वीरगञ्जमा एक करोड ८९ लाखको राजस्व सङ्कलन
वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगन्ज पर्साले चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना अवधिमा एक करोड ८९ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियमको उल्लङ्घन गर्ने २१ हजार दुई सय सवारीसाधनमाथि कारबाही गरी एक करोड ८९ लाख १२ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगन्ज पर्साका प्रमुख प्रहरी निरीक्षक मणिराम थापाले जानकारी दिए । यस्तै चालु आव २०७९/८० को आठ महिनामा पर्सा जिल्लामा भएको दुई सय ८१ वटा सवारी दुर्घटनामा परी ३३ जनाको मृत्यु भएको छ । पर्साको मुख्य सडक तथा विभिन्न सहायक सडकमा भएको सवारी दुर्घटनामा २७ पुरुष, तीन महिला, तीन बालक गरी ३३ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ । बढ्दो सवारी साधनको चाप, साँघुरो सडक, चालकको लापरवाही तथा सडकमा छाडिने पशुचौपायाका कारण सवारी दुर्घटना बढेको उनको भनाइ छ । रासस
जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई अनिवार्य सरकारी स्कुल पढाउनुपर्ने
काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिका भित्रका जनप्रतिनिधि शिक्षक र कर्मचारीका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने भएको छ । पालिकाले सूचना प्रकाशित गर्दै आगामी शैक्षिक शत्रदेखि गाउँपालिका भित्रका जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीहरुलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउन भनेको छ । मिक्लाजुङ गाउँपालिकाको शिक्षा ऐन, २०७९ को दफा २२ बमोजिम विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरुका छोरा, छोरीहरुलाई अनिवार्य रुपमा आधारभूत तह (कक्षा-८) सम्म सामुदायिक विद्यालयमा पठनपाठन गराउनुपर्ने व्यवस्था रहेको र सोही अनुसार पालिका स्तरीय निर्णय गरिएको सूचनामा उल्लेख गरिएको छ ।
वन्यजन्तु अवलोकनको नयाँ गन्तव्य बन्दै चितवनको पिप्रहर
कावासोती । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम सेक्टरबाट समेत निकुञ्जभित्र जङ्गल सफारीको अनुमति दिएपछि नवलपुरको अमलटारी र पिप्रहरबाट निकुञ्जभित्र जङ्गल सफारी सुरु भएको छ । यो सँगै चितवन राष्ट्रिय निकुञ्जभित्रको ‘कोर एरिया’मा गैँडासहितका वन्यजन्तु अवलोकन गर्नका लागि सौराहा पुग्नुपर्ने बाध्यता हटेको हो । एक साता अगाडि नवलपुरको शिख्रौलीमा रहेको निकुञ्जको गिद्धेनी पोस्टबाट निकुञ्जभित्र रहेको आइसल्याण्ड जङ्गल रिसोर्टसम्मको करिब ५५ किलोमिटर लामो पर्यटनमार्गको शुभारम्भ भएसँगै देवचुली–१७ मा रहेको पिप्रहर होमस्टेबाट जङ्गल सफारीको थालिएको छ । बाह्य तथा आन्तरिक पर्यटकले चितवनको सौराहा पुगेर हात्ती सफारी वा जिप सफारी गरेर निकुञ्जको जङ्गल पसेपछि गैँडासँगै विभिन्न वन्यजन्तुको अवलोकन गर्ने गरेका थिए । होमस्टे होटल तथा पर्यटन व्यवसायी समितिको पहलमा दुई गाडीको प्रयोग गरेर यही चैत १७ गतेदेखि यस क्षेत्रभित्र औपचारिकरूपमा जङ्गल सफारीको सुरुआत गरिएको छ । निकुञ्जको पश्चिम सेक्टरको जङ्गलको मध्यभागमा सुरु भएको जङ्गल सफारी वन्यजन्तु पारखीका लागि महत्वपूर्ण सावित हुने जङ्गल पर्यटनमार्ग निर्माण समितिका अध्यक्ष एवं पर्यटन व्यवसायी सन्तोष धिताल बताउँछन् । जङ्गल सफारीका क्रममा तीन घण्टाको समयमा १४ वटासम्म एकसिङ्गे गैँडा फेला परेका देवचुली–१७ का वडाध्यक्ष गणेश शर्मा चालिसेले बताए । पिप्रहर होमस्टे नजिकै रहेको निकुञ्जको कुजौली पोस्टबाट प्रवेश गरिने यो रुट भएर जङ्गल सफारी गर्दा धेरैको सङ्ख्यामा एकसिङ्गे गैँडामात्रै होइन दुर्लभ प्रजातिको पाटेबाघ, भालु तथा धेरै सङ्ख्यामा चराचुरुङ्गीको अवलोकन गर्न पाइने भएकाले जङ्गल सफारी गर्नेका लागि यो मार्ग निकै महत्वपूर्ण हुने होमस्टे होटल तथा पर्यटन व्यवसायी समितिका अध्यक्ष प्लटप्रसाद चौधरी बताउँछन् । वन्यजन्तु अवलोकनका लागि अब नवलपुर र त्यसमा पनि नवलपुरको पिप्रहर नयाँ र महत्वपूर्ण गन्तव्य बन्ने तथा यसले सिङ्गो नवलपुरको पर्यटन तथा आर्थिक गतिविधिलाई माथि उठाउने उनको भनाइ छ । पहिलो दिनकै सफारीमा १४ सम्म गैँडा देखिएपछि उत्साहित भएका यस क्षेत्रका पर्यटन व्यवसायी सफारीमा प्रयोग गरिने जिपको सङ्ख्या बढाउने तयारीमा जुटेका छन् । अहिले भएको दुईवटा जिप यस क्षेत्रका होमस्टे सञ्चालक र पर्यापर्यटनसँग जोडिएका होटलहरूले सामूहिकरूपमा खरिद गरेर सञ्चालन गरेका छन् । जिप खरिदमात्रै होइन सफारीबाट आएको आम्दानीसमेत समितिमार्फत लगानीका आधारमा व्यवसायीलाई बाँडिने गरेर सामूहिक अवधारणामा जङ्गल सफारीको सुरुआत गरिएको पर्यटन व्यवसायी सन्तोष धितालले जानकारी दिए । पूर्व–पश्चिम राजमार्गको नारायणघाटबाट करिब ३० किलोमिटर पश्चिम यात्रा गरेपछि रजहर बजारबाट दक्षिणतर्फ करिब एक दशमलव पाँच किलोमिटर यात्रा पिप्रहर पुगिन्छ । यहाँ घुम्न आउने पर्यटकका लागि बास बस्नका लागि सामुदायिकरूपमा स्थापना गरिएको २२ होमस्टे सञ्चालनमा छन् भने साना र ठूला गरेर यस क्षेत्रमा डेढ दर्जन बढी राम्रा होटल सञ्चालनमा आएका छन् । गैँडालगायतका वन्यजन्तु अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई होमस्टेसँगै रहेको निकुञ्जको कुजौली पोस्टबाट प्रवेश दिने गरिएको छ । नेपालकै दोस्रो लामो जङ्गल सफारीको मार्ग दाबी गरिएको यस क्षेत्रबाट करिब ५५ किलोमिटर लामो जङ्गलको यात्रा गर्दा धेरै सङ्ख्यामा गैँडासहितका वन्यजन्तु देखिने भएकाले पनि गैँडासहितका वन्यजन्तु अवलोकनका लागि पिप्रहर नयाँ गन्तव्यको रुपमा विकास भएको छ । रासस
नेप्सेमा ८ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत साता विभिन्न ८ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत चैत १२ गते आइतबारदेखि चैत १७ गते शुक्रबारसम्म रिडी पावर कम्पनी, मुक्तिनाथ विकास बैंक, नेको इन्स्योरेन्स, अपी पावर कम्पनी, आरएसडीसी लघुवित्त, साधना लघुवित्त, शिखर इन्स्योरेन्स र नेपाल एसबिआई बैंक गरी ८ वटा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । रिडी पावर कम्पनीको ४० प्रतिशत बोनस वापतको ४४ लाख २५ हजार ४३२ कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर र २.१ प्रतिशत नगद गरी कूल ४२.१ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, मुक्तिनाथ विकास बैंकको १३.५ प्रतिशत बोनस वापतको ७६ लाख ३७ हजार १९४.१५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १३.५ प्रतिशत बोनस सेयर र ०.७१०५ प्रतिशत नगद गरी कूल १४.२१०५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, नेको इन्स्योरेन्सको १५ प्रतिशत बोनस वापतको २६ लाख २४ हजार ८१८.२० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्यारेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, अपि पावर कम्पनीको ७.५ प्रतिशत बोनस वापतको २८ लाख ८३ हजार ६८६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, आरएसडीसी लघुवित्तको ८ प्रतिशत बोनस वापतको ६ लाख ४४ हजार १२४.५९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, साधना लघुवित्तको १९ प्रतिशत बोनस वापतको ६ लाख १० हजार ३२८.४५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, शिखर इन्स्योरेन्सको १६ प्रतिशत बोनस वापतको ३६ लाख ८८ हजार ६६० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्यारेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, नेपाल एसबिआई बैंकको ३ प्रतिशत बोनस वापतको २९ लाख ४७ हजार ७५५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
विदेशमा परिश्रम गरेर फर्केका रुद्रमणि न्यौपाने कागतीखेतीबाट वार्षिक २० लाख आम्दानी गर्दै
पथरी । सूर्योदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी । पातलो गाउँको बीचमा रहेको उनको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ । उमेरले ४५ वर्ष टेकेका उनले दुई बिघा क्षेत्रफलमा लगाएको कागती देखेरे सबैले प्रशंसा गर्दछन् । मोरङको पथरी शनिश्चरे–२ कालापानीमा रहेको पथरी कृषि फार्मबाट सन्तुष्ट छन् उनी । लामो समय विदेशमा परिश्रम गरेका न्यौपाने आर्थिक अवस्था परिवर्तन नभएपछि चार वर्षअघि कृषि पेसामा फर्केका थिए । उनलाई कागतीले यतिबेला राम्रो प्रतिफल दिन थालेको छ । दुई बिघा क्षेत्रफल भाडामा लिएर कागतीखेतीसँगै नगदे बाली गर्दै आएका छन् । यतिबेला उनको बगानमा लटरम्मै कागती फुलेका र फलेका छन् । बगानमा एक हजार दुई सय कागतीका बोट छन । फार्मले तीन जनालाई रोजगारी दिएको छ । बजारको भाउअनुुसार फल बेच्नुपर्ने हुँदा कागतीको यकिन मूल्य भने छैन । फार्ममा दाना प्रतिगोटा तीन र बिरुवा प्रतिगोट ८० रुपैयाँका दरले बिक्री हुँदै आएको छ । उनी भन्छन्,’चार वर्षअघि ३२ लाख रुपैयाँ लगानीमो कागतीखेती सुरुआत गरेँ । अहिले उखु, साग, केराउ, प्याज, लसुनलगायतका नगदे बाली छन् ।’ बगानमा वार्षिक सात लाख दाना र १० हजार रुपैयाँभन्दा बढीको बिरुवा उत्पादन हुने गरेको छ । कागती र बिरुवाले राम्रो उत्पादन दिन थालेपछि धेरै टाढाका कृषकले पनि खरिद गर्ने गरेका छन् । बिरुवा बिक्रीबाट आठ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ । कागतीको दाना र बिरुवाबाट वार्षिक २० रुपैयाँलाखमाथि आम्दानी हुने गरेकोे कृषक न्यौपाने बताउँछन् । कागतीका बोट हुर्किँदै जाँदा क्याङ्गस र फङ्मसजस्ता रोगले निकै सताउने गरेको उनले बताए । कृषि प्राविधिकिसमेत रहेका न्यौपाने रोगले सताएमा बोटले राम्रो उत्पादन दिन नसक्ने बताउँछन् । उनी भन्छन् , ‘ग्रामीण भेगका यस्ता फार्मले राज्यबाट अनुदान पाउन निकै झन्झट ब्यहोर्नुपरेको छ ।’ रासस
ओछ्यानमा पैसाको नोटमाथि सुत्ने व्यक्तिको खोजी गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ओछ्यानमा पैसाको नोटमाथि सुत्नेको खोजी भइरहेको बताएका छन् । गभर्नर अधिकारीले ओछ्यानमा नाटक गरी पैसाको नोटमाथि सुत्ने मान्छेको खोजतलासी भइरहेको जानकारी दिएका हुन् । पछिल्लो समय बैंकमा तरलता अभाव हुँदा केही व्यक्तिहरूले सामाजिक सञ्जालमा पैसाको नोट बिछ्याएर सुतेको फोटो सार्वजनिक गरेका थिए । सोही विषयमा राष्ट्र बैंकले अनुसन्धान गरिरहेको गभर्नर अधिकारीले बताए । ‘बजारमा पैसा कहाँ गयो ? कसले लुकायो भन्छन्, कसैले ओछ्यानमा नाटक गरी पैसाको नोटमा सुतेको फोटो देखिन्छ, त्यसरी ओछ्यानमा पैसाको नोटमाथि सुत्नेलाई राष्ट्र बैंकले अध्ययन गर्दैछ,’ उनले भने । गभर्नर अधिकारीले ‘ट्रेस’ गरेर ओछ्यानमा पैसामाथि सुत्ने व्यक्तिको खोजी गरिरहेको बताए । त्यसरी पैसा माथि सत्नु गलत भएको उनको भनाइ छ । ‘त्यो विषयमा हामीले ‘ट्रेस’ गर्दैछौँ, पत्ता लगाइ रहेका छौँ, त्यसरी पैसा माथि सुत्नु गलत हो, ती व्यक्तिको खोजी गरेर छानबिन गर्ने काम भइरहेको छ,’ उनले भने । साथै पछिल्लो समय बजारमा नोटको सर्कुलेसन घटेको उनको भनाइ छ । डिजिटल भुक्तानी बढेका कारण एक खर्ब रुपैयाँ बराबरको नोट सर्कुलेसन घटेको उनले बताए । ‘पहिलाको भन्दा उल्लेख्य रुपमा सर्कुलेसन घटेको छ, डिजिटल पेमेन्टको असर धेरै राम्रो परेको छ, असार मसान्तमा सरकारको खर्च धेरै हुँदा र दशैँ तिहारमा नोटको सर्कुलेसन बढी हुन्छ तर, विगत २ वर्षदेखि नोटको सर्कुलेसन बढाउनु परेको छैन,’ उनले भने, ‘२०७८ असोजमा सबैभन्दा धेरै ७२८ अर्ब रूपैयाँ बराबरको सर्कुलेसन भएको थियो, पछिल्लो तथ्याङ्क हेर्दा ६२७ अर्ब रूपैयाँमा झरेको छ ।’
प्रभु लाइफको प्रधान कार्यालय सर्दै, स्थिर सम्पत्ति राख्यो बिक्रीमा
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले प्रधान कार्यालयको तयारी अवस्थामा रहेको लिजहोल्ड सम्पत्ति बिक्री गर्ने भएको छ । कम्पनीले प्रधान कार्यालय अन्य स्थानमा स्थानान्तरण गर्ने भएकाले कार्यालयको आन्तरिक सजावट लिजहोल्ड बिक्रीमा राखेको हो । कम्पनीको कार्यालयमा रहेका स्थिर सम्पत्तीहरु यथास्थितिमा बिक्री गर्ने कम्पनीले जनाएको छ । बैंक एवं वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्था तथा अन्य कार्यालय प्रयोजनको लागि उपयुक्त हुने कम्पनीले बताएको छ । तयारी अवस्थामा रहेका स्थिर सम्पत्ति खरिद गर्न इच्छुक संघ संस्थाले १५ दिनभित्र आवेदन पेश गर्न आग्रह गरेको छ । आमिर भवन कमलादीको ४ हजार ५ सय वर्ग फिटको ५ वर्ष पुरानो र आर्यतारा विजनेश टावर भवनको २ वर्ष पुरानो २ हजार वर्ग फिटको दोस्रो तला बिक्री गर्ने भएको हो ।
नेशनल लाइफको बोनस दर सार्वजनिक, अधिकतम ८५ रुपैयाँ
काठमाडौं । नेशनल लाइफले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । बीमा प्राधिकरणबाट स्वीकृत भई बीमालेखहरुमा नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले सावधिक जीवन बीमालेखमा ० देखि ९ वर्ष अवधि, १० देखि १४ वर्ष अवधि र १५ देखि २० वर्ष अवधिको लागि प्रतिहजार ६४ रुपैयाँ बोनसदर दिने बताएको छ । २१ देखि २५ वर्ष अवधिको लागि प्रतिहजार ७० रुपैयाँ, २६ देखि २९ वर्ष अवधि र ३० वा सोभन्दा माथि बीमा अवधिको लागि कम्पनीले ८५ रुपैयाँसम्म बोनस दर दिने भएको हो । यस्तै, कम्पनीले सावधिक तथा आजीवन बीमालेखमा ० देखि ९ वर्ष, १० देखि १४ वर्ष, १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ६४ रुपैयाँ बोनस दर दिने भएको छ । यस्तै, २१ देखि २५ वर्ष अवधिको लागि प्रतिहजार ७० रुपैयाँ, २६ देखि २९ वर्ष अवधि र ३० वा सो भन्दा माथि अवधिको लागि कम्पनीले ८५ रुपैयाँ बोनस दर दिने भएको हो । यस्तै, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष, १० देखि १४ वर्ष अवधिको लागि ६३ रुपैयाँ बोनस दर प्रदान गर्ने भएको छ । साथै, १५ देखि १९ वर्ष, २० देखि २५ वर्ष, २६ देखि २९ वर्ष र ३० वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ६४ रुपैयाँ बोनस दर तोकेको छ ।