विकासन्युज

सुजुकी धुमका विजेताको नाम घोषणा

काठमाडौं, १६ असोज । नेपालका लागि सुजुकी मोटरसाइकलको आधिकारिक आयातकर्ता तथा विक्रेता भी.जी. अटोमोबाइल्स प्रा.लिले सुजुकीे धुम अफरका पहिलो महिनाको भाग्यशाली विजेता लक्की ड्र मार्फत घोषणा गरेको छ । उक्त विजेता घोषणा टेकु स्थित भी.जी. सुजुकी शोरुममा एक कार्यक्रम बीच गरिएको छ । सुजुकी धुम अन्र्तगत पहिलो महिनाको सुजकी जिक्सर एसएफ् मोटो जिपी भाग्यशाली विजेता सुर्खेतका शान्ता वम भएकी छन् । दशैं तिहारलाई लक्षित गरेर ल्याइएको भी.जी. सुजुकी धुम अफरमा ग्राहकले हरेक बाइक वा स्कुटरका खरिदमा एउटा स्क्र्याच कुपन पाइने छ । जसमा ७ हजार रुपैयाँ देखि १ लाख रुपैयाँ सम्मको नगद छुट प्रदान गरेको छ । साथै भाग्यशाली विजेताले हरेक महिना लक्की ड्र मार्फत सुजुकी जिक्सर एसएफ् मोटो जिपी प्राप्त गर्न मौका पाएका थिए । यो योजना भदौ १५ देखि मङसिर १५ गते सम्म नेपाल अधिराज्यभरमा रहेको भी.जी सुजुकी डिलरमा लागू गरिएको कम्पनीले जनाएको छ ।

सिटिजन्स बैंकले ७५ करोड बोनसका साथै ३ करोड नगद लाभांश दिने, ८ अर्व पूँजी पुर्याउन २५ प्रतिशत हकप्रद निष्कासन गर्ने

काठमाडौं, १६ असोज । सिटिजन्स इन्टरनेसनल बैंकले आर्थिक वर्ष ७२/७३ को नाफाबाट सेयरधनीलाई ७५ करोड ६ लाख ७५ हजार ७६२ रुपैयाँ बोनस दिने भएको छ । साथै, कर प्रयोजनको लागि ३ करोड ९५ लाख ९ हजार २५१ रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने बैंकको निर्णय पारित भएको छ । उक्त निर्णय आइतबार सम्पन्न बैंकको १०औँ वार्षिक साधारणसभाले पारित गरेको छ । सो मात्रामा बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी ४ अर्व ७५ करोड ११ लाख १२ हजार रुपैयाँ पुगेको छ । साथै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकको चुक्ता पूँजी ८ अर्व रुपैयाँ पुर्याउने उद्देश्य अनुरुप बैंकले आफनो पूँजी योजना अनुसार चालु आर्थिक वर्ष भित्र १०:२.५ (२५ प्रतिशत) हकप्रद शेयर जारी गर्ने समेत निर्णय गरेको छ । उक्त सभामा संचालक समितिको तर्फबाट अध्यक्ष शंकर प्रसाद शर्माका अनुसार बैंकले आर्थिक वर्ष २०७२।७३ मा थप ११ अर्व ६१ करोड रुपैयाँ निक्षेप परिचालन गरी कूल निक्षेप ४७ अर्व ३९ करोड रुपैयाँ परिचालन गरेको छ । साथै कर्जा लगानी तर्फ बैंकले ११ अर्व ३६ करोड रुपैयाँ वृद्धि गरी कुल ४० अर्व ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै सोही आ.व.मा बैंकको संचालन मुनाफामा ४२.४५ प्रतिशत र खुद मुनाफामा ४९.९९ प्रतिशत वृद्धि भई क्रमश १ अर्व ५६ करोड रुपैयाँ तथा १ अर्व ८ करोड रुपैयाँ आर्जन गरेकोे बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । सोही सभाबाट समूह “क” का संस्थापक शेयरधनीहरुको तर्फवाट प्रतिनिधित्व गर्न गरिएको निर्वाचनमा मनोहरदास मूल निर्विरोध निर्वाचित भएका छन् ।

दश वर्षपछि उपत्यका बाहिर साझा बस, पहिलो पटक बाग्लुङ र गोरखा जिल्लामा

काठमाडौं, १६ असोज । साझा यातायातले दसैँमा काठमाडौं उपत्यका बाहिर जाने यात्रुको चापलाई ध्यानमा राखी आइतबारदेखि सेवा विस्तार गरेको छ । दश वर्षपछि पहिलो पटक आइतबारदेखि साझाले आफ्नो सेवा उपत्यका बाहिर विस्तार गरेको हो । दशैंमा घर जाने यात्रु बोकेर पहिलो पटक साझा बाग्लुङ र गोरखाका लागि छुटिसकेको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिए। लामो समयपछि आज पहिलो दिन काठमाडौंदेखि बाग्लुङ र काठमाडौं—गोरखाका लागि दुई दुई बस बिहान ८ बजेदेखि उपत्यकाबाट बाहिरिसकेका छन् । पाण्डेका अनुसार अब एक दई दिनमा साझा बस चढेर दसैँ मान्नका लागि वीरगन्ज जान पाउने छन् । विभिन्न आन्तरिक कारणले गर्दा विसं २०६२÷६३ देखि पूर्ण रूपमा लामो दूरीमा साझाका बस सञ्चालन हुन छाडेको थियो । झन्डै दुई हप्ताअघि भारतबाट ल्याइएका तीस बस भने परीक्षणका क्रममा रहेकाले दसैँपछि मात्र सञ्चालन हुने प्रमुख पाण्डेले जानकारी दिए । काठमाडौं उपत्यकामा भने विसं २०७० वैशाखदेखि १६ बस सञ्चालन भइरहेका छन् । साझाले अहिले उपत्यका बाहिर सञ्चालन गर्न लागेको बस नयाँ नभई हाल उपत्यकामा सञ्चालन भइरहेका बस नै हुन् । सेवा विस्तार गरिएको स्थानमा जानका लागि यात्रुले पुल्चोक र कलङ्कीबाट टिकट काट्न पाउनेछन् । उक्त बसमा एक पटकमा बसेर ५५ जनाले र केहीले उठेर पनि यात्रा गरेका छन् । रासस

गुणस्तरहीन सिमेन्ट बिक्री गरेको आरोपमा दुई सिमेन्ट उद्योगको इजाजतपत्र निलम्बन

बाँके, १६ असोज । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तहीन सिमेन्ट उत्पादन गरेको आरोपमा जिल्लाका बागेश्वरी र जय मङ्गलम सिमेन्ट उद्योगका इजाजतपत्र निलम्बन गरेको छ । विभागले उद्योगले उत्पादन गरी बजारमा पठाएको सिमेन्टको नमुना सङ्कलन गरी परीक्षण गर्दा सरकारले तोकेको मापदण्डभन्दा फरक भएकाले ती उद्योगका सिमेन्ट बिक्री–वितरणमा रोक लगाएको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार बोर्ड बैठकले उद्योगले उपभोक्तालाई गुणस्तरहीन सिमेन्ट बिक्री गरेकाले इजाजत निलम्बन गर्ने निर्णय गरेको हो । बजारमा बागेश्वरी सिमेन्ट उद्योगका पिपिसी सिमेन्ट ब्रज शक्ति, त्रिशक्ति सुपर र जेविसी नामका ब्रान्डमा बिक्री भइरहेको छ । यसैगरी मङ्गलम सिमेन्ट उद्योगले पनि पिपिसी यती, जेएमसिज, रक, स्ट्रोङ र गौरव ब्रान्डका नाममा बजारमा बिक्री गरिरहेको छ । रासस

काठमाडौं उपत्यकाका १ लाख १५ हजार घरको सर्भेक्षण

काठमाडौं, १६ असोज । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा भूकम्पबाट क्षति भएका १ लाख १५ हजार ८ सय ३ घरको सर्भेक्षण भएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार असोज १५ गतेसम्म काठमाडौंमा ५३ हजार १ सय ४९, भक्तपुरमा ३२ हजार ३८ र ललितपुरमा ३० हजार ६ सय ६१ घरको सर्भेक्षण सम्पन्न भएको छ । भूकम्प अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा विस्तृत घरधुरी सर्भेक्षण गरिएकोमा काठमाडौं उपत्यकामा भेरीफिकेसन मोडलबाट घर सर्भेक्षण गरिएको हो । सर्भेक्षण सम्पन्न भई अनुदान प्राप्त गर्न योग्य घरधनीको सूची प्रकाशन गर्न क्रम सुरु भएकाले राजधानीमा छिट्टै अनुदान सम्झौता शुरु हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

दशैंमा निजी र कर्मचारीका सवारीले यात्रु बोक्ने

काठमाडौं, १६ असोज । दसैँमा घर जान टिकट नपाउने यात्रुका लागि यातायात व्यवस्था विभागले निजी विद्यालय एवम् काठमाडौं उपत्यकामा सरकारी कर्मचारी बोक्ने सवारी साधन प्रयोग गर्ने भएको छ । विभागका प्रवक्ता वसन्त अधिकारीले सार्वजनिक रुपमा सञ्चालन हुने सवारी साधन सबै दसैँका समयमा चलाउन यातायात व्यवसायीलाई अनुरोध गरेका छौँ, ग्यारेजमा थन्किएका सवारी अझै चलेका छैनन्, उपत्यका बाहिर जाने यात्रुलाई सुविधा दिन व्यवसायीले सवारी ग्यारेजमा राख्न नहुने बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको भने सवारी ग्यारेजमा थन्क्याएर नराखेको जिकिर छ । महासङ्घका महासचिव सरोज सिटौला मुग्लिन–नारायणघाट ३६ किमी सडकमा निर्माण भएकाले सवारी आउन ढिला हुने गरेको बताउछन् । “कलङ्कीदेखि नागढुङ्गासम्मको खाल्डाखुल्डी मात्र टालिदिने हो भने पनि सवारी आवागमनमा चार घन्टा छिटो हुने थियो”–उनले भने । धेरै यात्रुले फूलपातीपछिकै टिकट खोज्दा अभाव भएको विभागले जनाएको छ । दसैँमा घर जान चाहने यात्रु सवारीकै कारण नरोकिने गरी व्यवस्था गर्न विभागले गृहकार्य गरिरहेको प्रवक्ता अधिकारीले बताए । रासस

‘वान प्लस–३’ नेपाली बजारमा सार्वजनिक, मूल्य ४९ हजार रुपैयाँ

काठमाडौं, १६ असोज । आइहब प्रालिद्धारा चाइनिज मोवाइल कम्पनी वान प्लस–३ नेपाली बजारमा सार्वजनिक भएको छ । उक्त मोबाइलमा ६ जिबी र्यामका साथै प्राथमिक क्यामरा १६ मेगापिक्सेल तथा फ्रन्ट फेस क्यामरा ८ मेगापिक्सेलको रहेको कम्पनीले जनाएको छ । उक्त क्यामरा ड्यिुल स्टेभलाइजिङ प्रविधिमा आधारित रहेको पनि कम्पनीले जानाएको छ । कम्पनीका अनुसार ८ सय २० क्वाड प्रोसेसर रहेको स्मर्टफोनमा ३ हजार एमएचपी ब्याट्री रहेको छ । केही घण्टामा नै मोबाइल चार्ज हुने ड्यास चार्जर उक्त स्मार्टफोनको मुख्य आकर्षण रहेको कम्पनीले जनाएको छ । नेपाली स्मार्टफोनको पारखीको मागलाई ध्यान गर्दै वान प्लस –३ नेपाली बजारका भित्राएको आइहबका निर्देशक शिरिष मुर्रारका र लोकेश ओलीले बताए । मुर्रारकाले भने, ‘नेपाली बजारमा नयाँ प्रविधियुक्त स्मार्टफोनको माग बढ्दो छ र यसलाई ध्यानमा राख्दै हामीले हाम्रा ग्राहाकका लागि वान प्लस –३ बजारमा ल्याएका हौं ।’ उस स्मार्टफोनमा भएको ड्यास चार्जले ग्राहकलाई आकर्षित पार्ने कम्पनीले विश्वास लिएको छ। उक्त ड्यास चार्जको प्रयोग गरी ग्राहकले आधा घण्टामा नै आफ्नो मोबाइल फुल चार्ज गर्न सक्छन् । उक्त स्मार्ट फोनको बजार मूल्य ४९ हजार ९ सय रहेको कम्पनीले जनाएको छ ।

सिद्धार्थ डेभलपमेण्ट बैंकको तिनकुने शाखा ललितपुरमा स्थानान्तरण

काठमाडौं, १६ असोज । सिद्धार्थ डेभलपमेण्ट बैंकको काठमाडौंको तिनकुनेमा स्थित शाखा कार्यालय ललितपुरको कुमारीपाटीमा स्थानान्तरण भएको छ । नवनिर्मित शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले गरेका छन् । एकता विकास बैंक लिमिटेड तथा नेपाल आवास फाइनान्स लिमिटेडसंग मर्जर पश्चात साविक नेपाल आवास फाइनान्स लिमिटेडको केन्द्रीय कार्यालय भएको सुविधानगर शाखा कुमारीपाटीमा स्थानान्तरण भएको हो । बैंकका अध्यक्ष रामबहादुर भण्डारीको अध्यक्षतामा भएको उक्त समारोहमा डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको गुणात्मक बृद्धि तथा वित्तीय पहुँच विस्तार तथा वित्तीय स्थायीत्व कायम गर्न केन्द्रित रहेको बताउदै बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले तोकेकै समय सीमा भित्रै चुक्ता पूँजी पुर्याउन आग्रह गरेका छन् । साथै उनले बैंक तथा बित्तीय संस्थालाई संस्थागत सुशासनमा ध्यान पुर्याउन र गाउं केन्द्रित सेवा विस्तारलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । बैंकको असार मसान्तसम्म १२ अर्ब ३२ करोड रुपैयाँ निक्षेप, १० अर्ब ५८ करोड रुपैयाँ कर्जा तथा१ अर्व १४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । सो अवधिसम्म बैंकले ३३ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले आफ्ना शेयरधनीहरुलाई २४ बोनस शेयर प्रस्ताव गरेको छ । बैंकले ३३ शाखा कार्यालय मार्फत १ लाख ५० हजार ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।