ब्याज र डलरको मूल्य बढ्दा सरकारलाई पौने २१ खर्ब ऋण भुक्तानीमा सकस, अर्थलाई गरियो पत्राचार

<p>काठमाडौं । सरकारलाई ऋण भुक्तानीमा पनि सकस परेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले पछिल्लो समय बढिरहेको ब्याजदर र डलरको मूल्यमा आएको उतारचढावले ऋण भुक्तानीमा सकस परेको बताएको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख भूमिराम शर्मा विनियोजित रकमले ऋण भुक्तानी गर्न नपुग्ने देखिएको बताएका छन् । उनका अनुसार बजेट निर्माण गर्दा आन्तरिक ऋणको ब्याजदर [&hellip;]</p>

काठमाडौं । सरकारलाई ऋण भुक्तानीमा पनि सकस परेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले पछिल्लो समय बढिरहेको ब्याजदर र डलरको मूल्यमा आएको उतारचढावले ऋण भुक्तानीमा सकस परेको बताएको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख भूमिराम शर्मा विनियोजित रकमले ऋण भुक्तानी गर्न नपुग्ने देखिएको बताएका छन् । उनका अनुसार बजेट निर्माण गर्दा आन्तरिक ऋणको ब्याजदर ८ प्रतिशतको हाराहारीमा रहेकोमा हाल बढेर १२ प्रतिशत भएको र डलरको मूल्य बढ्दा समस्या देखिएको हो ।

‘चालू आर्थिक वर्ष विनियोजन भएको रकमले आन्तरिक तथा वैदेशिक ऋण भुक्तानी गर्न नपुग्ने देखिएको छ, हामीले नपुग्ने रकमका बारेमा अर्थ मन्त्रालयमा जानकारी गराइसकेका छौं,’ उनले भने ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको कुल ऋण करिब २१ अर्ब पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांक अनुसार नेपालको ऋण २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख रुपैयाँ पुगेको हो ।

तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा (पुस मसान्तसम्म) सार्वजनिक ऋण बढेको देखिएको हो । पुस मसान्तसम्म नेपालको बाह्य ऋण ११ खर्ब दुई अर्ब ५१ करोड रुपैयाँ र आन्तरिक ऋण ९ खर्ब ६८ अर्ब एक करोड रुपैयाँ पुगेको हो ।

सार्वजनिक ऋण प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको ६ महीनाको अवधिमा ५७ अर्ब २४ करोड ऋण थपिएको छ । गत असार मसान्तसम्म कूल सार्वजनिक ऋण २० खर्ब १३ अर्ब रुपैयाँ थियो । जसमध्ये बाह्य ऋण १० खर्ब ५० अर्ब २३ करोड रुपैयाँ र आन्तरिक ऋण ९ खर्ब ५७ अर्ब ६१ करोड रुपैयाँ बराबर थियो ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्ममा ७६ अर्ब ६६ करोड ९९ लाख बाह्य ऋण थपिएको छ । आन्तरिक ऋण भने गत असारको तुलनामा पुसमा १९ अर्ब ४३ करोड रुपैयाँले घटेको छ ।

नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको अनुपात ४२.६७ प्रतिशत बराबर पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । अहिले कूल गार्हस्थ्य उत्पादन ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँ बराबर छ । जीडिपी अनुपातमा आन्तरिक ऋण १९.९५ प्रतिशत र बाह्य ऋण २२.७२ प्रतिशत रहेको कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्म नेपालले ४७ अर्ब २७ करोड रुपैयाँ बराबर ऋण उठाएको छ । जसमध्ये ३० अर्ब रुपैयाँ आन्तरिक र १७ अर्ब २७ करोड रुपैयाँ बाह्य ऋण उठाएको हो ।

यस्तै, सोही अवधिमा ४५ अर्ब ६१ करोड रुपैयाँ बराबर साँवा ब्याज भुक्तानी गरेको छ । पुस मसान्तसम्म सरकारले भुक्तानी गरेको साँवा २८ अर्ब ३० करोड रुपैयाँ र ब्याज १७ अर्ब ३१ करोड रुपैयाँ बराबर छ । यो अवधिमा आन्तरिक ऋणको साँवा १९ अर्ब ५९ करोड २५ लाख रुपैयाँ र ब्याज १५ अर्ब ६५ करोड ९६ लाख रुपैयाँ गरी कूल ३५ अर्ब २५ करोड रुपैयाँ भुक्तानी भएको छ ।

यस्तै, बाह्य ऋणको सावाँ ८ अर्ब ७१ करोड रुपैयाँ र ब्याज एक अर्ब ६५ करोड रुपैयाँ गरी १० अर्ब ३६ करोड भुक्तानी भएको छ । कूल सावाँ ब्याज भुक्तानीमा आन्तरिक ऋणको साँवा ब्याज भुक्तानी ७७.२८ प्रतिशत र बाह्य ऋणको साँवा ब्याज भुक्तानी २२.७२ प्रतिशत बराबर छ । सरकारले चालू आर्थिक वर्ष २०७९/०८० का लागि १ खर्ब ८७ अर्ब २५ करोड ४८ लाख रुपैयाँ वैदेशिक र आन्तरिक ऋण भुक्तानी गर्न विनियोजन गरेको थियो ।

Share News