काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा बसन्त कुँवर बढुवा भएका छन् । शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीपीमा बढुवा गरेको हो । उनी अहिले अतिरिक्त महानिरीक्षक (एआईजी) थिए ।
विसं २०४९ चैत ११ मा प्रहरी सेवा प्रवेश गरेका हालका आईजीपी धिरजप्रताप सिंह ३० वर्षे सेवाअवधिका कारण शनिबारबाट अनिवार्य अवकाशमा जाने भएपछि रिक्त स्थानमा कुँवरको बढुवा भएको हो ।
आईजीपी बन्ने प्रतिस्पर्धामा कुँवरसहित एआईजीहरु टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य पनि थिए । तर, सरकारले वरीयतामा पहिलो नम्बरमा रहेका कुँवरलाई बढुवा गरेको हो । यससँगै विसं २००७ साल चैतमा स्थापना भएको प्रहरीमा उनी ३० औं आईजीपी बनेका हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर उनी इन्स्पेक्टर, डीएसपी र एसपी हुँदा विभिन्न जिल्लामा रहेर काम गरेका छन् । गुल्मी, सुनसरी, सिन्धुली, मोरङ, दाङ, रोल्पा, काठमाडौं, नवलपरासी, डोटी, चितवन, नुवाकोट, धादिङ, प्रहरी युक्ति तालिम महाविद्यालयलगायत युनिटमा रहेर काम गरिसकेका छन् । उनको घर अघाखाँची हो ।
उनले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो प्राथमिकता हुने बताएका छन् । उनले प्रहरीको मनोबल र छवि बढाउँदै सरकारको सुशासन र समृद्धिको यात्रामा सहयोगीको भूमिका खेल्ने बताएका छन् ।