
काठमाडौं । अब नेपालको ‘पोलिटिकल प्याराडाइम सिफ्ट’ भएको र जनतामा डेलिभरी दिने राजनीति गर्ने बेला भएको डा स्वर्णिम वाग्लेले बताएका छन् । शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वाग्लेले सो बताएका हुन् ।
देशका तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा वाग्लेलाई रास्वपाले तनहुँ १ बाट उम्मेदवार बनाउने घोषणा गरेको छ । रास्वपा प्रवेशसँगै उम्मेदवारी उम्मेदवार घोषणा गरेका वाग्लेले नेपाल बनाउन ढिलो भएको र आँफू नेपाल बनाउने महाअभियानमा होमिएको तर्क गरे । वाग्लेले अहिलेको जनसंख्यामा काम गर्ने उमेरको संख्या धेरै भएको र केही समयमा यसको स्वरुपमा परिवर्तन हुने बताउँदै अब मुलुक बनाउन कुर्ने समय नभएको बताएका थिए ।
‘यहाँ अहिले धैर्य गर्नुपर्थ्यो, कुर्न पर्थ्यो, निगाहका कुरा आएका छन्, कृपाका कुराहरु आएका छन्, तर मैले के भनेको छु भने समय सीमा नै तोकेर अब डेलिभरीको राजनीतिमा हामीले नेपालको राजनीतिलाई कोल्टे फेराउनुपर्छ भन्ने मलाई लाग्छ’, वाग्लेले भने । उनले जेलनेल भोगेर भत्ता खाने उमेरमा सम्मानित पदमा जाने भन्दापनि डेलिभरी गर्ने राजनीतिमा अगाडि बढ्नुपर्ने बताए ।
वाग्लेले सुशासनलाई मुख्य रुपमा अगाडि बढाउनुपर्ने तर्क राख्दै सुशासनबाट मात्रै आर्थिक फड्को हान्न सकिने बताएका छन् । साथै वाग्लेले विश्व राजनीतिमा आएको फेरवदललाई पनि नेपालले आफ्नो हितमा प्रयोग गर्नुपर्ने भन्दै नेपालजस्तो देशले जोगिएर शक्तिशाली राष्ट्रबाट फाइदा लिनुपर्ने बताए ।