पोखरा एयरपोर्ट परिसरमा ५ वटा एटिएम मेसिन जडान गरिने
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थ परिसरमा एटिएम मेसिन जडान गरिने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय परिसरमा ५ वटा एटिएम मेसिन जडान गरिने भएको हो । आइतबार एक सूचना प्रकाशन गरी एटिएम मेसिन जडानका लागि वाणिज्य बैंकहरुलाई बोलपत्र पेश गर्न आग्रह गरेको छ । विमानस्थलको टर्मिनल भवनको आन्तरिक तर्फको बाहिर पट्टिको स्थानमा ५ वटा बैंकको एटिएमबाट सेवा दिइने भएको हो । प्रति एटिएम ५ वर्षको लागि २ लाख ८८ हजार रुपैयाँमा राख्न मिल्ने जनाएको छ । इच्छुक बैंकले सो भन्दा बढी कवोल गरी १५ दिन भित्र बोलपत्र पेश गर्न सक्नेछन् ।
कृषि सामग्री कम्पनीले ४० हजार जुट बोरा खरिद गर्ने
काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले जुटका बोरा खरिद गर्ने भएको छ । कम्पनीले ४० के.जी. क्षमताका जुट बोरा खरिद गर्ने भएको हो । बीउ विजन कस्ती गर्न निर्धारित ढाँचा अनुसार ४० के.जी. क्षमताको जुट बोरा ४० हजार थान खरिद गर्ने कम्पनीले जनाएको छ । उक्त जुट बोरा खरिद गर्न कम्पनीले बोलपत्र आह्वान गरेको हो । उत्पादक फर्म, ईच्छुक सप्लायर्स, व्यक्तिले १५ दिनभित्र गोप्य शिलबन्दी पेश गर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीको प्रधान कार्यालयको अतिरिक्त विराटनगर, बिरगंज र भैरहवा कार्यालयबाट ३ हजार रुपैयाँ तिरी बोलपत्र फाराम खरिद गर्न सकिनेछ । बोलपत्र साथ जमानत रकम वापत १ लाख २५ हजार रुपैयाँ कम्पनीको बैंक खातामा जम्मा गर्नुपर्नेछ ।
पेट्रोलियम पदार्थको मूल्य घटेर आयो
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेर पठाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटेर पठाएको हो । अप्रिल १ मा पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा १.७४ रुपैयाँ र डिजेलमा ६.८२ रुपैयाँ मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । हाल निगमले पेट्रोलको प्रतिलिटर १७८ रुपैयाँ र डिजेलको १७५ रुपैयाँमा बिक्री वितरण भइरहेको छ । घटेर आएको मूल्यलाई केही दिनमा समायोजन गरेर नयाँ मूल्य सूची सार्वजनिक गर्ने निगमले गरेको जनाइएको छ । हाल निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेलमा प्रतिलिटर १५ रुपैयाँ नाफा भइरहेको जनाएको छ । निगमले आईओसी र सरकारको ऋण गरेर १२ अर्ब रुपैयाँ बराबरको बक्यौता तिर्न बाँकी छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएकाले मूल्य घटेर आएको हो । विश्व बजारमा बैंकिङ्ग क्षेत्रमा ठूलाठूला बैंकहरु डुब्न थालेपछि तेलको खपतमा कमी आएको हो । जसले गर्दा मूल्यमा गिरावट आउन थालेको हो ।
एलआईसी नेपालले ७६ स्थानमा अभिकर्ता तालिम दिने
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालले जीवन बीमा अभिकर्तालाई तालिम दिने भएको छ । कम्पनीले देशभरिका विभिन्न ७६ स्थान (शाखा)मा अभिकर्ता तालिन दिने भएको हो । बीमा अभिकर्ताको तालिम निर्देशिका २०७२ बमोजिम २०८० बैशाख, जेष्ठ र आषाढ महिनामा जीवन बीमा अभिकर्ताको आधारभूत तालिम संचालन गर्ने कम्पनीले जनाएको छ । बीमा ऐन २०४९ अनुसार योग्य व्यक्तिले तालिममा सहभागी हुन आवेदन दिन कम्पनीले आग्रह गरेको छ । साथै, लाईसेन्स शुल्क ५ सय रुपैयाँ लाग्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार काठमाडौं, विराटनगर, पोखरा, नेपालगन्ज, बुटवल, जनकपुर, धनगढी, महेन्द्रनगर, विर्तामोड, नारायणगढ, लहान, भक्तपुर, दाङ, ललितपुर, दमौली, बागलुङ्ग, डडेल्धुरा, गुल्मी, धरान, गौर, हेटौडा, मलङ्गवा, तौलिहवा, नवलपरासी, टिकापुर, जलेश्वर, वालिङ्ग, सुर्खेत, गोर्खा, राजविराज, चाहविल, बनेपा, बानेश्वर, कलङ्की, इटहरी, इलाम र पाल्पामा तालिम दिइनेछ । यस्तै, नुवाकोट, बैतडी, दमक, बर्दीवास, सिन्धुली, भैरहवा, बर्दिया, गाइघाट, निग्राह, कलैया, धादिङ्ग, बेशीशहर, बाह्रविसे, प्युठान, तुल्सिपुर, सल्यान, कोहलपुर, मन्थली, चन्द्रगढी, इनरुवा, कटारी, लालबन्दी, बरहथवा, सिमरा पिपरा, धनुषाधाम, पर्सा, लेकनाथ, कुश्मा, बेनी, कावासोती, बर्दघाट, लमही, कपिलबस्तु, पालुङ, लम्की, किर्तीपुर, सन्धीखर्क र खलङ्गामा तालिम दिइने कम्पनीले जनाएको छ ।
मकर जितुमाया सुरी हाइड्राको आईपीओ आजदेखि बिक्री खुला, कति कित्ता आवेदन दिने ?
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले आज चैत १९ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने गरेको छ । कम्पनीले जारी पूँजी ७६ करोड रुपैयाँको १४ करोड ४९ लाख ४० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १४ लाख ४९ हजार ४ सय कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये ८० हजार ७० कित्ता सामूहिक लगानी कोष, ३२ हजार २८ कित्ता कर्मचारी र १३ लाख ३७ हजार ३०२ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सकिनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री गरेर बाँडफाँट गरिसकेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ छिटोमा चैत २२ गते र ढिलोमा २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलमा रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र अनलाइनबाट ‘मेरो शेयर’मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
दोल्ती पावरको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ रिजल्ट
काठमाडौं । दोल्ती पावर कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि बिक्री गरेको आईपीओ चैत १७ गते बाँडफाँट गरिएको जनाएको छ । कम्पनीले फागुन ८ गतेदेखि चैत ७ गतेसम्म जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ३६ लाख ४८ हजार ६ सय रुपैयाँ बराबरको ५ लाख ३६ हजार ४८६ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको थियो । कम्पनीले अति प्रभावित क्षेत्र सािवक नौमुले र कालिका गा.वि.स.का स्थानियहरुका लागि २ लाख ६८ हजार २४३ कित्ता र आयोजन प्रभावित क्षेत्र दैलेख जिल्लाका स्थानियहरुका लागि २ लाख ६८ हजार २४३ कित्ता सेयर बिक्री गरेको थियो । कम्पनीको आईपीओमा रितपूर्वक परेको आवेदनलाई शुक्रबार बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । आईपीओको नतिजा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको वेबसाइटबाट तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको आईपीओ रिजल्टबाट हेर्न सकिन्छ । साथै रितपूर्वक प्राप्त नभएका आवेदकहरुको सेयर वापतको रकम चैत २० गते सोमबारदेखि बैंक खातामा रकमान्तर गरिने कम्पनीले जनाएको छ ।
अब मारुतीको सबैभन्दा सस्तो कार नपाइने, कम्पनीद्वारा अल्टो-८०० को उत्पादन बन्द
एजेन्सी । मारुती सुजुकी इन्डियाले आफ्नो सबैभन्दा लोकप्रिय उत्पादन अल्टो-८०० को उत्पादन बन्द गरेको छ । कम्पनीले अहिलेसम्म कुनै अफिसियल घोषणा गरेको छैन, तर, इन्डिया टुडेको रिपोर्टमा हैचबेक सेग्मेन्टमा सबैभन्दा बढी बिक्री हुने वाला कारको उत्पादन बन्द गरेको छ । अल्टो-८०० सन् २००० देखी बजारमा बिक्री हुँदै आएको थियो । कम्पनीले सन् २०१० सम्म १८ लाख वटा कार बिक्री गरेको थियो । सो पश्चात कम्पनीले अल्टो के-१० लन्च गरेको थियो । सन् २०१० देखि अहिलेसम्म अल्टो-८०० १७ लाख र अल्टो के-१० नौ लाख ५० हजार थान बिक्री गरेको जनाएको छ । कम्पनीले प्रत्येक एक घण्टामा एकसय वटा कार बेच्दै आएको छ । कम्पनीले अल्टो के-१० ६ लाख र अल्टो-८०० सवा पाँच लाख भारुमा बिक्री गर्दै आएको थियो ।
‘पोलिटिकल प्याराडाइम सिफ्ट’ भयो, अब जनतालाई डेलिभरी दिनुपर्छ : वाग्ले
काठमाडौं । अब नेपालको ‘पोलिटिकल प्याराडाइम सिफ्ट’ भएको र जनतामा डेलिभरी दिने राजनीति गर्ने बेला भएको डा स्वर्णिम वाग्लेले बताएका छन् । शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वाग्लेले सो बताएका हुन् । देशका तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा वाग्लेलाई रास्वपाले तनहुँ १ बाट उम्मेदवार बनाउने घोषणा गरेको छ । रास्वपा प्रवेशसँगै उम्मेदवारी उम्मेदवार घोषणा गरेका वाग्लेले नेपाल बनाउन ढिलो भएको र आँफू नेपाल बनाउने महाअभियानमा होमिएको तर्क गरे । वाग्लेले अहिलेको जनसंख्यामा काम गर्ने उमेरको संख्या धेरै भएको र केही समयमा यसको स्वरुपमा परिवर्तन हुने बताउँदै अब मुलुक बनाउन कुर्ने समय नभएको बताएका थिए । ‘यहाँ अहिले धैर्य गर्नुपर्थ्यो, कुर्न पर्थ्यो, निगाहका कुरा आएका छन्, कृपाका कुराहरु आएका छन्, तर मैले के भनेको छु भने समय सीमा नै तोकेर अब डेलिभरीको राजनीतिमा हामीले नेपालको राजनीतिलाई कोल्टे फेराउनुपर्छ भन्ने मलाई लाग्छ’, वाग्लेले भने । उनले जेलनेल भोगेर भत्ता खाने उमेरमा सम्मानित पदमा जाने भन्दापनि डेलिभरी गर्ने राजनीतिमा अगाडि बढ्नुपर्ने बताए । वाग्लेले सुशासनलाई मुख्य रुपमा अगाडि बढाउनुपर्ने तर्क राख्दै सुशासनबाट मात्रै आर्थिक फड्को हान्न सकिने बताएका छन् । साथै वाग्लेले विश्व राजनीतिमा आएको फेरवदललाई पनि नेपालले आफ्नो हितमा प्रयोग गर्नुपर्ने भन्दै नेपालजस्तो देशले जोगिएर शक्तिशाली राष्ट्रबाट फाइदा लिनुपर्ने बताए ।