समयमा एकीकृत कारोबार गर्न सफल भयौं : सीईओ क्षेत्री
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीरेन्द्र बैदवार क्षेत्रीले निर्धारित समयमा एकीकृत कारोबार गर्न सफल भएको बताएका छन् । बुधबार सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीचको एकीकृत कारोबार कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले कम्पनीले जटिल प्रक्रियालाई सहज ढंगले गर्न सफल भएको बताएका छन् । बीमा क्षेत्रलाई स्वतस्फूर्त विस्तार गर्न र विकास गर्न मर्जर आवश्यक रहेको पनि उनको भनाई छ । यस्तै, मर्जर कमिटी संयोजक रामेश्वर बस्यालले मर्जर पश्चात् सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बीमा क्षेत्रमा ठूलो कम्पनीको रुपमा उभिने बताएका छन् । ‘मर्जरपछि सशक्त बन्दै कम्पनी अघि बढ्छ,’ उनले भने । उनले कम्पनीले सिनर्जी ल्याएर लगानीकर्तालाई पनि राम्रो प्रतिफल दिने बताए । सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीचको यो मर्जर निर्जीवन बीमा क्षेत्र कै तेश्रो हो । तर बीमा क्षेत्रमा भने यो चौथो मर्जर हो ।
लघुवित्तले राष्ट्र बैंकसँग माग्यो सुरक्षा, कर्मचारीलाई पनि सचेत रहन आग्रह
काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले राष्ट्र बैंक र सरकारसँग सुरक्षाको माग गरेको छ । बुधबार जाजरकोटमा एक लघुवित्तका कर्मचारीलई स्थानियले कुटपिट गरेर कालोमोसो दलेपछि संघले विज्ञप्ती जारी गर्दै सुरक्षाको माग गरेको हो । बुधबार एनआइसी एशिया लघुवित्तको जाजरकोट शाखामा कार्यरत कर्मचारी गोपल प्रसाद उपाध्यलाई अज्ञात समूहले कुटपिट गरी कालोमोसो दलेको थियो । ‘घरदैलोमा वित्तीय सेवा प्रदान गर्न फिल्डमा खटिई कार्य गर्नु पर्ने लघुवित्त वित्तीय संस्थाहरुका कर्मचारीहरुको लागि त शान्ती सुरक्षाको नै आवश्यक पर्दछ, त्यसैले, बिना बाधा व्यवधान, विना रोकतोक सुरक्षित र शान्तीपूर्ण तवरबाट काम गर्न सुरक्षित कार्य वातावरणको सुनिश्चतता गर्न नेपाल सरकार र तथा नियामक निकाय नेपाल राष्ट्र बैंकसंग हार्दिक अपिल गर्दछौ,’ विज्ञप्तिमा भनिएकाे छ । विगत ३० वर्ष देखि ग्रामिण क्षेत्रमा गै विनाधितो कर्जा उपलब्ध गराई ग्रामिण विपन्न महिलाहरुको जीवनस्तर माथि उकास्न निरन्तर लागिरेहकाे लघुवित्तका कर्मचारीमाथि नै यस्ताे घटना हुन अमानविय भएकाे संघले बताएकाे छ । ‘जाजरकोट जस्तो अति विकट क्षेत्रमा गै गरिवी न्यूनिकरण र महिला शक्तिकरणको लागि अहोरात्र खटिने लघुवित्तका कर्मचारी माथी भएको यो कारवाही अमानविय र अराजकताको पराकाष्ठ हो यसको जति नै निन्दा गरे पनि कमै हुन्छ नै, यसले राज्यको सुरक्षा प्रणालीमा पनि प्रश्न उठाएको छ,’ विज्ञप्तीमा भनिएकाे छ । यस्तै, संघले लघुवित्तका कर्मचारी तथा अन्य बैंक वित्तीय संस्थाका कर्मचारीलाई यस्ताे अवस्थामा सुरक्षाको ख्याल गर्न पनि अनुरोध गरेकाे छ ।
नेपाललाई थप ऋण निकासा गर्दै अन्तर्राष्ट्रिय मुद्राकोष
काठमाडौं । नेपालमा एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (इसिएफ)मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि थप ऋण निकासा गर्न अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) सहमत भएको छ । यही फागुन ३ देखि फागुन १६ गतेसम्म नेपाल भ्रमणमा रहेको मुद्राकोषको टोलीले इसिएफअन्तर्गतका कार्यक्रमको कार्यप्रगति समीक्षा गरेको थियो । उक्त समीक्षापछि नेपाललाई थप ऋण निकासा गर्न लागिएको मुद्राकोषले जनाएको छ । ‘इसिएफको पहिलो र दोस्रो चरणको समीक्षा पूरा गर्न केही नीतिगत व्यवस्थाका लागि मुद्राकोष र नेपालका अधिकारी सहमत भएका छन् । यो समीक्षापछि पाँच करोड २० लाख अमेरिकी डलर बराबरको बाँकी इसिएफ निकासा गर्न मुद्राकोषको कार्यकारी बोर्डले सहमति दिनेछ’, मुद्राकोषले विज्ञप्तिमार्फत भनेको छ । विश्वव्यापी र आन्तरिक चुनौतीका बाबजुद नेपालले इसिएफअन्तर्गतका कार्यक्रम कार्यान्वयनमा सकारात्मक उपलब्धि हासिल गरेको पनि मुद्राकोषले जनाएको छ । गत वर्ष अर्थात सन् २०२२ जनवरी १२ मा मुद्राकोषको कार्यकारी बोर्डले नेपाललाई स्पेसल ड्रइङ राइट (एसडीआर) का रूपमा ३९ करोड ५९ लाख अमेरिकी डलर बराबर इसिएफ उपलब्ध गराउने निर्णय गरेको थियो । त्यस्तो सहुलियतपूर्ण ऋणमध्ये ११ करोड अमेरिकी डलर मुद्राकोषले तत्काल निकासा दिएको थियो । हाल निकासा दिन लागिएको पाँच करोड २० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण पनि त्यही सम्झौता अन्तर्गतको हो । नेपालको आर्थिक वृद्धिदरमा सङ्कुचन रहेको तथा आन्तरिक र बाह्य क्षेत्रसमेतको व्यवस्थापनका लागि चालिएका नीतिगत कदमको प्रभाव अर्थतन्त्रमा देखिएको मुद्राकोषले जनाएको छ । कसिलो मौद्रिक नीतिले बाह्य क्षेत्र व्यवस्थापनमा सघाएको र बजेटको अर्धवार्षिक समीक्षाबाट चालिएका सरकारका कदमले अर्थतन्त्रमा आगामी दिनमा देखिनसक्ने चुनौती सम्बोधन गर्न खोजेको पनि मुद्राकोषले उल्लेख गरेको छ । आर्थिक वर्ष २०२२/०२३ मा नेपालले चार दशमलव चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरिएको पनि मुद्राकोषले जनाएको छ । ‘नेपालले उच्च अङ्कको आर्थिक वृद्धिको अपेक्षा गरेको भए पनि आर्थिक वर्ष २०२२/०२३ मा चार दशमलव चार प्रतिशतको मात्रै वृद्धिदर हासिल गर्ने देखिएको छ । सुधार हुँदै गएको पर्यटन क्षेत्र, कृषि क्षेत्रमा विस्तार र रेमिट्यान्सले आर्थिक वृद्धिदरलाई सहयोग गरेको छ’, मुद्राकोषले विज्ञप्तिमा भनेको छ । नेपालले चालु आर्थिक वर्षको बजेटमार्फत आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको थियो । नेपालले मध्यम खालको आर्थिक वृद्धिका लागि वित्तीय क्षेत्र पुनःसंरचना, बैंक तथा वित्तीय क्षेत्रको नियमन तथा सुपरीवेक्षणमा कडाइ, व्यावसायिक लागत (कस्ट अफ डुइङ बिजनेस) घटाउने र प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन गर्न आवश्यक रहेको मुद्राकोषले उल्लेख गरेको छ । ‘विस्तृत राजस्व परिचालन नीति, सरकारी संयन्त्र (मुख्यगरी सार्वजनिक संस्थान)को वित्तीय चुनौती व्यवस्थापन, सार्वजनिक लगानीमा दक्षता तथा पारदर्शीता अभिवृद्धि, नेपाल राष्ट्र बैंक ऐन संशोधनसहित बैङ्किङ क्षेत्रको नियमन तथा सुपरीवेक्षणसम्बन्धी कार्यमा सुधारका लागि नेपालले काम गर्न आवश्यक छ’, मुद्राकोषले भनेको छ । त्यस्तै, एसिया प्यासिफिक ग्रुप (एपिजी) ले सम्पत्ति शुद्धीकरणसम्बन्धी गरेको पारस्परिक मूल्याङ्कनबाट दिइएका सुझाव कार्यान्वयनका लागि पनि नेपालले पहल गर्नुपर्ने मुद्राकोषले जनाएको छ ।
घुन्सा खोला र सिम्बुवा खोला जलविद्युत् आयोजना तीनवटा सरकारी कम्पनी मिलेर अगाडि बढाउने
काठमाडौं । ७७.३ मेगावाट उत्पादन क्षमता रहेको घुन्सा खोला र ७०.५ मेगावाट उत्पादन क्षमता रहेको सिम्बुवा खोला जलविद्युत् आयोजनालाई तीनवटा सरकारी कम्पनीले साझेदारीमा सञ्चालन गर्ने भएका हुन् । बुधबार भएको एक कार्यक्रमका बीच नेपाल विद्युत प्राधिकरण, हाइड्रो इलेक्ट्रिसिटि डेभलपमेन्ट कम्पनी र विद्युत उत्पादन कम्पनीले उक्त दुई आयोजनालाई साझेदारीमा अगाडि बढाउने समझदारीमा हस्ताक्षर गरेका छन् । साझेदारीमा सिम्बुवा खोला जलविद्युत आयोजना विकास गर्ने सिम्बुवा रेमिट हाइड्रे लिमिटेडको ५१ प्रतिशत शेयर मध्ये विद्युत उत्पादन कम्पनीले २१ प्रतिशत, हाइड्रो इलेक्ट्रिसिटि डेभलपमेन्ट कम्पनीले १५ प्रतिशत र विद्युत प्राधिकरणले १५ प्रतिशत शेयर लिने सहमति भएको छ । त्यस्तै धुन्सा खोला जलविद्युत् आयोजना विकास गर्ने रेमिट हाइड्रो लिमिटेडको ५१ प्रतिशत शेयर मध्ये नेपाल विद्युत प्राधिकरणले २१ प्रतिशत, हाइड्रो इलेक्ट्रिसिटि डेभलपमेन्ट कम्पनीले १५ प्रतिशत र विद्युत उत्पादन कम्पनी लिमिटेडले १५ प्रतिशत शेयर लिने सहमति भएको छ । साथै हाइड्रो इलेक्ट्रिसिटि डेभलपमेन्ट कम्पनीले गरेको प्रतिवद्धता बमोजिम दुबै कम्पनीमा २९ प्रतिशत शेयर वैदेशिक रोजगारीमा गएका सर्वसाधारणको लागि आरक्षण गरिने सम्झौता भएको छ । दुबै आयोजनाका ७० प्रतिशत ऋण र ३० प्रतिशत शेयर कायम हुनेगी वित्तीय स्वरुप निर्धारण गरिने लगायत संस्थागत संरचना, कार्यविधि लगायतका विषयहरुमा समझदारी भएको मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने नेकपा एसको निर्णय
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ । काँग्रेस नेतृत्वको ८ दलीय गठबन्धनमा आवद्ध सो दलको बुधवार बसेको सचिवालय बैठकले राष्ट्रपति निर्वाचनमा काँग्रेस वरिष्ठ नेता पौडेललाई मतदान गर्ने औपचारिक निर्णय गरेको हो । ८ दलका साझा उम्मेदवार पौडेललाई राष्ट्रपति निर्वाचनमा मतदान गर्ने एकमात्रै निर्णय बैठकले गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएपनि सरकारमा जाने विषय भने प्रवेश गराइएन । सरकारमा जाने विषयमा पार्टी सकारात्मक भएपनि समय आइनसकेकाले त्यस विषयमा छलफल नभएको प्रवक्ता खतिवडाको भनाई थियो । ‘हाम्रो आठ दलका राष्ट्रपति पदका साझा उम्मेदवार रामचन्द्र पौडेलज्युलाई हाम्रो पार्टीले मतदान गर्ने निर्णय हामीले ग¥यौं, सरकारमा जाने विषयमा सकारात्मक छौं, त्यसमा जाने बेलामा हामी छलफल गर्छौं । त्यस विषयमा आज प्रवेश नै गरिएन, उनले भने ।’ राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । त्यसका लागि काँग्रेससहितका आठ दलको तर्फबाट रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् भने एमालेबाट पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनेका छन् ।
जलविद्युत आयोजना निर्माणको लागि व्यवसायीले मागे सुरक्षा
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संस्था नेपाल(ईप्पान) ले जलविद्युत आयोजना निर्माणको लागि सुरक्षाको माग गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संस्थाले यस्तो माग गरेको हो । उत्पादक संस्थाले फागुन १५ गते सिन्धुपाल्चोक जिल्लाको जुगल पालिकामा निर्माण हुन लागेको सीता हाइड्रोपावर जलविद्युत आयोजना निर्माण स्थलमा स्थानीय एक समूहले गरेको तोडफोड तथा आगजनी र कर्मचारीमाथिको सांघातिक आक्रमणको भत्र्सना गरेको छ । इप्पानले जलविद्युत आयोजनामा स्थानीयको समूहले नै उश्रृंखल,अराजक तथा अपराधिक घटना भएको बताएको छ । पत्रकार सम्मेलनमा इप्पानका उपाध्यक्ष आशिष गर्गले क्षती भएको ३५ मेगावटको सीता हाइड्रोपावरलाई उचित क्षतिपूर्ति र घाइते भएका आयोजनाका कर्मचारीहरुको सम्पूर्ण खर्च पीडक पक्षले व्यहोर्ने व्यवस्था गराउन सरकारसँग माग गरे । उनले पछिल्लो समय जलविद्युत आयोजनाहरुमा धेरै अप्रिय घटना भइरहेको भन्दै सरकारले उचित शान्ति सुरक्षाको व्यवस्था गर्नुपर्ने बताए । ‘जलविद्युत जस्ता आयोजनामा स्थानीय अध्यक्ष सहितको संग्लनतामा यस्ता अपराधिक गतिविधिले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको उर्जा क्षेत्रमा नकारात्मक सन्देश गएकाे छ,’ उनले भने । उनले यस्ता घटनाले सिन्धुपाल्चोक लगायत जलविद्युत उत्पादन क्षेत्रमा निजी क्षेत्र निरुत्साहित हुने भन्दै त्यसतर्फ सरकारको गम्भिररुपमा ध्यान जान आवश्यक रहेको बताए । उनले सरकारले परियोजनाहरुको कार्यस्थलमा हुने यस्ता घटनाहरुलाई निरुत्साहित गर्न तत्काल छुट्टै सुरक्षा संयन्त्र निर्माण गरी सुरक्षाको प्रत्याभुति गराउन सीता जलविद्युत आयोजनामा भएको घटनाको छानबिन गरी दोषी उपर कानून अनुसार कारबाही गर्न माग गरे । त्यस्तै सीता जलविद्युत आयोजनाका अध्यक्ष सीताराम तिमल्सिनाले आयोजनामा भएको क्षतिपूर्ति र घाइतेको सम्पूर्ण उपचार पीडक पक्षबाट भराउन सरकारसँग माग गरे । उनले फागुन १५ गते गुम्बाको मानेभञ्याङमा विद्युत प्राधिकरणको वितरण लाइनमा करेन्ट सर्ट भई स्थानी एक बालिकाको निधन भए पश्चात ६० जनाको एक समूहले योजनावद्ध रुपमा आयोजना स्थलमा तोडफोड,आगजनी र कर्मचारीमाथि आक्रमण गरेको बताए । ‘विद्युत प्राधिकरणको लाइनसँग आयोजनाको कुनै सम्बन्ध छैन, एक समूहको आक्रमणबाट आयोजनाको आवासीय भवन,विद्युत गृह,सुरुङ लगायतका क्षेत्रमा ठूलो क्षति र ७ जना इन्जिनियरहरु घाइते भएका छन्, आक्रमणबाट करिब १२ करोड बराबरको क्षेती भएको छ,’ उनले भने । उनले नेकपा एमालेका कार्यकर्ताहरुले केही समय अघि काम दिन माग गर्दै पत्र पठाएको बताए । ‘अब राज्यले सुरक्षा दिन नसक्ने भएर निजी क्षेत्रले कुनै पनि क्षेत्रमा लगानी गर्न नसक्ने अवस्था आएको छ,’ उनले भने ।
स्ववियु निर्वाचन : यस्ता छन् विद्यार्थीका एजेण्डा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकिँदै गर्दा विद्यार्थी सङ्गठन घोषणापत्रको अन्तिम तयारीमा लागेका छन् । १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यस पटक निर्धारित मितिमा नै हुने भएपछि विद्यार्थी सङ्गठनहरू घोषणापत्रसहित निर्वाचनको तयारीमा जुटेका छन् । विद्यार्थी सङ्गठनले आगामी स्ववियु निर्वाचनमा बेरोजगार शिक्षाको अन्त्य गरी रोजगारमूलक शिक्षा र त्रिवि सुधारलाई आफ्नो मुख्य मुख्य एजेण्डाका रूपमा अगाडि सारेका छन् । आगामी चैत ५ गते हुने निर्वाचनका लागि विद्यार्थी सङ्गठनले स्ववियुलाई युवा संसद्का रूपमा विकास गर्ने, शैक्षिक गुणस्तर सुधार, त्रिविको शैक्षिक क्यालेण्डर सुधार गर्ने, त्रिविका पदाधिकारी नियुक्ति खुला प्रतिस्पर्धा नियुक्ति, पाठ्यक्रम परिमार्जन लगायतका मुख्य एजेण्डा अघि सारेर निर्वाचनमा होमिँदै छन् । अनेरास्ववियुका अध्यक्ष समिक बडालले राजनीतिक परिवर्तन भइसकेकपछि मूलतः त्रिविको शैक्षिक गुणस्तर र त्रिविलाई सुधार्ने एजेण्डासहित स्ववियु निर्वाचनमा होमिने बताए । उनले स्ववियु मुलुकको नेतृत्व गर्ने थलो रहेकाले युवा संसद्का रूपमा स्ववियुलाई विकास गर्नुपर्ने बताए । ‘विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक हुन थालेको छ’, उनले भने, ‘यसपटक हामीले शैक्षिक एजेण्डासहित नेतृत्व विकास गर्ने थलोका रूपमा रहेको स्ववियुलाई युवा संसद्का रूपमा लैजान पर्दछ भन्ने रहेको छ ।’ नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को स्ववियु निर्वाचन घोषणापत्रका संयोजक पुजन गन्धर्वले घोषणापत्र तयारी गरिसकेको बताए । उनले आफ्नो सङ्गठनको मुख्य एजेण्डा शैक्षिक सुधार नै रहेको बताए । नेविसङ्घले शिक्षासँगै उद्यमशीलता र शैक्षिक प्रमाणपत्रसँगै रोजगार अभियान सञ्चालन गर्ने, शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षा क्षेत्रमा भएको निजी लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने एजेण्डा अघि सारेको छ । यस्तै सबै क्याम्पसमा स्ववियुलाई भ्रष्टाचाररहित बनाई सक्षम नेतृत्व उत्पादन गर्ने थलोका रूपमा विकास गर्ने र स्ववियु र क्याम्पसको बजेटको वार्षिक लेखापरीक्षण गरी आर्थिक पारदर्शिता गराउने एजेण्डा पनि बनाएको छ । यस्तै वैज्ञानिक, व्यावहारिक, प्राविधिक र अनुसन्धानात्मक शिक्षामा जोड, माध्यमिक शिक्षा सबै नेपालीका लागि अनिवार्य र निःशुल्क बनाउन र उच्च शिक्षा सबैको पहुँचमा, गुणस्तरीय र सर्वसुलभ बनाउँदै क्रमशः निःशुल्क बनाउने आफूहरूको एजेण्डा रहेको नेविसङ्घका पूर्वकेन्द्रीय सदस्यसमेत रहनुभएका गन्र्धवले जानकारी दिए । अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव दिपेश पुनले स्ववियु निर्वाचनका लागि घोषणापत्र तयार पारिएको जानकारी दिए । उनले आगामी स्ववियु निर्वाचनका लागि त्रिविलाई बेरोजगार जनशक्ति नभई स्वरोजगार जनशक्ति उत्पादन गर्ने मुख्य एजेण्डा रहेको बताए । उनले त्रिविका पदाधिकारी भागबन्डा नभई खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने, शैक्षिक क्यालेण्डर समयमैत्री हुनुपर्ने, उत्पादित जनशक्तिलाई निरन्तर अनुसन्धान, उद्यम, रोजगार बनाउन पहले गर्ने, त्रिविबाट उत्पादित जनशक्ति र बजारबीच सम्बन्ध स्थापित गर्ने एजेण्डा रहेको जानकारी दिए । यस्तै वार्षिकमा तीन महिना र सेमेष्टर प्रणालीमा एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्ने, भौतिक र डिजिटल पूर्वाधार सम्पन्न आधुनिक पाठ्यक्रम अध्ययन अध्यापन गर्ने विश्वविद्यालय निर्माण गर्ने, स्नातकमा १० प्रतिशत, स्नातकोत्तरमा २० प्रतिशत र एमफिलमा २५ प्रतिशत पाठ्यक्रम विदेशी आगन्तुक प्राध्यापकबाट अध्यापन गर्ने व्यवस्था मिलाउने पनि एजेण्डा क्रान्तिकारी रहेको छ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले शिक्षाको निजीकरण अन्त्य, विश्वविद्यालय बेरोजगार उत्पादनका कारखाना रहेकोले बौद्धिक पलायन रोक्न लागि आपत्कालीन शैक्षिक सुधार कार्यक्रम, सेमेष्टर र वार्षिक दुई किसिमको शिक्षा अन्त्य गरी एकै खालको शिक्षा, आङ्गिक क्याम्पस सुधार गर्नुपर्ने एजेण्डा रहेको बताए । नेविसङ्घका त्रिवि क्याम्पस नेता विष्णु बडैलाले त्रिविमा देखिएका विकृति विसङ्गति सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले स्ववियु निर्वाचन नहुँदा त्रिवि नै अस्तव्यस्त रहेकाले आगामी स्ववियु निर्वाचनबाट त्रिविमा सुधार आउने बताए । उनले त्रिविमा रहेका परीक्षा नियन्त्रण कार्यालयलाई पूर्ण डिजिटल बनाउने, त्रिविलाई केन्द्रीय अनुसन्धानको केन्द्र बनाउने, छात्रालाई सेनिटेरी प्याडको सुलभ व्यवस्था गर्ने आफ्नो एजेण्डा रहेको बताए । उनले त्रिवि सेवा आयोग प्रत्येक छ/छ महिनामा विज्ञापन खोलेर योग्य दक्षजनशक्ति ल्याउन जरुरी रहेको बताए । त्रिवि केन्द्रीय क्याम्पसका नेता तथा अखिलका केन्द्रीय सदस्य प्रशान्त भण्डारीले रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादन, अनुसन्धानमूलक र सूचना प्रविधि शिक्षा आफ्नो एजेण्डा रहेको बताए । त्यस्तै उनले अन्तर्राष्ट्रिय शैक्षिक अध्ययन र सीप त्रिविमा र विद्वानको पलायन रोक्दै समुन्नत नेपाल निर्माण रहेको बताए । आगामी चैत ५ गते देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा हुने स्ववियु निर्वाचनका लागि कार्यतालिकासमेत सार्वजनिक भइसकेको छ । कार्यतालिकाअनुसार यही फागुन १९ गते विद्यार्थी सङ्घ/सङ्गठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ । यस्तै कार्यतालिकाअनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको तोकिएको छ । प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखियता नियमित हुनसकेको छैन् । विसं २०६५ साल चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो । रासस
तरकारीको विषादी जाँच्नेबारेको प्रस्ताव तयार गर्दैछौं : कृषि मन्त्रालय
काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले तरकारीको विषादी जाँच्नेबारेको प्रस्ताव गरिरहेको जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले प्रधानमन्त्री ‘प्रचण्ड’को निर्देशनमा सो प्रस्ताव तयार गर्ने काम भइरहेको जनाएको हो । खाद्य ऐन, २०२३ को दफा ९ बमोजिमको स्तर निर्धारण समितिबाट २०७८ माघ १७ मा स्वीकृत मापदण्ड उपर विश्वव्यापार संगठनका सदस्य राष्ट्रहरुबाट राय सुझावको लागि सम्बन्धित मुलुकहरुमा पठाएकोमा कुनै पनि मुलुकबाट कमेन्ट नआएकाले उक्त मापदण्डलाई प्रकाशित गर्न भदौको पाँच गते मन्त्रिपरिषदको बैठकमा पेश गरेको मन्त्रालयले जनाएको छ । उक्त प्रस्तावलाई मन्त्रिपरिषदले आर्थिक तथा पूर्वाधार समितिमा छलफलका लागि पठाएकोमा विचाराधिन रहिरहेकोले नयाँ सरकार गठनसँगै सबै गत पुस ११ गतेको मन्त्रिपरिषदको बैठकले सबै प्रस्ताव फिर्ता गर्दा उक्त प्रस्ताव पनि फिर्ता भएको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ । प्रधानमन्त्री प्रचण्डले ‘तत्काल नयाँ प्रस्ताव तयार पारी मन्त्रिपरिषदमा पेश गर्न निर्देशन भैसकेको’ मन्त्रालयले जनाएको छ । सो का आधारमा मन्त्रालयले काम गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । मन्त्रालयको विज्ञप्ति