आज यी २ लघुवित्तको सेयर खरिद गरे लाभांश पाइने
काठमाडौं । बिहीबार २ वटा लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सपोर्ट लघुवित्त र डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । साधारणसभा तथा लाभांश प्रयोजनार्थ सपोर्ट लघुवित्त लघुवित्तले फागुन २१ गते र डिप्रोक्स लघुवित्तले फागुन ३ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्नेछन् । सपोर्ट लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद गरी कूल ११.५७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न ८ औँ बार्षिक साधारणसभा चैत ४ गते दुर्गा पार्टी प्यालेस इटहरी सुनसरीमा बिहान ९ः३० बजे बोलाएको छ । यस्तै, डिप्रोक्स लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ११.०५२६ प्रतिशत नगद गरी कूल २०.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले २१ औं वार्षिक साधारण सभा फागुन ३० गते सौराहा, चितवनमा बिहान ११ बजे बोलाएको छ ।
भारतीय राजदुतसहितको टोली लिएर कमलविनायक-नगरकोट सडक अनुगमन गर्दै मन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बिहिवार कमलविनायक–नगरकोट सडकको अनुगमन गर्ने भएका छन् । अनुगमनमा नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तव, मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधि सहितको टोली हुनेछ । बिहान ९ बजे सल्लाघारी, भक्तपुरमा भेट भई कमलविनायक, भत्केको पाटीदेखि नगरकोटसम्मै पुगेर अनुगमन सम्पन्न हुने जानकारी दिईएको छ । सैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएर पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न हुन नसकेको रुग्ण आयोजनामा उक्त सडक पर्छ । निर्माणको ढिलासुस्तीबाट जनताले बर्षौंदेखि सास्ती खेपिरहेका छन् । जनताले सरकार र निर्माण कम्पनीबिरुद्ध आक्रोश पोखेपछि उपप्रधानमन्त्री श्रेष्ठले प्रष्टीकरण मागेपछि चैत मसान्तसम्म सम्पुर्ण निर्माण कार्य सम्पन्न गर्ने वाचा कम्पनीले गरेको थियो । सोही वाचा पुरा र प्रगतिबारे स्थलगत जानकारी लिन अनुगमन हुन लागेको बताइएको छ । आयोजनामा भारतीय एक्जिम बैंकको आर्थिक सहयोग रहेको छ ।
बिपिडब्लु लघुवित्तको आईपीओ आजदेखि निष्काशन, १ हजार कित्तासम्म खरिद गर्न पाइने
काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले आज फागुन १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले सर्वसाधारण लगानीकर्ताका लागि फागुन १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । लघुवित्तले लघुवित्तले जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशत अर्थात् ९७ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९७ हजार कित्ता निष्काशन गरेको हो । जसमध्ये ९ हजार ७ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ भने १ हजार ५ सय कित्ता कर्मचारी र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओमा लगानीकर्ताले छिटोमा फागुन २३ गते र ढिलोमा चैत २ गतेसम्म आवेदन दिन सक्नेछन् । लघुपित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स रहेको छ । लघुवित्तको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओलाई इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
२५५ प्रतिशतसम्म प्रतिफल दिने प्रभु स्मार्ट फण्ड आजदेखि बिक्री खुला
काठमाडौं । प्रभु क्यापिटलले आज फागुन १८ गतेदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु स्मार्ट फण्ड निष्काशन गरेको हो । १० वर्ष अवधि रहेको उक्त फण्ड बन्दमुखि योजना हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका ८ करोड इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंकका लागि १४ प्रतिशत अर्थात् १ करोड १२ लाख इकाई, योजना व्यवस्थापक प्रभु क्यापिटलका लागि १ प्रतिशत अर्थात् ८ लाख इकाई र सर्वसाधारणका लागि ६ करोड ८० लाख इकाई छुट्याइएको छ । क्यापिटलको उक्त फण्डमा छिटोमा फागुन २३ गते र ढिलोमा चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १ सय इकाई र अधिकतम ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । उक्त फण्डमा धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । फण्डको फण्ड निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । फण्डले लगानी गरेपछि १० वर्षको अवधिमा करिब २५५ प्रतिशतसम्म प्रतिफल दिने योजना रहेको छ ।
हाललाई इन्धनको मूल्य नघट्ने
काठमाडौं । नेपाल आयल निगमले हाललाई इन्धनको मूल्य नघटाउने निर्णय गरेको छ । बुधबार भारतबाट इन्धनको मूल्य घटेर आएपनि उपभोक्ता मूल्य हाललाई यथावत राख्ने निगमले जनाएको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले बुधबार खाना पकाउने ग्याँसबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटाएर पठाएकाे छ । नयाँ मूल्यसूचीअनुसार खाना पकाउने एलपीजी ग्यासको मूल्य भने ३९ रुपैयाँ प्रतिलिसिन्डर बढेर आएको छ । यससँगै, एलपीजी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २४३५ रुपैयाँ पुगेको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.२१ रुपैयाँ घटेको छ । डिजेलको मूल्य प्रतिलिटर ५.०५ रुपैयाँ घटेको छ भने हवाई इन्धनको मूल्य ७ रुपैयाँ प्रतिलिटर र मट्टितेलको मूल्य प्रतिलिटर ३.४० रुपैयाँ घटेर आएको छ । एलपीजी ग्यासबोहक सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा निगमलाई १५ दिनमा ४० करोड रुपैयाँ नाफा हुने देखिएको छ ।
१ करोडभन्दा बढीको सुन र हीराका गहनासहित तीन जना पक्राउ
काठमाडौं । भन्सार छलेर ल्याएको एक करोड १० लाख बराबरको सुन र हीराको गहनासहित तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट काठमाडौं लैजाँदै गरेको ६३ दशमलव ८९८ तोला र हीरा जडित गरगहना २२ दशमलव ८७८ तोला गहनासहित भारतीय नागरिक पक्राउ परेका हुन् । भारतको कलकत्ताबाट काठमाडौं जान आउँदै गरेको भारतीय नम्बर प्लेटको WB12AV5566 नम्बरको भारतीय गाडीमा लुकाइछिपाइ ल्याउँदै गरेको गहना आज बिहान १ बजे प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ पत्रकार सम्मेलन गरी पक्राउ परेका तीन जना र बरामद सामान सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्य बलिया जिल्ला फेफना थानका ४२ वर्षीय विनोद प्रसाद, पश्चिम बङ्गाल राज्य हौडा जिल्ला गोलावाडी पुलिस थाना सल्किया स्कुलरोल कलकत्ताका ५१ वर्षीय गणपतकुमार तोसावर र ४२ वर्षीय नरेश बर्मा रहेको कार्यालयका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । उनका अनुसार भन्सार छली ल्याएको गरगहना काठमाडौं लैजाँदै गरेको सूचनाका आधारमा पक्राउ र बरामद गरिएको उनले बताए । बरामद सामान र पक्राउ परेका उनीहरूलाई राजस्व अनुसन्धान विभाग पठाइने उनले बताए । रासस
कुमारी बैंकले बिवाइडीको गाडी किन्न ८ वर्षको लागि ८० प्रतिशत कर्जा दिने
काठमाडाैं । कुमारी बैंक र साइमेक्स् बीच ग्राहकलाई बिवाइडी ब्रान्डको विद्युतीय सवारी साधन किन्न कर्जा प्रदान गर्ने सम्झौता भएको छ । सम्झाैता अनुसार बैंकले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा बिवाइडी ब्रान्डका सवारी साधन खरिदका लागी सवारी साधन कर्जा उपलब्ध गराउने छ । यस सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकहरूले अब नेपालका कुनै पनि बिवाइडी डिलरबाट सवारी साधन खरिद गर्दा बैंकबाट सजिलै ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । सो कर्जा ८ वर्ष अवधीसम्म लिन मिल्ने प्रावधान गरिएको बैंकले जानकारी दिएकाे छ । । कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ
पूँजी बढाएर मात्र हुँदैन, बजारमा राम्रो छवि राख्न सक्नुपर्छ : अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुले चुक्ता पूँजी मात्र बढाएर बढाएर मात्रै नहुने बताएका छन् । बुधबार सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीचको एकीकृत कारोबार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘कम्पनीहरुले लोगो परिवर्तन गरेर, पूँजी बढाएर मात्रै हुँदैन, पूँजी अनुसारको व्यवसाय गर्नु पर्यो, बजारमा सकारात्मक इमेज राख्न सक्नु पर्यो, बीमा दाबी भुक्तानी समयमा दिनु पर्यो, यदि समयमा दाबी भुक्तानी गरीएन भने ग्राहकले सराप्ने गर्छन्,’ उनले भने । अध्यक्ष सिलवालले बीमा कम्पनीहरु काठमाडौं केन्द्रित भएको बताउँदै अब काठमाडौं बाहिर गएर पनि कम्पनीहरुले बिजनेस गर्नुपर्ने बताए । उनले कम्पनीका कर्मचारीलाई बिजनेस गर्न र दाबी परेपछि तिर्न पनि सिकाउनु पर्ने बताएका छन् । यस्तै, उनले बीमा प्राधिकरणले मर्जर गर्ने कुनै पनि दवाव नदिएको बताएका छन् । उनले कम्पनीलाई आफै पूँजी थप्न वा मर्जरका माध्यमबाट पूँजी बढाउन सक्ने दुई विकल्प दिइएकोमा अधिकांशले मर्जर बाटो रोजेको बताए । ‘थप पूँजी आफै बजारमा ल्याउनुभन्दा अहिले भएको पूँजीलाई नै एकीकृत गर्नुपर्ने विकल्प उचित हो,’ उनले भने । साथै, उनले कम्पनीहरुले नियामकको नीति निर्देशनमा बसेमा प्राधिकरणले जुनसुकै अवस्थामा पनि सहजिकरण गर्ने समेत बताएका छन् ।