विकासन्युज

मर्जरलाई अन्तिम रुप दिन यूनियन लाइफले बोलायो विशेष साधारणसभा

काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न यूनियन लाइफ इन्स्यारेन्स कम्पनीले विशेष साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले बैशाख ६ गते चैरहवा रुपन्देहीमा बिहान साढे १० बजे साधारण सभा बोलाएको हो । यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी प्रस्ताव पारित गर्ने र मर्जरपश्चात् हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट जीवन बीमा व्यवसाय सुरु गर्ने प्रस्ताव पारित गर्नेछ । तीनै कम्पनीको सेयर अनुपात क्रमशः १ः१ः१ कायम गरी मर्जर कार्यलाई अन्तिम स्वीकृती प्रदान गर्ने र मर्जर पश्चात् कम्पनीको केन्द्रिय कार्यालय काठमाण्डौं महानगरपालिका १ मा रहने गरी प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । कम्पनीले विशेष साधारणसभा प्रयोजनको लागि चैत २७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार भई कायम सेयरधनीहरुले साधारण सभामा सहभागि हुन सक्नेछन् ।

दोल्ती पावरले चैत २८ गतेदेखि आईपीओ बेच्दै, कति कित्ता आवेदन दिने ?

काठमाडौं । दोल्ती पावर कम्पनीले चैत २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशत अर्थात् १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० लाख ७२ हजार ९७२ कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १ लाख ७ हजार २९८ कित्ता वैदेशिक रोजगारीमा रहेको नेपाली र ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरेर बाँडफाँट गरिसकेको छ । बाँकी १२ लाख ७१ हजार ८६१ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् कम्पीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र मेरो शेयरमार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

सूर्याेदय वोमी लघुवित्तले डाक्यो साधारण सभा, लाभांश र सेयर सरंचना परिवर्तन मुख्य एजेण्डा

काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाले ११औं वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सञ्चालक समितीको चैत १८ गते बसेको बैठकले २०८० बैशाख ३० गते धुलिखेल काभ्रेमा बिहान ९ बजे साधारण सभा बोलाएको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असारसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, लघुवित्तको सञ्चालकमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ । लघुवित्तको कर्पाेरेट कार्यालयको ठेगाना बागमती प्रदेश ललितपुर महालक्ष्मी नगरपालिका ४ कायम गर्ने गरी प्रबन्धपत्र र नियमावली संशोधन गर्नेछ । यस्तै, लघुवित्तले पूँजी संरचना परिवतर्न गरी संस्थापक सेयरको हिस्सा ७०.३६ प्रतिशत र सर्वसाधारण समूहको सेयर स्वामित्व २९.६४ प्रतिशत रहेकोले सर्वसाधारणको हिस्सा बढाएर ३० प्रतिशत पुर्याउने र ५१ प्रतिशत संस्थापक सेयरधनीको स्वामित्व र ४९ प्रतिशत सर्वसाधारण समूहको सेयर स्वामित्व हुने गरी पूँजी संरचना परिवर्तन गर्नेछ । साथै, सभाले मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तिायरी प्रदान गर्ने र लघुवित्तको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ २०८० बैशाख १४ गतेदेखि बैशाख ३०२८ गतसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले बैशाख १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेप्सेमा किसान लघुवित्तको बोनस सेयर मूल्यमा समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न एक लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो । लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा सोमबार कारोबार हुनेछ । लघुवित्तको ७ प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ६१२.१५ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । आइतबार लघुवित्तको सेयर प्रतिकित्ता ६५५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

ईङवा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । ईङवा हाइड्रोपावरको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले आवेदन दिने आज चैत २० गते अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । उक्त आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले आज २० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी ६० करोडको ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउँपालिका वडा नं. ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं. २ र वडा नं. ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग रहेको छ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद वैशाख ९ गते

काठमाडौं । बाह्रखरी मिडियाले वार्षिकरुपमा आयोजना गर्दै आएको बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद वैशाख ९ गते काठमाडौंमा गर्ने भएको छ । उक्त कार्यक्रमको नाम ‘एनसेल बाह्रखरी गल्फ एन्ड इकोनोमिक सिम्पोजियम’ रहेको छ । बाह्रखरी मिडियाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमका बारेमा जानकारी गराएको थियो । कार्यक्रममा दिइएको जानकारीअनुसार ‘एनसेल बाह्रखरी गल्फ एन्ड इकोनोमिक सिम्पोजियम’ को उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् । बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यका अनुसार कार्यक्रममा एक हजार पाँच सय बढी पाहुना उक्त कार्यक्रममा सहभागी हुनेछन् । बाह्रखरीका कार्यकारी अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधानले खेल र आर्थिक क्षेत्रलाई जोड्नका लागि बाह्रखरीले यस्ता कार्यक्रम आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराए । ‘आर्थिक परिसंवाद’ कार्यक्रममा प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, गभर्नर, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रमुख, पदाधिकारीसहित अर्थविद्, बैंकर, उच्च तहका कर्मचारी, व्यवसायीलगायत करिब चार सय जना सहभागी हुनेछन् । पत्रकार सम्मेलनमा कर्पोरेट गल्फ प्रतियोगितामा विजेतालाई प्रदान गरिने ‘सुनको बल’ सार्वजनिकीकरण गरिएको थियो । गोकणर् गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले ‘सुनको बल’ सार्वजनिकीकरण गरेका थिए भने बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले सहजीकरण गरेका थिए । प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, वीरगन्ज, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढीसहित केही विदेशी ‘कर्पोरेट’ गल्फर पनि उपस्थित हुनेछन् । प्रतियोगिताामा सहभागी गल्फरहरुले गोकणर् गल्फ क्लबको १८ होलमा ‘स्टेबल फोर्ड फम्र्याट’मा प्रतिस्पर्धा गर्नेछन् । आर्थिक पत्रकार समाज(सेजन) का अध्यक्ष जनार्दन बरालले बाह्रखरी मिडियाले गर्ने यो कार्यक्रम कर्पोरेट हाउसलाई जोड्ने माध्यम बनेको बताए । त्यस्तै, नेपाल आर्थिक पत्रकार संघ(नाफिज)का अध्यक्ष मोदनाथ ढकालले बाह्रखरीले खेल पर्यटनलाई अगाडि बढाउन सफल भएको भन्दै प्रसंसा गरे । “बाह्रखरीले गरेको गल्फ अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा कभरेज भएको हुँदा देशले नै गौरव गर्ने प्रतियोगिता भएको छ,” ढकालले भने ।

निर्वाचन आयोगले भन्यो : बाजा गाजासहित उम्मेदवारी गर्न नआउनु

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १० हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा २५ जनाभन्दा बढी सहभागी नहुन आग्रह गरेको छ । आइतबार उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्दा उम्मेदवार र राजनीतिक दलहरूले पालना गर्नुपर्ने निर्देशनहरु सार्वजनिक गर्दै आयोगले सो आग्रह गरेको हो । साथै, बाजा, गाजा, झाँकी तथा निर्वाचन आचारसंहिता, २०७९ विपरितका व्यानर, चिन्ह र झण्डा सहित उम्मेदवारको मनोनयनपत्र पेश नगर्न आयोगले निर्देशन दिएको हो । निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थक सहित बढीमा पच्चीस जना भन्दा बढीको जुलुस लिएर नजान आग्रह गरिएको छ । यस्तै, उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा बाजा, गाजा, झाँकी तथा निर्वाचन आचारसंहिता, २०७९ विपरितका व्यानर, चिन्ह र झण्डा सहित जान नहुने, उम्मेदवारको मनोनयको समयमा उम्मेदवारको पहिचान झल्किने लोगो, टिका, चिन्ह, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग नगर्न आयोगको निर्देशन छ । त्यसैगरी, उम्मेदवारको मनोनयनको समयमा मनोनयन गर्न जाँदा र मनोनयन स्थलमा उम्मेदवारको पक्षमा नारा÷जुलुस, भाषण र प्रतिष्पर्धी लक्षित गालिगलौज र टिकाटिप्पणी नगर्ने नगराउने, उम्मेदवारको मनोनयनको समयमा सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत साधन र सम्पति प्रयोग गर्न नहुने, नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले तत् तत् हैसियतमा रही उम्मेदवारको मनोनयनमा सहभागी नहुन निर्देशन छ । आयोगका अनुसार उम्मेदवारको मनोनयनका समयमा बालबालिककाको प्रयोग गर्न गराउन पाइने छैन । मनोनयनका क्रममा संवैधानिक निकाय तथा सोका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारलाई आफ्नो सवारी साधन वा अन्य सामाग्री प्रयोग गर्न दिन नदिन समेत आयोगले आग्रह गरेको छ । त्यसैगरी, हेलिकप्टर प्रयोग गरी राजनीतिक दल वा उम्मेदवारले उम्मेदवारी मनोनयन गर्न जान नहुने, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले उम्मेदवारी मनोनयनको क्रममा राजनीतिक दल वा उम्मेदवारसँग सहभागी नहुन उम्मेदवारहरुलाई आग्रह गरिएको छ ।

ज्योत्सनाले खोलिन् अञ्जनलाई छोडेर रामचन्द्रलाई रोज्नुको कारण

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट तर्फको उपाध्यक्ष पदकी उम्मेदवार ज्योत्सना श्रेष्ठले चुनाव जित्नैको लागि सहज भएका कारण रामचन्द्र संघईको समूह रोजेको बताएकी छिन् । उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार संघईको उम्मेदवारी तथा घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै श्रेष्ठले संघईको समूहमा आउँदा चुनाव जित्न सहज भएको हुँदा अको समूह छाडेको बताइन् । उनले अर्काे समूहलाई छाडेर आउँदा धोका दिएको रुपमा बुझ्न नहुने बताइन् । अन्जन श्रेष्ठको समूहमा आफूले उम्मेदवारी घोषणा गरेको भएपनि चुनाव जित्न सहज नभएको हुँदा संघईको समूहमा आएको उनको भनाइ छ । ‘कतिपयले अन्जनको समूहलाई धोका दिएको रुपमा बुझेका छन्, उता घोषणा भएर यता आउँदा धोका दिएकै जस्तो देखिन्छ तर, धोका दिएको भन्दा पनि मैले टिमको जित हेर्नुपर्छ, म उपाध्यक्षमा उठेपछि १९ जनालाई पनि जिताउनुपर्ने मेरो दायित्व हो, मलाई कसले के भन्छ भन्नेसँग सरोकार छैन, मेरो टिम जित्नुपर्छ,’ उनले भनिन् । गत फागुन ३० गते पत्रकार सम्मेलन गर्दै ज्योत्सना श्रेष्ठले आफू अन्जन श्रेष्ठको समूहबाट एशोसिएट उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । फागुनमा अन्जनको टिममा रहेर प्रोक्सी संकलन गरेकी ज्योत्सना अहिले रामचन्द्र संघईको समूहमा प्रवेश गरेकी हुन् । आइतबार संघई समूहबाट एसोशिएटतर्फको उपाध्यक्षमा श्रेष्ठले उम्मेदवार घोषणा गरेकी हुन् । चुनावमा पराजित हुने डरले संघईको समूहमा प्रवेश नगरेको उनले बताइन् । आफू जुनसुकै समूहबाट चुनाव लडेपनि जित्ने बताउँदै उनले अन्जनको समूह ‘कम्फर्ट’ नलागेको बताइन् । ‘चुनाव भनेको जित्नैका लागि लडिन्छ, अहिले मलाई यहाँ सहज भयो, उता पनि बसेको थिए, अन्जनको समूहबाट पनि उम्मेदवारी घोषणा गरेँ, अब उनीहरुलाई सुभकामना मात्रै दिन्छु,’ उनले भनिन्, ‘उताको टिम पनि बलियो छ, बलियो नभएको होइन तर, मलाई ‘कम्फर्टटेबल’ भएन, मेरो साथीहरुलाई जिताउनुपर्छ भनेर म यहाँ आएकी हुँ ।’ सम्बन्धित समाचार : ज्योत्सनाको दोहोरो चरित्र, कहिले अन्जनसँग, कहिले रामचन्द्रसँग