काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ ।
काँग्रेस नेतृत्वको ८ दलीय गठबन्धनमा आवद्ध सो दलको बुधवार बसेको सचिवालय बैठकले राष्ट्रपति निर्वाचनमा काँग्रेस वरिष्ठ नेता पौडेललाई मतदान गर्ने औपचारिक निर्णय गरेको हो ।
८ दलका साझा उम्मेदवार पौडेललाई राष्ट्रपति निर्वाचनमा मतदान गर्ने एकमात्रै निर्णय बैठकले गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएपनि सरकारमा जाने विषय भने प्रवेश गराइएन । सरकारमा जाने विषयमा पार्टी सकारात्मक भएपनि समय आइनसकेकाले त्यस विषयमा छलफल नभएको प्रवक्ता खतिवडाको भनाई थियो ।
‘हाम्रो आठ दलका राष्ट्रपति पदका साझा उम्मेदवार रामचन्द्र पौडेलज्युलाई हाम्रो पार्टीले मतदान गर्ने निर्णय हामीले ग¥यौं, सरकारमा जाने विषयमा सकारात्मक छौं, त्यसमा जाने बेलामा हामी छलफल गर्छौं । त्यस विषयमा आज प्रवेश नै गरिएन, उनले भने ।’
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । त्यसका लागि काँग्रेससहितका आठ दलको तर्फबाट रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् भने एमालेबाट पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनेका छन् ।