एक क्वाइल लामखुट्टे धुप बाल्दा एक सय खिल्ली चुरोट बराबरको प्रदुषण
एजेन्सी । के तपाईलाई थाहा छ लामखुट्टेको धपाउने एक क्वाइल धुप बाल्दा १०० वटा चुरोटको खिल्ली बराबरको धुवाँ निकाल्छ। यो धुवाँले हाम्रो फोक्सोमा गम्भीर क्षति पुर्याउँछ । एक अनुसन्धानका अनुसार यदि तपाईले लामो समयसम्म यस्ता क्वाइलको धुवाँ सेवन गरिरहनुभएको छ भने तपाईको फोक्सोको क्यान्सर हुन सक्छ । चुरोट बाल्दा निस्कने २.५ पिएम बराबरकै धुवाँ क्वाइलले पनि फाल्ने गर्छ । यी क्वाइलहरु काठको धुलो, नरिवलको फाइबर पाउडर, चारकोल, डाई, डीडीटी र धेरै कीटनाशक रसायनहरू मिसाएर बनाइन्छ। यसमा मुख्य कुरा पाइरेथ्रिन रसायन प्रयोग गरिएको हुन्छ । कोठामा क्वाइल जलाउँदा लामखुट्टे बाहिर निस्कन्छ तर धुवाँ हामीले लिने साससँगै फोक्सोमा पुग्छ । यदि कसैले बन्द कोठामा आठ घण्टासम्म यी क्वाइलहरुको धुवाँ लिन्छ भने उसलाई क्यान्सर हुने खतरा धेरै हुन्छ ।
मिटरब्याज पीडितलाई प्रधानमन्त्रीको आश्वासन : अधिकारप्राप्त उच्चस्तरीय आयोग गठन हुन्छ
काठमाडौं । सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि न्यायिक अधिकारप्राप्त उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मिटरब्याज पीडितहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो आश्वासन दिएका हुन् । उनले मिटरब्याज पीडितहरुका समस्या दीर्घकालीन समाधानका लागि ऐनको नै व्यवस्था नभएकाले अब सरकारले ऐन निर्माणको काम थालिसकेको बताए । उनले मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न र उनीहरुमाथि मुद्दा चलाउन सक्नेगरी ऐन तयारीको अन्तिम चरणमा रहेको स्पष्ट पारे । प्रधानमन्त्री दाहालले उच्चस्तरीय आयोग ‘¥यापिड एक्शन पोस्ट’ सरह काम गर्नेगरी अघि बढाइने बताए । उनले भने, ‘मिटरब्याज पीडितहरुलाई न्याय दिने र मिटरब्याजीहरुलाई कारबाही गर्ने ऐनको नै अभाव छ । मैले यसपटक आउने बित्तिकै ऐन ड्राफ्ट गर्न लगाएँ र अहिले त्यो ऐन अन्तिम चरणमा छ । मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न सकियोस्, उनीहरुमाथि मुद्दा चलाउन सकियोस् भनेर ऐन बनाउने प्रक्रिया अघि बढाइएको छ ।’ प्रधानमन्त्रीले समस्याको समाधान अहिले गर्न नसकिए कहिल्यैपनि गर्न नसकिने समेत बताए । ‘मिटरब्याजीको समस्या अहिले समाधान भएन भने कहिल्यै पनि हुँदैन’, उनले भने, ‘मिटरब्याजी समस्यालाई लिएर मन्त्रीस्तरीय बैठकबाट नै एउटा उच्चस्तरीय आयोग तत्काल फिल्डमा गएर कारबाही गर्नसक्ने, न्यायिक अधिकारसमेत प्रयोग गर्नसक्ने आयोग बनाउने निर्णय मन्त्रीपरिषद्ले गरेको छ ।’ प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितका सबै माग पूरा गर्ने तयारीमा आफू रहेको बताए । शनिवार प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुगेका उनीहरुले प्रधानमन्त्री दाहालसँग भक्कानिएर आफ्ना पीडाहरु राखेका राखेका थिए । उनीहरुले आफ्ना ६ वटा मागहरु पूरा सम्बोधन भएपछि मात्रै काठमाडौं छोड्ने प्रधानमन्त्रीसँग अडान लिएका छन् । प्रधानमन्त्री दाहालले भने अब पुनः गृह मन्त्रालयको सरकारी टोलीसँग यसबारे सम्झौता गरेर मात्रै घर फर्किन आग्रह गरेका छन् ।
महाकाली अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी
कञ्चनपुर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी भइरहेको छ । अस्पताल प्रशासनले डायलासिस सेवा सञ्चालनका लागि भौतिक संरचना र जनशक्ति तयारी अवस्थामा राखेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले बताए । ‘स्वास्थ्य सेवा विभागका निर्देशक लगायतको टीमले अनुगमन गरेको छ’, अध्यक्ष भट्टले भने, ‘अर्को हप्तादेखि सेवा सञ्चालन गर्ने गरी तयारीमा लागेका छौं’, उनले डायलासिस सेवाका लागि आवश्यक जनशक्ति माग गरेर अहिले तालिम गरिरहेको बताए । यसअघि बजेट अभाव र स्वास्थ्य सेवा विभागले डायलासिस सञ्चालनको अनुमति नदिँदा सेवा सञ्चालन हुन सकेको थिएन । ‘करिब रु एक करोडको लागतमा मेसिन खरिद गरेर अस्पतालमा तयारी अवस्थामा छ’, उनले भने, ‘तत्काललाई दुई चरणमा सेवा सञ्चालन गर्ने गरी तयारीमा लागेका छौ ।’ महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टले अस्पतालमा सेवा सञ्चालनको तायरी भइरहेको बताए। ‘सङ्घीय सरकारबाट आएको बजेट कटौती पनि भयो विभागबाट अनुमति पाउन समेत ढिलाइ भयो’, डा भट्टले भने, ‘अहिले प्रदेश सरकारको पनि सहयोग मिलेको छ सेवा छिट्टै सुरु हुन्छ ।’ महाकाली अस्पतालमा डायलासिस सेवा नहुँदा समस्या झेल्नुपरेको यहाँका सेवाग्राहीको गुनासो छ । ‘धनगढीको सेती अस्पतालमा मात्रै डायलासिस हुन्छ त्यहा बिरामीको चापले पालो पाउनै मुस्किल पर्छ’, स्थानीय गोपाल जोशीले भने, ‘हामीले बाध्य भएर उपचारका लागि भारत जानुपर्छ ।’ उनले महाकाली अस्पतालमा सेवा पाए यहाँका थुप्रै बिरामीलाई सहज हुने बताए। रासस ।
ललितपुरको नख्खु सडकको काम अब केही दिनमै सम्पन्न हुने
सांकेतिक तस्बिर ललितपुर । लामो समयसम्म सडक अलपत्र हुँदा धेरै नागरिकले दुःख पाएको नख्खु उकालोको सडक अब केही दिनमै सम्पन्न हुने भएको छ । पाँच वर्ष पहिले नख्खु–बुङमती सडक विस्तार सुरु भएकामा अरु खण्डमा सकिए पनि प्रवेशबिन्दुको रुपमा रहेको नख्खु उकालोमा सडक अलपत्र रहेको थियो । पछिल्लो समय खानेपानीको पाइपका कारण कालोपत्र हुन नसकेकोमा त्यो व्यवस्थापन सकाएर कालोपत्र गर्न लागिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । अबको केही दिनमा नै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पाइपको काम सकाउने र त्यसपछि सडक कालोपत्र गरिने आयोजनाका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । नख्खु उकालोमा अहिले खानेपानीको पाइपको काम अन्तिम चरणमा रहेको छ । लिमिटेडले अहिले कनेक्सन (पाइप जोड्ने) काम गरिरहेको र अबको चारपाँच दिनमा सकाउने सूचना अधिकारी जोशीले बताए । उनले भने, ‘उकालोको काम यो महिनाभित्र सकाउने लक्ष्य छ ।’ लिमिटेडले अहिले रात दिन खटिएर निरन्तररुपमा पाइप व्यवस्थापनको काम गरिरहेको सूचना अधिकारी जोशीले जानकारी दिए। पाइपको काम मसिनो हुने र थोरै काम देखिए पनि प्रत्येकलाई पाइपलाई जोडेर गर्नुपर्ने हुँदा समय लागेको हो । उनले भने, ‘मुख्य पाइपको काम भइसकेको छ र चार पाँच दिनमा घरघरमा कनोक्सन दिने काम हुनेछ ।’ भैँसेपाटीबाट बुङमतीको खण्डमा पनि चैतसम्म सकाउनुपर्ने उहाँको भनाइ छ । सो खण्डमा अहिले लिमिटेड, नेपाल टेलिकमलगायतका अरु निकायले पनि काम गरिरहेको हुँदा अलि ढिला हुन गएको छ । रासस ।
सामुदायिक विद्यालयमा अब्बल बन्दै पाल्पा रामपुरको ‘रामतुलसी’
पाल्पा । हुने खाने परिवारका अभिभावकले भरसक गाउँका सामुदायिक विद्यालयमा आफ्ना बालबालिकालाई पढाउन चाहँदैनन् । सामान्य परिवारका बालबालिकाले मात्रै पढ्ने थलोको रुपमा ग्रामीण भेगका सामुदायिक विद्यालयलाई लिइन्छ । रामतुलसी नमुना माध्यमिक विद्यालय भने अहिले अधिकांश अभिभावकको रोजाइमा पर्न थालेको छ । गाउँका सामुदायिक विद्यालयमा पढाएर बालबालिकाले के नै ज्ञान सिक्लान् र भन्ने अभिभावकको संशयलाई अहिले रामतुलसीले बदल्दै छ । रामपुर नगरपालिकाको यो विद्यालय पाल्पा जिल्लाकै धेरै विद्यार्थी अध्ययन गर्नेमा पर्दछ । समायनुकूलको शिक्षा विद्यालयले दिन थालेपछि यस विद्यालयमा विद्यार्थी सङ्ख्या बढेको छ । संस्कारसहित हरियाली वातावरणमा खेल्दै सिक्दै गर्ने, पर्याप्त प्रविधि सहितको शिक्षाले अभिभावक तथा विद्यार्थीको ध्यान तानिएको छ । आधुनिकताको नाममा अहिलेका बालबालिकाले आफ्ना रहनसहन, संस्कार भुल्दै गएकाले संस्कार सहित समयानुकूल शिक्षा दिने गरिएको छ । विद्यालयमा पूर्वप्राथमिक ए, अङ्ग्रेजी माध्यम बि र नेपाली माध्यम सी ग्रेड गरी पठनपाठन चलाइएको प्रधानाध्यापक बालकृष्ण लम्सालले बताए। ‘आधुनिक प्रविधि, संस्कारसहितको खेल्दै रमाउँदै ज्ञान सीप सिक्ने वातावरण तयार पारेका छौँ’, प्रअ लम्सालले भने । पर्व, संस्कृतिको जानकारी दिन कृष्णाजन्माष्टमी, दसैँतिहार, फागुपूर्णिमा जस्ता विभिन्न चाडपर्वमा विद्यालयले तल्ला कक्षामा अध्ययन गर्ने बालबालिकालाई पर्व उत्सव कार्यक्रम गर्छ । रामपुरबाट गुणस्तर शिक्षालाई बाहिर सहरका विद्यालयमा पढाउन लैजाने प्रवृत्ति हटाउन मण्टेश्वरी शिक्षाको अवधारणा ल्याइएको छ । प्रधानाध्यापक लम्सालका अनुसार विद्यालयमा आगामी शैक्षिक सत्रमा सङ्गीत, संस्कृति, खेलकुदजन्य शिक्षक व्यवस्थापन कक्षा चलाउने, अतिथि कक्ष, कम्तीमा ५० जनासम्म बसोबास गर्न मिल्ने होस्टेल राख्ने सोँच छ । विद्यालयमा तीन वर्षयता पूर्वप्राथमिक शिक्षा सुरु गरेपछि संस्थागत स्कुलमा नै पढाउनुपर्छ भन्ने मानसिकता राखेका अभिभावकले यस विद्यालयमा आफ्ना बालबालिका पढाउन थालेका छन् । बालबालिकाले घरमा साथीभाइबीचको आत्मीयता, परिवारका सदस्यलाई गर्ने आदर सत्कारजस्ता कुराको ज्ञान आर्जन गरेको अभिभावक महेन्द्र श्रेष्ठले बताए । उनी भन्छन्, ‘हामीले खोजेजस्तो पढाइ रामतुलसीमा पाइएको छ, संस्थागतमा पढाउनुपर्छ भन्ने सोचाइ यस विद्यालयले बदलीदिएको छ, पर्याप्त खेलमैदान, प्रशस्त खेलकुदजन्य सामग्रीको प्रयोग, खेल्दै रमाउँदै पढ्ने वातावरण, बालबालिकाको राम्रो हेरचाहले यस विद्यालय सबैको रोजाइमा परेको छ ।’ यहाँ मण्टेश्वरी तालिम प्राप्त आठ शिक्षकले पढाउनुहुन्छ । किताबीमात्रै नभई व्यवहारिक ज्ञानबाट सिक्ने वातावरण तयार पारेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल बताउँछन् । ‘हिजो बालबालिका विद्यालय आउन नमानेर घरमै अभिभावकलाई सताउने, रुने अवस्था थियो तर अहिले विद्यालयको शैक्षिक वातावरण फेरिँदै जाँदा विद्यालय आउन उत्साहित हुने गरेको पाइएको छ’, उनले भने। उमेर समूहअनुसार फरक फरक खालको शौचालय छ । साना कक्षाका बालबालिकालाई विद्यालयमै बनाएर खाजा खुवाउने व्यवस्था छ । चारैतिर व्यवस्थित पर्खालभित्र हरियाली रुख बिरुवासहितको प्राकृतिक वातावरणमा बसेर शिक्षण गर्दा विद्यार्थीमा सिकिरहुँ, पढी राखौँजस्तो अवस्था विद्यालयले सिर्जना गरेको छ । यहाँ दुई हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् । दुईवटा स्कुल बस नियमित चल्छ । उच्च शिक्षातर्फ कृषिबाली, विज्ञान शास्त्र, शिक्षा शास्त्र, व्यवस्थापन विषयमा पठनपाठन हुन्छ । चार कक्षाकोठामा कम्प्युटर, विज्ञान प्रयोशाला र दुई बैठक कक्ष छ । विसं २०२५ मा स्थापना भएको विद्यालय पार्टी, भवन, खुला चउर हुँदै अहिले पाल्पाकै नमूना विद्यालयको रुपमा विकास हुँदैछ । रासस ।
नारा लगाउँदै बालुवाटार पुगे मिटरब्याज पीडित
फाइल तस्बिर तराईका विभिन्न जिल्लाबाट पैदल यात्रा गरी काठमाडौंमा न्याय माग्न आएका मिटरब्याज पीडितहरु प्रधानमन्त्रीसग भेटका लागि बालुवाटार पुगेका छन् । शनिवार बिहानै उनीहरु आफ्ना माग पूरा गर्न नारा लगाउँदै बालुवाटार प्रवेश गरेका हुन् । मिटरब्याज पीडित र प्रधानमन्त्री पुष्पकमल दाहालबीचको छलफल अहिले बालुवाटारमा भइरहेको छ । उनीहरुले केही दिन यता प्रधानमन्त्रीलाई भेट्न खोजेपनि पाएका थिएनन् । प्रधानमन्त्री दाहालले शुक्रबार साँझ नै भेट गर्ने भनेपनि प्रधानमन्त्रीको कार्य व्यस्तताले सफल भएको थिएन । यसअघि पनि मिटरब्याज पीडितहरुले सरकारी टोलीसँग दुईपटक वार्ता गरिसकेका छन् । तर सहमति भएको छैन । आज बिहानै उनीहरुले पीडितलाई न्याय दे, मिटरब्याजीलाई कारबाही गर् जस्ता नारा लगाएर बालुवाटार पुगेका थिए । अहिले प्रधानमन्त्री र मिटरब्याज पीडितबीचको वार्ता जारी छ ।
नुवाकोटको दुप्चेस्वरमा टाटासुमो दुर्घटना हुँदा तीनको मृत्यु
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा अन्य १० जना घाइते भएकाले काठमाडौंमा उपचार भइरहेको छ । बेतिनीबाट यात्रु लिएर शुक्रबार काठमाडौं जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमा दुईजना र उपचारको क्रममा गए राति थप एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनको अनुसार काठमाडौँको ट्रमा सेन्टरमा उपचारको क्रममा ४५ वर्षीया सानुकान्छी तामाङको निधन भएको हो । घटनास्थलमा दुप्चेश्वर गाँउपालिका–४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको मृत्यु भएको थियो । घाइते दशमध्ये तीन जनाको अवस्था गम्भीर छ । रासस ।
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षामा ७१.४३ प्रतिशत पास
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार लिएको परीक्षामा ३०० जना परीक्षार्थी पास भएका छन् । काउन्सिलले लिएको २५ औं विशेष परीक्षामा ४२० जना परीक्षार्थीहरु सहभागी भएकोमा ३०० जना पास भएका हुन् । यो कुल परिक्षार्थीको ७१.४३ प्रतिशत हो । काउन्सिलको अनुसार ११९ जना फेल र १ जनाको नतिजा रोक्का भएको छ । यस अगाडि मंसिर ९ गते गते लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७४.१६ प्रतिशत सहभागी उत्तीर्ण भएका थिए ।