । रासस