सीएनआईका टोलीले भेटे अर्थमन्त्री डा. महत, अर्थतन्त्र सुधारको लागि बुझाए १० बुँदे सुझाव
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले नवनियुक्त अर्थमन्त्री डा. प्रकाश शरण महतसँग मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल गरेको छ । परिसंघले अर्थतन्त्रमा तत्काल सुधार ल्याउन चालिनुपर्ने १० बुँदे सुझाव अर्थमन्त्रीलाई दिएको छ । परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले नवनियुक्त अर्थमन्त्री महतलाई आइतबार बधाई दिँदै अर्थतन्त्र सुधारका सुझाव प्रस्तुत गरेको हो । परिसंघका अध्यक्ष अग्रवालले हालको चुनौतीपूर्ण अर्थतन्त्रमा तत्काल सुधार ल्याउन ब्याजदर घटाइनुपर्ने, तरलता सहज गराईनुपर्ने, लगानीका लागि प्रोत्साहन गर्नुपर्ने बताए । यी तीन विषयलाई केन्द्रमा राखेर उच्च मनोबलका साथ काम हुन पाएमा अर्थतन्त्रमा छिटो सुधार आउने उनले विश्वास व्यक्त गरे । ब्याजदर घटाउन एवं तरलताको स्थिती सहज बनाउन सीआरआर ३ प्रतिशतमा झारिनुपर्ने, नीतिदर र बैंक दर घटाईनुपर्ने, बैंक तथा वित्तीय संस्थामा रहेको स्थानिय तहको संचित कोषमा भएको मौज्दात रकमको सत् प्रतिशत निक्षेपको रुपमा गणना गर्ने व्यवस्था गर्नुपर्ने सुझाव अध्यक्ष अग्रवालले दिए । यस्तै, मुद्दती खाता र बचत खाताको ब्याजदरको अन्तर अधिकतम ५ प्रतिशत हुने व्यवस्था हटाउनुपर्ने, सेयर बजार तथा घरजग्गामा जाने मार्जिन ल्याण्डिङमा जोखिमभार १०० प्रतिशतमा झारिनुपर्ने सुझाव पनि परिसंघले दिएको छ । निर्माण क्षेत्रमा दिईनुपर्ने भुक्तानी छिटो निकासा गराउन पनि परिसंघले सुझाव दिएको छ । यसले बजारमा तरलता बढाउन सहयोग पुग्नेछ । परिसंघको सुझाव लिँदै अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए । उनले सकारात्मक ‘सेन्टीमेन्ट’ सिर्जना गर्न लागि पर्ने बताए । ‘अर्थतन्त्र सुधारका लागि सकारात्मक सेन्टीमेन्ट निर्माण गर्न पूर्ण रूपमा लाग्नेछौं । जहाँबाट समस्या आएको छ, त्यहीबाट सुधार गर्न तयार छौं । त्यसमा तपाईहरुको पनि सहयोग आवश्यक पर्छ,’ उनले भने । यसका लागि परिसंघसँग सहकार्य गर्ने पनि बताए । अर्थमन्त्रीसँगको भेटमा वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवाल, उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, हेमराज ढकाल, रोहित गुप्ता, परिसंघ गभर्निङ्ग काउन्सिल सदस्यहरु शिवरतन शारडा, परिसंघका महानिर्देशक दिपकराज जोशीलगायत थिए ।
सूर्यज्योति लाइफको एमडीआरटी सीओटी शाही र टीओटी घिमिरे सम्मानित, घिमिरेले पाए रोयल इन्फिल्ड
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले एमडीआरटी २०२३ का लागि मनोनित सबै एमडीआरटीहरुलाई सम्मान गरेको छ । इन्स्योरेन्सले धुलिखेलमा आयोजना गरेको एमडीआरटी मीट २०२३ मा सबै एमडीआरटीहरुलाई सम्मान गरेको हो । कम्पनीले एमडीआरटीमध्ये सीओटी हुन सफल गौरब कुमार शाही र टीओटी कमल प्रसाद घिमिरेलाई विशेष सम्मान गरेको छ । साथै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले टीओटी कमल प्रसाद घिमिरेलाई रोयल इन्फिल्ड मोटरसाईकल हस्तान्तरण गरेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतहरुले उक्त कार्यक्रममा सीओटी, टीओटी, तथा एमडीआरटीहरुलाई सम्मान गर्नुका साथै उत्प्रेरणात्मक तालिम प्रदान गरेका थिए । सोहि कार्यक्रममा उपस्थित सम्पुर्ण व्यक्तित्वहरुले एकसाथ कम्पनीको २०८० सालको क्यालेन्डर अनावरण गरेका थिए । उक्त क्यालेन्डरमा देशका विभिन्न स्थानहरुबाट सूर्यज्योति झल्किने मनमोहक तस्बिरहरु समावेश गरिएको छ । यस कार्यक्रमले आगामी वर्षहरुमा एमडीआरटी संख्या अझ वृद्धि गर्ने हौसला मिलेको सीओटी गौरव कुमार शाहीले जानकारी गराए । सोही कार्यक्रममा टीओटी कमल प्रसाद घिमिरले अभिकर्ता पेशालाई मर्यादित बनाउन अहोरात्र आफु खटिने जानकारी गराए । वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सदैव लक्ष्य उच्च राखेमा अवश्य सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश कार्यक्रममा व्यक्त गरेका थिए । प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले आगामी वर्षमा तुलनात्मक हिसाबले एमडीआरटीहरुको संख्यामा वृद्धि गर्न हौसला दिँदै आजैबाट आफ्नो गन्तव्यतिर लाग्न प्रेरित गरेका थिए । सूर्या लाइफ र ज्योति लाइफको सफल मर्जर पश्चात बनेको आईएसओ ९००१ः२०१५ बाट सम्मानित सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनीको हाल चुक्ता पुँजी ४ अर्ब ५४ करोड रहको छ । साथै, कम्पनीले १८१ शाखा कार्यालयहरुबाट देशभर सेवा प्रदान गर्दै आएको छ ।
महासंघको चुनावी मैदानमा उत्रिए युवा उद्यमी गोयल, युवा र महिलालाई उद्यमशीलतामा प्रवर्द्धन गर्ने एजेण्डा
काठमाडौं । नयाँ नेतृत्व चयनका लागि चैत २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनका लागि हरेक दिन जसो नयाँ नयाँ उम्मेदवारी घोषणा भइरहेका छन् । यस क्रममा एसोसियट तर्फबाट केन्द्रीय सदस्यका लागि गोयल ग्रुपका कार्यकारी निर्देशक चिराग गोयलले पनि उम्मेदवारी दिने घोषणा गरेका छन् । व्यवसायी घरानाको महत्वपूर्ण जिम्मेवारीमा रहेका गोयलले युवाहरुलाई व्यवसायमा आउनका लागि प्रेरणा दिनका लागि पनि आफूले उम्मेदवारी दिएको बताउँदै आएका छन् । निजी क्षेत्र र सरकारबीच आवश्यक समन्वय गरेर समस्या समाधान गर्नका लागि आफूले महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको उनको भनाइ छ । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठनको नेतृत्वका लागि मैदानमा उत्रिएका गोयल युवा उद्यमी हुन् । विगत एक दशकदेखि व्यवसायीक क्षेत्रमा लागिरहेका उनी निर्माण, खानी तथा सूचना प्रविधिमा आबद्ध रहेका छन् । आफू व्यवसायी भए पनि नाफामा मात्र नभई समाज र राष्ट्रको समग्र विकासमा टेवा पुर्याउने गरि काम गरिरहेको उनी सुनाउँछन् । नाफाका लागि त सबैले काम गर्छन तर राज्यको विकासका लागि हामीले सोच्नु पर्ने उनी बताउँछन् । गोयलले विनाशकारी भूकम्प र कोभिड महामारीका बेलामा समेत थुप्रै कामहरू गरे । जसले उनलाई समाज सेवीका रुपमा पनि स्थापित गरेको छ । उनले भूकम्पपछि संस्था स्थापना गरेर १ हजार ६३ वटा घर बनाए । आफूले गरेको कामको प्रचार गर्ने भन्दा पनि त्यसले परिणाम दिनु पर्नेमा विश्वास राख्ने गोयलले कोरोना महामारीका बेलामा समेत क्वारेनटाइन निर्माण गर्नका लागि आफ्नो निजी निवास समेत निःशुल्क उपलब्ध गराएका थिए । त्यसका साथै उनले निःशुल्क रुपमा खाना समेत वितरण गरेका थिए । गोयलले चैत २८ गते हुने महासंघको महाधिवेशनबाट कार्यसमितिमा गएर देशको विकासमा टेवा पुर्याउने योजना बुनेका छन् । उनले अहिले महासंघको केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् । एफएनसीसीआईको निर्वाचनमा एक होनाहार युवा उम्मेदवारकारुपमा उत्रिएका उनी नेप्लिज योङ इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) को काठमाडौं च्याप्टरको अध्यक्ष समेत हुन् । एनवाईईएफ मार्फत पनि उनले सामाजिक काम गरिहेका छन् । युवाहरुलाई व्यवसायमा आकर्षित गर्नका लागि पनि आफूले महासंघको चुनावी मैदामा उत्रिएको उनी सुनाउँछन् । स्टार्टअप र युवा उद्यमीहरूको विकास गर्न मद्दत गर्न प्रतिबद्ध संस्थाको नेतृत्व गरिरहेका उनी विशेषगरि पछिल्लो समय युवा उद्यमीहरूको समस्यामा केन्द्रित छन् । त्यस्ता समस्याहरूलाई उर्जागर गरी समाधानको पहल गर्ने, उद्योग वाणिज्य महासंघसँग मिलेर काम गर्ने, नयाँ उद्यमी, युवा पुस्ताको स्टार्टअप, महिला उद्यमीलाई पनि उनी सहयोग गर्दै आएका छन् । उच्च विद्यालय र विश्वविद्यालय स्तरमा उद्यमशीलता र रोजगारी सिर्जनाको बारेमा चेतना जगाउने उद्देश्यले विभिन्न सेमिनार, कार्यक्रम र सम्मेलनहरू सञ्चालन गरेर एनवाईईएफ मार्फत नेपालमा उद्यमशीलता प्रवर्द्धन गर्नका लागि पनि गोयल लागि परेका छन् । उनको मुख्य एजेन्डा युवाहरूलाई उद्यमशीलतामा प्रवर्द्धन गर्नु र यो बाटो लिन चाहने महिलाहरूलाई सहयोग प्रदान गर्ने रहेको छ ।
महासंघको खातामा २० करोड बचत, ‘अब विदेशी दातृसँग हात फैलाउनु नपर्ने’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फका उपाध्यक्षका उम्मेद्वार सुकुन्तलाल हिराचनले अब विदेशी दातृसँग हात फैलाउनु नपर्ने बताएका छन् । आइतबार आइतबार काठमाडौंको एक होटलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले महासंघसँग २० करोड खातामा रहेकोले अब विदेशी दातृसँग हात फैलाउनु नपर्ने बताएका हुन् । ‘२० करोड महासंघको खातामा छ, अब कार्यक्रम गर्न कसैको मुख ताक्नु पर्दैन, विदेशी दातृ निकायसँग सहयोग माग्नु पर्दैन, पहिले पैसा मागेपछि केही झुक्नु पर्थ्यो तर अब झुक्नु पर्दैन, उनले भने- ‘आफ्नै खुट्टामा उभिएका छौं ।’ हाल महासंघको कोषाध्यक्ष समेत रहेको हिराचनले पहिले विभिन्न संस्थाबाट पैसा माग्ने गरेको तर अब आवश्यकता नभएको जानकारी गराए । अब महासंघमा आर्थिक संकट नहुने पनि उनको भनाई छ ।
अशोक लेल्यान्डले पोखरामा लञ्च गर्यो नयाँ शोरुम र सर्भिस सेन्टर, थप ४ आउटलेट सञ्चालनमा ल्याउने
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लिद्धारा प्रवर्द्धित अशोक लेलैण्डले पोखरामा आफ्नो स्टाइलिस, बेस्ट-इन-क्लास शोरुम र स्टेट-अफ-द-आर्ट सर्भिस सेन्टरको शुरुवात गरेको छ । ग्राहकहरूका लागि नयाँ र समसामयीक सेटअपहरू प्रस्तुत गर्दै आइरहेको आइएमई मोटर्सरअशोक लेल्यान्डले नेपाली बजारमा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने अर्को थप कदमको रुपमा यो कार्य अगाडि बढाएको हो । नयाँ सुविधायुक्त सेवा पोखरा-बाग्लुङ राजमार्गको पर्स्याङमा अवस्थित छ । छिटो र भरपर्दो ‘बिक्री पछिको सेवा’ उपलब्ध गराउने उद्देश्यका साथ पहुँच र उपलब्धताको हिसाबले अशोक लेल्यान्डको देशभर उत्कृष्ट नेटवर्क उपलब्ध छ । अशोक लेल्यान्डका पहिले नै देशभर १८ आउटलेट छन् भने निकट भविष्यमै ४ थप आउटलेट सञ्चालनमा आउँदै छन् । त्यसैगरी हाल देशभर ४८ स्पेयर पार्ट्स आउटलेट छन् भने २० आउटलेट सञ्चालनमा छन् । अत्याधुनिक शोरुमले अग्रणी ब्रान्ड अशोक लेल्यान्डका फुल रेन्ज सवारी साधन उपलब्ध गराउने छ । ग्राहकले आफ्नो अनुकूलता अनुसार विभिन्न मोडलको स्पेसिफिकेसन तथा फिचर तुलना गरी आफूलाई उपयुक्त सवारी साधन छनोट गर्न सक्ने छन् । आधिकारिक सर्भिस सेन्टर, पीके ट्रेडिङ, सँग अनुभवी तथा तालिमप्राप्त र सीपयुक्त प्राविधिकहरुको समूह छ, जसले अशोक लेल्यान्डका सबै कमर्सियल सवारी साधन मोडलमा भएका समस्याको समाधान र मर्मत गर्न सक्छन् । मर्मत कार्यलाई छिटो र कुशलतापूर्वक सम्पन्न गर्ने सुनिश्चितताका लागि सर्भिस सेन्टर अत्याधुनिक टुल्स र इक्विपमेन्टले सुसज्जित छ । सवारी साधन चलायमान गराई राख्नका लागि सर्भिस सेन्टरले नियमित मर्मत सेवा समेत प्रदान गर्छ । स्पेयर पार्ट्स डिपार्टमेन्टले सबै प्रकारका कमर्सियल सवारी साधनका लागि उपयुक्त जेन्युइन पार्ट्सको स्टक उपलब्ध गराउँछ । आफ्नो सवारी साधनमा फिट हुने र प्रभावकारी रुपमा कार्य गर्ने गरी डिजाइन गरिएका स्पेयर पार्ट्स यहाँ उपलब्ध हुने भएकाले ग्राहक ढुक्क हुन सक्छन् । कम्पनीले आफ्ना ग्राहकलाई उच्च स्तरको सेवा उपलब्ध गराउन यो नयाँ शोरुम र सर्भिस सेन्टरमा लगानी गरेको हो । शोरुम र सर्भिस सेन्टरको उद्घाटन गर्दै आईएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले भने, ‘हाम्रो प्रतिवद्ध ग्राहक केन्द्रीत रणनीतिको एक हिस्साका रूपमा हामी हाम्रो डिलरशिप नेटवर्क विस्तार गर्न सधैं तत्पर छौं । नेपालका सबै प्रमुख सहरहरूमा फैलिएको हाम्रो विद्यमान व्यापक नेटवर्कमा नयाँ आउटलेटहरूलाई स्वागत गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं । थप भएका यी आउटलेटहरूले ग्राहकहरुलाई सजिलो र सहज पहुँच प्रदान गर्ने मात्र नभई ग्राहकहरूलाई विश्व स्तरको अनुभव पनि दिनेछ ।’ ग्राहक सेवा र सन्तुष्टिमा पूर्ण ध्यान केन्द्रित गर्दै आइएमई मोटर्सरअशोक लेल्यान्ड ग्राहकका माग र अपेक्षाहरू पूरा गर्न प्रतिवद्ध छ । कम्पनीका प्रमुख दुई रणनीतिक पिलर ‘सेल्स पोइन्टमा बेस्ट-इन-क्लास ग्राहक अनुभव’ र ‘छिटो र भरपर्दो बिक्री पछिको सेवा’ हुन् । आईएमई मोटर्सले विश्वस्तरीय रिटेल ब्रान्ड अफरिङ र उत्कृष्ट सवारी साधन स्वामित्व अनुभव सुनिश्चित गर्दै ग्राहक सेवा अभिवृद्धि गर्ने कार्यलाई निरन्तरता दिनेछ । साथै, आईएमई मोटर्सले दीर्घकालीन अवधिका लागि प्रतिस्पर्धी ब्याजदरमा सहज र छिटो ऋण उपलब्ध गराउन एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, भएचपीपीएल (भेन्चर हायर पर्चेज प्रा.लि) र नबिल बैंकसँग सम्झौता गरिसकेको छ । हालै कम्पनीले प्रसिद्ध लाइट कमर्सियल भेइकल ‘दोस्त’ का लागि ५ वर्षे वारेन्टी घोषणा गरेको छ, जसले ग्राहकलाई सहज रुपमा स्वामित्वको अनुभूति प्रदान गर्ने विश्वास गरिएको छ । नेपालको कमर्सियल सवारी साधन बजारमा अशोक लेल्यान्डको बलियो उपस्थिति छ । देशभर शोरुम तथा सर्भिसिङ सहितका टच प्वाइन्ट विस्तार कार्यलाई कम्पनीले निरन्तरता दिइरहेको छ । विगत दुई वर्ष यता कम्पनीले आक्रामक रुपमा बजार विस्तार गरिरहेको छ र बजार हिस्सा समेत वृद्धि गर्दै गएको छ । हाल अशोक लेल्यान्ड, नेपालको दोस्रो ठूलो कमर्सियल भेइकल ब्रान्ड बनेको छ ।
नेपालको अर्थतन्त्रको ३ प्रतिशत हिस्सा मेरो छ, १८ हजारलाई रोजगारी दिएको छु : रामचन्द्र संघई
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका आसन्न निर्वाचनका वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईले नेपालको अर्थतन्त्रको तीन प्रतिशत हिस्सा आफ्नो रहेको दावी गरेका छन् । आइतबार काठमाडौंको एक होटलमा आफ्नो उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उनले सो दावी गरेका छन् । त्यस्तै, उनले १८ हजार जनालाई रोजगारी दिएको समेत बताएका छन् । २०२२ सालमा संघ स्थापित हुँदाको तुलनामा नेपालको अर्थतन्त्र अहिले झण्डै १०० गुणाले वृद्धि भएर ४५ खर्ब पुगेको उनले बताएका छन् । त्यतिबेला केही हजारको संख्यामा रहेका उद्यमी व्यवसायीको संख्या अहिले १० लाख हाराहारी पुगेको छ । मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको लगानी, भूमिका र योगदानको हिस्सा झण्डै ८० प्रतिशतको हाराहारी पुगेको अनुमान वरिष्ठ उपाध्यक्ष सघाईले गरेका छन् । साथै, उनले आफ्नो घोषणापत्र सार्वजनिक गर्दै ३ विषयलाई मूल मुद्दा बनाएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । जसमा संगठनात्मक सुधार र समन्वय, २. कानून तथा नीति कार्यान्वयन तथा सुधार एवं परिवर्तनका लागि पहल तथा पैरवी र आर्थिक विकास र अर्थतन्त्र सुधार गरी तीन वटा मुद्दा बनाएर काम गर्ने उनको प्रतिवद्धता छ । यस्तो छ संघईको घोषणापत्र [pdf id=399399]
राष्ट्र बैंकले लघुवित्तका समस्या र समाधानको लागि सुझाव माग्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको समस्या र समाधानका लागि सुझाव मागेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले वर्तमान समस्या समाधानका लागि सुझाव मागेको हो । समितिले अध्ययन कार्य प्रारम्भ गरेको हुँदा सुझाव पेश गर्न आग्रह गरेको हो । वि.सं. २०८० बैशाख २० गते भित्र सुझाव पठाएर सहयोग गर्न बैंकले आग्रह गरेको छ । लघुवित्त विषयसँग सरोकार राख्नेहरुले वर्तमान समस्या र यो समस्या समाधान गर्न चाल्न पर्ने कदमहरुका बारे सुझाव पेश गर्न आग्रह गरेको हो । राष्ट्र बैंकको सञ्चालक समितिले गत फागुन २१ गते आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका उपायहरुको विषयमा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको थियो । राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो । कार्यकारी निर्देशक श्रेष्ठको संयोजकत्वमा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष, २ जना स्वतन्त्र विज्ञ र ४ जना राष्ट्र बैंकका उच्च अधिकारीहरु सदस्य छन् । उक्त समितिलाई ६ महिनाभित्र प्रतिवेदन पेश गर्न समय दिएको छ । लघुवित्त क्षेत्रमा देखिएका विद्यमान समस्या, नीतिगत व्यवस्थामा रहेका समस्या र मध्यम तथा दीर्घकालीन समस्या समाधानका विषयमा अध्ययन गरेर राष्ट्र बैंकलाई बुझाइनेछ ।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठको टीम सोमबार घोषणा हुने, प्राथमिकतामा व्यवसायिक एजेन्डा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समूहले सोमबार आफ्नो टीम घोषणा गर्ने भएको छ । सो समुहले सोमबार दिउँसो ३ बजे हेरिटेज गार्डेन सानेपाबाट आफ्नो टीमको उम्मेदवारी घोषणा गर्न लागेको हो । सो समुहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ रहेका छन् । यसअघि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेर अघि बढेका दिनेश श्रेष्ठले अहिलेको अवस्थामा व्यवसायीका समस्याहरु सरकारसँग जोडदार रुपमा राखेर समस्या समाधान गर्न उमेशलाल श्रेष्ठको नेतृत्व आवश्यक रहेको भन्दै आफु पुनः सोही समुहबाट जिल्ला नगर उपाध्यक्षमा उठ्ने घोषणा गरेका हुन् । यस्तै बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल रहेका छन् भने एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य रहेका छन् । उक्त समुहले सोमबार पदाधिकारीको मात्रै टीम घोषणा गर्ने भएको छ । हाल जिल्ला तथा नगर, वस्तुगत र एसोएिट्स सबै समुहको सदस्यको समेत उम्मेदवार टुङ्गो लगाईसकेको सो समुहले मनोनयम दर्ता पछि मात्रै सदस्यहरु समितको टीम घोषणा गर्ने भएको छ । ‘हामीले आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र सदस्यहरु सबै सहितको टीम बनाइसकेका छौं,’ सो समुहका एक जिम्मेवार व्यक्तिले भने, ‘तर सोमबार वरिष्ठ उपाध्यक्ष र क्षेत्रगत उपाध्यक्षको मात्रै उम्मेदावारी घोषणा गर्दै छौं ।’ सो समुहले सदस्यहरुको भने मनोनयन दर्ता पनि सदस्यहरुको टीम सार्वजनिक गर्ने जानकारी दिएको छ । महासंघको विधान अनुसार जिल्ला नगरबाट ३३ जना, एसोसिएट्सबाट १९ र वस्तुगतबाट १४ जना सदस्य चुनिनेछन् । ‘हामीले ६० प्रतिशत पुराना जितेका तथा यस अघि उठेका र ४० प्रतिशत नयाँ साथीहरुलाई समावेश गरेर सदस्यहरुको टुङ्गो लगाएका छौं,’ उक्त समुहले भन्यो । जिम्मेवार निजी क्षेत्र समृद्ध अर्थतन्त्र भन्ने मुल नाराका साथ उम्मेदवारी दिन लागेको समे समुहले व्यवसायिक हकहितलाई मुख्य एजेन्डा बनाएको छ । अहिलेको अवस्थामा व्यवसायिक हकहितका लागि महासंघमा कुशल नेतृत्व आवश्यक भएको भन्दै त्यसका लागि अब हुने अध्यक्ष चन्द्रप्रसाद ढकालको सारथी भएर काम गर्न वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको उमेशलाल श्रेष्ठले बताएका छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समुहलाई महासंघको पूर्व अध्यक्ष चण्डीराज ढकाल, विनोद बहादूर श्रेष्ठ, पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, पूर्व उपाध्यक्ष किशोर प्रधानको समेत समेतको साथ रहेको सम्बद्ध जिल्ला अध्यक्षहरु बताउँछन् । साथै महासंघका हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको समेत आफुलाई साथ रहेको उमेशलाल श्रेष्ठले विभिन्न कार्यक्रममा बताउँदै आएका छन् ।