विकासन्युज

शुभ गृहमा ‘एडमिसन विक अष्ट्रेलिया’ हुँदै

काठमाडौं । सुभगृह इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीको आयोजनामा ‘एडमिसन विक अष्ट्रेलिया’ हुने भएको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श लगायतका सेवा प्रदान गर्दै आइरहेको सुभगृहले अप्रिल २३ देखि २८ सम्म कार्यक्रम गर्न लागेको हो । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी कार्यक्रम गर्न लागिएको सुभगृहका प्रवन्ध निर्देशक सुभेन्द्र थापाले जानकारी दिए । नयाँ बानेश्वरस्थित थापागाउँमा रहेको सुभगृहको कार्यालयमा एडमिसन विक कार्यक्रम हुनेछ । अष्ट्रेलियास्थित प्रशिद्ध युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुको सहभागितामा कार्यक्रम हुनेछ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि कार्यक्रम निकै प्रभावकारी हुने उनले बताए । अन द स्पट एडमिसन, आयल्स र पिटिइ कक्षमा ५० प्रतिशत छुट लगायत सुविधा विद्यार्थीले प्राप्त गर्नेछन् । लक्की ड्रका आधारमा ट्याब्लेट, मोबाइल र मुभी टिकट जित्न सकिने जनाइएको छ ।

मकर जितुमाया सुरी हाईड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल 

काठमाडाैं । प्रभु क्यापिटल र मकर जितुमाया सुरी हाईड्रोपावरबिच सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि सेयर रजिष्ट्रार सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा हईड्रोपावरको तर्फबाट अध्यक्ष हिमाल गुरुङ्ग र क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन्। हाल मकर जितुमाया सुरी हाइड्रोपावरले प्रवद्र्धन गरेको सुरी खोला जलविद्युत आयोजनाको ६.४ मे.वा. क्षमताको विद्युत २०७९/०१/१८ देखि व्यवसायीक उत्पादन गरि राष्ट्रिय प्रसारण लाईनमा जडान गरी बिक्री गरिरहेको र माथिल्लो सुरी खोला जलविद्युत आयोजनाको ७ मे.गा. क्षमताको भौतिक प्रगति ८५ प्रतिशत रहेको छ । सेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटल लिमिटेडले मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण विवरणहरुको अभिलेख राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।

सन्दिप लामिछानेको विश्व किर्तिमानी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दिप लामिछानेले विश्व रेकर्ड कायम गरेका छन् । उनले आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गरेर कीर्तिमान बनाएका छन् । उनले ४२ खेलमा १०० विकेट लिँदै विश्व रेकर्ड कायम गरेका हुन् । यसअघि यो कीर्तिमान अफगानिस्ताका स्पिनर रसिद खानको नाममा थियो । रसिदले २५ मार्च २०१८ मा उक्त सफलता हासिल गरेका थिए । रसिदले ४४ खेलमा १०० विकेट पूरा गरेका थिए । त्यसअघि अष्ट्रेलियाका मिचेल स्टार्कले २०१६ मा ५२ खेलमा १०० विकेट लिएका थिए । एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा उनले एक विकेट लिएँसँगै उनको विश्वकिर्तिमानी गर्न १०० विकेट पुगेको हो । उनले एउटा विकेट लिएसँगै नेपालले ओमनविरुद्द दुई विकेट लिएको छ । नेपालका लागि पहिलो विकेट ललित राजवंशीले लिएका थिए ।

दक्षिण एसियाकै पहिलो ‘इन्टर मिडियट’ केबलकार बन्दै, सवा ३ अर्ब लगानी

काठमाडौं । तपाईंले केबलकारबाट बीचमै झर्ने कल्पना गर्नुभएको छ ? अथवा बीच बाटोमै केबलकारबाट झर्न मिल्ने सुन्नु भएको छ ? सुन्नभन्दा पनि केबलकारबाट बीच बाटोमै झर्न मिल्ने कुराको कल्पना समेत गर्नु भएको छैन होला । किनकी त्यस्तो केबलकार नेपालमा अहिलेसम्म बनेको छैन । हाल सञ्चालनमा आएका केबलकारले तोकिएको स्थानमा मात्र रोकेर यात्रु झार्छन् प्राविधिक समस्या बाहेक अन्य समयमा केबलकार रोकिँदैन । अब हामीले कल्पना गरेभन्दा पछि फरक रुपमा तनहुँको छिम्केश्वरीमा केबलकार निर्माण गरिने भएको छ । दक्षिण एसियामा नै नभएको ‘इन्टर मिडियट स्टेशन’ (बीच बाटोमौ रोकिन मिल्ने) गरी केबलकार निर्माणको तयारी भएको छ । पर्यटकीय नगरी बन्दीपुरमा केबलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दीपुर केबलकार एण्ड टुरिजमले दोस्रो परियोजनाका रुपमा तनहुँकै अग्लो डाँडाको रुपमा चिनिएको छिम्केश्वरीमा केबलकार निर्माण गर्न लागेको हो । कम्पनीले तनहुँको आबुँखैरेनी गाउँपालिका २ स्थित खानी खोलाबाट छिम्केश्वरी डाँडामा केबलकार निर्माणको परियोजना अघि बढाएको हो । केबलकार निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार भैसकेको मुढिमाइ छिम्केश्वरी दर्शन पालिका प्रमुख सञ्चालक शिवप्रसाद शर्माले जानकारी दिए । छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रबिन्दु बनाउने उद्देश्यसहित केबलकार निर्माण गर्न लागिएको हो । उनका अनुसार केबलकारको सुरुवाती मार्ग पृथ्वीराजमार्गको आबुँखैरेनी गाउँपालिका वडा २ स्थित खानी खोलामा पर्छ । कम्पनीले त्यहाँ ४३ रोपनी जग्गा खरिद गरिसकेको छ । केबलकार हिड्ने जग्गाका लागि समेत स्वीकृती लिइसकेको छ । बटम स्टेशनबाट एक हजार आठ सय मिटर पार गरेपछि खर्कमा केबलकारको ‘ट्रान्जिट स्टेशन’ रहनेछ । ‘नेपालमकै पहिलो पटक हामीले यस्तो प्रविधिको केबलकार निर्माण गर्न लागिएको हो, यस्तो परियोजना दक्षिण एसियामै छैन्’, उनले भने । त्यहाँ २ मिनेट केबलकार रोकिन्छ, त्यसपछि त्यही रोपमा केबलकार छिम्केश्वरी मन्दिर जान्छ, खर्कमा रोकिएको बेलामा मानिसहरुले बीच भागमा रहेको मन्दिर दर्शन गर्न तथा केबलकारबाट झर्न र चढ्न पाउँछन् । कम्पनीले मिड स्टेशनमा ९० रोपनी जग्गा खरिद गरिसकेको छ । यस्तै, कम्पनीले छिम्केश्वरी मन्दिर परिसरमा सामुदायिक जग्गाका लागि अनुमति लिइसकेको छ भने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआई) लिने प्रक्रियामा रहेको छ । ३ अर्ब १० करोड लगानीमा बन्ने कम्पनीले केबलकार निर्माणका लागि मात्रै ३ अर्ब १० करोडभन्दा बढी रुपैयाँ खर्च गर्ने जनाएको छ । कम्पनीले खर्कमा नै सांस्कृतिक रिसोर्ट समेत बनाउने तयारी थालेको छ । जसका लागि १९० रोपनी जग्गा समेत भाडामा लिने तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष शर्माले बताए । तर उक्त रिसाेटका लागि रकम छुट्टाइनसकिएकाे उनकाे भनाइ छ । समुन्द्रि सतहबाट २ हजार २ सय मिटर पार गरेपछि माथिल्लो स्टेशन अर्थात छिम्केश्वरी मन्दिर पुगिन्छ । केबलकारकाे लम्बाइ ३ हजार ६ सय मिटर रहेकाे छ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरखा कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । विशेषगरी नयाँ वर्ष र होलीको अवसरमा विभिन्न जिल्लाबाट भक्तजन छिम्केश्वरीसम्म पुग्ने गरेका छन् । पृथ्वीराजमार्गस्थित आँबुखैरेनीबाट लाब्दीसम्म २५ किमि कच्ची सडकमा जीप यात्रा र त्यसपछि करिब २ घण्टाको पदयात्रामार्फत छिम्केश्वरी पुग्न सकिन्छ । हिडेरै जानका लागि साढे ३ घण्टाभन्दा बढी समय लाग्ने गरेकोमा केबलकार सञ्चालनमा आएपछि १५ मिनेटमा नै छिम्केश्वरी मन्दिर पुग्न सकिने अध्यक्ष शर्मा बताउँछन् । उनका अनुसार छिम्केश्वरीबाट अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमालसँगै हिमालयको रेञ्नको अवलोकन गर्न समेत सकिन्छ । लाब्दीमा होमस्टे बनाइने छिम्केश्वरी मन्दिरभन्दा तल पर्ने लाम्बीमा होमस्टे निर्माण गर्ने कम्पनीले तयारी थालेका अध्यक्ष शर्माले बताए । छिम्केश्वरी मन्दिरमा दर्शन गरेपछि मन्दिर वरपर बस्न नहुने धार्मिक मान्यता रहेको उनको भनाइ छ । ‘मन्दिरमा दर्शन गरेपछि देवी रिसाउँछिन भन्दै बस्न नहुने परम्परा रहेछ, हामीले लाम्बी भन्ने स्थानमा मन्दिर दर्शन गर्न गएका धार्मिक पर्यटकलाई लक्षित गर्दै होमस्टे बनाउने तयारी थालेका छौँ, उनले भने । उनका अनुसार लाब्दीमा हाल गुरुङ समुदायका मानिसको बसोबार धेरै रहेको छ । ‘गुरुङ समुदायको संस्कृतिलाई प्रवद्र्धन गरी स्थानीयको जिवनस्तर उकास्ने हाम्रो योजना छ, कम्पनीले होमस्टे तथा होटल निर्माणका लागि साझेदारी गर्छ’, उनले भने । छिम्केश्वरी र बन्दिपुर जोड्ने छिम्केश्वरी र बन्दिपुरलाई जोड्न लाब्दी भन्ने स्थानबाट फु ट्रेल तथा साएकल लेन बनाइने उनले बताए । ‘हाम्रो योजना तनहुँका पर्यटकीय स्थलहरुलाई जोड्नु हो, छिम्केश्वरी र बन्दिपुर दुबै पर्यटकीय गन्तव्य हुँन, दुबैलाई जोड्दा पर्यटकीय गतिविधिसँगै स्थानीय उत्पादनले बजार पाउनभन्ने हाम्रो चाहना हो’, उनले भने । उनका अनुसार बन्दिपुरबाट लाब्दी गाउँ २७ किलोमिटरको दुरीमा पर्छ । ‘हामीले बन्दिपुर र आबुँखैरेनीलाई एउटा कम्प्याट जोन बनाएर स्थानीयको आयस्तर माथि उठाउँदै पर्यटकीय गन्तव्य बनाउन लागेका छौँ’, उनले भने ।

‘आइएमई पे’बाट विभिन्न केबलकारको टिकट सजिलै काट्न सकिने

काठमाडौं । आइएमई पे बाट अब ग्राहकहरुले नेपालभारि विभिन्न ठाउँमा स्थापित केबलकारको टिकट काट्न मिल्ने भएको छ । आइएमई पेले सुरुवात देखिनै केबलकारको टिकेटिङ् सुविधा प्रदान गर्दै आइरहेको छ । चन्द्रगिरी केबलकारबाट सुरुवात गरिएको सो टिकेटिङ् अन्तर्गत आइएमई पेबाट चन्द्रगिरी, मनकामना, अन्नपूर्ण र मौलाकाली केबलकारको टिकट काट्न सकिनेछ । आइएमई पेको यात्रा सेवामा केबलकारभित्र रहेको टिकेटिङ् सुविधा मार्फत ग्राहकवर्गले लाइन बस्ने झन्झट् बिना टिकट काट्न सक्नेछन् ।

आगामी बजेटले उत्पादनमुलक क्षेत्रमा प्राथमिकता दिनु पर्छ : उपप्रमुख शाक्य

काठमाडौं । ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बर्जाचार्यले  आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा युवा र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिनु पर्ने बताएकी छन् । उनले विकासन्युजसँग कुराकानी गर्दै तिनै तहका सरकारले उत्पादनमुलक क्षेत्रमा प्राथमिकता दिनु पर्ने बताएकी हुन् । सरकारले पुरानो कार्य योजनालाई परिर्वतन  गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले अहिले समस्या समाधानका लागि अब उत्पादनमुलक क्षेत्रमा फोकस गर्नु पर्ने आवश्यकता रहेको उनको भनाइ छ । ‘अहिले विश्वको अर्थतन्त्र संकटमा छ, त्यसको ठूलो चपेटामा नेपाल पनि छ, आर्थिक सम्वृद्धि तथा आर्थिक क्षेत्रसँग जोडिएका विषयलाई सहजीकरण हुने किसिमको बजेट आवश्यक छ,’ उनले भनिन् । उनले स्थानीय उत्पादनलाई प्रोत्साहन गरेर त्यसलाई निर्यात गर्नु पर्ने र रेमिट्यान्सबाट निर्भर हुने स्थितिको अन्त्य गर्नु पर्ने बताइन् । ‘खाद्यदेखि उपभोग्य सामाग्री बाहिरबाट आयात गरेर ल्याउनु पर्छ, जसका कारण आज ठूलो मात्रामा देशको मुद्रा बाहिरिएको छ, अब उत्पादनलाई जोड दिएर आयातमा कमि गर्नुको साथै युवा जनशक्तिलाई समेट्ने खालेको बजेट ल्याउन आवश्यक छ,’ उनले भनिन् । आगामी बजेटमा महानगरभित्र पनि गौरबका आयोजना समेटिनु पर्ने उनको भनाइ छ । उनले महानगरको आम्दानीले मात्रै ठूला आयोजना निर्माण गर्न नसकिने बताउँदै त्यसका लागि केन्द्रिय सरकारले सहयोग गर्नु पर्ने उनको भनाइ छ । विगतका बजेटले युवालाई समेट्न नसकेको पनि उनले गुनासो गरिन् । अब आउने बजेटमा युवा लक्षित र युवा शक्तिलाई कुनै काम तथा अवसर सहज तरिकाले मिल्ने किसिमको बजेट ल्याउन आवश्यक रहेको उनले बताइन् । जसका कारण युवा शक्ति पलायन हुनबाट रोकिन्छ । अहिले ललितपुर महानगरपालिकाले स्थानीय उत्पादन तथा महिलाहरूको सीपमूलक तालिममा जोड दिइरहेको उनले बताइन् । महानगरले केही दिनअघि कोसेली घरको पनि सञ्चालन ल्याएको थियो । महानगरले हस्तकलाका सामाग्री उत्पादनमा, प्रोत्साहन तथा ब्रण्डीङ गरी विदेशसम्म निर्यात गर्ने उद्देश्यले सो घर सञ्चालनमा ल्याएको हो  । शाक्यले महानगर भित्रको फोहोर व्यवस्थापन गर्नको लागि जग्गा खोज्ने कार्य भइरहेको बताइन् । जग्गा व्यवस्थापन गरी महानगर भित्रै फोहोर व्यवस्थापन गर्ने योजनामा महानगर छ । ‘महानगर भित्रको फोहोरलाई महानगरभित्रै व्यवस्थापन गर्ने हाम्रो लक्ष्य छ, तर यहाँ फोहोर व्यवस्थापन गर्न उपयुक्त जग्गा उपलब्ध गर्न सकेका छैनौं, जग्गा किन्नको लागि अहिले धेरै खर्च लाग्छ, महानगरले आफैले पनि यसको ठूलो रकम खर्च गरेर जग्गा किन्न सक्दैन, यसमा सरकारको पनि सहयोग पाए राम्रो हुन्थ्यो,’ उनले भनिन् ।

उपनिर्वाचनको दिन मनकामना केबलकार बन्द हुने तर पृथ्वी राजमार्ग खुल्ला रहने

काठमाडौं । वैशाख १० गते गोरखामा रहेको मनकामना केबलकारको सेवा बन्द हुने भएको छ । चितवन क्षेत्र नं २ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको दिन केबलकार बन्द हुन लागेको हो । मतदानको दिन केबलकार सञ्चालन हुँदा भिड बढ्ने र सुरक्षा संवेदनशिल बढ्ने हुँदा उक्त दिन मनकामना केबलकार बन्द गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएकाे हाे । उपनिर्वाचनलाई लक्षित गरी केबलकार सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय चितवनले गरेको आग्रह अनुसार सेवा बन्द गर्न लागिएकाे मनकामना केबलकार दर्शन प्रालिले जनाएकाे छ । केवरकारको बटम स्टेसन चितवनको कुरिनटार क्षेत्र नं २ भित्र पर्दछ । वैशाख ११ गते देखि केबलकार पुन: सञ्चालनमा आउने मनकामना दर्शनले जनाएको छ । मनकामन केबलकार बन्द रहे पनि पृथ्वीराजमार्ग भने खुला रहने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरेले जानकारी दिए । चितवनकाे धेरै मागमा रहेका राजमार्ग खुला हुने तर गाेर्खामा रहेकाे केबलकारकाे बेस स्टेशन मात्र चितवनमा पर्दा पनि केबलकार बन्द गराउने जिल्ला प्रशासनकाे निर्णय विराेधाभास पूर्णरहेकाे जानकारहरू बताउँछन् ।

नौ महिनामा ६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधानको आयात ६६ दशमलव ३९ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा दुई हजार चार सय ५१ वटा विद्युतीय सवारी साधान आयात भएको छ । गत आवको सोही अवधिमा एक हजार चार सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए । विभागको तथ्यांक अनुसार चैतमा मात्रै दुई सय ५३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । गत आवको सोही अवधिमा एक सय १६ वटा मात्र विद्युतीय सवारी साधान आयात भएको थियो । विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै भारतबाट आयात भएका छन् । उक्त अवधिमा भारतबाट एक सय किलोवाट क्षमताका एक हजार सात सय ५५ वटा विद्युतीय सवारी आयात भएका छन् । भारतपछि सबैभन्दा धेरै विद्युतीय गाडीहरु चीनबाट नेपाल भित्रिएका छन् । चीनबाट एक सय किलोवाट क्षमताका तीन सय ८१, दक्षिण कोरियाबाट एक सय किलोवाट क्षमताका दुई सय ४०, र इन्डोनोसियाबाट तीन वटा विद्युतीय सवारी साधान आयात भएका छन् । यस्तै, दक्षिण कोरियाबाट एक सयदेखि दुई सय किलोवाट क्षमताका २० वटा, चीनबाट ४३, युकेबाट दुई वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार चीनबाट दुई सयदेखि ३०० किलोवाट क्षमताका पाँच र बेलायतबाट दुई वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् । समीक्षा अवधिमा भारतबाट मात्रै रु चार अर्ब ७१ करोड ९८ लाख बराबरको विद्युतीय सवारी आयात भएका छन् । पछिल्लो समय भारतबाट टाटाको विद्युतीय गाडी नेक्सन र टिगोर इभी र महिन्द्राका गाडीहरु आयात भएका छन् । यस्तै, चीनबाट समा नेटा भी, बीवाइडी, एमजी र टेस्लाका गाडीहरु आयात हुने गरेको छ । सात अर्बका गाडी भित्रिए चालू आर्थिक वर्षको नौ महिनामा करिब सात अर्ब बराबरका विद्युतीय सवारी साधान नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार चैत मसान्तसम्म दुई हजार ४५१ वटा विद्युतीय सवारी आयातमा छ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ बाहिरिएको छ । विद्युतीय सवारी आयातबाट सरकारले एक अर्ब ९३ करोड १३ लाख ५९ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । गत आवको सोही अवधिमा चार अर्ब २९ करोड ६६ लाख ३१ हजार रुपैयाँ बराबरको विद्युतीय गाडी आयात भएको थियो । उक्त आयातबाट सरकारले एक अर्ब १६ करोड ५५ लाख २० हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । रासस