काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले राष्ट्र बैंक र सरकारसँग सुरक्षाको माग गरेको छ । बुधबार जाजरकोटमा एक लघुवित्तका कर्मचारीलई स्थानियले कुटपिट गरेर कालोमोसो दलेपछि संघले विज्ञप्ती जारी गर्दै सुरक्षाको माग गरेको हो ।
बुधबार एनआइसी एशिया लघुवित्तको जाजरकोट शाखामा कार्यरत कर्मचारी गोपल प्रसाद उपाध्यलाई अज्ञात समूहले कुटपिट गरी कालोमोसो दलेको थियो ।
‘घरदैलोमा वित्तीय सेवा प्रदान गर्न फिल्डमा खटिई कार्य गर्नु पर्ने लघुवित्त वित्तीय संस्थाहरुका कर्मचारीहरुको लागि त शान्ती सुरक्षाको नै आवश्यक पर्दछ, त्यसैले, बिना बाधा व्यवधान, विना रोकतोक सुरक्षित र शान्तीपूर्ण तवरबाट काम गर्न सुरक्षित कार्य वातावरणको सुनिश्चतता गर्न नेपाल सरकार र तथा नियामक निकाय नेपाल राष्ट्र बैंकसंग हार्दिक अपिल गर्दछौ,’ विज्ञप्तिमा भनिएकाे छ ।
विगत ३० वर्ष देखि ग्रामिण क्षेत्रमा गै विनाधितो कर्जा उपलब्ध गराई ग्रामिण विपन्न महिलाहरुको जीवनस्तर माथि उकास्न निरन्तर लागिरेहकाे लघुवित्तका कर्मचारीमाथि नै यस्ताे घटना हुन अमानविय भएकाे संघले बताएकाे छ ।
‘जाजरकोट जस्तो अति विकट क्षेत्रमा गै गरिवी न्यूनिकरण र महिला शक्तिकरणको लागि अहोरात्र खटिने लघुवित्तका कर्मचारी माथी भएको यो कारवाही अमानविय र अराजकताको पराकाष्ठ हो यसको जति नै निन्दा गरे पनि कमै हुन्छ नै, यसले राज्यको सुरक्षा प्रणालीमा पनि प्रश्न उठाएको छ,’ विज्ञप्तीमा भनिएकाे छ ।
यस्तै, संघले लघुवित्तका कर्मचारी तथा अन्य बैंक वित्तीय संस्थाका कर्मचारीलाई यस्ताे अवस्थामा सुरक्षाको ख्याल गर्न पनि अनुरोध गरेकाे छ ।