नेपाल एसबिआई बैंकका ग्राहकलाई सिता प्यालेस होटल र होलिडेमा छुट
काठमाडौं । नेपाल एसबिआई बैंकले सर्लाहीको सिता प्यालेस होटल र सिता प्यालेस होलिडेसँग सम्झौता गरेको छ । यस सम्झौतासँगै बैंकका ग्राहकले सिता प्यालेस होटल र सिता प्यालेस होलिडेको विभिन्न सेवामा छुट पाउनेछन् । उक्त सम्झौता बैंकका मधेश प्रदेश प्रमूख, लेखनाथ पोख्रेल तथा सिता प्यालेस होटल तथा सिता प्यालेस होलिडे इनका प्रबन्ध निर्देशक विनोद प्रसाद मैनालीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले भुक्तानी गर्दा कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा छुट प्राप्त गर्न सक्नेछन् ।
सिएनआईले युवा उद्यमशीलता प्रवर्द्धन गर्न भारतसँग सहकार्य गर्ने
काठमाडौं । युवा उद्यमशीलता प्रवद्र्धनका लागि नेपालका युवा उद्यमी र भारतीय युवा उद्यमी मञ्चबीच सहकार्य गर्ने समझदारी भएको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च र फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रि युवा नेतृत्व मञ्चबीच युवा उद्यमीहरुको नवीन सोंचको प्रवर्द्धन, प्रोत्साहन एवं उद्यमशीलता विकासमा सहकार्य गर्ने समझदारी भएको हो । हालै भारतको नयाँ दिल्ली भएको फिकी ग्लोबल लिडर समिटमा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च र फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रि युवा नेतृत्व मञ्चबीच उक्त समझदारी भएको छ । समझदारी पत्रमा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च अध्यक्ष प्राची अग्रवाल र फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रि युवा नेतृत्व मञ्च शाश्वत गोयन्काले हस्ताक्षर गरेका छन् । यस समझादारी अनुसार दुई देशका युवा नेतृत्व, युवा उद्यमीहरुबीच विभिन्न समयमा छलफल, अन्तरक्रिया गर्ने, भ्रमण गर्ने, युवा उद्यमीहरुलाई प्रोत्साहन लगायतका कार्यक्रम गरिनेछ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च नेपाल उद्योग परिसंघले युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न गठन गरेको युवा उद्यमी मञ्च हो । यस्तै फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रि योग लिडर फोरम भारतको युवा नेतृत्व मञ्च हो । सन् २००५ अगष्ट १५ मा गठित सिएनआईवाइईएफको नेतृत्वमा हालै काठमाडौंमा स्टार्टअप फेस्टको आयोजना भएको थियो भने इन्क्यूभेसन सेन्टर स्थापनालगायतका काम भईरहेका छन् ।
योग शिक्षाबारे जनचेतना आवश्यक छ : मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री एवं मनमोहन प्राविधिक विश्वविद्यालय बुढीगङ्गाका कुलपति हिक्मतकुमार कार्कीले योग शिक्षाबारे जनतामा चेतना जागृत गराउनुपर्ने बताएका छन् । मनमोहन प्राविधिक विश्वविद्यालय बुढीगङ्गाद्वारा आज विराटनगरमा आयोजित स्वास्थ्य नीति तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले आहार, विहार र योगले मानव जीवनमा सकारात्मक प्रभाव पारी स्वस्थ जीवनयापन गर्न सकिने धारणा राखे । मुख्यमन्त्री कार्कीले आजका युवापुस्तालाई योग र आहारका सम्बन्धमा ज्ञान प्रदान गर्नु अस्पताल निर्माण गर्नुभन्दा उपलब्धिमूलक हुने बताए । उनले प्राविधिक विश्वविद्यालयले योग शिक्षा अध्यापन तथा यहाँबाट उत्पादन हुने जनशक्ति बजारमा जोड्ने विषयमा बृहत् छलफल एवं अध्ययन गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री कार्कीले योग शिक्षाबाट नागरिक स्वस्थ्य भएमा मात्र देश विकासमा सघाउ पुग्ने विचार राखे । उनले प्रदेश सरकार नागरिकलाई स्वस्थ्य राख्नका लागि प्राकृतिक चिकित्सा तथा योग विज्ञानका माध्यमबाट अध्ययन–अध्यापन गराउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । विश्वविद्यालयका उपकुलपति सुभाषश्री पोखरेलले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमा रोजगारीको अवसर सृजना गर्नुपर्ने बताइन् । प्रदेशका पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरेले मुलुकमा आवश्यक प्राविधिकतर्फको जनशक्ति उत्पादनमा विश्वविद्यालयले थप अनुसन्धान गर्नुपर्ने सुझाव दिए । सो अवसरमा डा जनक बस्नेतले प्राकृतिक चिकित्सा तथा योग विज्ञान, डा दीपेन्द्र श्रेष्ठले अस्पतालमा आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादन गर्ने उच्च शिक्षाको शैक्षिक पाठ्यक्रम निर्माणसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । रासस
आरएमडीसी लघुवित्तको २७ प्रतिशत लाभांशसँगै मर्जरसम्बन्धी विशेष प्रस्ताव पारित
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २७.३६ प्रतिशत लाभांश पारित भएको छ । संस्थाको शुक्रबार सम्पन्न भएको २४ औं वार्षिक साधारण सभाबाट लाभांश पारित भएको हो । लघुवित्तको संचालक समितिको गत वर्षको नाफाबाछ सेयरधनीलाई २६ प्रतिशत बोनस सेयर र १.३६४ प्रतिशत नगद लाभांश यस्तै, उक्त सभाले संचालक समितिका अध्यक्ष सुजाता जोशीले प्रस्तुत गरेको आ.व. २०७८/०७९ कोे वार्षिक प्रतिवेदन सहित आ.व. २०७८/०७९ को वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरण स्वीकृत गरेको छ । अध्यक्ष जोशीले आ.व.२०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संस्थाको ३१५ वटा साझेदार संस्थासँग कर्जा लगानीमा बाँकी ११ अर्ब ८४ करोड रहेको बताइन् । उक्त सभाले आरएमडीसी लघुवित्त वित्तीय संस्था र साना किसान लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । जस अनुसार आरएमडीसीको १०० कित्ता सेयर बराबर मर्जपछि बन्ने संस्थाको ८७ कित्ता सेयर प्राप्त हुने गरी सेयर आदान प्रदान अनुपात (१००ः८७) कायम गर्ने समेत सभाले स्वीकृत गरेको छ ।
छिमेक लघुवित्तको २५ प्रतिशत लाभांश पारित
काठमाडौं । छिमेक लघुवित्तको संचालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको छ । लघुवित्तको २१ औं साधारण सभाले समितिले प्रस्ताव गरेको २५.२६ प्रतिशत लाभांश पारित गरेको थियो । समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई २२ प्रतिनशत बोनस सेयर ३.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । संस्थाले हाल ६९ जिल्लामा १९५ वटा शाखामार्फत ४ लाख २९ हजार १७३ जनालाई सेवा दिँदै आएको छ । २०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०७८/७९ मा ९४ करोड ७२ लाख २२ हजार ७३ रुपैयाँ ६४ पैसा खुद मुनाफा आर्जन गर्न सफल भएको छ । त्यसैगरी, यस वित्तीय संस्थाको अधिकृत पूँजी २ अर्ब ५० करोडबाट वृद्धि गरी ३ अर्ब ७५ करोड पुऱ्याउने निर्णय समेत साधारण सभाले गरेको छ ।
नेपालमा २ लाख घरपरिवारले कार चलाउँछन्, घरजग्गा पुरुषको नाममा बढी
काठमाडौं । नेपालमा भएका कुल ६६ लाख ६६ हजार बढी घरपरिवारमध्ये २ लाख परिवारले मात्रै कार प्रयोग गर्ने तथ्यांक सार्वजनिक भएको छ । केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ को राष्ट्रि«य जनगणनाका अनुसार २ लाख ४ हजार ९९० घरपरिवारले मात्रै कार/जीप तथा भ्यान प्रयोग गर्ने देखिएको हो । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नगरपालिकाका १ लाख ८१ हजार ३१५ र गाउँपालिकाका २३ हजार ६७५ घरपरिवारले कार प्रयोग गर्ने देखिएको हो । ३.१ प्रतिशत घर परिवारमा मात्रै कार/जीप र भ्यान छ भएको तथ्यांकले देखाएको छ । जनगणनामा देशका हरेक परिवारमा भएका साधन तथा सेवा सुविधाहरुका विवरण संकलनगर्न रेडियो सुविधा, टेलिभिजन, ल्याण्डलाइन टेलिफोन, मोबाइल फोन (साधारण), स्मार्ट मोबाइल फोन, कम्प्युटर/ल्यापटप, इन्टरनेट सुविधा, कार/जीप/भ्यान, मोटरसाइकल/स्कुटर, साइकल, विद्युतीय पंखा, रेफ्रिजरेटर, वासिब मेशिन, एयर कन्डिसनर लगायत १४ वटा छनोट विकल्पहरु सहितको प्रश्न सोधिएको तथ्यांकमा उल्लेख छ । प्राप्त नतिजाअनुसार ३.९ प्रतिशत परिवारहरुमा उल्लिखित कुनै पनि साधन/सुविधाहरु उपलव्ध नभएको उल्लेख छ भने ९६.१ प्रतिशत परिवारमा कम्तिमा एक किसिमको साधन/सुविधा उपलब्ध भएको पाइएको छ । यस नतिजाअनुसार ४९.४ प्रतिशतमा टेलिभिजन, ३७.८ प्रतिशतमा इन्टरनेट सुविधा, ३५.२ प्रतिशतमा साइकल उपलव्ध रहेको देखिन्छ । यसैगरी नगरपालिका क्षेत्रमा कुनै पनि साधारण सुविधा उपलव्ध नभएको परिवार केवल २.८ प्रतिशत रहेको देखिन्छ भने गाउँपालिका क्षेत्रमा कुनै पनि साधारण सुविधा उपलव्ध नभएको परिवार ६.० प्रतिशत रहेको देखिन्छ । यस्तै, कुल परिवारको ११.८ प्रतिशत परिवारमा महिलाको नाममा घर र जग्गा दुवै रहेको देखिएको छ । महिलाको नाममा जग्गा मात्र भएका परिवार ९.७ प्रतिशत र घर मात्र भएका परिवार २.३ प्रतिशत रहेका छन् । समग्रमा २३.८ प्रतिशत परिवारहरुमा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुबै रहेको देखिन्छ । गत २०६८ सालको जनगणनामा देशका कुल परिवारको १०.७ प्रतिशत परिवारहरुमा महिलाको नाममा घर र जग्गा दुवै रहेको देखिएको थियो भने महिलाको नाममा जग्गा मात्र भएका परिवारहरु ९.० प्रतिशत रहेको थियो । प्रदेशगत रुपमा हेर्दा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुबै रहेका परिवारको संख्या प्रदेश १ मा २८.५ प्रतिशत, गण्डकी प्रदेशमा २८.३ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ११.८ प्रतिशत रहेको देखिन्छ । नेपालभर घरजग्गा नहुने परिवारको संख्या ७४.६ प्रतिशत अर्थात ४९ लाख ६६ हजार ५४८ देखिएको तथ्यांकमा उल्लेख छ । तथ्यांकमा उल्लेख भए अनुसार नेपालमा नेपालमा महिलाको नाममा घर मात्रै भएका १ लाख ५६ हजार, जग्गा मात्रै भएका ६ लाख ४३ हजार, घरजग्गा दुवै भएका ७ लाख ८८ हजार र १ लाख घर परिवारले कुनै पनि तथ्यांक समावेश नगरेको उल्लेख छ । कुल ६६ लाख घर परिवार मध्ये करिब ५० लाख परिवारको घरजग्गा नेपालमा महिलाको नाममा छैन । यसले पनि महिनाको नाममाभन्दा पुरुषको नाममा बढी घरजग्गा रहेको देखिन्छ ।
नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु
काठमाडौं । नेपाल फाइभ पी प्रदर्शनी आजदेखि सुरु भएको छ । मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टसको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु भएको तेस्रो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गरे । काठमाडौँको भृकुटी मण्डपमा सुरु भएको प्रदर्शनीमा नेपालभरका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ् र प्रोसेसिङसंग सरोकार राख्ने उद्योगी व्यवसायीलगायत सहभागी छन् । नेपालभरका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ् र प्रोसेसिङसँग सरोकार राख्ने व्यापारी व्यवसायी तथा सरोकारवाललाई एकै ठाउँमा ल्याएर व्यापार साझेदारी गर्दै नवीनतम प्रविधि प्रदर्शनका लागि प्रदर्शनी उपयोगी हुने आयोजकको अपेक्षा छ । प्लास्टिक प्रोसेससङ मिसनरीका उत्पादनहरू, स्क्रिन प्रिन्टिङ, इन्डक्सन मोलिङ मसिन, प्रिन्टिङ मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी प्रदर्शनीमा राखिएको छ । त्यस्तै प्रदर्शनीमा सबै खाले कागज र स्पेर पार्टस्, प्याकेजिङ मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरूले उत्पादन गरेका सामग्रीहरू समेत अवलोकन तथा आवश्यकता अनुसार खरिद तथा प्रयोग सम्बन्धी ज्ञान लिन सकिने आयोजकले जनाएको छ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १५० भन्दा बढी स्टल राखिएको छ । प्रदर्शनी अवलोकन गर्न चाहनेले निःशुल्क प्रवेश पाउने आयोजकले जनाएको छ ।
उन्नति सहकार्य लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार लघुवित्तको लघुवित्तको हरैया शाखाका सदस्यहरुलाई उक्त संस्थाले वित्तीय साक्षरता सम्पन्न गरेको हो । विश्वव्यापी वित्तीय सप्ताहलाई भव्य रुपमा मनाउने क्रममा मार्च २० देखी मार्च २६ सम्म युवा लक्षीत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने अभियान अन्तर्गत वित्तीय साक्षरता सञ्चालन गरीएको शाखा प्रमुख उपेन्द्र न्यौपानेले जानकारी दिए । उक्त कार्यक्रममा संस्थाका विभागीय प्रमुख अर्जुन लम्सालले प्रशीक्षण दिएका थिए । उनले वित्तिय ज्ञान, सिप र कर्जा सदुपयोगिता साना तथा लघु व्यवसाहिक धारणाको विकास घरेलु उत्पादित वस्तुको बजार व्यवस्थापन सदस्यको नगद प्रवाह र कर्जा सिमाको तालमेल महिला सशक्तीकरण र विश्वव्यापी रुपमा फैलिएको आर्थिक मन्दी र यसबाट जोगिने उपाय आदिको विषयमा जानकारी दिएका थिए । भैरहवामा केन्द्रय कार्यालय रहेको उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैकबाट घ वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको संस्था हो । संस्थाले देशभर ८२ शाखा मार्फत करिब ८० हजार घर परिवारलाई वित्तीय सेवा प्रदान गर्दे आइरहे को छ ।