विकासन्युज

कोभिडले बढायो स्वदेशी उत्पादनको बजार हिस्सा, ८ अर्बले घट्यो तयारी पोसाकको आयत

काठमाडौं । कुनै समय आयातित तयारी पोशाकमा निर्भर नेपाली बजारमा यतिबेला स्वदेशी उत्पादक कम्पनीले आफ्नो हिस्सा बढाउन थालेका छन् । तयारी पोशाकको डिजाइन र गुणस्तरमा स्वदेशी उत्पादन प्रतिष्पर्धी बन्दै गएपछि तयारी पोशाकको बजारमा स्वदेशी उत्पादनको हिस्सा बढ्दै गएको नेपाल तयारी पोशाक उत्पादक सङ्घको भनाइ छ । कोरोना महामारीको समयमा स्वदेशी उत्पादनको खपत अत्यधिक भएको थियो । तत्कालीन समयमा कोरोना महामारी रोकथाम तथा न्यूनिकरणका लागि लागू भएको बन्दाबन्दीका कारण आयात ठप्प जस्तै भयो । तत्कालीन समयदेखि स्वदेशी उत्पादनको खपत र माग दुवै बढ्न थालेको सङ्घको बुझाइ छ । कोरोना महामारीअघि विभिन्न नाममा स्वदेशी तयारी पोशाक बिक्री हुन भएपनि त्यसपछि भने नेपाली ब्राण्डमै बढी उत्पादन हुन थालेको जानकारहरु बताउँछन् । सङ्घको तथ्याङ्कअनुसार कोरोना महामारी सुुरु हुनुभन्दा अघि सन् २०१८/१९ मा नेपालमा ३१ अर्ब ८३ करोड बराबरको तयारी पोशाक विभिन्न देशबाट आयात भएको थियो । जबकी सन् २०२०/२१ मा २४ अर्ब २ करोडको पोशाक आयात भएको थियो । ‘कोरोना महामारी सुरु भएपछि तयारी पोशाकको आयात ८ अर्बले घटेको देखिन्छ’, सङ्घका अध्यक्ष किशोर नेपालले भने, ‘लकडाउनका कारण आयात नभएपछि त्यो ‘स्पेस’ स्वदेशी उत्पादक कम्पनीले पूरा गरेका हुन् ।’ स्वदेशी तयारी पोशाक उत्पादक कम्पनीले गुणस्तरमा ध्यान दिन थालेपछि माग पनि बढ्न थालेको उनको भनाइ छ । सङ्घका अनुसार एक जना व्यक्तिले वर्षमा औसतमा ४० मिटर वा १२ जोर तयारी पोशाक खपत गर्छ । जसमध्ये हाल ३३ प्रतिशत हिस्सा स्वदेशी उत्पादनको रहेको सङ्घको भनाइ छ । ‘सन् २०२१/२२ मा २२ करोड चार लाख ८१ हजार ४२० वटा तयारी पोशाक आयात भएको छ’, अध्यक्ष नेपालले भने, ‘विदेश गएकालाई छाडेर दुई करोड ५० लाख जनसङ्ख्यालाई हिसाब गर्ने हो भने औसतमा आठ वटा पर्छ, बाँकी चार वटा स्वदेशी उत्पादनबाट खपत भएको छ ।’ उनका अनुसार कोरोना अघि १० प्रतिशत रहेको स्वदेशी उत्पादनको बजार हिस्सा यतिबेला बढेर ३३ प्रतिशतभन्दा बढी पुगेको छ । उनका अनुसार नेपालमा वार्षिक २० करोडदेखि २२ करोड जोरसम्म तयारी पोशाक आयात हुने गरेको छ । यद्यपि कोरोना महामारीका कारण लकडाउन भएको वर्ष भने १५ करोड जोरमा सीमित भएको थियो । ‘नयाँ पुस्ताको छनोटमा नेपाली उत्पादन पर्न थालेका छन्, जुन हाम्रा लागि खुसीको कुरा हो’, उनले भने, ‘बजारीकरण र प्रबद्र्धनमा ध्यान दिन सकियो भने निर्यातको सम्भावना पनि उत्तिकै छ ।’ तयारी पोशाकका लागि प्रयोग हुने ५० प्रतिशतभन्दा बढी कच्चा पदार्थ पनि आयात गर्न नपर्ने उनको भनाइ छ । अध्यक्ष नेपालका अनुसार पछिल्लो समय बजारमा माग बढेपनि जनशक्तिको अभावले माग अनुसारको आपूर्ति हुन सकेको छैन । कूल कामदारमध्ये नेपाली कामदार २० प्रतिशत मात्रै छन् भने बाँकी ८० प्रतिशत जनशक्ति भारतलगायत अन्य मुलुकबाट ल्याउनु पर्ने अवस्था छ । नेपाली दक्षजनशक्ति उत्पादनका लागि सङ्घले समेत विभिन्न तालिम दिने गरेको छ । सङ्घका अनुसार काठमाडौं उपत्यकामा मात्रै चार सयभन्दा धेरै उद्योग सञ्चालनमा छन् । यहाँ उत्पादन हुने तयारी पोशाक काठमाडौं बाहिरको बजारसम्म पुग्ने गरेको सङ्घको भनाइ छ । सङ्घका अनुसार देशभर सञ्चालित करिब पाँच सय उद्योगले वार्षिक २५ अर्बको कारोबार गर्दै आएका छन् । कोभिडपछि बजारको माग अनुसार डिजाइन र गुणस्तरमा ध्यान दिन थालेपछि सबै उमेर समूहले मन पराउन थालेको गार्मेन्ट व्यवसायी पुजा जोशीले बताए । सङ्घका उपाध्यक्ष राजकुमार कार्कीले स्वदेशमै जनशक्ति उत्पादनका लागि सुदूरपश्चिम प्रदेशमा तीन सयभन्दा बढी मुक्त कमलरीलाई निःशुल्क तालिमका साथै रोजगारी पनि उपलब्ध गराएको जानकारी दिए । उनले भने, ‘अहिलेको जनशक्तिले माग अनुसारको उत्पादन गर्न सक्ने अवस्था छैन’, उनले भने, ‘जनशक्ति उत्पादनका लागि तालिममा जोड दिएका छौँ ।’ उनका अनुसार हाल नेपाली तयारी पोसाक उत्पादक सङ्घ र अल्कापुरी फाउन्डेसनबीच सहकार्य गर्दे जनशक्ति उत्पादन गर्ने र पोसाक उत्पादन गर्दै आएको छ । निर्यात पनि नेपालमा उत्पादित तयारी पोसाक विभिन्न १० भन्दाबढी देशमा निर्यात भइरहेको सङ्घले जनाएको छ । हाल चीन, भारत, थाइल्याण्ड, इन्डोनोसिया, बङगलादेश, कोम्बिया, भियतनाम, जापान, बेलायत र यूएईलगायतका देशमा उहाँ उत्पादित तयारी पोशाक निर्यात भइरहेको छ । नेपालमा उत्पादित सिस्नो, अल्लो, मकैको खोस्टा, भेडाको ऊन जस्ता कच्चापदार्थको प्रयोगबाट राम्रो उत्पादन हुने भए पनि मूल्यवृद्धिका कारण केही कच्चापदार्थ महङ्गो परेको सङ्घको भनाइ छ । रासस

पर्वतमा ट्रयाक खुलेको २३ वर्षपछि कालोपत्रे

पर्वत । पर्वतको दोविल्ला-फलेवास सडकको कालोपत्रेको काम सम्पन्न भएको छ । कूल १६ किलोमिटर लामो यो सडकको घोइनौला–चन्दनी खण्डमा बुधबार कालोपत्रे सकिएको हो । चन्दनीदेखि ढिकसम्मको कालोपत्र गत वर्षनै भइसकेको थियो भने घोइनौलादेखि धर्मशालासम्मको खण्डमा कालोपत्रे सकिएसँगै दोविल्ला–फलेवास सडक कालोपत्रेको काम सकिएको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ । विसं २०५७ मा नै ट्रयाक खुला भइसकेको यो सडकको दुई २३ वर्षपछि कालोपत्रे भएको हो । गण्डकी प्रदेश सरकारको रणनीतिक सडक अन्तर्गत दुई वर्षमा काम सक्ने गरी २६ करोड ५१ लाख रुपैयाँमा प्यासिफिक/फेवा जेभीले सडक कालोपत्रे गर्ने जिम्मा लिएको थियो । आठ मिटर चौडा सडकमध्ये पाँच दशमलव पाँच मिटर सडक कालोपत्रे गरिएको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख कृष्ण आचार्यले जानाकारी दिए । सडक कालोपत्रेको काम २०७६ कात्तिक ११ गते तत्कालीन मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरेका थिए । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य भए पनि कोरोनाको सङ्क्रमणका कारण एक वर्ष समय ढिलाइ भएको प्यासिफिक/फेवा जेभीका प्रतिनिधि राजु पौडेलले जानकारी दिए । उनका अनुसार बुधबार सबै काम सकेर उपकरणसमेत हटाइएको छ । सडकखण्डअन्तर्गत केही भागमा ढलान गरिसकिएको छ । यो सडक कालोपत्रे भएपछि पर्वतको फलेवास नगरपालिकाका देवीस्थान, मुडिकुवा, खानीगाउँसँगै दक्षिण पर्वतको महाशिला, पैंयु र विहादी तथा दक्षिण बागलुङका नागरिकलाई सदरमुकाम कुश्मा आउजाउ गर्न सहज भएको छ । फलेवासकै मुडिकुवादेखि लमाएसम्म यसअघिनै कालोपत्रे भइसकेको थियो तर देविस्थानतर्फको खण्डमा अहिले कालोपत्रे भएको हो । यो सडकलाई फलेवास नगरपालिकाले पनि रणनीतिक आयोजनाको रुपमा समेत अघि सारेको थियो । मध्यपहाडी राजमार्गसँग जोडिएको यो दोविल्ला–फलेवास सडकखण्डअन्तर्गत दोविल्लादेखि मल्यांङ्दी खोलासम्मको सडक पाँच वर्षअघिनै कालोपत्रे भइसकेको हो भने मल्यांङ्दी खोलादेखि घोइनउलासम्मको झण्डै एक किलोमिटर सडक गत वर्ष कालोपत्रे भएको थियो । कुश्माबजारलाई दक्षिण पर्वतका चार पालिकासँग जोड्ने अधिकांश सडक कालोपत्रे भए पनि मोदीखोलामा रहेको मोटरेवल पुल जीर्ण हुँदा सवारीसाधन र यात्रुहरुले सास्ती बेहोर्न बाध्य बनेका छन् । पछिल्लो समय मोटरेवल पुल निर्माणका लागि प्रक्रिया पनि सुरु भएको छ । रासस

नयाँ वर्ष २०८० को पहिलो सातामा ३०.०७ अंकले घट्यो नेप्से

काठमाडौं । नयाँ वर्ष २०८० सालको पहिलो सातामा नेप्से परिसूचकमा गिरावट आएको छ । गत साता ६७.६८ अंकले बढेर १९३४.४७ बिन्दुमा पुगेको नेप्से यो साता ३०.०७ अंकले गिरावट आएको छ । गत साता १९३४.४७ बिन्दुमा रहेको नेप्से ३०.०७ अंकले घटेर १९०४.४० बिन्दुमा झरेको छ । पछिल्लो सातामा भएको ५ कारोबार मध्ये १ कारोबारका दिन बजार बढेकोको थियो भने बाँकी ४ कारोबारमा भने बजार घटेको छ । नयाँ वर्ष लागेसँगै बैंकको ब्याजदरको निक्षेपको ब्याज घटेसँगै बजारमा सुधार आउने अपेक्षा लगानीकर्ताको भए पनि बजार माथि जान सकेन । गत साता वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा झारेसँगै नेप्से उच्च दरमा बढेको थियो । साताको पहिलो कारोबार दिन वैशाख ३ गते आईतबार, सोमबार, मंगलबार र बिहीबार नेप्से परिसूचकमा गिरावट आएको थियो भने बुधबार सामान्य अंकले वृद्धि भएको थियो । वि.सं. २०८० को पहिलो कारोबार दिन नेप्से परिसूचक २.८० अंकले घटेर १९३१.६८ बिन्दुमा झरेको थियो । उक्त दिन नेप्से घटेसँगै कारोबार रकम पनि घटेको थियो । आईतबार कारोबारमा आएका २६५ कम्पनीको ३० लाख ५६ हजार कित्ता सेयर ९७ करोड ४५ लाख ९९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । त्यस्तै, साताको दोस्रो कारोबार दिन सोमवार पनि नेप्से परिसूचक २३.६४ अंक घटेर १९०८.०४ बिन्दुमा झरेको थियो । नेप्से घटेसँगै यस दिन कारोबार रकम पनि घटेको थियो । सोमबार कारोबारमा आएका २६७ कम्पनीको ३१ लाख ३९ हजार कित्ता शेयर ९१ करोड ८२ लाख १९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । त्यस्तै, साताको तेस्रो कारोबारको दिन मंगलबार नेप्से परिसूचक ३.०७ अंक घटेर १९०४.९८ बिन्दुमा झरेको थियो । यस दिन नेप्से घटेसँगै कारोबार रकम पनि घटेको थियो । मंगलबार कारोबारमा आएका २६६ कम्पनीको २९ लाख ७० हजार कित्ता सेयर ८६ करोड ७६ लाख १ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । तर,लगातार रुपमा घट्दै आएको नेप्से बुधवार भने १५.१३ अंकले बढेर १९२०.१२ बिन्दुमा पुगेको थियो । बुधबार कारोबारमा आएका २७३ कम्पनीको २५ लाख ७९ हजार कित्ता शेयर ८७ करोड २१ लाख ४१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । त्यस्तै, साताको अन्तिम कारोबारको दिन बिहीवार नेप्से सूचक १५.७३ अंकले घटेर १९०४.४० बिन्दुमा झरेको छ । बिहीबार नेप्सेसँगै काारोबार रकम पनि ९८ अर्ब रुपैयाँमा नै सिमित भएको छ । बैंक तथा वित्तीय संस्थाले तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्दा नाफा देखिदाँ समेत पनि शेयर बजारमा खासै प्रभाव पर्न सकेन । अधिकांश बैंकहरुले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेका छन्। यस साता नेप्सेको कुल बजार पुँजीकरण १ खर्ब बढी रुपैयाँले घटेको छ । गत साता १ खर्ब ९ अर्ब रुपैयाँले बढेर २८ खर्ब १३ अर्ब रुपैयाँ पुगेको कुल पुँजीकरण यो साता १ खर्ब ६१ अर्ब रुपैयाँले घटेर २७ खर्ब ७४ अर्ब ७८ करोड रुपैयाँमा सिमित भएको छ ।

दोल्ती पावरको आईपीओमा भाग्यमानी १ जनाले पाए ११ कित्ता

काठमाडौं । दोल्ती पावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ बिहीबार बाँडफाँट गरिएको एनआईसी एशिया क्यापिटलले जनाएको छ । कम्पनीका अनुसार १ लाख २७ हजार १८६ जना आवेदकले १० कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् । आईपीओमा माग भन्दा बढी आवेदन परेको हँदा १० कित्ताका दरले गोलाप्रथा विधिबाट बाँडफाँट गरिएको हो । गोलाप्रथा विधिमार्फत बाँड्दा १ कित्ता बाँकी रहन्छ । त्यसैले एक जना आवेदकले ११ कित्ता सेयर प्राप्त गरेका छन् । कम्पनीको आईपीओमा १३ लाख ८३ हजार ७ सय २४ जनाको आवेदन दिएकोमा १२ लाख ६८ हजार ९४६ जना आवेदक मात्रै सदर भएका छन् । कम्पनीले चैत्र २८ गतेदेखि वैशाख ३ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि १२ लाख ७१ हजार ८८१ कित्ता सेयर बिक्री गरेको थियो ।

काठमाडौंका सडकमा धुवाँ आउने गरी सेकुवा पोल्न नपाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटीमा धुवाँ आउनेगरी सेकुवा पोल्न रोक लगाएको छ । वायु प्रदूषण भएको भन्दै महानगरपालिकाले नगर प्रहरी मार्फत सडक र सडकपेटीमै धुँवा आउने गरी सेकुवा पोल्न रोक लगाउन सुरु गरेको हो । पुतलीसडक र सिनामंगल क्षेत्रमा अरुलाई असर गर्ने गरी सेकुवा पोल्न बन्द गर्न सचेत गरएको महानगरले जनाएको छ । महानगरले सचेत गराएपछि पनि सेकुवा पसलेले अरुलाई असर पर्नेगरी धुँवा निकाले कारवाही गर्ने बताएको छ ।

व्यवसायीद्वारा मालबाहक ढुवानी रोक्ने चेतावनी

काभ्रेपलाञ्चोक । अरनिको, विपी र हेलम्बु राजमार्गमा गुड्ने मालबाहक सवारीलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अनिवार्यरुपमा भारमापन गर्न निर्देशन दिएपछि व्यवसायीले निर्माण सामग्री ढुवानी रोक्ने चेतावनी दिएका छन् । कार्यालयले गृह मन्त्रालयले जिल्लाका तौलपुल सञ्चालनमा ल्याउन परिपत्र गरेपछि गत मङ्गलबार यातायात व्यवसायी तथा सरोकारवालाको छलफलमा बिहीबारदेखि अनिवार्यरुपमा भारमापन गर्न निर्देशन दिइएको थियो । यातायात व्यवस्था विभागको सात दशमलव पाँच घनमिटर निर्माण सामग्री बोक्न पाउने प्रावधानअनुसार ढुवानी भइरहेकोमा भारमापन केन्द्र (तौलपुल) मा तौल लिँदा समय लाग्ने तथा प्रशासनले कति तौल बोक्नुपर्ने भन्ने यकीन नगरेका कारण दुःख दिएको जनाउँदै व्यवसायीले ढुवानी रोक्ने चेतावनी दिएका हुन् । विसं २०७८ पुसमा काभ्रेपलाञ्चोकको तीन स्थान पाँचखाल नगरपालिकाको केराघारी, पनौती नगरको नैकिन्टार र नमोबुद्ध नगरको भकुण्डेमा भारमापन केन्द्र (तौलपुल) व्यवस्थित गरिएको थियो । त्यसयता मालबाहक सवारीले आनाकानी गर्दै भारमापन नगरेका कारण तौलपुल लथालिङ्ग अवस्थामा रहेपछि काभ्रेपलाञ्चोक प्रशासनले बिहीबारदेखि अनिवार्यरुपमा भारमापन गर्न निर्देशन दिएको हो । तौलपुल स्थापनापछि तीनै स्थानीय तहले भारमापन केन्द्र सञ्चालन गरी ‘लोडसिट’ लिई ढुवानी गर्न/गराउन आग्रह गर्दै आएका थिए । बागमती टिपर व्यवसायी सङ्घका अध्यक्ष सुरेश खत्रीले प्रशासनले कति तौल बोक्नुुपर्ने स्पष्ट नगरी गाडीको तौल लिएर झन्झट दिलाएको आरोप लगाएका छन् । ‘हामी पनि विभागको प्रावधानअनुसार नै चलेका छौँ तौल लिने नाममा दुःख दिनुभएन, होइन भने हामी सम्पूर्ण ढुवानी रोक्नेछौँ, केही व्यवसायीले आजदेखि नबोक्ने भनिसक्नुभयो,’ उनले भने । टिपरलाई दिउँसो ढुवानी गर्न प्रतिबन्ध लगाइएको छ । दुई राजमार्ग तथा जिल्लाको दक्षिणी क्षेत्र बनेपा–खोपासी सडक, उत्तरी क्षेत्रको हेलम्बु राजमार्गमा दैनिक करिब दुई हजार मालबाहक सवारी साधन चल्ने गर्दछन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश थापाले टिपर तथा ट्रकलाई ढालाभन्दा माथि सामग्री बोकेर नहिँड्न आग्रह गर्दै आइएको बताए । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले तीन राजमार्गमा गुड्ने मालबाहक सवारीलाई अनिवार्यरुपमा नियमसङ्गत ढङ्गले भारमापन गराउने बताए । उनले भने, ‘मालबाहक सवारीलाई अनिवार्यरुपमा भारमापन गर्न लगाइनेछ, यसबाट सडक जोगिनेछ भने व्यवसायीको समेत विश्वास बढ्नेछ ।’ उनका अनुसार मालबाहक सवारी साधनको भारमापन नगर्दा जिल्लास्थित राजमार्गका सडक जीर्ण बन्दै गएका छन् । भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ (संशोधनसहित)को व्यवस्था, यातायात विभागको पत्र र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा ०७८ फागुनमा जारी पत्रअनुसार स्थानीय तहले भारमापन कार्यलाई कडाइ गरे पनि भारमापन हुन सकेको थिएन । तौलपुलमा भारमापन गरेबापत प्रतिसवारीले एक सय ५० तिर्नुपर्ने नियम बनाइएको छ । निर्देशिकाअनुसार छ पाङ्ग्रेभन्दा माथि क्षमताका मालबाहक सवारी साधनले अनिवार्य भारमापन गर्नुपर्ने हुन्छ । रासस

ठेलामै समोसा बेचेर सिलवालले बनाए घर, जोडे जग्गा

भजनी । कैलालीको टीकापुर नगरपालिका–१ का शिवलाल चौधरी टीकापुर क्षेत्रका लागि निकै परिचित नाम हो । उहाँको नामभन्दा बढी परिचित समोसा र समोसा बनाउने ठेला छ । बीस वर्षदेखि त्यहीँ ठेला, त्यहीँ समोसाको स्वाद जुन अझै उस्तै छ । त्योभन्दा अनौठो कुरा समोसा बेचेर परिवर्तन भएको उहाँको जीवनशैली र पूरा भएको सपना । अन्यका घरमा कमैया गरेर जीविका चलाउँदै आएका शिवलालको सपना थियो एउटा आफ्नै घर बनाएर बस्ने । कमैया भएर अरूको घरमा काम गर्दाको पीडाभन्दा साहुका बोली वचन र परिवारको स्थिति देखेर सधैँ चिन्तामा हुने शिवलाल छोराहरुको भविष्य बनाउनका लागि त्यहाँबाट बाहिर निस्कए । त्यही सपनाले कुनै दिन कमैयाको काम छोडेर सडक किनारमा बदाम बेच्न सुरु गरेका उनले बदाम नहुने याममा तरकारी व्यापार गर्दै सपनालाई साकार बनाउनतिर लागे । ‘चारजनाको परिवार, छोराहरू सानै, साहुको घर छोडेर भाडाको बसाइ हाम्रा लागि निकै महँगो भयो’, शिवलाल भन्छन्, ‘के खाने भन्ने थियो । त्योभन्दा बढी चिन्ता घरको भाडा तिर्न हुन्थ्यो । त्यो बेलाको दुःख सम्झियो भने अझै विरक्त लागेर आउँछ । मनमा निकै पीडा महसुस हुन्छ ।’ अहिले शिवलालको जीवनी निकै फेरिएको छ । उनले अन्तिम व्यापारका रुपमा एउटा ठेलामा समोसा बनाएर बेच्न सुरु गरेपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन । समोसा बेचेरै उनले जग्गा खरिद गरे । एउटा सुन्दर घर पनि बनाए । समोसासँगै अन्य फास्टफुडका परिकार पनि थप्दै गए । तर शिवलालको समोसा जति परिचित अरू परिकार बन्न सकेनन् । त्यतिमात्र होइन दुई छोराहरूलाई पनि व्यापारमा लगानी लगाएह । ‘कमाई कति गरे त्यो कुनै लेखाजोखा केही छैन । समोसा बेचेरै मैले आफ्ना सपना पूरा गरेको छु’, उनी भन्छन्, ‘दुवै छोरा व्यापार गर्छन् । अहिले सबै आ–आफ्नो कमाएर खाने स्थितिमा पुगेका छौँ ।’ शिवलालले समोसा बेच्न सुरु गरेको त्यो बेला दुई समोसाको पाँच रुपैयाँ पथ्र्यो । अहिले समय निकै बदलिएको छ । तत्कालीन समयमा पाँच रुपैयाँका दुई समोसा बेच्ने उनी अहिले २० रुपैयाँको एउटा समोसा बेच्छन् । ग्राहकको कमी छैन । दैनिक सातदेखि १० हजारसम्मको पनि व्यापार हुन्छ । राम्रो आम्दानी गर्दै आएका शिवलालको सफलतमा उनीकी श्रीमती राजकुमारी ठूलो देन छ । शिवलालले गरेका हरेक सङ्घर्षमा सँगसँगै हिँडेकी राजकुमारी नै आफ्नो प्रेरणा भएको उनी बताउँछन् । ‘मैले व्यापार गर्दादेखि आजसम्म श्रीमान्श्रीमती छुटिनुपरेको छैन । श्रीमतीले समोसा बनाउने काम गर्छिन् । म पकाउने र बिक्री गर्ने’, शिवलालले भने, ‘साथमा सहयोगी राम्रो भयो भने पनि मान्छे विचलित नहुँदो रहेछ ।’ शिवलालले छोराहरूलाई पनि राम्रो शिक्षा दिएर दक्ष बनाउने अर्को सपना थियो । त्यो सपना भने पूरा हुन नसकेको उनी बताउँछन् । छोराहरूले सीप सिकेर आफैँ स्वरोजगार बनेकामा भने गर्व छ । उनको जेठो छोरा मोटरसाइकल मर्मतसम्भारको ग्यारेज खोलेर बस्नु भएको छ भने कान्छो छोरा काठमाडौंमा व्यापार गर्छन् । उनी पैसाकै लागि विदेश जानु मूर्खता भन्छन् । कामको सम्मान गर्न सिकेको मान्छेले विदेसिनु नपर्ने उनको भनाइ छ । ‘विदेशमा जस्तो पनि काम गर्न सक्ने मान्छे समाजमा काम गर्न लाज मान्छ । समाजका अगाडि आदर्श बनेको हाम्रो बानीले हाम्रो नियत बिगारेको छ’, उनी भन्छन्, ‘नभए यतै पनि कमाई राम्रो छ । महिनाभरि काम गरेर विदेश कमाउने पैसा त्यति मिहेनत स्वदेशमा गरे कमाउन गाह्रो छैन । किन विदेश जानुप¥यो ?’ रासस

प्रभु बैंकले किसानहरुलाई सहुलियतमा सजिलै कर्जा दिने

काठमाडौं । प्रभु बैंक, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र इनफिकेयरबिच किसानहरुलाई सुलभ वित्तिय कर्जा उपलब्ध गराउने विषयमा त्रिपक्षीय सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा ईन्नोभेटिभ सोलुशनकी प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेम्हाफूकी, इनफिकेयरका निर्देशक सबिन मानन्धर र बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत दिनेश थकालीले हस्ताक्षर गरेका छन् । यस साझेदारीको मुख्य उद्देश्य किसानहरूको व्यवसाय विकाश र विस्तारमा केन्द्रित गर्ने रहेको बैंकले जनाएको छ । प्रभु बैंकले ३६५ शाखा कार्यालयहरु ७१ एक्स्टेन्सन काउन्टर तथा ३०९ एटिएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।