बैंकको ब्याज एकल बिन्दुमा हुनु पर्नेमा सकारात्मक छु : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकको ब्याजदर एकल बिन्दुमा हुनु पर्नेमा आफु सकारात्मक भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहाललेआफुले यसअघि नै बैंकको ब्याजदर एकल अंकमा हुनु पर्ने धारणा राखेको बताउँदै सो अनुरुप निर्देशन पनि दिइसकेको बताएका छन् । यस्तै, उनले अर्थतन्त्रको सूचकहरुमा सुधार ल्याउने भन्नेतर्फ सरकारले ध्यान दिइरहेको बताए । उनले देशमा १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने वैदेशिक सञ्चिति रहेको भन्दै संकटमा रहेको अर्थतन्त्र सुधारतर्फ गइरहेको बताए । उनले भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने, निर्माण व्यवसायीहरुका बाँकी रहेका भुक्तानीहरु समयमै भुक्तान गर्ने तर्फपनि सरकारको ध्यान रहेको उल्लेख गरे । यस्तै, प्रधानमन्त्री दाहालले निर्माण व्यवसायीहरुले जिम्मा लिएका कामहरु जिम्मेवार र गम्भिर भएर काम गर्नुपर्ने बताए ।
आजदेखि तनहुँको विमलनगर–घाँसीकुवा खण्ड थप १५ दिन बन्द
दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको विमलनगर–घाँसीकुवा खण्ड आजदेखि थप १५ दिन बन्द हुने भएको छ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्ड १५ दिनसम्म दैनिक चार घण्टाका लागि बन्द गर्न लागिएको हो । उक्त खण्डमा यही फागुन १८ गतेदेखि राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिएकामा फेरी २८ गतेदेखि चैत १२ गतेसम्मका लागि सोही समय अवधिमा अत्यावश्यक सवारीसाधन बाहेक अन्य सवारीसाधन पूर्णरूपमा बन्द गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । उक्त खण्डमा काम जारी रहेकाले थप १५ दिन दैनिक चार घण्टा बाटो बन्द गर्न जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भएको उनले बताए । राजमार्ग बन्द नगरे सवारीसाधन सञ्चालन भइरहने र काम गर्न अप्ठ्यारो हुने भएकाले थप १५ दिन बाटो बन्द गर्न अनुरोध भएपछि प्रशासन कार्यालयबाट निर्णय भएको मुग्लिन पोखरा सडक योजना पूर्वीखण्डका प्रमुख इञ्जिनीयर नरेन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार बाटो बन्द गरेर रातको समयमा भीर काट्ने काम भइरहेको छ । उक्त सडक विस्तार योजनाअन्तर्गत तनहुँमा दुई खण्ड विभाजन गरिएकामा आँबुखैरेनीदेखि जामुनेसम्म एउटा खण्ड र जामुनेदेखि पोखरासम्म अर्को खण्डमा राजमार्ग विस्तारको काम भइरहेको छ । दुवै खण्डको हालसम्मको प्रगति १० प्रतिशत छ । पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको भौतिक प्रगति १५दशमलव पाँच प्रतिशत छ । उनका अनुसार यस खण्डमा नाली निर्माण, रिटेनिङ वाल निर्माण, भित्ता काट्ने र सडक फराकिलो बनाउने काम भइरहेको छ । विद्युत् पोल स्थानान्तरण नहुँदा काम सुस्त भएको इन्जिनियर सुवेदीले बताए । रासस
माग सम्बोधन नगरे राष्ट्र बैंक र संसद भवन घेर्ने व्यवसायीको चेतावनी
काठमाडौं । उद्योगी तथा व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध आन्दोलन गरेका छन् । आईतबार माईतीघर मण्डलामा भेला भएर विभिन्न व्यवासायी तथा उद्यागीहरुले आन्दोलन गरेका हुन् । आन्दोलनका क्रममा बोल्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले शान्तिपूर्ण आन्दोलन गर्दा सरकार र राष्ट्र बैंकले बेवास्ता गरेकाले अहिले पुनः आन्दोलन गर्नुपरेको बताए । उनले बैंक तथा वित्तीय संस्थाको उच्च दर आतंकाकाबिरुद्ध आफूहरुले आन्दोलन गरेको बताए । उनले सरकारले व्यवसायीहरुका माग सम्बोधन नगरे झनै विकराल अवस्था आउने र राष्ट्र बैंक र संसद भवन घेराउ गर्ने चेतावनी दिए । ‘हामीले केही दिनपछि नै वृहत आन्दोलन घोषणा गर्नेछौँ, उद्योगी व्यवसायीमाथि बैंकहरुले दादागिरी देखाइरहेका छन्, यो मुलुकको लागि राम्रो पक्ष होइन, सरकारको ध्यान जाओस्, राष्ट्र बैंकको ध्यान जाओस्, यो विकराल हुँदैछ, राष्ट्र बैंक र संसद भवन घेराउ कार्यक्रम हुनसक्छ,’ उनले भने । उनीहरुले मौद्रिक नीति परिमार्जन गर, ब्याज दरमा स्थिरता कायम गर, चालु पुँजी निर्देशिका स्थगित गर, ब्याजदर हामीलाई चर्को भयो, उच्च सेवा शुल्क बन्द गर लगायतका प्ले कार्ड बोकेर आन्दोलन गरेका थिए ।
८ प्रतिशतले बढ्यो मूल्यवृद्धि, पेय पदार्थको सबैभन्दा बढी
काठमाडौं । चालू आर्थिक वर्षको सात महिनाको अबधिमा ८ प्रतिशतले मूल्य बृद्धि बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत साउनदेखि माघ मसान्तसम्मको तथ्यांक अनुसार मूल्यबृद्धि ७.८८ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही महिनामा ६.२४ प्रतिशत मूल्यबृद्धि रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत रहेको छ । सात महिनाको अबधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.२४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.३९ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत, मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशत र मरमसलाको ८.०४ प्रतिशतले बढेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप समूहको मूल्य सूचकाङ्क १५.५८ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.७८ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ९.०० प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशतले बढेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ८.४७ प्रतिशत, तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ७.९२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ माघ महिनामा उक्त क्षेत्रहरुमा क्रमशः ५.४७ प्रतिशत, ६.५० प्रतिशत, ६.७१ प्रतिशत र ५.९७ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
शोधनान्तर स्थिति १ खर्ब ३३ अर्बले बचतमा, चालू खाता साढे २९ अर्बले घाटामा
काठमाडौं । चालू आर्थिक वर्षको माघ मसान्तसम्म शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२४७ अर्ब ३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको छ । यस्तै, समीक्षा अवधिमा चालु खाता रु.२९ अर्ब ६४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.४११ अर्ब ३४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ४५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ४६ लाखले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १५.२ प्रतिशतले कमी आई रु.५ अर्ब ३५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.६ अर्ब ३१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१६ अर्ब २९ करोड रहेको थियो ।
एक वर्षमा ६८० अंकले घट्यो नेप्से परिसूचक, डेढ खर्बको धितोपत्र सूचीकृत
काठमाडौं । पछिल्लो एक वर्षमा नेप्से परिसूचक ६७९.७ अंकले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ माघको तुलनामा २०७९ को माघसम्ममा परिसूचक सो अंक अर्थात ३२.०३ प्रतिशतले घटेको हो । २०७८ माघ मसान्तमा २८०१.६ बिन्दुमा रहेको नेप्से परिसूचक २०७९ माघ मसान्तमा २१२१.९ मा झरेको छ । परिसूचक घटेसँगै बजार पुँजीकरणमा पनि संकूचन आएको छ । २०७८ माघ मसान्तमा ३९ खर्ब ५९ अर्ब पुँजीकरण भएको बजारमा २०७९ माघ मसान्तमा ३० खर्ब ६१ अर्ब ९६ करोडमा घटेको छ । २०७९ माघमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या २४६ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ६३ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७८ माघमा सूचीकृत कम्पनीहरूको संख्या २२६ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६५.८ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा १२.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा १.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.२ प्रतिशत रहेको छ । नेप्सेमा २०७९ माघ मसान्तमा सूचीकृत ७ अर्ब ११ करोड सेयरको चुक्ता मूल्य ७ खर्ब १ अर्ब ६१ करोड रहेको छ । आर्थिक वर्ष २०७९/८० को सात महिनामा ३५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र, २८ अर्ब ४४ करोड रुपैयाँ बराबरको डिबेन्चर, ६४ अर्ब ७५ करोड रुपैयाँ बराबरको साधारण सेयर, १४ अर्ब ३२ करोड रुपैयाँ बराबरको बोनस सेयर, ४ अर्ब ४९ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र ३ अर्ब ६७ करोड रुपैयाँ बराबरको हकप्रद सेयर गरी कुल १ खर्ब ५० अर्ब ६८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ९ अर्ब २० करोड बराबरको डिबेन्चर, ७ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड, ४ अर्ब ५८ करोड रुपैयाँ बराबरको साधारण सेयर र ९५ करोड बराबरको हकप्रद सेयर गरी कुल २२ अर्ब ४८ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । रासस
मुस्ताङमा एक महिनामा १८ सय विदेशी पर्यटक भित्रिए
म्याग्दी । बसन्त ऋतुको आगमनसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । म्याग्दी हुँदै सडकमार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकको बेनी–जोमसोम सडकमा चाप बढेको हो । मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, जोमसोम, ढुम्वा ताल, ठिनी, लेतेलगायत ठाउँमा पर्यटकको घुइँचो लागेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालय प्रमुख अशोक सुवेदीले आन्तरिक पर्यटकको चाप बढेको र विदेशी पर्यटक पनि मुस्ताङ घुम्न आउन थालेको जानकारी दिए । ‘सडक र हवाईमार्ग भएर मुस्ताङ घुम्न आएका आन्तरिक पर्यटकका कारण चहलपहल बढेको छ, उनले भने, ‘थोराङ्ला, उपल्लो मुस्ताङ र जोमसोम आसपासका क्षेत्रमा पनि विदेशी पर्यटकको चहलपहल बढेको छ ।’ सन् २०२३ को मार्च महिनाभित्र ११ दिनको अवधिमा एक हजार आठ सय ४४ विदेशी पर्यटक मुस्ताङ भित्रिएका एक्पाप जोमसोम शाखाले जनाएको छ । अङ्ग्रेजी वर्ष २०२३ सुरु भएयता तीन हजार छ सय ६९ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । जनवरीमा एक सय ३१ र फेब्रअरीमा एक हजार छ सय ९९ पर्यटक आएका थिए । सन् २०२२ मा ४८ देशका ६५ हजार नौ सय ४० जनाले मुस्ताङ भ्रमण गरेकामा ४६ हजार सात सय २४ जना सार्क र १९ हजार दुई सय छ जना तेस्रो मुलुकका थिए । सार्क राष्ट्रका मध्ये धेरै पर्यटक भारतका हुन् । म्याग्दी भएर दैनिक ५० वटा बस र एक सय ५० जीप(पर्यटक सवारीसाधन)बाट मुस्ताङ भित्रने गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अनुकुल मौसम, सडक यातायात र होटलको सहजतासँगै मुस्ताङमा पर्यटकको आगमन बढेको होटल व्यवसायी सम्झना थकालीले बताइन् । विदेशीको तुलनामा स्वदेशी पर्यटक बढी छन् । आमा समूह, वन समूह, क्लब, सहकारी संस्था र शैक्षिक संस्थाबाट पनि समूह बनाएर भ्रमणमा आएका छन् । चीनको सिमानास्थित कोरला नाकासम्म सडक पुगेको छ । यातायातको सहज पहुँचसँगै यात्राको खर्च घटेको र समय छोटिएको छ । मुस्ताङ जाने र फर्कने पर्यटकको चाप बढेपछि म्याग्दीका व्यवसायीलाई पनि राहत मिलेको होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घका जिल्लाअध्यक्ष बाबुराम आचार्यले बताउनुभयो । बेनी, गलेश्वर, भुरुङ तातोपानी, पोखरेबगर, दाना क्षेत्रका होटल पाहुनाले भरिन थालेका छन् । रासस
पौने १४ खर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति, १० महिना बढीको आयात धान्ने
काठमाडौं । चालू आर्थिक वर्षको माघ मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १३.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको माघ मसान्त सम्मको तथ्यांक अनुसार २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.८ प्रतिशतले वृद्धि भई २०७९ माघ मसान्तमा रु.१३८३ अर्ब ३३ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ माघ मसान्तमा १०.२ प्रतिशतले वृद्धि भई १० अर्ब ५० करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ माघ मसान्तमा १६.२ प्रतिशतले वृद्धि भई रु.१२२८ अर्ब ५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०७९ माघ मसान्तमा २.६ प्रतिशतले कमी आई रु.१५५ अर्ब २८ करोड कायम भएको छ । २०७९ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९÷८० को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७९ माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २८.५ प्रतिशत, ७८.३ प्रतिशत र २४.० प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।