बैंकहरु अझै तरलताको सकसमा, घट्न सकेन सीडी रेसियो
काठमाडौं । लामो समयदेखि बैंकहरु तरलताको समस्या भोगिरहेका छन् । बैंकमा निक्षेप बढ्न नसक्दा अझै पनि अधिकांश बैंकहरुलाई तरलताको समस नै परेको हो । बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) अझै पनि ९० प्रतिशतको हाराहारीमा छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २२ वटा बैंकमध्ये १० वटा बैंकको सीडी रेसियो ८७ प्रतिशतमाथि छ । कुमारी, ग्लोबल आईएमई, नबिल, प्राइम कमर्शियल, लक्ष्मी, कृषि विकास, सिटिजन्स, सनराइज, एनएमबी र हिमालयन बैंक रहेका छन् । अन्य बैंकहरुको तुलनामा यी बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) बढी भएकाले यी बैंकलाई ऋण दिन अझै सकस पर्ने देखिन्छ । सबैभन्दा बढी एनसीसीसँग मर्ज भएको कुमारी बैंकको रहेको छ । पुस मसान्तसम्ममा कुमारीको सीडी रेसियो ९०.७ प्रतिशत रहेको छ । यससँगै अन्य बैंकको तुलनामा कुमारी बैंकलाई कर्जा प्रवाहमा सहज देखिँदैन । त्यस्तै, ग्लोबल आईएमईको ८९.४१ प्रतिशत, नबिलको ८९.३६ प्रतिशत, प्राइमको ८८.८८ प्रतिशत, लक्ष्मीको ८७.८७ प्रतिशत, कृषि विकासको ८७.५ प्रतिशत, सिटिजन्सको ८७.४७ प्रतिशत, सनराइजको ८७.२७ प्रतिशत, एनएमबीको ८७.२४ प्रतिशत र हिमालयनको ८७.११ प्रतिशत सीडी रेसियो रहेको छ । त्यस्तै, ८७ प्रतिशतभन्दा कम सीडी रेसियो हुनेमा बाँकी १२ बैंक रहेका छन् । जसमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकको सबैभन्दा कम सीडी रेसियो रहेको छ । पुस मसान्तसम्ममा बैंकको सीडी रेसियो ७८.७३ प्रतिशत छ । यससँगै अन्य बैंकहरुको तुलनामा स्ट्याण्डर्ड चार्टर्डलाई कर्जा प्रवाहमा निकै सहज देखिन्छ । कुन बैंकको कति ?
काभ्रेको बेथानचोकमा सुरुङमार्ग निर्माणको अध्यन गरिँदै
काभ्रे । बेथानचोक गाउँपालिकामा सुरुङमार्ग निर्माणका लागि अध्ययन गर्न धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरिएको छ । उक्त अध्ययनका लागि बुधबार विश्वविद्यालय र गाउँपालिकाका प्रतिनिधिबीच तीन बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी र विश्वविद्यालयका इन्जिनियरिङतर्फका डिन प्रा मनिष पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा सुरुङमार्ग निर्माणार्थ ढुङ्खर्क खोला–च्याम्राङ्बेँसी सडक सुरङमार्गको काठमाडौं विश्वविद्यालयको प्रविधिक तथा प्राज्ञिक सहयोगमा प्रारम्भिक अध्ययन गर्ने र त्यसका लागि गाउँपालिकाले विश्वविद्यालयलाई आर्थिक सहयोगस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने, स्थानीय समस्यामा आधारित भएर संयुक्त अनुसन्धान र प्रकाशनको कार्य गर्ने तथा समसामयिक विषयमा संयुक्त आयोजनामा सेमिनार, सम्मेलन र गोष्ठी सञ्चालन गर्ने उल्लेख गरिएको छ । गाउँपालिका अध्यक्ष अधिकारीले वडा नं ४, २ र १ मा पर्ने बाइसेढुङ्गाबाट दुर्लुङखोला हुँदै चौतारीसम्म सुरङमार्ग अध्ययनका लागि सम्झौता गरिएको बताए । उनका अनुसार सम्झौताको चार महिनाभित्र सुरुङमार्ग बनाइने स्थानको भौगर्भिक स्थितिसँगै सबै प्रकारका अध्ययन सक्ने योजना बनाइएको छ । विश्वविद्यालयका उपकुलपति प्रा भोला थापाले सुरङमार्ग अध्ययन स्थानीय तहसँगको समन्वयमा काम गर्ने माध्यम बनेको जनाउँदै जिल्लाका अन्य तहसँग पनि स्थानीय समस्या तथा शिक्षाका विषयमा सहकार्य गर्दै जाने बताए । उनले सुरङमार्ग अध्ययन विश्वविद्यालयका विद्यार्थीका लागि सिकाइ हुने तथा खोजमूलक विषय हुने बताए । रासस
पेट्रोल र डिजेलको मूल्य घटेर आयो, निगमलाई ४० करोड नाफा हुने
काठमाडौं । भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको हो । नयाँ मूल्यसूचीअनुसार खाना पकाउने एलपीजी ग्यासको मूल्य भने ३९ रुपैयाँ प्रतिलिसिन्डर बढेर आएको छ । यससँगै, एलपीजी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २४३५ रुपैयाँ पुगेको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.२१ रुपैयाँ घटेको छ । डिजेलको मूल्य प्रतिलिटर ५.०५ रुपैयाँ घटेको छ भने हवाई इन्धनको मूल्य ७ रुपैयाँ प्रतिलिटर र मट्टितेलको मूल्य प्रतिलिटर ३.४० रुपैयाँ घटेर आएको छ । एलपीजी ग्यासबोहक सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा निगमलाई १५ दिनमा ४० करोड रुपैयाँ नाफा हुने देखिएको छ ।
समय अगाडि फूल्यो लालीगुराँस, रमाए पर्यटक
गलेश्वर । चैत–वैशाखमा फुल्नुपर्ने लालीगुराँस म्याग्दीको जङ्गलमा माघ महिनादेखि फुलेर फागुन आइपुग्दा राताम्मे भएको छ । लालीगुराँस समयभन्दा अगाडि नै फुले पनि हिउँद घर्कीसक्दासम्म अझै हिमपात भएको छैन । गत आइतबार सामान्य वर्षा भए पनि माटो भिज्नेगरी हिउँदे वर्षासमेत नहुँदा हिउँदे खाद्यान्न उत्पादन घट्ने भयले किसान चिन्तित छन् । मौसममा आएको परिवर्तनले लालीगुराँस दुई महिना अगाडि नै फुलेको स्थानीयवासी बताउँछन् । धवलागिरि गाउँपालिकाका झकबहादुर छन्त्याल चैत वैशाखमा फुल्नुपर्ने लालीगुराँसमा माघमै कोपिला लागेर मध्यफागुनसम्म आइपुग्दा जङ्गलै राताम्ये हुनेगरी ढकमक्क फुलिसकेको बताउँछन् । चैत दोस्रो हप्ता लालीगुराँस फुलेर जङ्गल राताम्मे हुनुपर्नेमा फागुन महिनामै फुलेर सबैलाई अचम्मित बनाएको छ । अघिल्लो वर्ष चैत–वैशाख महिनामा मात्र लालीगुराँस फुल्ने गर्दथ्यो । यसवर्ष हिउँदमा हिमपात नभएर वर्षा कम भए पनि लालीगुराँस भने राम्रोसँग फुलेको हो । पश्चिमी म्याग्दीको मालिका, मङ्गला, धवलागिरि र उत्तरी म्याग्दीको अन्नपूर्ण, रघुगङ्गा गाउँपालिकाका विभिन्न जङ्गलमा लालीगुराँस फुलेर राताम्यै भएको स्थानीयवासीको भनाइ छ । लालीगुराँस फुलेसँगै जङ्गल रातै देखिन थालेपछि स्थानीयवासी रमाउन थालेका छन् । कृषि प्राविधिक जगत बानियाँ मौसममा आएको परिवर्तनका कारण तापक्रम वृद्धि भएकाले पनि लालीगुराँस चाँडो फुलेको हुनसक्ने बताउँछन । उनका अनुसार उच्च हिमाली क्षेत्रमा चैत दोस्रोदेखि वैशाख महिनासम्म लालीगुराँस फुल्ने समय हो । यसको बारेमा थप अध्ययन गर्नु आवश्यक रहेको उनको भनाइ छ । लालीगुराँससँगै रमाउन थाले पर्यटक यसवर्ष साविकभन्दा पहिले नै लालीगुराँस फुलेर जङ्गल नै राताम्यै भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटक लेक उक्लन थालेका छन् । यसवर्ष पुसदेखि नै लालीगुराँस फुलेर म्याग्दीका ग्रामीण जङ्गल राता देखिन थालेका छन् भने काफल र ऐंँसेलुजस्ता जङ्गली फल पनि बेमौसममै फल्न सुरु भएको छ । फागुनको मध्यदेखि कोपिला लाग्न सुरू हुने लालीगुराँस यसवर्ष भने फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेका हुन् । यसैगरी जङ्गली फलफूल र कन्दमूल पाक्न थालेका छन् । बेमौसममा नै लालीगुराँस फुल्नु र जङ्गली फलको मौसमी चक्र परिवर्तन हुनामा तापमान अर्थात् जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको वातावरणविद्हरुको भनाइ छ । ‘लालीगुराँसको फूल चैत, वैशाख महिनामा फुल्ने गर्दथ्यो तर केही वर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेको छ’, बेनी नगरपालिका–२ ज्यामरुककोटका वेदप्रसाद उपाध्याय बताउँछन । लालीगुराँस मात्रै नभएर अन्य फूलसमेत बेमौसममा फुल्न थालेका र अन्नबालीमा समेत यसको असर देखिएको मालिका गाउँपालिका–३ का जगबहादुर विक बताउँछन् । ‘अहिले बेमौसममै काफल, तिदुलगायत जङ्ली फल पाकेको र गुराँस फुलेको देख्न पाइएको छ ।’ वातावरणविद् चन्द्रमणि सापकोटाका अनुसार स्वाभाविक समय अगाडि नै गुराँस फुल्नु र बेमौसमी फल फल्नु स्वाभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो । विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन् । जलवायु परिवर्तनका कारण हिमाल, वनस्पति, मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामा समेत धेरै परिवर्तन देखिएको उनी बताउँछन् । रासस
एक्साइडको नयाँ विद्युतीय रिक्सा ब्याट्री बजारमा, १५ महिनाको वारेन्टी
काठमाडाैं । सिप्रदी ट्रेडिङ्गले एक्साइड ब्राण्डको विद्युतीय रिक्सामा प्रयोग हुने नयाँ इ–रिक्सा ब्याट्रीको नेपाली बजारमा विक्री वितरण सुरु गरेको छ । एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्री १५ महिनाको वारेन्टी भएको ब्याट्री हो । विश्व प्रसिद्ध एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्रीहरु फ्याक्ट्रीबाट पहिले नै चार्ज हुने भएकोले सिधा जडान गर्न सकिने कम्पनीले बताएकाे छ । साथै विशेष अलोई प्रणाली भएका यी ब्याट्रीहरुले छिटो चार्ज हुनुका साथै प्रशोधित पानीको पनि कम खपत गर्ने कम्पनीकाे दावी छ । यसैगरी, ‘रगेड ट्युवलर पोजिटिभ प्लेट’ को विशेषता भएकोले यस ब्याट्रिले विद्युतीय रिक्साको भार तान्न सक्ने क्षमतामा अधिकतम वृद्धि गर्ने कम्पनीले बताएकाे छ । कम्पनीको अनुसार ग्राहकले कुनै पनि पुरानो ब्याट्री साटेर नयाँ एक्साइड ब्याट्री पनि प्राप्त गर्न सक्नेछन ।
पृथ्वी शाह र उनको समूहमाथि चारवटा मुद्दा लगाउने सिआइवीको तयारी
काठमाडौं । ठगीको आरोपमा जेल चलान भएका पृथ्वीबहादुर शाह र उनको समूहमा रहेका १९ जना व्यक्तिविरुद्ध चार वटा मुद्दा चलाउनुपर्ने भएको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईवी)ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शाह, उनका भाई विजयविक्रम शाहसहितका समूहलाई व्यक्तिविरुद्ध ठगी, लिखत सम्बन्धि कसूर, सहकारी ठगी र संगठित अपराधविरुद्ध मुद्धा चलाउनुपर्ने अनुसन्धानबाट खुल्न आएको जानकारी गराएको हो । अमेरिकी नागरिकहरु ठगिएको उजुरी नेपालस्थित अमेरिकी राजदुतावासलेनै जानकारी गराएपछि पृथ्वीबहादुर शाहसहितका ७ जनालाई पक्राउ गरी अनुसन्धान गरिएको थियो । अनुसन्धानमा उनीहरुले ठगीबाट आर्जन गरेको सम्पत्ति घर, जग्गालगायतको कारोबारमा लगानी गरेको पनि खुल्न आएको सिआईवीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए । सो घटनामा संलग्न पृथ्वीसहित ७ जना पक्राउ परेका छन भने अन्य १३ जना फरार रहेका छन । घटनामा संलग्न सबैलाई पीडितलाई क्षतिपूर्ति दिलाई ७ वर्ष कैंद र ७० हजार जरिवाना हुने कानुनी व्यवस्था गरेको पनि प्रवक्ता थापाले बताए । उनले उनीहरुमाथि सहकारी ऐन अनुसार छुट्टै दण्डसजायको व्यवस्था पनि हुन सक्ने कानुनी व्यवस्था गरेको बताए । उनीहरुले ठगीबाट आर्जित रकम ३८ करोड, ८६ लाख ६२ हजार १३६ रुपैयाँ रहेको खुल्न आएको छ । उनीहरुविरुद्ध हालसम्म २४ जना पीडितले नेपालस्थित अमेरिकी दुतावासमार्फत् उजुरी दिएका छन । केही क्यानाडियन र बेलायती नागरिकहरु पनि उनीहरुबाट पीडित भएको खुल्न आएको र अनुसन्धानको कामलाई सुरु गरिएको पनि प्रहरीले जनाएको छ । उनीहरुले अमेरिकी नागरिकसँग अमेजनको विल भुक्तानी, एन्टी भाइरस अपडेटलगायतका विभिन्न निहुँमा सो रकम ठगी गर्ने गरेका थिए । ठगीमा पर्नेहरुमा प्रायः बृद्धबृद्धा रहेको पनि प्रवक्ता थापाले बताए । शाहको समूहले ठगी गरी नेपाल ल्याएको रकम मध्ये १ करोड २८ लाख ९३ हजार ८५ रुपैयाँ बैंकहरुले रोक्का गरिदिएको पनि सिआईवीको अनुसन्धानमा उल्लेख गरिएको छ ।
सोमालियाका ५० लाख नागरिक खाद्य सङ्कटमा
संयुक्त राष्ट्रसङ्घ । राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको सोमालियामा कम्तीमा पनि पचास लाख मानिस खाद्य सङ्कटमा परेका बताइएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरुले सो कुराको जानकारी हालै मात्र दिएका समाचारमा जनाइएको छ । सोमालियाली अधिकारीहरुले यसअघिदेखि नै देशमा खाद्यान्नको संकट परेको बताउने गरेका थिए । यहाँ खाद्य सङ्कटमा परेका मध्ये कम्तीमा पनि एक लाख जना त अहिले नै भोकमरीमा परेका बताइएको छ । खाद्यान्न सम्बन्धी विज्ञलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियोग गुटरेसका प्रमुख प्रवक्ता स्टेफन डुजारिकले सोमालियाको अवस्था निकै खराब बन्दै गएको बताएका छन् । उनका अनुसार सोमालियाका अनुमानित १८ लाख बालबालिका कुपोषणमा परेका छन् र तीमध्ये किरब पाँच लाख जनाको अवस्था नाजुक रहेको छ । अहिले नै यहाँ खाद्यान्नसम्बन्धी आवश्यक व्यवस्था गर्न नसक्ने हो भने यस देशमा खाद्यान्नको चरम संकट पर्दै जानेतर्फ सबैले ध्यान दिनुपर्ने उनले बताएका छन् । रासस
दुई महिनामा एक लाख २८ हजार पर्यटक भित्रिए नेपाल
काठमाडौं । सन् २०२३ को पहिलो दुई महिनामा एक लाख २८ हजार ३२९ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरी र फेब्रुअरीमा उक्त संख्यामा पर्यटक नेपाल आएका हुन् । जनवरीमा ५५ हजार ७४ जना र फेब्रुअरीमा ७३ हजार २५५ जना पर्यटक नेपाल आएको बोर्डको तथ्यांकमा उल्लेख छ । पछिल्ला दिनमा विदेशी पर्यटक आगमन उत्साहबर्द्धक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । फेब्रुअरीमा भारतबाट १८ हजार चार सय एक पर्यटक आएका छन् । अमेरिकाबाट सात हजार आठ सय ८७ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यस्तै, थाइल्याण्डबाट चार हजार आठ सय दुई, दक्षिण कोरियाबाट तीन हजार दुई सय ४६, अष्ट्रेलियाबाट दुई हजार नौ सय ६९, चीनबाट दुई हजार दुई सय ६६, म्यानमारबाट दुई हजार दुई सय ३२, श्रीलङ्काबाट दुई हजार एक सय १७ र जर्मनीबाट दुई हजार एक सय आठ पर्यटक नेपाल भित्रिएका छन् । पछिल्लो तथ्याङ्कले महामारीपछि फेब्रुअरी महिनामा हालसम्मकै उल्लेख्य सङ्ख्यामा पर्यटक आएको देखिन्छ । कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने केही बढेको थियो । उक्त वर्ष छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए । तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई दुई लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए ।