
काठमाडौं । नेकपा (एमाले)का तर्फबाट यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन् ।
उनको प्रस्तावकमा अध्यक्ष ओली नेताहरू पृथ्वीसुब्बा गुरुङ, गोर्कणराज विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा रहेका छन् । यसैगरी उनको समर्थकमा पार्टीका नेताहरू योगेशकुमार भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेका छन् ।
इलाम नगरपालिका-७ सुन्तलाबारीमा विसं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङले अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेका थिए । विसं २०२८ बाट राजनीतिमा निरन्तर क्रियाशील नेम्वाङ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै हाल उपाध्यक्ष रहेका छन्। विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य बन्नुभएका उनी त्यसलगत्तै पुनः राष्ट्रियसभा सदस्य भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०५६ मा इलाम(२ बाट निर्वाचित उनी संविधानसभा निर्वाचन २०६४ र २०७० मा इलाम(२ बाट निर्वाचित भएका थिए ।
प्रतिनिधिसभा निर्वाचन २०७४ र २०७९ मा इलाम(२ बाट लगातार निर्वाचित भएका नेम्वाङ एमाले संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति भएका थिए ।
उनी विसं २०६३ मा पुनःस्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसद्को सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष रसभामुख र २०७२ सालमा रुपान्तरित व्यवस्थापिकाको सभामुख भएका थिए। विसं २०५१ मा न्याय कानुन तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री भएका उनी सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री थिए ।
राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानुन व्यवसाय (वरिष्ठ अधिवक्ता) रहेका उनले पञ्चायती निरङ्कुशताविरुद्धको राजनीतिक आन्दोलनका क्रममा पटकपटक सार्वजनिक सुरक्षाअन्तर्गत नजरबन्द परेका थिए ।