कृषि विकास बैंकले रोल्पामा सम्पन्न गर्यो वित्तिय साक्षरता कार्यक्रम
काठमाडौं । कृषि विकास बैंकले रोल्पाको गंगादेव गाँउपालिकाको मनिमारेमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले वित्तिय पहुँच बढाउने उदेश्यका साथ बैंकको प्रदेश कार्यालय दाङ शाखा कार्यालय रोल्पाको आयोजनामा गंगादेव गाउँपालिका वडा नं ३ मनिमारेमा कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रमको अध्यक्षता कृषि विकास बैंक, प्रदेश कार्यालयका निर्देशक राजेश कुमार श्रीवास्तवले गरेका थिए भने सञ्चालन शाखा कार्यालय रोल्पाका प्रबन्धक राज कुमार विश्वकर्माले गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तथा उक्त कार्यक्रमका प्रमुख प्रशिक्षक गोविन्द गुरुङले बैंकले कसरी बचत गर्ने, बचत गर्दा हुने फाईदा, बैंक खाताका प्रकारहरु, कसरी उद्यम शिलता विकास गर्ने, कृषि विकास बैंकले दिने विभिन्न सेवाहरु बारे जानकारी दिएका थिए । कार्यक्रममा वित्तिय साक्षरताको आवश्यकता एवं नेपालको आर्थिक तथा वित्तिय प्रणालीको बारेमा समेत प्रमुख कार्यकारी अधिकृत गुरुङले जानकारी दिएका थिए ।
एनआईसी एशिया बैंकको सेवा दुई दिनसम्म बन्द हुने
काठमाडौं । एनआईसी एशिया बैैंकको कार्डसम्बन्धी सम्पुर्ण कारोबार दुई दिन अवरुद्ध हुने भएको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै शुक्रबार राती देखि आइतबार राती १२ बजेसम्म बैंकको कार्डसम्बन्धी सम्पूर्ण कारोबार बन्द हुने जनाएको हो । ‘यस बैंकको कार्ड सेवा (डेबिट/क्रेडिट/प्रिपेड) को स्विच अपग्रेशन/माइग्रेशन गनुएपर्ने भएकोले शुक्रबार राती १२ बजेदेखि आइतबार राती १२ बजेसम्म कार्डबाट हुने सम्पूर्ण कारोबार तथा एटीएम/पीओएस मेसिनबाट हुने कारोबार अवरुद्ध हुने छ,’ बैंकद्वारा जारी गरिएकाे सूचनामा भनिएको छ । कार्ड सम्बन्धी सेवा अवरुद्ध हुने समयमा मोबाइल बैंकिङ तथा अन्य माध्यमबाट प्रवाह हुने सेवाहरु भने यथावत रुपमा सञ्चालन हुने बैंकले जनाएको छ ।
नेपाली बजारमा टिभीएसका इभी स्कुटर आउँदै, कति पर्ला मूल्य ?
काठमाडौं । टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा इभीका स्कुटर ल्याउने भएको छ । नेपाली सडकमा सुहाउँदो इभी स्कुटर ल्याउने तयारी कम्पनीले गरेको हो । टिभिएस मोटर कम्पनीद्वारा निर्मित टिभीएस आईक्यूब, टिभीएस आईक्यूब एस र टिभीएस आईक्यूब एसटी गरी तीन वटा मोडलका स्कुटरहरु ल्याउन लागेको हो । पहिलो चरणमा भने जगदम्बा मोटर्सले एउटा मोडलको स्कुटर ल्याउने योजना बनाएको छ । भारतीय बजारमा सो मोडलका इभी स्कुटर टिभिएस मोटर कम्पनीले लञ्च गरिसकेको छ । भारतीय बजारमा उक्त स्कुटर लञ्च भएपछि सो स्कुटरको प्रयोगकर्ताको संख्या पनि बढ्दै गएको छ । टीभीएसका स्वरुम इचार्ज किम्सन महर्जनका अनुसार टिभीएस आईक्यूब एस र टिभीएस आईक्यूब एसटी मध्ये एक सार्वजनिक गर्ने कम्पनीको योजना छ । जगदम्बा मोटर्सले टिभीएसका आईक्यूब स्कुटर ल्याइ टेस्ट राइड पनि गरेको थियो । कम्पनीले नेपालमा वैशाखको पहिलो सातामा लञ्च गर्न सक्ने पनि महर्जनले बताए । उनका अनुसार यकिन मिति भने तय भइसकेको छैन । । नेपालमा टिभीएसको इभी स्कुटर भित्रिएर लन्च भए अनुमानित ४ लाख रुपैयाँसम्म मूल्य पर्ने बताइएको छ । यस्तो छ विशेषता टिभीएस आईक्यूब टिभिएस मोटर कम्पनीका अनुसार टिभीएस आईक्यूब रातो, खैरो र सेतो गरी तीन वटा रङमा उपलब्ध छ । ३.०४ किलोवाटको विद्युतीय मोटर जडान भएको यस स्कुटरमा लिथियम आयन ब्याट्री छ । यो स्कुटरलाई एकपटक फूल चार्ज गरेपछि १०० किलोमिटरसम्मको यात्रा तय गर्न सकिन्छ । ७८ किलोमिटर प्रति घण्टा टप स्पिडमा कुदाउन सकिने यो स्कुटरको ११७.२ केजी वजन छ । टिभीएस आईक्यूब इभी स्कुटरको ग्राउन्ड क्लियरेन्स १५७, सिट उचाइ ७७० र व्हीलबेस १३०१ मिलिमिटर रहेको छ । यस्तै, पिक पावर ४.४ किलोवाट, रेटेड पावर ३ किलोवाट, पिक टर्क १४० एनएम र रेटेड टर्क ३३ एनएम छ । टिभीएस आईक्यूब एस टिभीएस आईक्यूब एस १०० किलोमिटर रेन्ज भएको इभी स्कुटर हो । यस स्कुटरको अधिकतम गति ७८ किलोमिटर प्रतिघण्टा रहेको छ भने ४ घण्टा ३० मिनेटमा यसको ब्याट्रीको फूल चार्ज हुन्छ । १५७ मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको यस इभी स्कुटरमा सिट उचाइ ७७० र व्हीलबेस १३०१ मिलिमिटर रहेको छ । कम्पनीका अनुसार टिभीएस आईक्यूब एस भेरियन्टको इभी स्कुटर ४ वटा कलरमा भारतीय बजारमा उपलब्ध छ । पिक पावर ४.४ र रेटेड पावर ३ किलोवाट छ । पिक टर्क १४० र रेटेड टर्क ३३ एनएम यस स्कुटरमा छ । लिथियम आयन ब्याट्री जडान भएको यस स्कुटर विशेषता टिभीएस आईक्यूब र टिभीएस आईक्यूब एस उस्तै छ । टिभीएस आईक्यूब एसटी टिभीएस आईक्यूब एसटी १४५ किलोमिटर रेन्ज दिने इभी स्कुटर हो । ८२ किलोमिटर प्रतिघण्टा रहेको यस इभी स्कुटर ४ वटा कलरमा उपलब्ध छन् । कम्पनीका अनुसार यस इभी स्कुटरमा पनि लिथियम आयन ब्याट्री जडान भएको छ । यस्तै, १५७ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, सिट उचाइ ७७० र व्हीलबेस १३० मिलिमिटर छ । टिभीएस आईक्यूब एसटी इभी स्कुटरको वजन १२८ केजी छ भने ग्राउन्ड क्लियरेन्स १५७ मिलिमिटर छ ।
बैंकको ब्याजदर मूल्य वृद्धिदर भन्दा माथि हुनुपर्छ : पूर्वमुख्यसचिव पौडेल
काठमाडौं । पूर्वमुख्यसचिव लिलामणि पौडेलले बैंकको ब्याजदर मूल्य वृद्धिदर भन्दा माथि हुनुपर्ने बताएका छन् । शुक्रबार नेकपा (एकीकृत समाजवादी) पार्टीको अर्थ विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन् । उनले निक्षेपको मूल्य वृद्धि ८ प्रतिशत रहेको भन्दै बैंकको ब्याजदर ८ प्रतिशतभन्दा माथि नभए निक्षेपकर्ताको पैसाको भ्यालु कम हुने बताए । बैंक खाता खोल्ने २ करोड बढी भएपनि कर्जा लिने १८ लाख मात्रै भएको भन्दै २ करोडलाई दोहन गरेर सिमित मानिसहरुलाई पोस्ने हो भने मुलुकको अर्थतन्त्र नचल्ने उनको भनाइ छ । ‘बैंकहरुको खर्च धेरै भएको छ, बैंकले आफ्नो भड्किलो खर्च कर्जाको ब्याजबाट उठाउने गरेका छन्,’ उनले भने । यस्तै, उनले बैंकहरुको ब्याजदरमा गरिने प्रतिष्पर्धा ऐनले निषेध गरेको बताए । ‘बैंकहरु मिलेर कर्जाको ब्याजदर फिक्स गर्नु कानूनी रुपमा अवैधानिक हो,’ उनले भने ।
गोरखामा साधना लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले ग्लोबल मनि विक–२०२३ को अवसरमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले प्लान्ट योर मनि, प्लान्ट योर फियुचर भन्ने मुल नाराको साथ गोरखा कलेजमा युवा लक्षित वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बैकिङ्ग क्षेत्र आजको आवश्यकता र समाज परिवर्तनमा यसको महत्वपुर्ण भुमिकाको बारेमा जानकारी गराईएको थियो । यसका साथै कार्यक्रममा वित्तिय अनुशासन, कर्जाको महत्व तथा कर्जा सदुपयोगिता, बचतको महत्व, बचत गर्ने तरिकाहरु, बीमा, रेमिटान्स र डिजिटल बैंकिङको प्रयोग तथा आवश्यक्ता बारेमा पनि जानकारी दिइएको थियो । कार्यक्रममा २०० जना विधार्थीहरुको सहभागी थियो ।
एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आम निर्वाचनमा एमाले एक्लैले कम्तीमा ५१ प्रतिशत बहुमत सिट जित्ने लक्ष्यका साथ पार्टीले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको बताएका छन् । झापामा सञ्चालन भइरहेको ‘मिसन ग्रासरुट’ अभियानको आज आयोजित मध्यावधि समीक्षा भेलालाई सम्बोधन गर्दै उनले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अनुशासित, विनम्र र साथी बनेर गाउँमा जान निर्देशन दिए । ‘आगामी चुनावमा एमाले एक्लैले बहुमत हासिल गर्ने उद्देश्य सफल बनाउन यो अभियान सुरु गरिएको हो’, उनले भने, ‘तपाईँहरू ग्रासरुट अभिायनमा कार्यकर्ताको घरआँगनमा पुग्दा तपाईँहरूको व्यवहार मालिकजस्तो होइन, साथीजस्तो हुनुपर्छ ।’ एमालेविरुद्ध केन्द्रमा १० दलीय गठबन्धन बनाए पनि आम जनता एमालेकै पक्षमा रहेको उनको दाबी थियो । अभियानले आन्तरिक पार्टी जीवनको अन्तरविरोधहरूको समाधान गर्दै एमालेलाई देशको सबैभन्दा बलियो, जनाधारयुक्त र अनुशासित राजनीतिक शक्तिका रूपमा स्थापित गराउने उनले बताए । उनले कोशी प्रदेशको नामाकरण कुनै पार्टी र जाति विशेषसँग नजोडिएको हुँदा यसको विरोध गरिरहेकाहरूलाई समेत एमालेका कार्यकर्ताले सम्झाउनुपर्ने बताए । ‘कोशी कुनै जाति र पार्टीको पेवा होइन, हामी सबैको सभ्यताको साझा उद्गमस्थल हो’, उनले कोशी प्रदेश नामकरणका लागि प्रदेशका मुख्यमन्त्री र सांसदलाई बधाई दिँदै भने, ‘कौशिक ऋषिका नामबाट प्रदेश बनाइयो भनेर पनि भ्रम छरिएको सुनिएको छ । तर एउटा व्यक्ति वा ऋषिको नाममा कोशी नदीको नाम रहेको कुरा सत्य होइन । मानिस उत्पन्न हुनुभन्दा पहिले कोशी उत्पन्न भएको थियो । कोशी एउटा महान् सभ्यता हो, प्रदेशमा बसोबास गर्ने सबै जाति, धर्म र समुदायको जीवनदायी साझा पहिचान हो ।’ एमाले अध्यक्ष ओलीले कुनै कमी–कमजोरी भए भने आफ्नो पनि आलोचना गर्न कार्यकर्तालाई आह्वान गरे । ‘मेरा पनि कमजोरी छन् आनीबानी र व्यवहारमा कुनै पनि कमजोरी देख्नुहुन्छ भने भन्नुहोस् भनेर आमसभाबाट आह्वान गर्न सक्ने एमाले अध्यक्षमात्रै हो’, उनले भने, ‘मलाई नजिकैबाट हेर साथीहरू, कुनै दाग धब्बा देखियो भने औँल्याउँ भन्न चाहन्छु ।’ गृहजिल्ला झापाको मिसन ग्रासरुट अभियान गत फागुन १० गते सुरु भएको थियो । जिल्लाका १५ पालिका र एक सय ३१ वटा वडा तहमा अभियान सञ्चालन भइरहेको एमाले झापाका अध्यक्ष दीपक कार्कीले जानकारी दिए । रासस
४ प्रतिस्पर्धीलाई पछार्दै अर्घाखाँचीका कुँवर बने आईजीपी, को हुन् उनी ?
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा बसन्त कुँवर बढुवा भएका छन् । शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीपीमा बढुवा गरेको हो । उनी अहिले अतिरिक्त महानिरीक्षक (एआईजी) थिए । विसं २०४९ चैत ११ मा प्रहरी सेवा प्रवेश गरेका हालका आईजीपी धिरजप्रताप सिंह ३० वर्षे सेवाअवधिका कारण शनिबारबाट अनिवार्य अवकाशमा जाने भएपछि रिक्त स्थानमा कुँवरको बढुवा भएको हो । आईजीपी बन्ने प्रतिस्पर्धामा कुँवरसहित एआईजीहरु टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य पनि थिए । तर, सरकारले वरीयतामा पहिलो नम्बरमा रहेका कुँवरलाई बढुवा गरेको हो । यससँगै विसं २००७ साल चैतमा स्थापना भएको प्रहरीमा उनी ३० औं आईजीपी बनेका हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर उनी इन्स्पेक्टर, डीएसपी र एसपी हुँदा विभिन्न जिल्लामा रहेर काम गरेका छन् । गुल्मी, सुनसरी, सिन्धुली, मोरङ, दाङ, रोल्पा, काठमाडौं, नवलपरासी, डोटी, चितवन, नुवाकोट, धादिङ, प्रहरी युक्ति तालिम महाविद्यालयलगायत युनिटमा रहेर काम गरिसकेका छन् । उनको घर अघाखाँची हो । उनले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो प्राथमिकता हुने बताएका छन् । उनले प्रहरीको मनोबल र छवि बढाउँदै सरकारको सुशासन र समृद्धिको यात्रामा सहयोगीको भूमिका खेल्ने बताएका छन् ।
बल्खु-कलंकी सडकको सर्भिस लेन किन भत्काइयो ?
काठमाडौं । पछिल्लो समय बल्खु-कलंकी सडकको सर्भिस लेन भत्काइएको भन्दै सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ । भर्खरै बनेको सडकको सर्भिस लेन किन भत्काइएको भन्दै प्रश्नहरू पनि उठिरहेका छन् । तर, डिभिजन सडक कार्यालयले भने सडकको स्तरोन्नतिका लागि उक्त सर्भिस लेन भत्काइएको जनाएको छ । कलंकी बल्खु सडक खण्डको सर्भिस लेनको १ किलोमिटर सडकखण्डमा कालोपत्रेमुनिको बेस फेलियर भइ कालोपत्रे सतह बिग्रिएको पाइएको जनाएको छ । डिभिजनका अनुसार त्यसमा एसफाल्ट ओभर मात्र गर्दा प्रभावकारी नहुने देखिएको हो । सडक विभागबाट नियुक्त परामर्शदाताले गरेको अध्ययन अनुसन्धानले पनि बिग्रिएको उक्त १ किलोमिटर सडकखण्डमा रिहाबिलिटेसन गर्नुपर्ने सिफारिस भएको डिभिजनले जानकारी दिएको छ । सोहीअनुसार परामर्शदाताले पेश गरेको डिजाइनअनुसार १५ सेन्टिमिटर बेस कोर्स र ६ सेन्टिमिटर आसफाल्ट कंक्रिट गर्ने गरी रिहाबिलिटेसन गर्ने सिलसिलामा उक्त कार्य भइरहेको डिभिजनले जानकारी दिएको छ ।