काठमाडौं । तपाईंले केबलकारबाट बीचमै झर्ने कल्पना गर्नुभएको छ ? अथवा बीच बाटोमै केबलकारबाट झर्न मिल्ने सुन्नु भएको छ ? सुन्नभन्दा पनि केबलकारबाट बीच बाटोमै झर्न मिल्ने कुराको कल्पना समेत गर्नु भएको छैन होला । किनकी त्यस्तो केबलकार नेपालमा अहिलेसम्म बनेको छैन ।
हाल सञ्चालनमा आएका केबलकारले तोकिएको स्थानमा मात्र रोकेर यात्रु झार्छन् प्राविधिक समस्या बाहेक अन्य समयमा केबलकार रोकिँदैन । अब हामीले कल्पना गरेभन्दा पछि फरक रुपमा तनहुँको छिम्केश्वरीमा केबलकार निर्माण गरिने भएको छ ।
दक्षिण एसियामा नै नभएको ‘इन्टर मिडियट स्टेशन’ (बीच बाटोमौ रोकिन मिल्ने) गरी केबलकार निर्माणको तयारी भएको छ । पर्यटकीय नगरी बन्दीपुरमा केबलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दीपुर केबलकार एण्ड टुरिजमले दोस्रो परियोजनाका रुपमा तनहुँकै अग्लो डाँडाको रुपमा चिनिएको छिम्केश्वरीमा केबलकार निर्माण गर्न लागेको हो ।
कम्पनीले तनहुँको आबुँखैरेनी गाउँपालिका २ स्थित खानी खोलाबाट छिम्केश्वरी डाँडामा केबलकार निर्माणको परियोजना अघि बढाएको हो । केबलकार निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार भैसकेको मुढिमाइ छिम्केश्वरी दर्शन पालिका प्रमुख सञ्चालक शिवप्रसाद शर्माले जानकारी दिए ।
छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रबिन्दु बनाउने उद्देश्यसहित केबलकार निर्माण गर्न लागिएको हो । उनका अनुसार केबलकारको सुरुवाती मार्ग पृथ्वीराजमार्गको आबुँखैरेनी गाउँपालिका वडा २ स्थित खानी खोलामा पर्छ । कम्पनीले त्यहाँ ४३ रोपनी जग्गा खरिद गरिसकेको छ । केबलकार हिड्ने जग्गाका लागि समेत स्वीकृती लिइसकेको छ ।
बटम स्टेशनबाट एक हजार आठ सय मिटर पार गरेपछि खर्कमा केबलकारको ‘ट्रान्जिट स्टेशन’ रहनेछ । ‘नेपालमकै पहिलो पटक हामीले यस्तो प्रविधिको केबलकार निर्माण गर्न लागिएको हो, यस्तो परियोजना दक्षिण एसियामै छैन्’, उनले भने ।
त्यहाँ २ मिनेट केबलकार रोकिन्छ, त्यसपछि त्यही रोपमा केबलकार छिम्केश्वरी मन्दिर जान्छ, खर्कमा रोकिएको बेलामा मानिसहरुले बीच भागमा रहेको मन्दिर दर्शन गर्न तथा केबलकारबाट झर्न र चढ्न पाउँछन् । कम्पनीले मिड स्टेशनमा ९० रोपनी जग्गा खरिद गरिसकेको छ ।
यस्तै, कम्पनीले छिम्केश्वरी मन्दिर परिसरमा सामुदायिक जग्गाका लागि अनुमति लिइसकेको छ भने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआई) लिने प्रक्रियामा रहेको छ ।
३ अर्ब १० करोड लगानीमा बन्ने
कम्पनीले केबलकार निर्माणका लागि मात्रै ३ अर्ब १० करोडभन्दा बढी रुपैयाँ खर्च गर्ने जनाएको छ । कम्पनीले खर्कमा नै सांस्कृतिक रिसोर्ट समेत बनाउने तयारी थालेको छ । जसका लागि १९० रोपनी जग्गा समेत भाडामा लिने तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष शर्माले बताए । तर उक्त रिसाेटका लागि रकम छुट्टाइनसकिएकाे उनकाे भनाइ छ ।
समुन्द्रि सतहबाट २ हजार २ सय मिटर पार गरेपछि माथिल्लो स्टेशन अर्थात छिम्केश्वरी मन्दिर पुगिन्छ । केबलकारकाे लम्बाइ ३ हजार ६ सय मिटर रहेकाे छ ।
गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरखा कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।
विशेषगरी नयाँ वर्ष र होलीको अवसरमा विभिन्न जिल्लाबाट भक्तजन छिम्केश्वरीसम्म पुग्ने गरेका छन् । पृथ्वीराजमार्गस्थित आँबुखैरेनीबाट लाब्दीसम्म २५ किमि कच्ची सडकमा जीप यात्रा र त्यसपछि करिब २ घण्टाको पदयात्रामार्फत छिम्केश्वरी पुग्न सकिन्छ ।
हिडेरै जानका लागि साढे ३ घण्टाभन्दा बढी समय लाग्ने गरेकोमा केबलकार सञ्चालनमा आएपछि १५ मिनेटमा नै छिम्केश्वरी मन्दिर पुग्न सकिने अध्यक्ष शर्मा बताउँछन् । उनका अनुसार छिम्केश्वरीबाट अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमालसँगै हिमालयको रेञ्नको अवलोकन गर्न समेत सकिन्छ ।
लाब्दीमा होमस्टे बनाइने
छिम्केश्वरी मन्दिरभन्दा तल पर्ने लाम्बीमा होमस्टे निर्माण गर्ने कम्पनीले तयारी थालेका अध्यक्ष शर्माले बताए ।
छिम्केश्वरी मन्दिरमा दर्शन गरेपछि मन्दिर वरपर बस्न नहुने धार्मिक मान्यता रहेको उनको भनाइ छ । ‘मन्दिरमा दर्शन गरेपछि देवी रिसाउँछिन भन्दै बस्न नहुने परम्परा रहेछ, हामीले लाम्बी भन्ने स्थानमा मन्दिर दर्शन गर्न गएका धार्मिक पर्यटकलाई लक्षित गर्दै होमस्टे बनाउने तयारी थालेका छौँ, उनले भने ।
उनका अनुसार लाब्दीमा हाल गुरुङ समुदायका मानिसको बसोबार धेरै रहेको छ । ‘गुरुङ समुदायको संस्कृतिलाई प्रवद्र्धन गरी स्थानीयको जिवनस्तर उकास्ने हाम्रो योजना छ, कम्पनीले होमस्टे तथा होटल निर्माणका लागि साझेदारी गर्छ’, उनले भने ।
छिम्केश्वरी र बन्दिपुर जोड्ने
छिम्केश्वरी र बन्दिपुरलाई जोड्न लाब्दी भन्ने स्थानबाट फु ट्रेल तथा साएकल लेन बनाइने उनले बताए ।
‘हाम्रो योजना तनहुँका पर्यटकीय स्थलहरुलाई जोड्नु हो, छिम्केश्वरी र बन्दिपुर दुबै पर्यटकीय गन्तव्य हुँन, दुबैलाई जोड्दा पर्यटकीय गतिविधिसँगै स्थानीय उत्पादनले बजार पाउनभन्ने हाम्रो चाहना हो’, उनले भने ।
उनका अनुसार बन्दिपुरबाट लाब्दी गाउँ २७ किलोमिटरको दुरीमा पर्छ । ‘हामीले बन्दिपुर र आबुँखैरेनीलाई एउटा कम्प्याट जोन बनाएर स्थानीयको आयस्तर माथि उठाउँदै पर्यटकीय गन्तव्य बनाउन लागेका छौँ’, उनले भने ।