पौने १४ खर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति, १० महिना बढीको आयात धान्ने
काठमाडौं । चालू आर्थिक वर्षको माघ मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १३.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको माघ मसान्त सम्मको तथ्यांक अनुसार २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.८ प्रतिशतले वृद्धि भई २०७९ माघ मसान्तमा रु.१३८३ अर्ब ३३ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ माघ मसान्तमा १०.२ प्रतिशतले वृद्धि भई १० अर्ब ५० करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ माघ मसान्तमा १६.२ प्रतिशतले वृद्धि भई रु.१२२८ अर्ब ५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०७९ माघ मसान्तमा २.६ प्रतिशतले कमी आई रु.१५५ अर्ब २८ करोड कायम भएको छ । २०७९ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९÷८० को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७९ माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २८.५ प्रतिशत, ७८.३ प्रतिशत र २४.० प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।
सात महिनामा सवा ८ खर्ब व्यापार घाटा, घट्यो आयात निर्यात
काठमाडौं । चालु आर्थिक वर्षको सात महिना महिनामा नेपालले ९३ अर्ब बराबरको निर्यात गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको (गत साउनदेखि माघ मसान्तसम्म) तथ्यांक अनुसार नेपालले ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात गरेको हो । बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अबधिमा ८८.३ प्रतिशतले निर्यातमा वृद्धि भएको थियो । गत आवको तुलनामा चालु आवको सो अवधिमा २९ प्रतिशतले निर्यातमा कमी आएको हो । सात महिनाको अबधिमा नेपालले भारत र चीनतर्फ गर्ने निर्यातमा कमी आएको छ भने अन्य देशको निर्यातमा बृद्धि भएको छ । भारतमा ३७.७, चीनतर्फ १३.४ प्रतिशतले निर्यातमा कमी आउँदा अन्य मुलुकतर्फको निर्यातमा ८ प्रतिशतले बृद्धि भएको तथ्यांकमा उल्लेख छ । सात महिनाको अबधिमा नेपालले जिंक सिट, अलैंची, पार्टिकल बोर्ड, ऊनी गलैचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ । चालू आवको सात महिनाको अबधिमा नेपालले विभिन्न देशबाट ९ खर्ब १९ अर्ब १७ करोड बराबरको विदेशी वस्तुको आयात गरेको छ । अघिल्लो आवकोे तुलनामा चालू आवको सो अबधिमा १९.९ प्रतिशतले आयातमा कमी आएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४२.८ प्रतिशतले बढेको थियो । भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १८ प्रतिशत, २४.३ प्रतिशत र २२ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, चाँदी लगायतका वस्तुको आयात घटेको छ । चालू आवको सात महिनाको अबधिमा नेपालको कुल वस्तु व्यापार घाटा १८.७ प्रतिशतले कमी आई ८ खर्ब २५ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३८.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.५ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ७१ अर्ब ७८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२८ अर्ब १७ करोड बराबरको भएको थियो ।
सिन्धुली बस दुर्घटना अपटेड : थप एकजनाको मृत्यु
काठमाडौं । सिन्धुलीमा भएको बस दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । योसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बालिका रहेका छन् । उनीहरुको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । मध्यपहाडि लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरमा आज बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । ओखलढुङगाबाट काठमाडौंतर्फ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस दुर्घटना भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन । घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारका लागि गोलञ्जोर गाउँपालिका–७ खुर्कोटस्थित सामुदायिक अस्पताल लगिएको छ । चालकको अवस्था सामान्य रहेको छ । उनको घुर्मीमा उपचार भइरहेको छ । बस अनियन्त्रित भइ भित्तामा ठोक्किँएर दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस
पौने ७ खर्ब पुग्यो रेमिट्यान्स, विदेश जाने पनि बढे
काठमाडौं । चालू आर्थिक वर्षको माघ महिनासम्म पौने ७ खर्ब रुपैयाँ रेमिट्यन्स पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आव ७ महिनाको तथ्यांक अनुसार विप्रेषण आप्रवाह २७.१ प्रतिशतले वृद्धि भई ६८९ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.४ प्रतिशतले वृद्धि भई ५ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भई ३,१४,७६७ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई १,६७,७०८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २६५.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २५.२ प्रतिशतले वृद्धि भई रु.७५९ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.७ प्रतिशतले घटेको थियो ।
नेपाल रेमिटबाट पठाएको पैसा राष्ट्रिय वाणिज्य बैंकबाट पाउन सकिने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच वैदेशिक रेमिट्यान्स बैंकिङ्ग च्यानल मार्फत भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात नेपाल रेमिट मार्फत विश्वका विभिन्न स्थानहरुबाट बैंकिङ्ग च्यानल मार्फत पठाएको रकम नेपालमा रहेका सम्बन्धीत व्यक्तिलाई राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयहरु मार्फत सहज रुपमा भुक्तानी हुनेछ । यसले नेपालमा वैदेशिक मुद्रा आर्जन गर्न थप सघाउ पुग्ने विश्वास गरिएको बैंकले जनाएकाे छ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवाहरु संचालनमा रहेका छन ।
उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायमै रहने
काठमाडाैं । उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने भएकाे छ । निर्वाचन अधिकृतको कार्यालयले आज १२ बजे मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी यादवको उम्मेदवारी कायमै राख्ने निर्णय गरेकाे हाे । शनिबार भएको उम्मेदवारको मनोनयनपत्र दर्तामा चार जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवार यादवको उम्मेदवारीमा नेकपा एमाले र जनमत पार्टीबाट दाबी विरोध परेको थियो । उपराष्ट्रपतिमा मनोनयनपत्र दर्ता गर्दा नवनिर्वाचित राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले निर्देशन दिएको थियो ।
स्ववियु निर्वाचन : तीन विद्यार्थी सङ्गठनद्वारा तालमेल
काठमाडौ । प्रमुख तीन पार्टीका निकट विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् । त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु ९क्रान्तिकारी० र अनेरास्ववियूबीच तालमेल गरेका हुन् । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले तीनवटै विश्वविद्यालयमा हुनगइरहेको स्ववियु निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको क्रान्तिकारीका अध्यक्ष दिपेश पुनले जानकारी दिए । नेविसङ्घले नेपाल कमर्स क्याम्पस, त्रिचन्द्र क्याम्पस, पद्मकन्या बहुमुखी क्याम्पस, शङ्करदेव क्याम्पस, महाराजगन्ज क्याम्पस, महाराजगञ्ज नर्सिङ क्याम्पस, आयुर्वेद क्याम्पस, पशुपति बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, जनप्रशासन क्याम्पस, सरस्वती वहुमुखी क्याम्पस, ग्रामीण आर्दश क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, शिक्षा क्याम्पस थलीको सभापतिपद पाउने सहमति भएको छ । यस्तै अनेरास्ववियु (क्रान्तिकारी) थापाथली इञ्जीनियरिङ क्याम्पस, सानोठिमी बहुमुखी क्याम्पस, पुल्चोक इञ्जीनियरिङ क्याम्पस, नेपाल ल क्याम्पस, पब्लिकयुथ क्याम्पस, विश्वभाषा क्याम्पस, नेशनल इञ्जीनियरिङ र हिमालयन इञ्जीनियरिङ पाउने सहमति भएको छ । अनेरास्ववियूले आरआर क्याम्पस, महेन्द्ररत्न बहुमुखी क्याम्पस, बानेश्वर बहुमुखी क्याम्पसमा स्ववियु सभापति पाउने गरी सहमति भएको छ । क्रान्तिकारीका महासचिव पुनले उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका सङ्गठनले तालमेलअनुसार नै फिर्ता लिने बताए । सहमतिअनुसार तीनवटै विद्यार्थी सङ्गठनको मातहतका कमिटीले कार्यान्वयन गर्न निर्देशनसमेत दिइसकेको छ । आगामी चैत ३ गते मध्यपश्चिम, चैत ५ गते त्रिवि र चैत ८ गते सुदूरपश्चिम विद्यालयमा स्ववियु निर्वाचन हुँदैछ । रासस
सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का
काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फागुन २९ गतेदेखि सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का हुने भएको छ । यी इन्स्योरेन्सहरूको सेयर काराेबार १५ दिनका लागि रोक्का हुने भएको हो । मर्जरपश्चात गाभ्ने गाभिने कम्पनीको सेयर मिलान, धितोपत्रको पुनः दर्ता धितोपत्रको अभौतिकिकरण तथा सूचीकरण प्रयोजनका लागि एकिकृत कारोबार भएको मितिबाट १५ दिनका लागि दुई कम्पनीकाे सेयर कारोबार रोक्का गरिन लागेको हो । साविक सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएपश्चात सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट फागुन २९ गतेदेखि एकिकृत कारोबार हुँदैछ । दुवै कम्पनीबीचमा भएको प्रारम्भिक सहमतिको आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) क्रमश १००:८० कायम रहनेछ । साथै, दुवै कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणअनुसार प्रस्तावित बोनस सेयर वितरण पश्चात स्वाप रेसियो गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । त्यसैगरी, संचालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट मनोहर दास मूल र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनीका सीईओ चंकी क्षेत्री नै रहने छन् । संचालक समितिमा दुवै कम्पनीको तर्फबाट ३/३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन् ।