विकासन्युज

‘सहुलियतपूर्ण कर्जा लगानी लघुवित्त मार्फत हुनुपर्छ, ऋणीले किस्ता तिर्न नसकेपनि ब्याज तिर्नैपर्छ’

कावासोती । नवलपुर क्षेत्र नम्बर २ का संघीय सांसद विष्णुकुमार कार्कीले महिला दिदीबहिनीहरुलाई विभिन्न बैंकहरुले ५ प्रतिशत व्याजदरमा गर्ने गरेको सहुलियतपुर्ण कर्जा लगानी लघुवित्त माफर्त गरिनुपर्ने बताएका छन् । नेपाल लघुवित्त बैंकर्स संघले शनिबार नवलपुरमा कार्यरत २७ वटा लघुवित्त संस्थाको सहकार्यमा कावासोतीमा आयोजना गरेको वित्तीय साक्षरता राष्ट्रिय अभियानमा सांसद कार्कीले सो विषय संसदमा आवाज उठाउने समेत प्रतिवद्धता गरेका हुन् । उनले लघुवित्तका ऋणी सदस्यलाई किस्ता तिर्न नसकेपनि ब्याजमात्र भए पनि तिर्न आग्रह गरे । तर यो पैसा तिर्दिन भनेर हावादारी मान्छेको पछाडी नलाग्न र त्यस्ले आफैलाई अफ्ठ्यारो पार्ने कुरामा सचेत गराए । नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले वित्तीय संस्थाविरुद्धका आन्दोलन तथा अराजक गतिविधि टुलुटुल हेरेर बस्न नसक्ने बताएका छन् । बैंक र वित्तीय संस्थाका कर्मचारीको सुरक्षाका लागि नेपाल सरकारबाट भएको आदेश अनुरुप सुरक्षा प्रदान गर्ने उनले बताए । यद्यपी लघुवित्तका क्षेत्रमा समस्या भए समाधान गर्न लघुवित्तकर्मीहरुको ध्यानाकर्षण गराए । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाश राज शर्माले महिलाले उत्पादन गरेका सामग्रीको बिक्रीका लागि बजार व्यवस्थापनका लागि सरकारले नीति बनाएर सहयोग गर्ने हो भने धेरै समस्या हल हुने तर्क गरे । महिलाको जीवनस्तर सुधार गर्न लघुवित्त संस्था सहयोगी बनिरहेको उनले बताए । सँधै लघुवित्तले मात्रे समस्याको समाधान नगर्ने बताउँदै उनले सरकारले तालिम, नीति, पूर्वाधार, बजार व्यवस्थापन र उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताए । नेपाल लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष बसन्तराज लम्सालले सदस्यले वित्तीय व्यवस्थापन गर्न नजान्दाको परिणाम अहिले देखा परेको जनाउँदै त्यसतर्फ ध्यान दिन आग्रह गरे । सदस्यले धेरै संस्थाबाट ऋण लिएको तर व्यवसाय नचल्दा ऋण भारी बनेको बताउँदै उनले लिएको पैसा सदुपयोग गर्न नजान्दा त्यसमाथी कोभिड, वर्तमान आर्थिक मन्दी पनि कारक बनेको उनको भनाई थियो । लघुवित्तले बढी ब्याज लिएमा एवं नियम विपरितका कार्य गरे राष्ट्र बैंकले नियमन गर्ने बताउँदै अफवाहको पछि नलाग्न उनको आग्रह थियो । नेपाल लघुवित्त बैंकर्स संघका महासचिव रामबहादुर यादवले ग्रामिण क्षेत्रमा दिदीबहिनीहरुलाई व्यवसायीकरण र सशक्तिकरण गर्न लघुवित्तको ठूलो भूमिका रहेको बताए । नेपाल लघुवित्त बैंकर्स संघका सदस्य प्रविणकुमार लामाले लघुवित्त बिना ग्रामिण क्षेत्रमा आर्थिक कारोबार ठप्प हुने बताउँदै समुदायमा भएको भ्रम हटाउन जरुरी रहेको बताए । विजय लघुवित्त वित्तीय संस्थाका सञ्चालक खेमराज सापकोटाले वित्तीय कारोबार हरेक नागरिकका लागि आवश्यक भएको तर त्यस्को व्यवस्थापन महत्त्वपूर्ण कुरा रहेको बताए । सदस्यहरुका तर्फबाट बोल्दै सीता भुसालले वित्तीय संस्थाकै कारण सदस्यले ज्यान गुमाउनु पर्ने अवस्था नआओस् भन्दै सबैलाई सचेत गराए । अर्का सदस्य टीका कुमारी न्यौपानेले महिला उद्योगी भएको भए त्यसको श्रेय लघुवित्तलाई जाने बताए । अर्का सदस्य टीका कासी गुरुङले सकेसम्म भएको ब्याजदर अझै कम गरी महिलालाई माथी उकास्न आग्रह गरे । लघुवित्त कर्मचारी मिलन केन्द्रका अध्यक्ष एवं कार्यक्रम संयोजक युवराज गौतमले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रम सन्ध्या सापकोटाले सहजीकरण गरेका थिए । यसअघि कावासोतीको फलफुलचोकबाट राजमार्ग हुँदै पानस रिसोर्टसम्म भएको सचेतना र्यालीका सहभागीले लघुवित्त आफ्नो सहारा भएको बताउँदै नारा लगाएका थिए । जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत २७ वटा लघुवित्त संस्थामा आवद्ध लघुवित्तकर्मी एवं सदस्यहरुले वित्तीय साक्षरता सम्बन्धी प्लेकार्ड बोकेका थिए । गाउँगाउँबाट आएका लघुवित्तकर्मी एवं ऋणी सदस्यहरुले लघुवित्त हामीलाई चाहिन्छ, लघुवित्त हाम्रो साहारा होु, वित्तीय अराजकता बन्द गर, प्रतिस्पर्धामा ऋण नलिउऊँ, कर्मचारीको जीउधनको सुरक्षा गर, लघुवित्तकर्मी जनताका सेवक हुन्, लिएको कर्जाको सहि सदुपयोग गरौँ, उद्यमी बन्न बढाऔं हाम्रो हात, लघुवित्त वित्तीय संस्थाले दिईरहनेछन् हाम्रो साथ, जबसम्म लघुवित्त वित्तीय संस्था रहन्छ, हाम्रो व्यवसाय चलिरहन्छ, लगायतका प्लेकार्ड बोकेका थिए । लघुवित्त संस्थाहरुसँग आवद्ध सदस्यहरुका लागि नेपाल लघुवित्त बैंकर्स संघले चितवन, नवलपुर, गोरखा लगायत देशका विभिन्न स्थानमा वित्तीय साक्षरता राष्ट्रिय अभियान सञ्चालन गरिसकेको छ ।

माओवादी लडाकू ‘लेडी ड्रयागन’ जसले पुरुषसँग रेस्लिङ खेल्छिन्

काठमाडौं । नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ । तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ । कतिपय त रेस्लिङका पारखीलाई पनि महिला र पुरुषका बीचमा पनि प्रतिस्पर्धा हुन्छ र भन्ने पनि लाग्दो हो । आफूलाई ‘लेडी ड्र्यागन’ नामले चिनाउने मुना श्रेष्ठ यस्तो रेस्लर हो– जो पुरुषसँगै खेल्छिन् । उनी महिला रेस्लरभन्दा पनि पुरुष रेस्लरसँग बढी प्रतियोगिता खेल्दै आएकी छिन् । खोटाङको दिक्तेलमा जन्मेकी यी नेपाली रेस्लरको प्रतिस्पर्धा नेपालमा मात्र सीमित छैन, विभिन्न देशमा खेलेर अन्तर्राष्ट्रिय अवार्ड पनि हात पारेकी छिन् । ‘रेस्लिङ हेर्दा थोरै वास्तविकता धेरै नाटक भन्ने आम मानिसलाई लाग्न सक्छ तर मैले खेल्ने रेस्लिङ मनोरञ्जन नभई पूरै वास्तविकता हुन्छ’, नेपाली रेस्लर मुना भन्छिन् । महिलाले महिलासँग खेल्ने खेलाडी त धेरै छन् तर हाम्रो समाजमा महिलाले पनि पुरुषसरह खेल्न सक्छन् भन्ने उदाहरण दिनका लागि पनि आफूले पुरुष रेस्लरसँग खेल्ने गरेको उनी बताउँछिन् । त्यसो त उनीसँग महिला खेल्न पनि मान्दैनन् । सन् २०१७ देखि खेल्न सुरु गरेकी मुनाले विशेषगरी तीन विधामा रेस्लिङ खेल्दै आएकी छिन् । यसमा हार्डकोर साइन गरेर खेल्ने, फायर म्याच आगोमा खेल्ने र ब्लड म्याच छन् । यी तीनै खेल निकै कठिन हुने र ज्यानको बाजी राखेरै खेल्नुपर्ने उनको अनुभव छ । हाम्रो नेपाली समाजमा पुरुषभन्दा महिला केहीमा कम छैनन् भन्ने उदाहरणीय कामका लागि पनि पुरुष रेस्लरसँग बढी खेल्ने गरेको उनको भनाइ छ । उनले खेल्ने हरेक खेल नाटकीय नभई यथार्थपरक हुने गरेको छ । उनले हार्डकोर, फायर म्याच र ब्लड म्याच विधाको खेलमा पुरुष रेस्लरसँगै खेल्दै आएकी छिन् । उनको अनुभव छ कतिपय देशका महिला खेलाडी पनि उनीसँग खेल्न डराउँछन् । त्यसकारण पनि उनी पुरुषसँग खेल्नुपर्ने हुन्छ । विशेषगरी रेस्लिङ मनोरञ्जनमुखी खेल भएका कारण हार्डकोर खेल्ने खेलाडीसँग खेल्न अन्य महिला रेस्लर रुचाउँदैनन् र सक्दैनन् पनि । हार्डकोर मनोरञ्जनभन्दा पनि वास्तविक हुन्छ र यो कठिन हुन्छ । यस खेल खेल्नुअघि पहिला नै खेलाडीलाई खेल दौरान रिङमा केही भइहाले वा ठूलै चोटपटक लागेमा खेलाडीको परिवारले खोज्न या विरोध गर्न पाउँदैन भनेर सुरुमै हस्ताक्षर गराएको हुन्छ । त्यसकारण पनि स्वदेशी तथा विदेशी महिला रेस्लरले उनीसँग खेल्न नमान्ने उनको भनाइ छ । ‘रिङमा कुटाकुट गरेको दृश्य देख्दा दर्शक जति उत्साहित हुँदै ताली पिट्छन् त्यति नै रिङमा आफूले जोखिम उठाउनुपर्ने हुन्छ, कहिलेकाहीँ त ज्यानै जाने सम्भावना पनि हुन्छ । यसकारण पनि महिला खेलाडी यस खेलमा त्यति उत्साहित छैनन्’, उनको अनुभव छ । कतिपय खेलमा त रगतको धारा बगेको र त्यो निको हुन महिनौँ लागेको अनुभव पनि उनीसँग छ । यसका बाबजुद पनि उनी देशको नाम राख्न हरदिन मेहनत गर्छिन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भेट्टाएसम्म छोड्नुहुन्न । सन् २०१७ मा आफूले रेस्लिङ सुरु गरे पनि विभिन्न प्राविधिक समस्याले अगाडि बढ्न नसकेको उनी बताउँछिन् । कतिपय आफ्नै मान्छेले आफ्नो भावना र गतिअनुरुप खेललाई अघि बढ्न नदिएको उनले सुनाइन् । धेरै बाधा अड्चनका बाबजुद रेस्लिङलाई नै अगाडि बढाउँछु भन्ने दृढ विश्वासका साथ उहाँले सन् २०१९ मा आफ्नै नाममा युडब्लुइ अल्टिमेट रेस्लिङ इन्टरटेन्मेन्ट कम्पनी खोलेर रेस्लिङलाई निरन्तरता दिइन् । हाल उनको कम्पनीमा १९ जना महिला रेस्लर रहेका छन् । यसै कम्पनीबाट पछिल्लोपटक उनले भारतमा यसै महिना सम्पन्न अन्तर्राष्ट्रिय रेस्लिङ च्याम्पियनसीपमा भारतीय खेलाडीलाई पछि पार्दै उपाधि जितिन् । त्यसअघि उनले सन् २०१९ मा नेपालमा भएको एसियन अन्तर्राष्ट्रिय महिला रेस्लिङ च्याम्पियनसीपमा भारतीय खेलाडीलाई पराजित गर्दै उपाधि हासिल गरेकी थिइन् । त्यस्तै उनले सन् २०२१ मा पाकिस्तानले आयाजना गरेको वल्र्ड हेब्बीवेट रेस्लिङ च्याम्पियनसीपमा उपाधि जितिन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेस्लिङ च्याम्पियनसीपमा उनले हालसम्म २७ वटा प्रतियोगितामा भाग लिएकी छिन् । त्यसमध्ये नौवटा अन्तर्राष्ट्रिय च्याम्पियनसीपमा सहभागिता जनाइन् । सत्ताइस खेलमध्ये दुई–तीनवटा च्याम्पियनसीपबाहेक सबै खेलमा पुरुष रेस्लरसँग खेलेको उनको भनाइ छ । ‘आफूभन्दा धेरै उचाइ र तौल भएको पुरुष खेलाडीसँग खेल्न गाह्रो नै हुन्छ । शरीरका जुनसुकै भागमा पनि प्रहार गर्न सक्छन् । कतिपय खेलमा त दुई मिनेटसम्म बेहोस भएको स्थिति पनि छ तर दर्शकको हुटिङले गर्दा उठेर त्यस खेलाडीलाई पराजित पनि गरेको छु’, उनी स्मरण गर्छिन् । ‘खेल खेल्दा महिला पुरुष भन्ने हुँदैन छातीमा बुटले पनि हानिराखेका हुन्छन् र आफूले पनि प्रहार गरिराखेको भएर खेल खेल्दा यो महिला त्यो पुरुष भन्ने फिल हुँदैन’, उनी भन्छिन् । यही चैतमा भारतमा भएको च्याम्पियसीपमा चार दिनसम्म अस्पतालमा बस्नुपरेको थियो । खेल दौरान भारतीय खेलाडीले टयुबलाइटले प्रहार गर्दा भोलिपल्ट ७ बजेसम्म रगत रोकिएको थिएन । खेलका क्रममा शरीरमा धेरै चोटपटक लागे पनि आफू यसैमा रमाउने भन्दै अबको छ–सात वर्षसम्म रेस्लिङलाई नै निरन्तरता दिने उनी बताउँछिन् । बाबा–आमाकी कान्छी सन्तान उनले नेपाली रेस्लर बन्ने प्रेरणा भने आफ्ना बुवाबाट प्राप्त भएको बताउँछिन् । बच्चैदेखि खेल क्षेत्रमा अग्रसर रहने उनी विद्यालयमा दौड, हाइजम्पलगायत खेल्ने गर्थिन् । देशमा माओवादी द्वन्द्व सुरु भएपश्चात उनी पनि भूमिगत भएकी थिइन् । त्यतिबेला समय र परिस्थितिका कारण घर छाड्न बाध्य भएको उनको भनाइ छ । भूमिगत भएपछि उनका सङ्घर्षका दिनहरू सुरु हुन थाले र माओवादी लडाकु बन्दै जनयुद्धको बेलामा कैयौँ भिडन्तमा ज्यान जोगाउन मुस्किल परेको उनी सम्झन्छिन् । दुईवटा बच्चाकी आमा उनका सङ्घर्षका दिनहरू निकै कठिन छन् । कतिपय अवस्थामा घरमै शारीरिक र मानसिकलगायतका यातना भोग्न बाध्य भएकी उनले बुवाआमाको इज्जतका लागि पनि अनेक खालका हिंसा सहेर बसेको सुनाइन् । जीविकोपार्जनका लागि श्रम गर्न खोज्दाका अप्ठेरा पनि अनेक छन् उनीसँग । यी अनेक चुनौतीका बाबजुद पनि सङ्घर्ष गरेर आज आफ्नो देशको नाममा, देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय प्रतिस्पर्धा जित्न सक्ने एक खेलाडीका रूपमा आफूलाई स्थापित गर्न सकेकामा उनी खुसी छिन् । आफूलाई बलियो बनाएर समाज र देशका लागि केही गर्छु भनेर रेस्लिङ क्षेत्रमा लागेकाले आज आफ्नो र देशको नाम राख्न सकेको उनको भनाइ छ । आज खेल क्षेत्रको माध्यमबाट विदेशमा देशको नाम चिनाउन पाउँदा आफूलाई गर्व महसुस हुने र आफूले विगतमा सहेखपेका अनेक हिंसा र अप्ठेराहरू बिर्सने गरेको उनी बताउँछिन् । युडब्लुइ अल्टिमेट रेस्लिङ इटरटेनमेन्टको आयोजनामा यही चैत २४ गते रेस्लिङअन्तर्गतको फायर म्याच पनि हुँदैछ । उक्त प्रतियोगितामा नेपाल र भारतको सहभागिता रहने जानकारी उनले दिइन् । उक्त म्याचको अन्तिम तयारीमा जुटेकी मुनाले खेलका लागि विदेशी खेलाडीहरू आउने क्रम सुरु भएको जानकारी दिइन् । रासस

लोकप्रिय हुँदै गएको ‘च्याटजिपिटी’ लाई इटालीले लगायो प्रतिवन्ध

एजेन्सी । प्रयोगमा आएको छोटो समयमा नै विश्वव्यापी रुपमा चर्चा कमाउँदै गएको ओपन एआई कम्पनीको च्याटजिपिटी माथि इटाली सरकारले प्रतिवन्ध लगाएको छ । इटालीको प्राइभेसी वाचडगले व्यक्तिगत डाटा सुरक्षाको विषयलाई लिएर प्रतिवन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इटालियन डाटा संरक्षण प्राधिकरणले च्याटजिपिटीले प्राइभेसी सुरक्षालाई सम्मान नगरेसम्म प्रयोगकर्ताहरुको डाटा सुरक्षाको लागि अस्थायी प्रतिवन्ध लगाएको छ । ओपन एआईले शुक्रबार इटालीले च्याटजिपिटीलाई प्रयोगमा निस्क्रिय गराएको भन्दै इयुको जनरल डाटा प्रोटेक्सनलाई जानकारी गराएको छ । ओपन एआईले प्रयोगकर्ताहरुको डाटा गोपनियता संरक्षण गर्न प्रतिवद्ध रहेको र कानूनको पालना गर्ने जनाएको छ । खासगरी इटालियन वाचडगले आफ्नो बयानमा च्याटबोटले कसरी सूचना प्रशोधन गर्छ भन्ने विषयमा चिन्ता र आशंका जनाएको छ । इटालीले च्याटजिपिटीमाथि प्रतिवन्ध लगाएपछि यसको द्रुततर थप विकासमा वाधा पुग्ने अनुमान गरिएको छ ।

‘अर्थतन्त्र सुधार गर्न घरजग्गामा मन्दी लाउनु पर्छ’

पछिल्लो समय अमेरिकाका केही बैंकहरुमा समस्या देखियो । लामो सयमदेखि एकदमै कम ब्याजदर भइराखेको अवस्थामा पछिल्लो एक वर्षको समयमा ब्याजदर बढेर ४ प्रतिशत भन्दा बढी भयो,बैंक डुब्नु एउटा यो कारण पनि हुन सक्छ । सिलिकन भ्याली बैंकको हकमा भन्दा खासगरी अव्यवस्थित म्यानेजमेन्टको कारणले समस्या आएको देखिन्छ । सिलिकन भ्याली बैंकमा खासगरी ठूलो संख्यामा नभएर निश्चित संख्यामा अमेरिकाका धनाड्य वर्गका व्यक्तिहरुको निक्षेप रहेको अवस्था थियो । त्यहाँ एउटा ग्राहकको निक्षेप नै एक मिलियन डलर बराबर रहेको अवस्था थियो । ति निक्षेपकर्ताहरु त्यहाँका राम्रो करदाता र बजारको सूचनामा पहुँच राख्ने स्तरका थिए । सिलिकन भ्याली बैंकका निक्षेपकर्ताहरुले अत्यन्तै न्यून ब्याजदरमा विशेषगरी बहुवर्षे ट्रेजरीमा बढी पैसा राखेको अवस्था थियो । ब्याजदर बढिसकेपछि बन्डको भ्यालु घट्ने अवस्थाको सिर्जना भयो, जसले गर्दा निक्षेपकर्ताहरुले आफ्नो निक्षेपलाई निकाल्न शुरु गरे । सो प्रकृयामा निक्षेपबाट बाहिरिने परिमाण बैंकको ब्यालेन्ससिट भन्दा तल आयो र बैंक बन्द हुने अवस्थामा पुग्यो । सिग्नेचर बैंकको ठूलो लगानी क्रिप्टो क्षेत्रमा भएकाले समस्या देखिएको हो । विशेषगरी सिलिकन भ्याली बैंकले अमेरिकाको अर्थतन्त्रमा नै ठूलो अर्थ पनि राख्छ । किनकी त्यहाँ ठूला निक्षेपकर्ताहरुको निक्षेप रहेको छ । जसमा आउने प्रभावले अमेरिकाको अर्थतन्त्रमा पनि प्रभाव पार्छ । स्वीट्जरल्यान्डको स्वीस क्रेडिट बैंक जुन कुनै बेला देशकै दोस्रो ठूलो बैंकको रुपमा रहेको थियो । तर, सो बैंक लामो समयदेखि समस्यामा रहँदै आएको थियो र त्यसलाई सम्बोधन गर्न नसकेपछि समस्या आएको देखिन्छ । अमेरिकादेखि स्वीट्जरल्यान्ड सम्मका बैंकमा आएका समस्याहरु अर्थराजनीतिक वा प्रणालीगत रुपमा आएका हुन भनेर भन्न भने मिल्दैन । किनभने ‘मार्केट बेस इकोनोमी’मा यस्तो समस्याहरु आउने क्रम भइरहन्छ । सन् २००८ तिर पनि अमेरिकाका बैंकहरुमा समस्या देखिएको थियो र अहिले पनि केही बैंकहरुमा समस्या देखियो । निजी क्षेत्रबाट सञ्चालित बैंकहरुमा समस्या सिर्जना भएपछि नियामकले समयमा नै बेलआउट गर्ने र सरकारले जिम्मेवारी लिने गर्दा बैंकहरुलाई पनि समस्या नहुने भन्ने प्रकारको प्रवृत्ति देखिएको होकी भन्ने प्रश्न चाहिँ उठेको पाइन्छ । तर, त्यसरी बैंकहरुमा आएको समस्याका कारण समग्र अर्थतन्त्रमा नै प्रभाव पार्न सक्छ भनेर समयमा नै बेलआउट गर्ने गरिएको हो भन्ने देखिन्छ । अमेरिकी बैंकहरुमा देखिएको समस्यालाई हेर्दा २००८ मा देखिएको समस्या र अहिलेको समस्या भने एकै प्रकारका होइनन् । २००८ तिर देखिएको समस्या ‘सिस्टमेटिक’ थियो, त्यसपछि अमेरिकाको बैंकिङ क्षेत्रमा निकै ठूलो सुधार भइसकेको छ । त्यसपछिको अवस्थामा ‘क्यापिटल बफर’मा निकै बलियो सुधार भएको छ । जसले गर्दा सानातिना घाटाहरुलाई थेग्नसक्ने अवस्थामा बैंकहरु पुगेका छन् । सरकार बैंकहरुको बचाउमा अगाडि आउन हुँदैन सेयरहोल्डरहरुले नै त्यसको जिम्मेवारी लिनुपर्छ भन्ने प्रसंग पनि उठेको थियो । अमेरिकामा फाइनान्सियल सेक्टरको लवी निकै वृहत स्तरमा छ, जसले गर्दा उनीहरुले सेयरहोल्डरहरुलाई मात्रै भार पर्ने अवस्था सिर्जना हुन दिँदैनन् । सरकारले अथवा केन्द्रीय बैंकले डुब्न लागेका बैंकहरुको सन्दर्भमा बेल आउट गर्ने भनेकै घाटालाई सार्वजनिकीकरण गर्ने भन्ने हुन्छ । मैले यसलाई ‘लेमन सोसोलिजम’को रुपमा टिप्पणी गर्ने गरेको छु । यो भनेको नाफा भनेको निजी क्षेत्रलाई र घाटा हुँदा त्यसलाई सार्वजनिकीकरण गर्ने भन्ने हुन्छ । तर, अमेरिकाले अख्तियार गर्ने उदार अर्थराजनीतिको विपरित पटक–पटक उसको उपस्थिति भएन र भन्ने कोणबाट पनि प्रश्न उठेको छ । मलाई पनि त्यस्तै लाग्छ । मार्केटमा आउने बद्लाव वा समस्याहरुलाई उसले आँफैले नै करेक्सन गर्छ, मार्केटलाई नै सो विषय छोड्नुपर्छ भन्ने हो । तर, ‘क्लासिकल इकोनोमिक्स र केनेसियन इकोनोमिक्स’ इकोनोमिक्सको अवधारणामा केही फरक छ । केनिसियन इकोनोमिक्सले ‘सरकारले भूमिका खेल्न सक्ने’ कुरालाई स्वीकार गर्छ । बजारले सबै समयमा आफैले नियन्त्रण गर्ने हैसियत राख्दैन, कुनै समयमा गएर बजार फेल हुन्छ, त्यतिबेला सरकारले भूमिका निर्वाह गर्न सक्छ भन्ने मान्यता केनेसियनको छ । लामो समयमा बजार आफैले समस्याहरुलाई करेक्सन गर्न सकेपनि तत्कालीन प्रभावलाई नियन्त्रणमा लिनको लागि सरकारले भूमिका निर्वाह गर्नसक्छ भन्ने उनको भनाइ छ । तर अर्थशास्त्रीहरुले परिस्थिति हेरेर नै ‘क्लियर अफ’ गर्ने हो । अर्को कोणबाट हेर्दा, बैंकमा समस्या आउँदा सरकारले यथा समयमा भूमिका निर्वाह गर्न नखोजेको भए त्यो समस्याले ठूलो आकार लिन सक्थ्यो र बाइडन सरकारमाथि नै धेरै प्रश्न उठ्न सक्थ्यो । तर, घाटाहरुलाई सामाजिकीकरण गर्न हुँदैनथ्यो भन्ने विषयमा मेरो पनि मत रहेको छ । किनकी नाफाहरुलाई निजीकरण गर्ने र घाटालाई भने सामाजिकीकरण गर्ने विषय मिलेन । नेपालको अर्थतन्त्र र बैंकहरुको अवस्था  नेपालका बैंकहरुको अवस्था पनि विगतको तुलनामा सकारात्मक छ भन्न मिल्दैन । नेपालको बैंकिङ क्षेत्रमा संरचनात्मक समस्या रहेको छ । देखिएका समस्याहरुलाई ‘पेन किलर’ को सहायताले सम्बोधन गर्ने कोशिस भएको छ । निजी क्षेत्रको अवस्था ‘क्रेडिट एक्जिक्ट’को अवस्थामा छन् । विगत ३० वर्षदेखि २० प्रतिशतका आधारमा बढेको कर्जा अनुत्पादक क्षेत्रमा लगानी गर्ने काम भएको छ । जसले गर्दा मुलुकको आर्थिक वृद्धिदरमा उल्लेखनीय भूमिका निर्वाह गर्न सकेन । हामीले ठूलो मात्रामा खर्च उपभोगमा मात्रै गरिरहेका छौं, जुन आयातमा निर्भर छ र रिक्स रिटर्नको लागि जग्गामा लागनी गरिरहेका छौं । अब यसले नयाँ नतिजा देखाउने समय आएको छ । पछिल्लो समयमा कर्जा लगानी वृद्धिदरको अवस्था ४ प्रतिशत सम्म झर्ने काम भएको छ । जसको प्रभाव समग्र अर्थतन्त्रमा देखिइसकेको छ । अब पहिलाजस्तो २० प्रतिशत कर्जा लगानीको वृद्धिदरको सम्भावना पनि देखिँदैन । आर्थिक क्रियाकलाप घट्न पुगेका छन्, सरकारको आम्दानी घटेको छ, यो भनेको ‘स्टेविलिटी भर्सेस ट्रेड अफ’ हो । यसलाई संरचनात्मक रुपमा सम्बोधन नगर्दासम्म यो समस्याबाट माथि निस्कन गाह्रो हुन्छ । अमेरिकी बैंकहरुमा देखिएका पछिल्ला घट्नाहरुलाई आधार नै नमान्दा पनि नेपालका बैंकहरु तेस्रो जेनेरेसनको रिफर्ममा जान जरुरी छ । यो भनेको सजिलो विषय होइन, सबैलाई कठिन लाग्छ । हामी नेपालीहरुले व्यक्तिगत रुपमा पनि व्यवहारहरुलाई परिवर्तन गर्न जरुरी देखिएको छ । हामीले क्षमता भन्दा बढी कर्जा लिएर पनि खर्च गर्ने गरेका छौं । यो हाम्रो प्रवृत्ति नै बनेको छ । यो भनेको व्यक्ति, परिवार र निजी क्षेत्र सबै तिर लागू भएको छ । यस्तो प्रवृत्तिलाई बैंकिङ क्षेत्रले पनि एउटा चरणसम्म मात्रै धान्न सक्छ सधैं त धान्न सक्दैन, अहिले हामी त्यही चरणमा आइपुगेका छौं । यदी हामी सबैले हाम्रो प्रवृत्ति र व्यवहारहरुलाई परिवर्तन गरेनौं भने सरकारले वा बैंकहरुले मात्रै केही गर्न सक्दैनन् । अर्थतन्त्रमा केही विषय यस्ता हुन्छन् की सरकार वा केन्द्रीय बैंकले चाहेर पनि नियन्त्रणमा लिन नसक्ने अवस्था हुन्छ । अहिले हामी त्यही चरणमा छौं । जस्तैः पहिलाजस्तै २० प्रतिशत कर्जा वृद्धिदरको अवस्था चाहियो भनेर राष्ट्र बैंकले भनेपनि अहिले सम्भव छैन । सन् २०१६ सम्मको अवस्थालाई हेर्दा व्यापार सन्तुलनको अवस्था रेमिट्यान्ससँग झन्डै बराबरको अवस्थामा थियो । तर, त्यसपछिको अवस्थामा भने रेमिट्यान्स आप्रवाहको अवस्था सात प्रतिशतले मात्रै बढ्न पुग्यो भने व्यापार घाटा १९ प्रतिशत सम्मले बढ्न पुग्यो । अर्थतन्त्रमा चुनौति केही वर्ष अगाडि नै देखिएको थियो तर कोरोना महामारीपछि मात्रै हामी झस्किन पुग्यौं । चुनौतिका संकेतहरु देखिएपछि नै सुधारको पहल गर्नुपर्ने थियो । अहिले जति महिनाको लागि आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चितिको अवस्थामा छ, यो भनेको क्षणिक रुपमा मात्रै भएको समाधान हो, अर्थात ‘पेन किलर’को सहायताले भएको हो । प्रतिव्यक्ति आम्दानीका आधारमा नेपालको जग्गाको मूल्य हेर्ने हो विश्वमा नै अगाडि रहेको अवस्था छ । जुन कुरा हुन सम्भव नै छैन । त्यसैले पहिलो यसको करेक्सन भनेको जग्गामा मन्दी लाग्नु पर्छ र लामो समयसम्म निरन्तर रुपमा हुनुपर्छ । नीतिगत रुपमा हेर्दा यसको लागि जग्गाको कारोबार शतप्रतिशत रुपमा बैंकिङ कारोबारबाट हुने व्यवस्था मिलाउनुपर्छ, जग्गा किन्ने व्यक्तिले स्रोत देखाउनुपर्छ । अहिले अवैधानिक पैसालाई ह्वाइट बनाउने सजिलो उपाय भनेको जग्गाको कारोबार भएको छ । हामीले कृषि क्षेत्रमा अहिले आयात गरिरहेका मूख्य पाँचवटा परिमाणमा विषयहरुमा आत्मनिर्भर हुने नीति अख्तियार गरेर कार्यान्वयन गर्न आवश्यक छ । त्यस्तै, पछिल्लो सयमा प्रविधिमैत्री सेवा क्षेत्रमा ठूलो सम्भावना देखिएको छ, सो विषयमा पनि आवश्यक अनुसन्धान गरेर वातावरण सिर्जना गर्न सकिन्छ । जसको माध्यमबाट नेपालमा नै बसेर ठूलो मात्रामा विदेशी मुद्रा भित्र्याउन सकिन्छ । ‘आईआईडिएस’ ‘इ–इकोनोमी’को नाममा यो विषयमा अध्ययन पनि गरिरहेको छ । यी लगायत हामीले कार्यान्वयन गर्न सकिने विषयहरुलाई प्राथमिकीकरण गरेर लागु गर्नुपर्छ । हामीले भारत र चीनको विकासबाट कुनै पनि किसिमको फाइदा लिन सकेनौं र आगामी दिनमा यी मुलुकको थप प्रतिस्पर्धात्मक विकास भनेको नेपालको लागि थप चुनौतिको विषय पनि हो । (अर्थशास्त्री विश्वास गौचनसँग नारायण अर्यालले गरेको कुराकानीमा आधारित)

कामना सेवा विकास बैंकको लाभांश घोषणा

काठमाडौं । कामना सेवा विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ४.६४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२३ प्रतिशत नगद गरी कूल ४.६४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

व्यापारिक केन्द्र बन्दै बैतडीको मेलौली

बैतडी । कुनै बेला भारतमा मात्रै निर्भर रहेको तल्लोस्वराड क्षेत्र पछिल्लो समय विकासको कामले गति लिएपछि आत्मनिर्भर बन्दै गएको छ । तल्लोस्वराडमा मेलौली नगरपालिका सहित शिवनाथ र पञ्चेश्वर गाउँपालिका छन् । पाटन –पञ्चेश्वर सडक सञ्चालन भएसँगै विकासको कामले गति लिँदै गएपछि यहाँको मुहार फेरिन थालेको हो । सडक सञ्जाल विस्तार हुँदै गएपछि मेलौलीबजार व्यापारिक केन्द्रका रूपमा समेत विकसित हुँदै गएको छ । सडक पुगेसँगै मेलौली बजार तल्लोस्वराडकै व्यापारिक केन्द्रका रूपमा अगाडि बढ्दै गएको स्थानीय व्यापारी मोहन सिंहले बताए । उनले भने, ‘एकदशक अगाडिसम्म देहिमाडौँ, पाटनबाट खच्चर र घोडामा दैनिक उपभोग्य सामान ल्याइन्थ्यो, हाल भने सडक विस्तार भएर मेलौलीमै बजार बनेको छ ।’ पञ्चेश्वर सडक मेलौली बजारसम्म कालोपत्र भइसकेकाले पनि यहाँ झनै चहलपहल बढेको छ । यहाँबाट दैनिकरूपमा तराईसम्म सिधै बस सेवासमेत जारी छ । यसका साथै पाटन, सदरमुकामसम्म पनि दैनिक जिप सञ्चालनमा छन् । मेलौलीमा प्राथमिक स्वास्थ्य केन्द्र, क्याम्पस, विद्यालय सञ्चालनमा छन् । इलाका प्रहरी चौकी, स्थानीय सञ्चारमाध्यम पनि सञ्चालनमा रहेका छन् । मेलौलीमा प्रसिद्ध मेलौली भगवती मन्दिरसमेत रहेको छ । विकासको पहिलो पूर्वाधार मानिने सडक सञ्जाल पुगेसँगै मेलौली व्यापारिक केन्द्र बनेको स्थानीय होटल व्यवाियी विजु नायकले बताए । सडक सञ्जाल विस्तारले व्यापार व्यवसाय बढेको र यसले यहाँको आर्थिक उन्नतिमा टेवा पुगेको छ । उनले भने, ‘तल्लोस्वराडका अन्य पालिकामा कुनै कामको सिलसिलामा आएका कुनै पनि मान्छे मेलौलीमा बास बसेर जाने गरेका छन् । मेलौली व्यापारिक केन्द्रका रूपमा स्थापित भएको छ ।’ दशरथचन्द राजमार्गको पाटनबाट पञ्चेश्वर जोड्ने सडकको ३५ किलोमिटरको दूरीमा मेलौली बजार रहेको छ । विकासका दृष्टिले पहिलेको मेलौली र अहिलेको मेलौलीमा धेरै अन्तर देखिएको स्थानीय प्रेम चन्दले बताए । बजार विस्तारसँगै अहिले मेलौलीमा सबै किसिमका सामान उपलब्ध हुन थालेका छन् । उनले भने, ‘सडक विस्तारले पहिलाको तुलनामा धेरै विकास भएको र नागरिकको जीवनशैलीमा परिवर्तन आएको छ । सडक, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा भइरहेका विकासले पहिलेको भन्दा अहिले आर्थिक क्रियाकलापमा वृद्धि हुँदै गएको छ ।’ तल्लोस्वराड क्षेत्रमा सडक नपुग्दासम्म यहाँका नागरिक भारतीय बजारमा मात्रै निर्भर रहेकामा अहिले भने त्यो बाध्यता हट्दै गएको शिवनाथका स्थानीय वीरेन्द्र महताले बताए । उनले भने, ‘दैनिक उपभोग्य सामग्री किन्नसमेत भारत जाने यहाँका नागरिक सडक पुगेसँगै अहिले सहजै यहाँ पाइने गरेको छ । सडकले यही बजार विस्तार हुन थालेका छन्, भारतमाथिको निर्भरता हटाएको छ ।’ शिक्षा र औषधोपचारका लागि पनि भारतकै भर पर्ने नागरिक सडक विस्तारले उक्त बाध्यताबाट पनि मुक्त भएका मेलौली प्राथमिक स्वास्थ केन्द्रका प्रमुख मुकेशकान्त दयालले बताए । उच्च शिक्षा तथा सामान्य उपचारका लागि भारतीय अस्पतालमा पुग्नुपर्ने स्वराडवासीलाई अहिले सडक पुगेपछि तल्लोस्वराडमै पाउन थालेका छन् । उनले भने, ‘सडक नपुग्दा बिरामी हुँदा बाहिर जानुपरेमा निकै समस्या हुने गरेको थियो, अहिले स्वास्थ्य सेवा पाउन पनि सहज भएको छ ।’ यसका साथै सदरमुकाम आउनसमेत भारतको बाटो प्रयोग गर्ने तल्लोस्वराडका नागरिकलाई अहिले भने सहजैरूपमा आवातजावत गर्न सहज भएको छ । देश सङ्घीय संरचनामा गइसकेपछि दुर्गम भनेर चिनिने तल्लोस्वराडमा विकासले फड्को मारेको हो । स्थानीय जनप्रतिनिधिले पनि विकासको मेरुदण्ड सडक भएकाले यसलाई प्राथामिकतामा राखेका छन् । सडक नहुँदा दुई दिन लगाएर सदरमुकाम पुग्ने नागरिक हाल भने एक दिनमै पुग्ने गरेका छन् । सडक सञ्जाल विस्तारले यहाँको मुहार नै फेरिएको मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले बताए । एक दशक अगाडिसम्म पनि सडक पुग्न नसकेको तल्लोस्वराडमा हाल भने अधिकांश गाउँमा सडक विस्तार भएको छ । उनले भने, ‘पाटन–पञ्चेश्वर सडक नियमितरूपमा सञ्चालन भएसँगै यहाँ चहलपहल पनि बढेको छ । सडक सञ्जाल विस्तारले तल्लोस्वराड क्षेत्र विकासको बाटोमा लम्किनुका साथै जीवनशैलीमा पनि परिवर्तन आएको छ ।’ पाटन–पञ्चेश्वर सडकको मेलौलीसम्म कालोपत्र भएको र मेलौलीबाट पञ्चेश्वरसम्मको सडकखण्डमा पनि कालोपत्रको काम भइरहेको छ । तल्लोस्वराड क्षेत्रमा सडक विस्तार भए पनि विद्युत् भने पुग्न सकेको छैन । सञ्चारसेवा पनि भरपर्दो छैन । रासस

भारतमा बेरोजगारीदरमा उच्च वृद्धि, आठ प्रतिशत पुग्यो

काठमाडौं । पछिल्लो समय भारतको बेरोजगारीदरमा उच्च वृद्धि हुन पुगेको छ । पछिल्लो तीन महिनामा बेरोजगारीदरमा वृद्धि भएर ७.८० प्रतिशत पुगेको भारतीय मिडियामा रिपोर्ट प्रकाशित भएको छ । सेन्टर फर मनिटरिङ इन्डियन इकोनोमीले शनिबार भारतको बेरोजगारीदरको आंकडा प्रस्तुत गरेको छ । तथ्यांक अनुसार मार्च महिनामा भारतको शहरी क्षेत्रमा बेरोजगारीदर ७.९३ प्रतिशतबाट बढेर ८.५१ प्रतिशत पुगको छ । त्यस्तै भारतको ग्रामिण क्षेत्रमा पछिल्लो समयमा बेरोजगारीदर ७.४७ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ । रिपोर्ट अनुसार मार्च महिनामा छत्तिसगढमा सबैभन्दा कम ०.८ प्रतिशत र सबैभन्दा बढी हरियाणामा २६.८ प्रतिशत बेरोजगारीदरमा वृद्धि भएको छ ।

सुनकोसीका दीर्घरोगीलाई निःशुल्क औषधि

सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिकाले मधुमेह, उच्च रक्तचाप, दम र मानसिक रोगीलाई निःशुल्क औषधि वितरण गर्न थालेको छ । गाउँपालिकाले सुनकोसी–५ सुनखानीबाट सो कार्यको औपचारिक सुरुआत गरेको हो । गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, उपाध्यक्ष कान्छी लामा र प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले औषधि वितरणको शुभारम्भ गरे । गाउँपालिकाले औषधि वितरणसँगै एक दिनको बृहत् स्वास्थ्य शिविर पनि आयोजना गरेको छ । काठमाडौंको ह्याम्स अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य सेवाको पहुँच नपुगेका ग्रामीण समुदायलाई लक्षित गरी वडा कार्यालयको भवनमा शिविर आयोजना गरिएको थियो । गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर दीर्घरोगीलाई वडामा निवेदन दिन आग्रह गरेको थियो । सोही आधारमा गाउँपालिकाभरका चार सय बढीलाई अब पालिकाले निःशुल्क औषधि उपलब्ध गराउने गाउँपालिका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । न्यूनतम एक हजार देखि बढीमा २० हजारसम्मको मासिक औषधि सेवन गर्ने बिरामी गाउँपालिकामा रहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुलालले जानकारी दिए । रासस