अन्नपूर्ण पदमार्गमा तीन महिनामा भित्रिय साढे दुई हजार पर्यटक
लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गमा तीन महिनामा दुई हजार चार सय ७५ विदेशी पर्यटक आएका छन् । सन् २०२३ को जनवरीदेखि हालसम्म सो सङ्ख्यामा विदेशी पर्यटक आएका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार यतिबेला दैनिक ४०÷५० जना पर्यटक आउने गरेका छन् । “यस पदमार्गमा यतिबेला कम कम नै पर्यटक आइरहेका छन्, विश्वमा देखा पर्दै गएको आर्थिकमन्दीका कारण हुनसक्छ”, गुरुङले भने । कोरोना सङ्क्रमणपछि विगतमा आएकोझै पर्यटक हालसम्म आएका छैनन् । पर्यटकको कमीले पदमार्गका पर्यटन व्यवसायी चिन्तित छन् । जुर्मुराउँदै गरेको पर्यटन व्यवसाय कोरोना सङ्क्रमणले लामो समय ठप्प भयो, सङ्क्रमण हटेयता विगतमा झै पर्यटक आउन नसकेको व्यवसायी पञ्चबहादुर गुरुङले बताए । हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा पर्यटक आउछन् । मनाङका विभिन्न हिमाल तथा चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङे चौतारा हो । यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी जिल्ला जोडिएको छ ।
कोशी प्रदेश नामाकरण विवाद घटनाको छानविन गर्न समिति गठन
काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको घटनाको छानविन गर्न सरकारले समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्डको’ आव्हानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानविन समिति गठन गर्ने निर्णय गरेको हो । कोशी प्रदेश नामाकरण विवादपछि देखिएको घटनाक्रमप्रति सरकार गम्भीर रहेकोे र चैत ५ गते भएको घटनाका सम्बन्धमा गृहमन्त्रालयले समिति गठन गरी तत्काल छानविन अघि बढाउने सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिईन । समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सम्बन्धत पक्षलाई संवादका लागि पनि आव्हान गरेको छ ।
आजको मौसम : चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौं । देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा आज मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीयसँगै पश्चिमी वायुको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत बागमती र कोसी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रही कोसी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।
प्रभु बैंकले कलेजका विद्यार्थीलाई दियो बैंकिङ प्रणाली बारे जानकारी
काठमाडौं । प्रभु बैंकले प्रसाद्धी कलेजमा कक्षा ११ मा अध्यनरत विद्यार्थीलाई बैंकिङ प्रणाली बारे जानकारी दिएको छ । बैंकले कलेजका विद्यार्थीलाई कको प्रधान कार्यालयमा दुई दिन बैंकिङ प्रणालीहरुबारे जानकारी दिएको हो । बैंकले १०० जना विद्यार्थीलाई प्रधान कार्यालय र बैंकबाट सञ्चालनरसम्पादन हुने विभिन्न क्रियाकलापहरुको अवलोकन गराएको थियो । यसक्रममा विभिन्न विभागिय प्रमुखहरुले उनीहरुलाई वित्तिय प्रणालीबारे थप जानकारी दिएका थिए । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न विद्यालयमा अध्ययन विद्यार्थीहलाई विद्यालय तहको बैंकिङ्ग व्यवहारिक ज्ञान प्रदान गरी बैंकिङ्ग क्षेत्रमा वित्तीय साक्षरता उपलब्ध गराउन जनाएको छ ।
गुगलले च्याटजिपिटीको प्रतिस्पर्धीको रुपमा ‘बार्ड’ ल्याउँदै
एजेन्सी । गुगलले ओपन एआईको अन्तरक्रियात्मक च्याटबोट च्याटजिपिटिको प्रतिस्पर्धीको रुपमा बार्डको विकास गरेको छ । गुगलले परीक्षणको समयमा सिमित प्रयोगकर्ताहरुको माझमा प्रयोगमा ल्याएको सो बार्ड बिस्तारै विश्वव्यापी प्रयोगकर्ताहरुबीचमा ल्याउने जनाएको छ । अहिले अमेरिका र बेलायतका निश्चित प्रयोगकर्ताहरूले मात्रै बार्डको प्रयोग गर्न सक्नेछन् । गुगलले धेरै भाषाहरुमा विश्वका अन्य देशमा पुग्न समय लाग्न सक्ने बताएको छ । गुगलका सीईओ सुन्दर पिचाईले मंगलबार आफ्ना कर्मचारीहरूलाई भने, ‘गुगलका ८० हजार कर्मचारीसँग बार्डको परीक्षण गरिसकेपछि पहिलो चरणका रूपमा अमेरिका र बेलायतमा जनतासँग परीक्षण गरिने छ, चीजहरू गलत हुन सक्छन्, तर उत्पादन र प्रविधि सुधार गर्न प्रयोगकर्ताको प्रतिक्रिया आवश्यक छ।’ एआईको संसारमा माइक्रोसफ्टको ठूलो लगानी भएको कम्पनी ओपेन एआईको च्याटजिपिटी अहिले सबैभन्दा अगाडि छ। च्याटजिपिटी गत वर्ष नोभेम्बर ३० मा लन्च गरिएको थियो र एक महिनामा यसले एक सय मिलियन प्रयोगकर्ताहरू पार गरेको थियो। च्याटजिपिटीले सूचना सङ्कलन गरेर नयाँ डाटा उत्पन्न गर्न जेनेरेटिभ एआई प्रविधि प्रयोग गर्दछ भने गुगलको च्याटबोट बार्ड लाम्डा (एलएएमडिए) को ठूलो भाषा मोडेलमा आधारित छ। बार्डले पनि च्याटजिपिटीले जस्तै मानिसका धेरै जिज्ञासाहरुको जवाफ दिनुका साथै निवन्ध लेख्न, खानाका वस्तुहरुहरु देखाएर त्यसको परिकार बनाउन लगायत थुप्रै कामहरुमा मानिसलाई सहयोग गर्नसक्ने जनाइएको छ । तपाईं च्याटजिपिटीमा कुनै पनि प्रश्न सोध्न सक्नुहुन्छ। इमेल लेख्ने देखि बायोग्राफी बनाउन यसलाई प्रयोग गर्न सकिन्छ । च्याटजिपिटीले तपाईंको भिडियो कसरी भाइरल बनाउने भनेर समेत जवाफ दिन्छ। च्याटजिपिटी तपाइँलाई तपाइँको श्रीमतीलाई के उपहार दिने भन्ने बारेमा पनि सल्लाह दिन्छ । उदाहरण को लागी यदि एक विद्यार्थीले लोकतन्त्र मा एक निबन्ध लेख्नु छ भने च्याटजिपिटीले तुरुन्तै सो विषयको निवन्ध तयार पारिदिन्छ । च्याटजिपिटीले लामो उत्तरहरूको सट्टा छोटो र सटीक शब्दहरूमा पूर्ण जानकारी दिन्छ। यद्यपि यसले अनुपयुक्त अनुरोधहरू अस्वीकार गर्न सक्छ। ताकि यसलाई गैरकानूनी चीजहरूमा प्रयोग गर्न नपरोस्। जस्तै कुकर बम कसरी बनाउने ? यस्तो प्रश्न सोध्दा च्याटजिपिटीले सो विषय अवैध भएको र यसको जानकारी गराउन नसकिने जानकारी गराउँछ । गुगलले केही समयअगाडि टेलिस्कोपको विषयमा गलत जानकारी दिएपछि गुगलको मार्केट भ्यालुमा एक सय बिलियन घट्न पुगेको थियो । त्यसैले गुगलले बार्डलाई आगामी दिनमा धेरै परीक्षण र परिस्कृत पक्रियाद्वारा अगाडि बढाउने प्रयत्न गरेको छ ।
नेपाली स्कूटरको मूल्य एक लाख बढाउन विदेशी स्कूटरको दवाव
काठमाडौं । नेपालमै उत्पादन हुने तयारीमा रहेको विद्युतीय स्कूटर ग्रन्थको मूल्य बढाउन विदेशी उत्पादक तथा तिनका वितरकले दवाव दिएका छन् । नेपाली बजारमा रहेका विदेशमा उत्पादिन स्कूटर कम्पनीहरूले ग्रन्थ ईभीको मूल्य कम भएको र त्यसलाई बढाउन दबाब दिएका उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुजन ढुंगेलले बताएका छन् । अन्य भन्दा सस्तो मूल्यमा गुणस्तरीय विद्युतीय स्कूटर उत्पादन गर्ने तयारीमा रहेको ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि वैशाखदेखि ग्रन्थ ईभी नेपालमै उत्पादन गर्ने गरी काम अगाडि बढाएको छ । तर काम अन्तिम चरणमा पुग्दा स्कूटरको मूल्य बढाउन ठूला कम्पनीले नै दबाब दिन थालेको ढुंगेलले जानकारी दिए । ग्रन्थ ईभीले साढे २ लाखदेखि ३ लाख रूपैयाँमा उच्चस्तरीय सुविधासहितको विद्युतीय स्टकुर प्रदान गर्ने जनाएको छ । ‘साढे २ लाखदेखि ३ लाख रूपैयाँमा विद्युतीय स्टकुटर दिने तयारी गरेका छौं,’ कम्पनीले विज्ञप्तीमा भनेको छ, ‘तर बजारमा उपलब्ध अन्य स्कूटर बिक्री गर्ने कम्पनीले आफ्नो जत्तिकै मूल्य राख्न दबाब दिएका छन् ।’ यसरी दवाव दिन कम्पनीहरूकाे नाम भने ग्रन्थ इभीले उल्लेख गरेकाे छैन । यदी आफ्नो स्कूटरहरूको मूल्य अनुसार ग्रन्थ ईभीको मूल्य नराखे उद्योगमा गार्हो हुने भन्दै घुमाउरो पारामा घम्की दिइरहेको ढुंगेलले बताए । विशेष गरी बैंकमा सञ्चालक रहेका व्यक्तिको स्कूटर कम्पनीबाटै दबाब आएको छ । बजारमा उपलब्ध अन्य स्कूटर भन्दा ग्रन्थ ईभी १ लाख सस्तो रहेको कम्पनीको भनाइ छ । यस्तो छ ग्रन्थ ईभीको स्कूटरको विशेषता ग्रन्थले बनाउने विद्युतीय स्कूटरमा साइड ड्राइभ मोटर प्रयोग गरिएको छ । यो मोटरका कारण उकालो ओरालोमा स्कूटर सजिलै गुडाउन सकिन्छ । राम्रो र पावरफुल परपर्मेन्स पनि हुन्छ । पर्मानेन्ट म्यागनेट सिङ्क्रोनाइजेसन मोटर प्रविधिमा आधारित साइड ड्राइभ मोटर प्रविधि टेस्लाले समेत प्रयोग गर्ने गरेको ढुंगलले बताउँछन् । अरू स्कूटरमा सामान्यतया हब मोटर प्रयोग गरिएको हुन्छ । यो प्लेन एरिया गुड्न सजिलो सक्छ तर उकालो, ओरालोमा राम्रोसँग गुड्न सक्दैन् । कम्पनीको स्कूटरमा लिथिमय आइरन फस्पेट ब्याट्रि प्रयोग गरिएको छ । यो ब्याट्रीले रेञ्ज बढी दिन्छ । ब्याट्री र मोटरमा ३ वर्ष वारेन्टी पाइने छ । ४ देखि साढे ४ घण्टामा उक्त स्कूटर फुल चार्ज हुनेछ भने अधिकतम रेञ्ज ११० किलोमिटर दिनेछ । यसमा ब्याट्री ब्रेक रिजेनेरेटेड सिस्टम प्रयोग गरिएको छ । यसले गर्दा ब्रेक हान्दा खर्च भएको शक्तिले फेरि ब्याट्रीमा आएर रिचार्ज हुन्छ, जसले गर्दा रेञ्ज बढी दिनेछ । स्कूटरमा फास्ट चार्जर प्रविधि पनि राखिएको छ ।
प्रभु क्यापिटलले विद्यार्थीलाई दियो सेयर बजार बारे तालिम
काठमाडौं । प्रभु क्यापिटलले मैतिदेवीस्थित यूनिभर्सल कलेजका बिबिएमा अध्ययनरत विद्यार्थीलाई सेयर बजार सम्बन्धी तालिम दिएको छ । क्यापिटलले विश्व लगानीकर्ता सप्ताह–२०२३ का अवसरमा पूँजी बजार सम्बन्धमा युवा केन्द्रित वित्तीय चेतनामूलक कार्यक्रम गर्ने उद्धेश्यले सेयर बजार सम्बन्धी तालिम दिएको हो । कलेजका ५० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता भएको उक्त तालिम कार्यक्रममा प्रभु क्यापिटलका योजना व्यवस्थापक सौगात पन्तले विद्यार्थीहरुलाई सेयर बजार, प्राथमिक तथा दोस्रो बजारसम्बन्धी आधारभूत कुराहरु, सेयर बजारमा दीर्घकालीन तथा अल्पकालीन लगानी गर्दा पाइने प्रतिफल सम्बन्धी विषयहरुमा तालिम दिएका थिए । प्रभु क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजी बजारसंग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता थिएन : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताएका छन् । शुक्रबार पार्टीको अर्थ–योजना विभागले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्था र समाधानका उपायहरु विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष नेपालले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताएका हुन् । ‘यी दुई विमानस्थलमा अर्बौं रुपैयाँ लगानी भएपनि प्रतिफल आएको छैन, सो पैसा अर्को क्षेत्रमा लगानी गरेको भए त्यसको प्रतिफल आउँथ्यो,’ उनले भने । ‘उदाहरणका लागि निजगढमा विमानस्थल बनाएको भए निजगढको विमानस्थलले हाम्रो आवश्यकता पूर्ति गर्ने थियो, अहिले त्यहाँ हवाइजहाज छैन ल्याण्ड गर्नका लागि, उड्नका लागि यात्रु छैन झर्नका लागि,’ उनले थपे ।