विकासन्युज

नेप्सेमा ८ कम्पनीको साढे ६ करोड कित्ता बोनस सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत साता विभिन्न ८ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत फागुन २१ गते आइतबारदेखि फागुन २६ गते शुक्रबारसम्म नेप्सेमा ९ कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा प्रभु बैंक, साविक सेञ्चुरी कमर्सियल बैंक, आइसीएफसी फाइनान्स, आँधिखोला लघुवित्त, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त, प्राइम लाइफ इन्स्योरेनस, बुटवल पावर कम्पनी र नबिल बैंकको गरी कूल ६ करोड ३० लाख ३३ हजार ६१७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । प्रभु बैंकको ६.५० प्रतिशत बोनस वापतको ८२ लाख ६० हजार ६५७.७१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ६.५० प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ७ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, साविकको सेञ्चुरी बैंकको ४.७५ प्रतिशत बोनस वापतको ४५ लाख ३८ हजार १०६.८७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७/७९ को नाफाबाट सेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आइसीएफसी फाइनान्सको ५ प्रतिशत बोनस वापतको ५ लाख ६३ हजार ५५८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आधिखोला लघुवित्तको ३० प्रतिशत बोनस वापतको ३ लाख ५७ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको १९ प्रतिशत बोनस वापतको १८ लाख ३२ हजार ५३५.५६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, प्राइम लाइफको १३ प्रतिशत बोनस वापतको ३६ लाख १३ हजार ५००.२५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६८४२ प्रतिशत नगद गरी कूल १३.६८४२ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बुटवल पावर कम्पनीको ५ प्रतिशत बोनस वापतको १६ लाख २७ हजार ३७८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ७.५ प्रतिशत नगद गरी कूल १२.५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, नबिल बैंकको १८.५० प्रतिशत बोनस वापतको ४ करोड २२ लाख ४० हजार ८८१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १८.५० प्रतिशत बोनस सेयर ११.५० प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।

एसिया प्यासिफिक एडभान्स नेटवकर्क (एपान)को ५५औं सम्मेलन काठमाडौंमा हुने

काठमाडौं । एसिया प्यासिफिक एडभान्स नेटवकर्क(एपान)को ५५औं सम्मेलन काठमाडौंमा हुने भएको छ । आगामी सोमबार (फागुन २९गते) उक्त सम्मेलनको उद्घाटन हुने नेपाल रिसर्च एण्ड एजुकेशनले जानकारी दिएको हो । सम्मेलनको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गर्ने जानकारी दिइएको छ । पाँच दिनसम्म सञ्चालन हुने उक्त सम्मेलन नेपालमा पहिलो पटक आयोजना हुन गइरहेको आयोजकले जनाएको छ । सो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका १७ देशका प्रतिनिधिहरु सहभागी हुनेछन् । उक्त सम्मेलनको आयोजनाको मुख्य संयोजन नेपालका सूचना प्रविधि सम्वन्धि संस्थाहरुको सहयोग र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसंगको सहकार्यमा नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनरेन)ले गर्ने जनाईएको छ ।

निजी स्तरका विद्यालयमा पनि राज्यले लगानी गर्नुपर्छ : सांसद पौडेल

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा सांसद प्रदिप पौडेलले प्रविधि मैत्री र प्रतिस्पर्धात्कम अबस्था आएकाले समयानुकल शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताए । सरकारी विद्यालयको साथै निजी स्तरका विद्यालयको विद्यार्थी शुल्क पनि राज्यले तिरिदिनु पर्ने आबश्यकता औल्याएका छन् । शनिबार ज्ञान चक्षु ईङ्लिस स्कुलको १७ औ वार्षिक उत्वस तथा अभिभावक दिवसको अवसरमा आयोजित पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि रहेका नेता पौडेलले सरकारी विद्यालय भन्दा निजी स्तरका विद्यालयहरुको शैक्षिक गुणस्तर राम्रो बताए । तर निजी विद्यालयको शुल्क महंगो भएको र अभिभावकले तिर्न कठिन भएकोले यसमा पनि राज्यको लगानी आवश्यक रहेको उनले औल्याएका हुन् ।

अर्थतन्त्र सुधार्न कृषि र किसानको अवस्था सुधारौं

काठमाडौं । वर्तमान आर्थिक अवस्थाबाट देशलाई माथी उठाउन कृषि र किसानहरुको अवस्था सुधार्नुपर्ने आवश्यकता रहेको काठमाडौंमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २२ औं स्थापना दिवसका अवसरमा बोल्ने वक्ताहरुले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउँदै कृषिजन्य वस्तुहरुको भण्डारण, प्रशोधन र बजारीकरणमा ध्यान दिन सके अर्थतन्त्र सुधारको बाटो खुल्ने बताएका हुन् । कार्यक्रममा बोल्दै कृषि विकास बैंकका पूर्व अध्यक्ष एवं सिइयो श्रीकृष्ण उपाध्यायले कृषि क्षेत्रमा लगानी मात्र नभई उत्पदनको बजारीकरणमा समेत ध्यान दिनुपर्ने आवश्यकता औल्याए । उनले ग्रामीण क्षेत्रमा राम्रो काम गरेका कृषि सहकारीका सदस्य किसानहरुलाई उत्साह बढाउन सरकारले त्यस्ता सहकारीको पहिचान गरी कृषिका कार्यक्रमहरु कार्यन्वयन गर्नुपर्नेमा जोड दिए । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सहकारी मार्फत सदस्य किसानहरुलाई प्रवाह गरेको ज्ञान, सिप, पूँजी, प्रविधि र सचेतनाले गरिब, पिछडीएको वर्ग, दलित, अल्पसंख्याक, महिलाहरुको नेतृत्व विकासमा ठूलो योगदान पुगेको बताए । यसैगरी कार्यक्रममा सना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष खेम बहादुर पाठकले लघुवित्तलाई एउटै डालोमा राखेर गरिएको विश्लेषण प्रति असन्तुष्टि जनाए । उनले जहाँ समस्या छ त्यहीँ उपचार गर्नुपर्नेमा सबै क्षेत्र नै गलत भयो भन्नेगरी भईरहेको प्रचार प्रसारले आफुहरुलाई नकारात्मक प्रभाव पारिरहेको बताए । उनले साना किसान विकास लघुवित्त वित्तीय संस्थाले साना किसान कृषि सहकारी संस्था मार्फत सदस्य किसानहरुलाई सेवा प्रदान गर्दै आईरहेको स्पष्ट पार्दै साना किसानमा कुनै समस्या नरहेको दावी गरे । अहिले १ हजार ४ सय ५९ साझेदार साना किसान कृषि सहकारी मार्फत साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. ले सेवा प्रवाह गरिरहेको जानकारी गराउँदै उनले आफ्नो सञ्जालका संस्थामा बजारमा भनिएजस्तो समस्या नरहेको स्पष्ट पारे । ग्रामीण अर्थतन्त्र सुधारमा केन्द्रीत साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.ले समुदायमा पछाडी परेका राउटे, कुुसुण्डा, मुसहर, बनकरीया, दलित, अल्पसंख्याक र महिलाहरुको आर्थिक सामाजिक रुपान्तरणमा काम गरिरहेको जानकारी गराए । किसानहरुको सहभागितामा किसानहरुकै नेतृत्वमा सञ्चालित साना किसान कृषि सहकारीहरुमा कुनै समस्या नरहेको स्पष्ट पार्दै अध्यक्ष पाठकले कहीँ कतै त्यस्तो समस्या देखिए तत्काल समाधान गर्न आफुहरु तयार रहेको प्रतिवद्धता व्यक्त गरे । गरिब किसानहरुलाई धनी बनाउने, पछाडी परेकाहरुलाई मुलधारमा ल्याउने, सामाजिक सामुदायिक काम मार्फत खानेपानी, सडक, सरसफाई लगायतका काममा साना किसानहरु गाउँ–गाउँमा लोकप्रिय संस्था बनेको अध्यक्ष पाठकले दावी गरे । कार्यक्रममा कृषि विकास बैंकका सिईयो गोविन्द गुरुङले नेपालको दुरदराजका किसानहरुलाई व्यवसायी बनाउन साना किसान लघुवित्त वित्तीय संस्थाले खेलेको भूमिकाको प्रशंसा गरे । उनले किसानहरुलाई उत्पादनमा लाग्न प्रेरित गर्ने, उत्पदन गर्ने, प्रशोधन गर्ने, भण्डारण गर्ने र बजारसम्म जोड्ने कुरामा अझै काम गर्नुपर्ने आवश्यकता औंल्याए । सिईयो गुरुङले किसानहरुको सहभागिता र नेतृत्व रहने साना किसान सहकारीसंग मात्र कारोवार गर्ने साना किसान विकास लघुवित्त वित्तीय संस्थाको पहुँच वृद्धि गर्नुपर्नेमा समेत जोड दिए । उनले सदस्यहरुको क्षमता विकास गर्दै विशेषगरी युवाहरुलाई नेपालमै कृषि तथा पशुपालनका क्षेत्रमा राम्रो आम्दानीको वातावरण बनाउन सकिसने सम्भावना रहेको समेत बताए । यसैगरी कार्यक्रममा बोल्दै साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोईरालाले लघुवित्तले गरेको काम हेरेर संस्थाहरुको मूल्यांकन गरिनुपर्नेमा जोड दिए । उनले नेपालका ७६ जिल्लाका १० लाख ७९ हजार भन्दा बढि घरपरिवारमा पुगेको साना किसान कार्यक्रम नेपालको ग्रामीण अर्थतन्त्र सुधारमा एक सफल कार्यक्रम रहेको दावी गरे । उनले ७९ प्रतिशत महिला सदस्य रहनेगरी नेपालको दुरदराजमा साना किसान कृषि सहकारीहरु स्थापना भई सञ्चालनमा रहेको बताए । अहिले सहकारी मार्फत सदस्यहरुले एकल र सामुहिक रुपमा चिया, दुध, डेरी, तेल, चामल लगायतका उद्यम सुरु गरेको जानकारी दिए । कार्यक्रममा देशभर रहेका १ हजार ४ सय ५९ साझेदार सहकारी संस्था मध्ये सर्वोउत्कृष्ट संस्थाका रुपमा परिवर्तन महिला साना किसान कृषि सहकारी संस्था लि. गुमी सुर्खेतलाई पुरस्कृत गरिएको थियो । यसैगरी ११ वटा इलाका कार्यालय रहेको संस्थाले उत्कृष्ट इलाका कार्यालयका रुपमा हेटौँडा इलाका कार्यालाई उत्कृष्ट इलाका कार्यालयका रुपमा पुरस्कृत गरेको छ । कार्यक्रमका लघुवित्त वित्तीय वित्तीय संस्था लि. का सञ्चालक, कर्मचारी, पत्रकार एवं विभिन्न सहकारीका अध्यक्ष, सञ्चालक तथा कर्मचारीहरुकोे सहभागिता रहेको थियो ।

डा उपाध्यायको ‘मुटुसँग सहयात्रा’ लोकार्पण

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’ नाम आत्मवृत्तान्त सार्वजनिक गरिएको छ । प्रकाशक इदा उपाध्यायद्वारा आज यहाँ आयोजित समारोहमा वरिष्ठ हृदयरोग विशेषज्ञ डा मृगेन्द्रराज पाण्डे र काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति डा सुरेशराज शर्माले उक्त कृतिको लोकार्पण गरे । पुस्तकभित्र एक नेपाली डाक्टरको जीवन कथा, भोगाइ, अवसर र चुनौतीका अतिरिक्त नेपाली समाजको चित्रण, मुलुकको स्वास्थ्य प्रशासन, राजनीतिक र भूगोललगायका विषयको रोचक चित्र समेटिएको छ । पुस्तकमा रोचक सन्दर्भ, व्यावसायिक जीवन आरम्भ, सुधार गर्न सकिँदोरहेछ, वीरका चुनौतीपूर्ण ती दिन, फरक अवधारणाको अस्पताल, मुटु जोगाउने अभियान, गौरवपूर्ण गङ्गालाल हृदय केन्द्र, नाम्सको चपेटामा वीर अस्पताल, भिआइपीको उपचार, स्वास्थ्य र राजनीति शीर्षकमा विषयगत महत्वपूर्ण घटनासम्बन्धी लेख समेटिएको छ । चार सय ५२ पृष्ठको उक्त पुस्तकको मूल्य छ सय ७५ रहेको छ । तत्कालीन सोभियत सङ्घबाट चिकित्सा विज्ञानको मुटुरोग विधामा विशेषज्ञता हासिल गर्नुभएका डा उपाध्यायले मुलुकको मुटुरोग उपचार सेवामा विशिष्ट योगदान पु¥याएका छन् । उनले मुलुकको सबैभन्दा ठूलो वीर अस्पतालका अतिरिक्त भक्तपुर, उदयपुर, मेडिकियर, गङ्गालाल, सार्क हार्ट फाउण्डेसनमा संलग्न भई मुटुरोग उपचारमा सेवा पु¥याएका छन् । कार्यक्रममा डा पाण्डेले मुलुकको स्वास्थ्य क्षेत्रमा पछिल्लो समयमा भएका प्रगतिप्रति सन्तोष गर्ने धेरै ठाउँ रहेको बताए। पूर्वउपकुलपति शर्माले देश र समाजलाई माया गर्ने व्यक्तिले गुनासो होइन, कर्तव्य पूरा गरेर मात्र योगदान पु¥याउन सक्छ भने । पूर्वसचिव रामचन्द्रमान सिंह, डा प्रचण्ड प्रधान, डा प्रकाशराज रेग्मी, वरिष्ठ कवि दिनेश अधिकारीलगायतले पुस्तकमाथि समीक्षा गर्दै पुस्तकभित्र मुटुको महासागरसम्बन्धी घटना समेटिएको बताए । पुस्तकमा डा उपाध्यायले विधाप्रतिको साधना एवं मेहनत आवश्यक रहने चिकित्साशास्त्र कला र विज्ञानको एउटा अब्बल नमूना भएको उल्लेख गरेका छन् ।

नयाँ पुस्ताबाट देश नै कोल्याप्स हुने हो की भन्ने डर छ : मन्त्री मोदी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नयाँ पुस्ताहरुलाई कानूनमा बाँध्नको लागि नयाँ कानून निर्माण गर्न लागेको बताएका छन् । शनिवार मन्त्रालयमा आयोजित विभिन्न संवैधानिक आयोगका अध्यक्ष र सदस्यहरुसँगको संघीय निजामति सेवाको विधेयकका सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नयाँ पुस्ताहरु कानूनको परिधिभित्र नरहेको अवस्थालाई मध्यनजर गरेर नै कानून निर्माण गरिएको बताउनु भयो । उहाँले नयाँ पुस्ताहरु दण्डहीनतामा गइरहेको र भावि पुस्ताहरुका कारण देशमाथि नै खतरा हुने हो की भन्ने डर सिर्जना भइरहेको भन्दै त्यसलाई नियन्त्रणमा राख्न नयाँ कानूनको निर्माण गरिएको बताए । उनले संघीय निजामति ऐन अन्तिम चरणमा रहेको पनि बताए । उनले निजामती सेवाभित्रका विद्यमान विकृति र विसंगति न्युनीकरण गर्न संघीय निजामती सेवा ऐन महत्वपूर्ण रहेको उल्लेख गरे । उनले मोदीले तुलनात्मक रूपमा अझै पनि निजामति सेवाभित्र पहुँचबिहीन कर्मचारीहरू रहेको भन्दै उनस्हरुलाई अवधिभर विकट क्षेत्रमा बसेर सेवा गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकाले आवाजबिहीनलाई न्याय दिनेगरी ऐन निर्माण गरिएको बताए । उनले भने, ‘हाम्रो कानून हाम्रा लागि त छँदै छ, नयाँ पुस्ताहरु झनै नियन्त्रणमा रहन सकेनन् । उनीहरु छिटो कमाउन चाहने तरिकामा छन् । अहिलेको पुस्ताहरु छिटो सम्पन्न हुने ब्याघ्रतामा छन् । उनीहरु झनै दण्डहीनतामा त जाँदैनन्, भावि पुस्ताहरुले देश त कोल्याप्समा लैजाँदैनन् भन्नको खातिर गलत काम गर्नेलाई कानूनअनुसार कारबाही गर्नको लागि नै यो नीति निर्माण गर्न लागेका हौँ ।’ छलफलमा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेनाले असहाय, दलित, नसक्ने वर्गलाई माथि ल्याउन गर्नुपर्ने काम चाँडो सम्पन्न गर्न सरकारलाई सुझाव दिए । बैठकमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले राज्य संरचनामा ठूलाले सानालाई होच्याउने प्रवृत्ति रहेकाले त्यसलाई हटाउने ऐन निर्माणको खाँचो रहेको बताए । उनले पछाडि पारिएका मानिसहरुको अनुभुतिलाई नजिकबाट नियालेर संविधानले स्वीकारेको विविधतालाई आत्मसाथ गर्नुपर्ने बताए । उनले एउटा दलित जातको आधारमा मरिरहेको भन्दै गरिब विपन्नहरुको उपचार कुन ढंगले गर्ने भन्ने योजना सरकारले ल्याउन जरुरी रहेको बताए । उनले भने, ‘हाम्रो राज्य संरचनामा ठूलाले सानालाई होच्याउने क्रम छ । सानाहरु मासिरहेका छन्, ठूलाहरुको जयजयकार भइरहेको छ । पछाडि पारिएका मानिसहरुको अनुभुतिलाई नजिकबाट बुझ्नुभएको मानिसहरु भएको बेलामा छलफल गर्न पाइएको छ । हाम्रो संविधानले विविधतालाई स्वीकार गरेको छ ।’ बैठकमा राष्ट्रिय महिला आयोगका सदस्य विद्याकुमारी सिन्हाले समावेशी समानुपतिक अनुसार प्रत्येक तह र तप्कामा नियुक्ति हुनेगरी ऐन बनोस् भन्ने चाहना रहेको बताइन् छलफलमा सहभागी आयोगका अध्यक्ष र सदस्यहरूले आदिवासी जनजातिको अधिकार कटौति नगर्नका साथै समावेशी समानुपातिकको मर्म र भावनालाई समावेश गरेर ऐन ल्याउन सुझाव दिएका छन् ।

उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी

काठमाडौं । उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समयसीमा तय गरेको थियो । सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार तोकिएको समयभित्र चार जनाको उम्मेदवारी परेको हो । नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गरेकी छन् । यस्तै १० दलीय सत्तारुढ गठबन्धनकातर्फबाट जनता समाजवादी पार्टी नेपालका दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसपाको तर्फबाट रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले राष्ट्रपति पुरुष निर्वाचित भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने जनाएपछि दुई जनाको उम्मेदवारी परेको बताइएको छ । यस्तै जनमत पार्टीको तर्फबाट ममता झाको उम्मेदवारी परेको छ । आइतबारसम्म गठबन्धनले आधिकारिक उम्मेदवार तय गर्ने बताइएको छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै जनमत पार्टीका अध्यक्ष सिके राउतले सत्तागठबन्धनको तर्फबाट आइतबारसम्म साझा उम्मेदवार तय हुने बताए । आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । राष्ट्रपतिमा भने सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।

इलोन मस्कको कम्पनी नेपालमा स्याटलाइट इन्टरनेट सेवा दिन इच्छुक

एजेन्सी । संसारकै धनी व्यवसायी इलोन मस्कको कम्पनीले सन् २०२३मा नेपालमा स्याटलाइट (भूउपग्रहहरूको व्यापक सञ्जालबाट) इन्टरनेट सेवा उपलब्ध गराउने सम्बन्धमा आफ्ना जिज्ञासा राखेको बताइएको छ । पछिल्लो समयमा मस्कको कम्पनी स्पेस एक्सको वेबसाइटमा स्टारलिङ्कले इन्टरनेट सेवा आरम्भ गर्न चाहेको मुलुकहरूलाई सूचीकृत गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार स्पेस एक्सका अधिकारीहरूले अनलाइनमार्फत् अनौपचारिक रूपमा नेपालमा कसरी आउन सकिन्छ भन्ने विषयमा छलफल गरेका छन् । आफूसँग नेपालको लाइसेन्सिङ प्रकृयाका विषयमा कुराकानी भएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताएका छन् । स्पेस एक्सको वेबसाइटमा दक्षिण एशियाली मुलुकहरूमा नेपाल, भुटान, श्रीलङ्का अनि मालदिभ्समा यो वर्ष इन्टरनेट सेवा सुरु गरिने उल्लेख गरिएको छ। कम्पनीले स्याटेलाइट सेवाको बिस्तार विश्वव्यापी गर्ने तयारी गरिरहेको छ । नेपालमा सेवा सुरु गर्नका लागि स्टारलिङ्कका अधिकारीहरूलाई प्रक्रियाबारे जानकारी गराइएको खनालले बताएका छन् । तर सो कम्पनीले नेपालमा आधिकारिक रुपमा भने निवेदन दिइसकेको छैन् । स्टारलिंक र प्राधिकरणबीच भएको सुरुवाती कुराकानीका अनुसार सेवा सुरु गर्न स्टारलिङ्कका लागि नेपालको कानुनी प्रावधानबाधक बन्न सक्ने सम्भावना देखिएको छ। स्टारलिङ्कले पूर्ण स्वामित्व आफूले राखेर नेपाली बजारमा प्रवेश गर्न चाहेको छ । तर, दूरसञ्चार नीति २०६०ले दूरसञ्चार क्षेत्रमा वैदेशिक लगानी आकर्षण गर्ने भए पनि त्यस्तो लगानीमा न्यूनतम २० प्रतिशत स्वदेशी सहभागिता हुनुपर्ने व्यवस्था गरेको छ। इन्टरनेटमा कतिपय देशहरूले सत प्रतिशत विदेशी स्वामित्व स्वीकार गरिसकेको अवस्थामा सो कम्पनीले पनि लिखित रुपमा जानकारी गराए आवश्यक जानकारी दिन सक्ने अध्यक्ष खनालले बताएका छन् । बिबिसीबाट ।