उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायमै रहने
काठमाडाैं । उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने भएकाे छ । निर्वाचन अधिकृतको कार्यालयले आज १२ बजे मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी यादवको उम्मेदवारी कायमै राख्ने निर्णय गरेकाे हाे । शनिबार भएको उम्मेदवारको मनोनयनपत्र दर्तामा चार जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवार यादवको उम्मेदवारीमा नेकपा एमाले र जनमत पार्टीबाट दाबी विरोध परेको थियो । उपराष्ट्रपतिमा मनोनयनपत्र दर्ता गर्दा नवनिर्वाचित राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले निर्देशन दिएको थियो ।
स्ववियु निर्वाचन : तीन विद्यार्थी सङ्गठनद्वारा तालमेल
काठमाडौ । प्रमुख तीन पार्टीका निकट विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् । त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु ९क्रान्तिकारी० र अनेरास्ववियूबीच तालमेल गरेका हुन् । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले तीनवटै विश्वविद्यालयमा हुनगइरहेको स्ववियु निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको क्रान्तिकारीका अध्यक्ष दिपेश पुनले जानकारी दिए । नेविसङ्घले नेपाल कमर्स क्याम्पस, त्रिचन्द्र क्याम्पस, पद्मकन्या बहुमुखी क्याम्पस, शङ्करदेव क्याम्पस, महाराजगन्ज क्याम्पस, महाराजगञ्ज नर्सिङ क्याम्पस, आयुर्वेद क्याम्पस, पशुपति बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, जनप्रशासन क्याम्पस, सरस्वती वहुमुखी क्याम्पस, ग्रामीण आर्दश क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, शिक्षा क्याम्पस थलीको सभापतिपद पाउने सहमति भएको छ । यस्तै अनेरास्ववियु (क्रान्तिकारी) थापाथली इञ्जीनियरिङ क्याम्पस, सानोठिमी बहुमुखी क्याम्पस, पुल्चोक इञ्जीनियरिङ क्याम्पस, नेपाल ल क्याम्पस, पब्लिकयुथ क्याम्पस, विश्वभाषा क्याम्पस, नेशनल इञ्जीनियरिङ र हिमालयन इञ्जीनियरिङ पाउने सहमति भएको छ । अनेरास्ववियूले आरआर क्याम्पस, महेन्द्ररत्न बहुमुखी क्याम्पस, बानेश्वर बहुमुखी क्याम्पसमा स्ववियु सभापति पाउने गरी सहमति भएको छ । क्रान्तिकारीका महासचिव पुनले उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका सङ्गठनले तालमेलअनुसार नै फिर्ता लिने बताए । सहमतिअनुसार तीनवटै विद्यार्थी सङ्गठनको मातहतका कमिटीले कार्यान्वयन गर्न निर्देशनसमेत दिइसकेको छ । आगामी चैत ३ गते मध्यपश्चिम, चैत ५ गते त्रिवि र चैत ८ गते सुदूरपश्चिम विद्यालयमा स्ववियु निर्वाचन हुँदैछ । रासस
सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का
काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फागुन २९ गतेदेखि सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का हुने भएको छ । यी इन्स्योरेन्सहरूको सेयर काराेबार १५ दिनका लागि रोक्का हुने भएको हो । मर्जरपश्चात गाभ्ने गाभिने कम्पनीको सेयर मिलान, धितोपत्रको पुनः दर्ता धितोपत्रको अभौतिकिकरण तथा सूचीकरण प्रयोजनका लागि एकिकृत कारोबार भएको मितिबाट १५ दिनका लागि दुई कम्पनीकाे सेयर कारोबार रोक्का गरिन लागेको हो । साविक सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएपश्चात सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट फागुन २९ गतेदेखि एकिकृत कारोबार हुँदैछ । दुवै कम्पनीबीचमा भएको प्रारम्भिक सहमतिको आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) क्रमश १००:८० कायम रहनेछ । साथै, दुवै कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणअनुसार प्रस्तावित बोनस सेयर वितरण पश्चात स्वाप रेसियो गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । त्यसैगरी, संचालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट मनोहर दास मूल र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनीका सीईओ चंकी क्षेत्री नै रहने छन् । संचालक समितिमा दुवै कम्पनीको तर्फबाट ३/३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन् ।
तनहुँ जलविद्युत् आयोजना : डाइभर्सन टनेलको ब्रेक थ्रु
दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘डाइभर्सन टनेल’ (सुरुङ)को ‘ब्रेक थु्र’ भएको छ । आयोजनाले छ सय २६.९२ मिटर लम्बाइको डाइभर्सन टनेलको निर्माण सम्पन्न गरेको हो । उक्त टनेलबाट नदीको पानी निकास गर्न सकिने आयोजनाले जनाएको छ । आयोजनाको बाँधस्थल निर्माणका लागि नदीको पानी तर्काउनुपर्ने हुँदा उक्त टनेल खनिएको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए । उनका अनुसार नदीको सतहमा टनेल निर्माण गरिएको छ । आयोजनाले गत माघमा प्रवेश सुरुङको ब्रेक थ्रु गरेको थियो । सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने चार सय ३६ मिटर लम्बाइ र सात मिटर व्यास भएको प्रवेश सुरुङको ब्रेक थ्र भएको थियो । व्यास नगरपालिका–५ बेतेनी हुँदै बाँधतर्फ जाने उक्त सुरुङलाई आयोजनाको निर्माण सम्पन्न भएपछि पनि स्थायीरूपमा प्रयोग गरिने छ । आयोजनाको निर्माण सम्पन्न भएपछि यही सुरुङ हुँदै बाँधतर्फ जान सकिने छ । आयोजनाको पहिलो प्याकेजअन्तर्गत एक सय ४० मिटर अग्लो बाँधलगायतका संरचना सो¬ङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक डाइभर्सन सुरुङ, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नतिलगायतका काम भइरहेका छन् । पाँच सय ३९.८ मिटर लम्बाइको डाइभर्सन सुरुङ–१ को ब्रेक थु्र भइसकेको छ । आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजको निर्माण सिनो हाइड्रो चीनले गरिरहेको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणकार्य केइसी भारतले गरिरहेको छ । आयोजनाको समग्र निर्माण २०८३ साल असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । तीनवटा प्याकेजमा काम भइरहेको आयोजनाको हालसम्म ३४ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाले हालसम्म १३ अर्ब ७५ करोड ६७ लाख ५० हजार खर्च गरेको छ । आयोजनाको प्याकेज–१ अन्तर्गत हेडवक्र्स निर्माणकार्यका लागि सोङ दा कर्पोरेसन, भियतनाथ कालिका कन्स्ट्रक्सन प्रालि, नेपाल जेभीसँग विसं २०७७ चैत ९ गते २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ मा खरिद सम्झौता भएको थियो । यो प्याकेजअन्तर्गत मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक पर्ने डाइभर्सन सुरुङ–१ र २ को निर्माणकार्य जारी रहेको आयोजनाले जनाएको छ । दुवै डाइभर्सन सुरुङको इनलेट र आउटलेटबाट खन्ने काम भइरहेको आयोजनाले जनाएको छ । बाँधको माथिल्लो भागको स्लोप खन्ने कामअन्तर्गत हालसम्म इलिभेसन तह पाँच सय ४४ मिटरबाट चार सय ८० मिटरसम्म खन्ने काम सम्पन्न भइसकेको छ । यसैगरी बाँधको दायाँ किनारातर्फबाट माथिल्लो भागको स्लोप खन्नका लागि पहुँच सडक निर्माणकार्य सुरु गरिएकामा वर्षाका कारण प्रभावित भएको थियो । हालसम्म इलिभेसन तह चार सय ७० मिटरसम्म खन्ने काम सकिएको आयोजनाले जनाएको छ । प्याकेज–१ अन्तर्गतको कार्य विसं २०८३ जेठ १७ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएका हालसम्म दुई अर्ब २३ करोड ६८ लाख ४३ हजार खर्च भई समग्र भौतिक र वित्तीय प्रगति क्रमशः १२.६८ र ११.६७ प्रतिशत रहेको आयोजनाले जनाएको छ । आयोजनाको प्याकेज–२ को निर्माणकार्यका लागि सिनो हाइड्रो कर्पोरेसनसँग विसं २०७५ असोज १५ गते युएस डलर एक अर्ब १४ करोड एक लाख ८८ हजार नौ सय ५८ र नेपाली रु तीन अर्ब ८३ करोड १३ लाख ६० हजार तीन सय ६१ मा खरिद सम्झौता भएको थियो । खरिद सम्झौताबमोजिम निर्माणकार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात् सिनोले विसं २०७५ माघ ६ गतेबाट आयोजनास्थलमा परिचालित भई निर्माणकार्य जारी राखेको छ । यो प्याकेज अन्तर्गत ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युत्गृह खन्ने काम विसं २०७९ असार १० गते सम्पन्न भएको आयोजनाले जनाएको छ । यसका अतिरिक्त मुख्य पहुँच सुरुङ, केबल सुरुङ र सेती नदीको दायाँतर्फबाट बाँधस्थलतिर जाने तथा सर्ज ट्याङ्कतर्फको पहुँच सुरुङ निर्माण सम्पन्न भएको श्रेष्ठले बताए । आयोजनाको एक हजार चार सय ५६.९ मिटर लामो मुख्य सुरुङ विसं २०७८ कात्तिकबाट खन्न सुरु गरिएकामा मङ्सिर मसान्तसम्म छ सय ८० मिटर खन्ने काम सकिएको छ । आयोजनाको दुई सय १०.९ मिटर टेलरेस सुरुङ विसं २०७७ फागुन २९ गतेदेखि खन्न सुरु गरिएकामा उक्त काम सम्पन्न भइसकेको छ । हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कार्यअन्तर्गत पेनस्टक जडानका लागि खन्ने काम ६४ मिटर रहेकामा सम्पूर्ण पेनस्टक खन्ने कार्य सकिएको छ । प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि ४८ वटा टावरको जग हालिसकिएको आयोजनाले जनाएको छ । छब्बीस वटा टावर जडानकार्य सम्पन्न भएको र आठ स्थानमा टावर प्रोटेक्सन कार्य गरिएको छ । ३४.७ किमी प्रसारण लाइनमा ९४ वटा टावर राखिनेछ । प्रसारण लाइन निर्माणको काम सन् २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएकामा कोभिड–१९ को महामारी र वन क्षेत्रको रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा सम्झौताको म्याद सन् २०२४ डिसेम्बर १९ सम्म थप गरिएको छ । रासस
ब्याज र डलरको मूल्य बढ्दा सरकारलाई पौने २१ खर्ब ऋण भुक्तानीमा सकस, अर्थलाई गरियो पत्राचार
काठमाडौं । सरकारलाई ऋण भुक्तानीमा पनि सकस परेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले पछिल्लो समय बढिरहेको ब्याजदर र डलरको मूल्यमा आएको उतारचढावले ऋण भुक्तानीमा सकस परेको बताएको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख भूमिराम शर्मा विनियोजित रकमले ऋण भुक्तानी गर्न नपुग्ने देखिएको बताएका छन् । उनका अनुसार बजेट निर्माण गर्दा आन्तरिक ऋणको ब्याजदर ८ प्रतिशतको हाराहारीमा रहेकोमा हाल बढेर १२ प्रतिशत भएको र डलरको मूल्य बढ्दा समस्या देखिएको हो । ‘चालू आर्थिक वर्ष विनियोजन भएको रकमले आन्तरिक तथा वैदेशिक ऋण भुक्तानी गर्न नपुग्ने देखिएको छ, हामीले नपुग्ने रकमका बारेमा अर्थ मन्त्रालयमा जानकारी गराइसकेका छौं,’ उनले भने । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको कुल ऋण करिब २१ अर्ब पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांक अनुसार नेपालको ऋण २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख रुपैयाँ पुगेको हो । तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा (पुस मसान्तसम्म) सार्वजनिक ऋण बढेको देखिएको हो । पुस मसान्तसम्म नेपालको बाह्य ऋण ११ खर्ब दुई अर्ब ५१ करोड रुपैयाँ र आन्तरिक ऋण ९ खर्ब ६८ अर्ब एक करोड रुपैयाँ पुगेको हो । सार्वजनिक ऋण प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको ६ महीनाको अवधिमा ५७ अर्ब २४ करोड ऋण थपिएको छ । गत असार मसान्तसम्म कूल सार्वजनिक ऋण २० खर्ब १३ अर्ब रुपैयाँ थियो । जसमध्ये बाह्य ऋण १० खर्ब ५० अर्ब २३ करोड रुपैयाँ र आन्तरिक ऋण ९ खर्ब ५७ अर्ब ६१ करोड रुपैयाँ बराबर थियो । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्ममा ७६ अर्ब ६६ करोड ९९ लाख बाह्य ऋण थपिएको छ । आन्तरिक ऋण भने गत असारको तुलनामा पुसमा १९ अर्ब ४३ करोड रुपैयाँले घटेको छ । नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको अनुपात ४२.६७ प्रतिशत बराबर पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । अहिले कूल गार्हस्थ्य उत्पादन ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँ बराबर छ । जीडिपी अनुपातमा आन्तरिक ऋण १९.९५ प्रतिशत र बाह्य ऋण २२.७२ प्रतिशत रहेको कार्यालयको तथ्याङ्कबाट देखिन्छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म नेपालले ४७ अर्ब २७ करोड रुपैयाँ बराबर ऋण उठाएको छ । जसमध्ये ३० अर्ब रुपैयाँ आन्तरिक र १७ अर्ब २७ करोड रुपैयाँ बाह्य ऋण उठाएको हो । यस्तै, सोही अवधिमा ४५ अर्ब ६१ करोड रुपैयाँ बराबर साँवा ब्याज भुक्तानी गरेको छ । पुस मसान्तसम्म सरकारले भुक्तानी गरेको साँवा २८ अर्ब ३० करोड रुपैयाँ र ब्याज १७ अर्ब ३१ करोड रुपैयाँ बराबर छ । यो अवधिमा आन्तरिक ऋणको साँवा १९ अर्ब ५९ करोड २५ लाख रुपैयाँ र ब्याज १५ अर्ब ६५ करोड ९६ लाख रुपैयाँ गरी कूल ३५ अर्ब २५ करोड रुपैयाँ भुक्तानी भएको छ । यस्तै, बाह्य ऋणको सावाँ ८ अर्ब ७१ करोड रुपैयाँ र ब्याज एक अर्ब ६५ करोड रुपैयाँ गरी १० अर्ब ३६ करोड भुक्तानी भएको छ । कूल सावाँ ब्याज भुक्तानीमा आन्तरिक ऋणको साँवा ब्याज भुक्तानी ७७.२८ प्रतिशत र बाह्य ऋणको साँवा ब्याज भुक्तानी २२.७२ प्रतिशत बराबर छ । सरकारले चालू आर्थिक वर्ष २०७९/०८० का लागि १ खर्ब ८७ अर्ब २५ करोड ४८ लाख रुपैयाँ वैदेशिक र आन्तरिक ऋण भुक्तानी गर्न विनियोजन गरेको थियो ।
उपराष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज
काठमाडौं । आगामी चैत ३ मा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरूको अन्तिम नामावली आज प्रकाशन हुँदैछ । शनिबार भएको उम्मेदवारको मनोनयनपत्र दर्तामा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयले आज १२ बजे मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, १२ बजेदेखि १ बजेसम्म नामावली प्रकाशन गर्ने जनाएको छ । साथै दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र ४ देखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । उपराष्ट्रपतिमा मनोनयनपत्र दर्ता गर्दा नवनिर्वाचित राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले निर्देशन दिएको थियो । रासस
सिन्धुलीमा बस दुर्घटना : पाँच जनाको घटनास्थलमै मृत्यु , १९ घाइते
काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ओखलढुङ्गाबाट काठमाडौं जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा १९जना घाइते भएका र उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ । रासस
एकैदिन १७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार ७ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन अर्थात शुक्रबार प्रतितोला एक लाख एक हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख तीन हजार ५ सय रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन अर्थात शुक्रबार एक लाख १ हजार ३ सय सय रुपैयाँ थियो । त्यस्तै, आज चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ४५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले बढेको छ । शुक्रबार चाँदी प्रति तोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।