विकासन्युज

युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो नेतृत्वको सरकारले युवा र खेलाडीहरूलाई सबैभन्दा बढी महत्व दिएको बताएका छन् । शनिबार भरतपुरमा नेपाल कराते महासंघको ७ औँ प्रशिक्षक प्रशिक्षण तथा मास्टर्स् मिट्स् प्रतियोगिताको समारोहलाई बालुवाटारबाट भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्रीले खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कृत गर्ने, खेल क्षेत्रका कार्यक्रमहरू उपस्थित भएर सम्बोधन गर्ने गरेको बताए । प्रधानमन्त्रीले भने, “मैले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु, तीन महिनाको अवधिमा मैदानमै पुगेर खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कृत गर्ने, खेल क्षेत्रका कार्यक्रमहरू उपस्थित भएर सम्बोधन गर्ने र खेल क्षेत्रसँग सम्बन्धित पदाधिकारीहरूलाई बोलाएर खेल क्षेत्रको विकास, खेलाडीहरूको भविष्य निर्माण र भविष्य खेल क्षेत्रमा देशको उचाइ कसरी बढाउन सकिन्छ भन्नेबारे निरन्तर सम्वाद र अन्तरक्रिया गर्दै आइरहेको छु। यसबाट नै तपाईहरूलाई प्रष्ट हुन्छ– वर्तमान सरकार र यसको नेतृत्व युवाहरूको भविष्य निर्माणमा सबैभन्दा प्रतिवद्ध र इमानदार छ ।”

गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ । शुक्रबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा गठबन्धन नगरी एक्लै उम्मेदवारी दिने निर्णय भएको रास्वपा उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्यालले जानकारी दिए । यसैगरी उक्त बैठकले उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन प्रक्रिया सुरु गर्ने र तीन वटै क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णयसमेत गरेको छ । निर्वाचन परिचालन समितिका लागि तनहुँमा पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, चितवनमा उपसभापति अर्याल र बारामा गणेश कार्कीलाई संयोजक तोकिएको रास्वपाले जनाएको छ ।

आर्थिक मन्दीका कारण सुनसान बाँके बजार, सरकारले चासो नदेखाउँदा धराशायी व्यापार

फाइल फोटो काठमाडौं । बाँकेका मुख्य बजार नेपालगञ्ज र कोहलपुरको व्यापार कम हुन थालेको छ । बैंकहरुले व्यापारीमाथि लगाएको चर्को ब्याजका कारण बाँकेको मुख्य बजार नेपालगञ्ज र कोहलपुरको व्यापार व्यवसाय उत्साहजनक नभएको हो । कोरोनाले थलिएको नेपालगञ्जको व्यापार व्यवसाय फेरि बैंकहरुले व्यवसायीमाथि लगाएको चर्को ब्याज र खुला सीमानाका कारण न्युन हुँदै गएको हो । भारतीय बजार रुपैडिहासँग जोडिएको नेपालगञ्जको व्यापारले प्रतिष्पर्धा गर्न त धौधौ छ नै त्यसमा पनि हरेक सामग्रीको नेपाली मूल्य भन्दा भारतीय बजारको मूल्य केही कम भएका कारण नेपालगञ्जको व्यापार कम हुँदै गएको व्यापारीहरु बताउँछन् । आर्थिक संकट बढ्दै गएका बेला सरकारले चासो नदिएको व्यापारीहरुको आरोप छ । आर्थिक मन्दीमा पनि सरकारले आवश्य चासो नदेखाउँदा व्यापार धराशायी भएको व्यापारी सुनिल गुप्ताले बताए । उनले अनलाईन व्यापार र सरकारको नीतिकै कारण व्यापार न्युन हुँदै गएको भन्दै विगतका वर्षमा व्यापारको तुलनामा यो वर्ष व्यापार नभएपछि समय काट्न पनि समस्या भएको बताए । खुला सीमा र भारतीय बजारबाट क्यारिङ गरेर मालवस्तु नेपाल भित्र्याउने चलनले नेपालगञ्ज र कोहलपुरको व्यापारमा कमी आएको नेपालगञ्जकी महिला व्यवसायी माया खड्काले बताईन । उनले अहिलेसम्म धेरै नै घाटा भइसकेको भन्दै सिमानामा कडाई गर्नुपर्ने माग गरे । आर्थिक संकट बढ्दै जानु र व्यापारीहरुलाई एलसी सिस्टमबाट गएर सामान आयात गर्नुपर्ने झन्झटले गर्दा नेपालगञ्जको व्यापारको स्थिति निकै कमजोर हुँदै गएको उनीहरुको गुनासो छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले नेपालगञ्जको व्यापार व्यवसाय अत्यन्तै कम हुँदै गएको बताए । उनले नेपालगञ्जको व्यापार कम हुनुमा बैंकहरुले व्यवसायीहरुबाट चर्को ब्याज लिनु र विकास निमार्णका कार्यहरु ठप्प हुनु रहेको बताए । व्यापारीहरुले लिएको कर्जामा बैंकहरुले एक्कासी दोब्बरको हिसावले ब्याज नबढाएर सहुलियत दरमा ब्याज लागाइनुपर्ने र अनलाइन व्यापार खुला सिमानामा सरकारले कडाई गर्नुपर्ने व्यापारीहरुको माग छ ।

पौरखी किसान : भाडाको जग्गा, वार्षिक १ करोड कमाई

फाइल फोटो काठमाडौं । गरे के हुँदैन, इच्छाशक्ति र जाँगर भए सबै सम्भव छ । यही भनाइलाई चरितार्थ गरेका छन्, सुनसरीको भोक्राहाका जब्बासा मियाले । भनेजस्तो काम र कमाई नभएपछि खाडी मुलुकबाट फर्किएका जब्बासा यतिबेला भने आफैँ मालिक बनेका छन् । इनरुवा ८ मा १३ बिगाहा जमिन भाडामा लिएर एकल लगानीमा काम थालेका उनले तेस्रो वर्षमा खेती गरिरहेका छन् । जसले उनलाई करोडपति बनाइसकेको छ । मौसमी खेती गर्दै आएका उनले यतिबेला खेतमा काँक्रो र भान्टा फलाइरहेका छन् । भाडाको जग्गामा केरा खेतीसँगै विभिन्न सागशब्जीको उत्पादन बेच्न उनलाई भ्याईनभ्याई छ । उनले मासिक २० हजारसम्म तलव दिएर २० जना कामदारलाई रोजगारी समेत दिएका छन् । आफ्नो खेती र किसानी पेशामा दङ्ग उनी उब्जाउलाई बिस्तार गर्ने सोचमा छन् । विदेशमा भनेजस्तो नभएपछि फर्केर किसानी पेशामा लागेको बताउने जब्बासा वार्षिक १ करोड हाराहारीको आमदानी गर्ने गरेको बताउँछन् । जसबाट घरखेत जोड्दै गएको उनले बताए । ‘अर्काको अनुशासनमा बस्न र दुःख झेल्न किन विदेश जाने, आफ्नै माटोमा श्रम बगाए यहीँ छ सबकुच, परिवार, पैसा अनि शान्ति, केरा खेतीमा मनग्य आम्दानी छ, तरकारीमा खर्च कटाएर चार भागको तीन भाग आम्दानी गर्न सकिन्छ, कोही कसैले सिक्न चाहे आफूले जानेको सिकाउन सदैव तयार छु,’ उनले भने । जब्बासाले उत्पादन गरेको तरकारी अधिकांशजसो पूर्वका ठूला बजारमा पुग्ने गर्छ । तरपनि उनी स्थानीय बजारमा भारतीय व्यापारीको रजार्इंका कारण दुखी छन् । नेपाली उत्पादनले ठाउँ नै नपाउँदा आफू जस्ता किसान मार्कामा पर्ने गरेको उनको भनाई छ । उनले सरकारसँग साना किसानहरुलाई पिनि हेरिदिओस् भन्ने अपक्षा समेत राखेका छन् ।

देशमा साम्प्रदायिकताको कुनै स्थान छैन् : अध्यक्ष औली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा साम्प्रदायिकताको कुनै स्थान नभएको बताएका छन् । कुनै पनि समस्या समाधान नहुने भएकाले मुलुकमा साम्प्रदायिकताको नारा लगाउनुको कुनै अर्थ नरहेको ओलीको भनाई थियो । शनिबार काठमाडौंमा आयोजित पार्टी निकट जनवर्गीय संगठन रिटर्नी फेडेरेशन नेपालको प्रथम अधिवेशन उद्घाटन गर्दै उनले विदेशमा काम गरेर फर्केकाहरुले बनाएको संगठन रिटर्नी फेडेरेशनका नेतृत्वले उनीहरुको समस्या समाधानका लागि मिलेर काम गर्नुपर्ने बताए । विदेशमा बसेर फर्केकाहरुले केही ज्ञान, केही सिप, केही संकल्प र अठोट लिएर आएको हुने भन्दै अध्यक्ष ओलीले त्यसलाई मुलुक निर्माणको काममा लगाउनका लागि रिटर्नी फेडेरेशनको नेतृत्वलाई निर्देशन दिए । अध्यक्ष ओलीले नेपाल बसोबासको हिसावले स्वर्ग भएको उल्लेख गर्दै यहा केही गर्न सकिन्छ भन्ने भावनाका साथ विदेशबाट फर्किएकाहरुले काम गर्नुपर्ने बताए । अध्यक्ष ओलीले विदेशबाट फर्केकाहरुको समस्या समाधानका लागि सामूहिक प्रयासको आवश्यक्ता रहेको पनि औँल्याए ।

मुडुखु नाकाबाट ओखरपौवासम्म फोहोर बोक्ने गाडीलाई टाइमकार्ड

फाइल फोटो काठमाडौं । सहज र सुरक्षित यात्रा तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मुडुखु नाकाबाट तीनपिप्ले हुँदै ओखरपौवा चल्ने फोहोर बोक्ने गाडीलाई आजबाट (शनिबार) देखि टाइमकार्ड लागू गरिएको छ । दुर्घटनाको जोखिम हुने गरी तीव्रगतिमा सवारी साधन चलाउने गरेको र असुरक्षित महसुस भएको गुनासो स्थानीयबाट आए पश्चात काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिकाको संयुक्त पहलमा उक्त सडकखण्डमा फोहोर बोक्ने गाडीका लागि आजबाट टाइमकार्ड लागू गरिएको हो । मुड्खु नाकामा चालकलाई टाइमकार्ड दिइने र पालना भए नभएको तिनपिप्ले र ओखरपौवा चेकपोष्टबाट चाँज हुने जनाईएको छ । मुड्खुदेखि तीनपिप्लेसम्मको सडकखण्डमा प्रतिघण्टा ३० किलोमीटर र तीनपिप्लेदेखि ओखरपौवा चेकपोष्टसम्मको सडकखण्डमा प्रतिघण्टा २० किलोमीटर गति निर्धारण गरिएको छ । मुड्खुदेखी तीनपिप्लेसम्मको ५ किलोमीटर सडकखण्ड पार गर्न न्यूनतम १० मीनेट र तीनपिप्लेदेखि ओखरपौवासम्मको ८ किलोमीटर सडकखण्डमा न्यूततम २५ मीनेट समय निर्धारण गरिएको छ । तोकिएको स्थानमा निर्धारित समयभन्दा छिटो पुगेमा कारबाही गरिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । टाइमकार्डले आवागमन व्यवस्थापनको साथमा गन्तव्य स्थानमा छिटो पुग्नका लागि तीव्र गतिमा सवारी साधन चलाउने प्रवृत्तीलाई निरुत्साहित गर्नेछ । सहज र सुरक्षित यात्राको लागि टाइमकार्डका साथै ट्राफिक नियमको पूर्ण पालना गर्न चालकलाई अनुरोध गरिएको छ ।

बालबालिका र युवाहरुमा नैतिक शिक्षाको खाँचो छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले बालबालिका तथा युवाहरुलाई व्यवसायिक तथा नैतिक शिक्षाको खाँचो रहेको बताएका छन् । छैटौं एशिया प्रशान्त क्षेत्रिय म्यासेन्जर अफ पसि कार्यक्रमको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । सभामुख घिमिरेले संसारभर नै बालबालिका तथा युवाहरुलाई व्यवसायिक तथा नैतिक शिक्षाको खाँचो रहेको र यो खाँचोलाई स्काउटले पूर्ति गर्नसक्ने बताए । उनले सिमित मुलुकका राज्यले मात्रै स्काउटको क्षेत्रमा लगानी गरिरहेको भन्दै सबै मुलुकहरुले स्काउट क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । सभामुख घिमिरेले सुन्दर भविष्यको परिकल्पना गर्ने हो भने स्काउटको अभियानलाई सबैले सार्थक बनाउनुपर्नेमा जोड दिए । उनले स्काउटको अभियानमा नयाँ पुस्तालाई सानै उमेरदेखि सचेत गराउनु जरुरी रहेको बताए । सभामुख घिमिरेले स्काउटले विविध कार्यक्रम सञ्चालन गरी बालबालिकाहरुको सर्वपक्षीय विकासको लागि काम गरिरहेको भन्दै आगामी दिनमा यस्ता कार्यहरुलाइ झनै बढाएँदै लैजानुपर्ने बताए ।

अनधिकृत बस्ती हटाउन महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरले आज सूचना प्रकाशन गर्दै नदी बहाव, नदी उकास, नदी निकार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृतरुपमा कब्जा गरी भोगचलन गरिरहेका सबै सरोकारवालालाई संचरना हटाउन निर्देशन दिएको हो । महानगरले पटकपटक अवगत गराउँदा पनि नहटेका संरचनालाई प्रचलित कानुनबमोजिम हटाउने र हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित पक्षबाट असुल्ने सूचनामा उल्लेख गरेको छ ।