व्यवसायीद्वारा मालबाहक ढुवानी रोक्ने चेतावनी
काभ्रेपलाञ्चोक । अरनिको, विपी र हेलम्बु राजमार्गमा गुड्ने मालबाहक सवारीलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अनिवार्यरुपमा भारमापन गर्न निर्देशन दिएपछि व्यवसायीले निर्माण सामग्री ढुवानी रोक्ने चेतावनी दिएका छन् । कार्यालयले गृह मन्त्रालयले जिल्लाका तौलपुल सञ्चालनमा ल्याउन परिपत्र गरेपछि गत मङ्गलबार यातायात व्यवसायी तथा सरोकारवालाको छलफलमा बिहीबारदेखि अनिवार्यरुपमा भारमापन गर्न निर्देशन दिइएको थियो । यातायात व्यवस्था विभागको सात दशमलव पाँच घनमिटर निर्माण सामग्री बोक्न पाउने प्रावधानअनुसार ढुवानी भइरहेकोमा भारमापन केन्द्र (तौलपुल) मा तौल लिँदा समय लाग्ने तथा प्रशासनले कति तौल बोक्नुपर्ने भन्ने यकीन नगरेका कारण दुःख दिएको जनाउँदै व्यवसायीले ढुवानी रोक्ने चेतावनी दिएका हुन् । विसं २०७८ पुसमा काभ्रेपलाञ्चोकको तीन स्थान पाँचखाल नगरपालिकाको केराघारी, पनौती नगरको नैकिन्टार र नमोबुद्ध नगरको भकुण्डेमा भारमापन केन्द्र (तौलपुल) व्यवस्थित गरिएको थियो । त्यसयता मालबाहक सवारीले आनाकानी गर्दै भारमापन नगरेका कारण तौलपुल लथालिङ्ग अवस्थामा रहेपछि काभ्रेपलाञ्चोक प्रशासनले बिहीबारदेखि अनिवार्यरुपमा भारमापन गर्न निर्देशन दिएको हो । तौलपुल स्थापनापछि तीनै स्थानीय तहले भारमापन केन्द्र सञ्चालन गरी ‘लोडसिट’ लिई ढुवानी गर्न/गराउन आग्रह गर्दै आएका थिए । बागमती टिपर व्यवसायी सङ्घका अध्यक्ष सुरेश खत्रीले प्रशासनले कति तौल बोक्नुुपर्ने स्पष्ट नगरी गाडीको तौल लिएर झन्झट दिलाएको आरोप लगाएका छन् । ‘हामी पनि विभागको प्रावधानअनुसार नै चलेका छौँ तौल लिने नाममा दुःख दिनुभएन, होइन भने हामी सम्पूर्ण ढुवानी रोक्नेछौँ, केही व्यवसायीले आजदेखि नबोक्ने भनिसक्नुभयो,’ उनले भने । टिपरलाई दिउँसो ढुवानी गर्न प्रतिबन्ध लगाइएको छ । दुई राजमार्ग तथा जिल्लाको दक्षिणी क्षेत्र बनेपा–खोपासी सडक, उत्तरी क्षेत्रको हेलम्बु राजमार्गमा दैनिक करिब दुई हजार मालबाहक सवारी साधन चल्ने गर्दछन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश थापाले टिपर तथा ट्रकलाई ढालाभन्दा माथि सामग्री बोकेर नहिँड्न आग्रह गर्दै आइएको बताए । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले तीन राजमार्गमा गुड्ने मालबाहक सवारीलाई अनिवार्यरुपमा नियमसङ्गत ढङ्गले भारमापन गराउने बताए । उनले भने, ‘मालबाहक सवारीलाई अनिवार्यरुपमा भारमापन गर्न लगाइनेछ, यसबाट सडक जोगिनेछ भने व्यवसायीको समेत विश्वास बढ्नेछ ।’ उनका अनुसार मालबाहक सवारी साधनको भारमापन नगर्दा जिल्लास्थित राजमार्गका सडक जीर्ण बन्दै गएका छन् । भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ (संशोधनसहित)को व्यवस्था, यातायात विभागको पत्र र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा ०७८ फागुनमा जारी पत्रअनुसार स्थानीय तहले भारमापन कार्यलाई कडाइ गरे पनि भारमापन हुन सकेको थिएन । तौलपुलमा भारमापन गरेबापत प्रतिसवारीले एक सय ५० तिर्नुपर्ने नियम बनाइएको छ । निर्देशिकाअनुसार छ पाङ्ग्रेभन्दा माथि क्षमताका मालबाहक सवारी साधनले अनिवार्य भारमापन गर्नुपर्ने हुन्छ । रासस
ठेलामै समोसा बेचेर सिलवालले बनाए घर, जोडे जग्गा
भजनी । कैलालीको टीकापुर नगरपालिका–१ का शिवलाल चौधरी टीकापुर क्षेत्रका लागि निकै परिचित नाम हो । उहाँको नामभन्दा बढी परिचित समोसा र समोसा बनाउने ठेला छ । बीस वर्षदेखि त्यहीँ ठेला, त्यहीँ समोसाको स्वाद जुन अझै उस्तै छ । त्योभन्दा अनौठो कुरा समोसा बेचेर परिवर्तन भएको उहाँको जीवनशैली र पूरा भएको सपना । अन्यका घरमा कमैया गरेर जीविका चलाउँदै आएका शिवलालको सपना थियो एउटा आफ्नै घर बनाएर बस्ने । कमैया भएर अरूको घरमा काम गर्दाको पीडाभन्दा साहुका बोली वचन र परिवारको स्थिति देखेर सधैँ चिन्तामा हुने शिवलाल छोराहरुको भविष्य बनाउनका लागि त्यहाँबाट बाहिर निस्कए । त्यही सपनाले कुनै दिन कमैयाको काम छोडेर सडक किनारमा बदाम बेच्न सुरु गरेका उनले बदाम नहुने याममा तरकारी व्यापार गर्दै सपनालाई साकार बनाउनतिर लागे । ‘चारजनाको परिवार, छोराहरू सानै, साहुको घर छोडेर भाडाको बसाइ हाम्रा लागि निकै महँगो भयो’, शिवलाल भन्छन्, ‘के खाने भन्ने थियो । त्योभन्दा बढी चिन्ता घरको भाडा तिर्न हुन्थ्यो । त्यो बेलाको दुःख सम्झियो भने अझै विरक्त लागेर आउँछ । मनमा निकै पीडा महसुस हुन्छ ।’ अहिले शिवलालको जीवनी निकै फेरिएको छ । उनले अन्तिम व्यापारका रुपमा एउटा ठेलामा समोसा बनाएर बेच्न सुरु गरेपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन । समोसा बेचेरै उनले जग्गा खरिद गरे । एउटा सुन्दर घर पनि बनाए । समोसासँगै अन्य फास्टफुडका परिकार पनि थप्दै गए । तर शिवलालको समोसा जति परिचित अरू परिकार बन्न सकेनन् । त्यतिमात्र होइन दुई छोराहरूलाई पनि व्यापारमा लगानी लगाएह । ‘कमाई कति गरे त्यो कुनै लेखाजोखा केही छैन । समोसा बेचेरै मैले आफ्ना सपना पूरा गरेको छु’, उनी भन्छन्, ‘दुवै छोरा व्यापार गर्छन् । अहिले सबै आ–आफ्नो कमाएर खाने स्थितिमा पुगेका छौँ ।’ शिवलालले समोसा बेच्न सुरु गरेको त्यो बेला दुई समोसाको पाँच रुपैयाँ पथ्र्यो । अहिले समय निकै बदलिएको छ । तत्कालीन समयमा पाँच रुपैयाँका दुई समोसा बेच्ने उनी अहिले २० रुपैयाँको एउटा समोसा बेच्छन् । ग्राहकको कमी छैन । दैनिक सातदेखि १० हजारसम्मको पनि व्यापार हुन्छ । राम्रो आम्दानी गर्दै आएका शिवलालको सफलतमा उनीकी श्रीमती राजकुमारी ठूलो देन छ । शिवलालले गरेका हरेक सङ्घर्षमा सँगसँगै हिँडेकी राजकुमारी नै आफ्नो प्रेरणा भएको उनी बताउँछन् । ‘मैले व्यापार गर्दादेखि आजसम्म श्रीमान्श्रीमती छुटिनुपरेको छैन । श्रीमतीले समोसा बनाउने काम गर्छिन् । म पकाउने र बिक्री गर्ने’, शिवलालले भने, ‘साथमा सहयोगी राम्रो भयो भने पनि मान्छे विचलित नहुँदो रहेछ ।’ शिवलालले छोराहरूलाई पनि राम्रो शिक्षा दिएर दक्ष बनाउने अर्को सपना थियो । त्यो सपना भने पूरा हुन नसकेको उनी बताउँछन् । छोराहरूले सीप सिकेर आफैँ स्वरोजगार बनेकामा भने गर्व छ । उनको जेठो छोरा मोटरसाइकल मर्मतसम्भारको ग्यारेज खोलेर बस्नु भएको छ भने कान्छो छोरा काठमाडौंमा व्यापार गर्छन् । उनी पैसाकै लागि विदेश जानु मूर्खता भन्छन् । कामको सम्मान गर्न सिकेको मान्छेले विदेसिनु नपर्ने उनको भनाइ छ । ‘विदेशमा जस्तो पनि काम गर्न सक्ने मान्छे समाजमा काम गर्न लाज मान्छ । समाजका अगाडि आदर्श बनेको हाम्रो बानीले हाम्रो नियत बिगारेको छ’, उनी भन्छन्, ‘नभए यतै पनि कमाई राम्रो छ । महिनाभरि काम गरेर विदेश कमाउने पैसा त्यति मिहेनत स्वदेशमा गरे कमाउन गाह्रो छैन । किन विदेश जानुप¥यो ?’ रासस
प्रभु बैंकले किसानहरुलाई सहुलियतमा सजिलै कर्जा दिने
काठमाडौं । प्रभु बैंक, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र इनफिकेयरबिच किसानहरुलाई सुलभ वित्तिय कर्जा उपलब्ध गराउने विषयमा त्रिपक्षीय सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा ईन्नोभेटिभ सोलुशनकी प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेम्हाफूकी, इनफिकेयरका निर्देशक सबिन मानन्धर र बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत दिनेश थकालीले हस्ताक्षर गरेका छन् । यस साझेदारीको मुख्य उद्देश्य किसानहरूको व्यवसाय विकाश र विस्तारमा केन्द्रित गर्ने रहेको बैंकले जनाएको छ । प्रभु बैंकले ३६५ शाखा कार्यालयहरु ७१ एक्स्टेन्सन काउन्टर तथा ३०९ एटिएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।
किसानलाई ‘क्रेडिट कार्ड’ : २ लाखसम्मको सहुलियत कर्जा सजिलै पाइने
तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिकाभित्रका किसानलाई ‘क्रेडिट कार्ड’ दिने गरी तयारी गरिएको छ । यसका लागि कार्यविधिको मस्यौदा तयार गरिएको उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले जानकारी दिए । ‘ड्राफ्टको दोस्रो मस्यौदा तयार भएको छ’, उनले भने, ‘त्यसमा विद्यायक समितिले हेरफेर गर्छ, अनि कार्यपालिकामा गएर छलफल भएपछि हामीले कार्यान्वयनमा गर्छौं ।’ किसानलाई क्रेडिटकार्ड दिएपछि दुई लाखसम्मको सहुलियत कर्जा पाउँछन् । यसअघि तुलसीपुर उपमहानगरपालिका–१६ का किसानलाई क्रेडिट कार्ड वितरण गरिएको थियो । सिसा परियोजना र मेघा बैंकको समन्वयमा वडाका १३ जना किसानलाई क्रेडिट कार्ड वितरण गरिएको थियो । क्रेडिट कार्डले किसानलाई डिजिटल बैंकिङ कारोबार गर्न सहज बनाउने भन्दै यो किसानलाई खुसीको कुरा भएको उनले बताए । अर्थाभावले कृषि खेतीमै प्रभाव पार्ने अवस्था आउन सक्ने भन्दै त्यसलाई न्यूनीकरण गर्न यसले भूमिका खेल्ने उनको भनाइ छ । क्रेडिट कार्ड प्राप्त किसानलाई बिना धितो सरकारले दुई लाखसम्म ऋण दिन्छ । सहुलियत कर्जाका रूपमा पाउने त्यो ऋण किसानले कृषि उत्पादन बिक्रीपछि प्राप्त गरेको रकमले पनि तिर्न सक्छन् । उनीहरूले त्यो ऋण कृषि सामग्री खरिदभन्दा अन्य कामका लागि प्रयोग गर्न पाउँदैनन् । त्यस्तै डेबिट कार्डबाट किसानले अनुदान सहयोग, क्षतिपूर्ति हालिदिनका लागि प्रयोग हुनेछ । क्रेडिट कार्ड प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ भने डेबिट कार्ड पाँच–पाँच वर्षमा नवीकरण गर्नुपर्छ । सिसा परियोजनाको आयोजनामा किसान क्रेडिट कार्ड कार्यान्वयन सहयोगसम्बन्धी कार्यविधि २०७९ का विषयमा अन्तक्र्रिया भएको छ । त्यस अवसरमा बैंकका प्रमुख, जनप्रतिनिधि, किसानलगायत सरोकारवालाले ‘क्रेडिट कार्ड’ले किसानलाई व्यावसायिकरुपमा फाइदा पु¥याउने बताएका थिए । रासस
शुभ गृहमा ‘एडमिसन विक अष्ट्रेलिया’ हुँदै
काठमाडौं । सुभगृह इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीको आयोजनामा ‘एडमिसन विक अष्ट्रेलिया’ हुने भएको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श लगायतका सेवा प्रदान गर्दै आइरहेको सुभगृहले अप्रिल २३ देखि २८ सम्म कार्यक्रम गर्न लागेको हो । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी कार्यक्रम गर्न लागिएको सुभगृहका प्रवन्ध निर्देशक सुभेन्द्र थापाले जानकारी दिए । नयाँ बानेश्वरस्थित थापागाउँमा रहेको सुभगृहको कार्यालयमा एडमिसन विक कार्यक्रम हुनेछ । अष्ट्रेलियास्थित प्रशिद्ध युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुको सहभागितामा कार्यक्रम हुनेछ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि कार्यक्रम निकै प्रभावकारी हुने उनले बताए । अन द स्पट एडमिसन, आयल्स र पिटिइ कक्षमा ५० प्रतिशत छुट लगायत सुविधा विद्यार्थीले प्राप्त गर्नेछन् । लक्की ड्रका आधारमा ट्याब्लेट, मोबाइल र मुभी टिकट जित्न सकिने जनाइएको छ ।
मकर जितुमाया सुरी हाईड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल
काठमाडाैं । प्रभु क्यापिटल र मकर जितुमाया सुरी हाईड्रोपावरबिच सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि सेयर रजिष्ट्रार सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा हईड्रोपावरको तर्फबाट अध्यक्ष हिमाल गुरुङ्ग र क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन्। हाल मकर जितुमाया सुरी हाइड्रोपावरले प्रवद्र्धन गरेको सुरी खोला जलविद्युत आयोजनाको ६.४ मे.वा. क्षमताको विद्युत २०७९/०१/१८ देखि व्यवसायीक उत्पादन गरि राष्ट्रिय प्रसारण लाईनमा जडान गरी बिक्री गरिरहेको र माथिल्लो सुरी खोला जलविद्युत आयोजनाको ७ मे.गा. क्षमताको भौतिक प्रगति ८५ प्रतिशत रहेको छ । सेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटल लिमिटेडले मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण विवरणहरुको अभिलेख राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।
सन्दिप लामिछानेको विश्व किर्तिमानी
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दिप लामिछानेले विश्व रेकर्ड कायम गरेका छन् । उनले आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गरेर कीर्तिमान बनाएका छन् । उनले ४२ खेलमा १०० विकेट लिँदै विश्व रेकर्ड कायम गरेका हुन् । यसअघि यो कीर्तिमान अफगानिस्ताका स्पिनर रसिद खानको नाममा थियो । रसिदले २५ मार्च २०१८ मा उक्त सफलता हासिल गरेका थिए । रसिदले ४४ खेलमा १०० विकेट पूरा गरेका थिए । त्यसअघि अष्ट्रेलियाका मिचेल स्टार्कले २०१६ मा ५२ खेलमा १०० विकेट लिएका थिए । एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा उनले एक विकेट लिएँसँगै उनको विश्वकिर्तिमानी गर्न १०० विकेट पुगेको हो । उनले एउटा विकेट लिएसँगै नेपालले ओमनविरुद्द दुई विकेट लिएको छ । नेपालका लागि पहिलो विकेट ललित राजवंशीले लिएका थिए ।
दक्षिण एसियाकै पहिलो ‘इन्टर मिडियट’ केबलकार बन्दै, सवा ३ अर्ब लगानी
काठमाडौं । तपाईंले केबलकारबाट बीचमै झर्ने कल्पना गर्नुभएको छ ? अथवा बीच बाटोमै केबलकारबाट झर्न मिल्ने सुन्नु भएको छ ? सुन्नभन्दा पनि केबलकारबाट बीच बाटोमै झर्न मिल्ने कुराको कल्पना समेत गर्नु भएको छैन होला । किनकी त्यस्तो केबलकार नेपालमा अहिलेसम्म बनेको छैन । हाल सञ्चालनमा आएका केबलकारले तोकिएको स्थानमा मात्र रोकेर यात्रु झार्छन् प्राविधिक समस्या बाहेक अन्य समयमा केबलकार रोकिँदैन । अब हामीले कल्पना गरेभन्दा पछि फरक रुपमा तनहुँको छिम्केश्वरीमा केबलकार निर्माण गरिने भएको छ । दक्षिण एसियामा नै नभएको ‘इन्टर मिडियट स्टेशन’ (बीच बाटोमौ रोकिन मिल्ने) गरी केबलकार निर्माणको तयारी भएको छ । पर्यटकीय नगरी बन्दीपुरमा केबलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दीपुर केबलकार एण्ड टुरिजमले दोस्रो परियोजनाका रुपमा तनहुँकै अग्लो डाँडाको रुपमा चिनिएको छिम्केश्वरीमा केबलकार निर्माण गर्न लागेको हो । कम्पनीले तनहुँको आबुँखैरेनी गाउँपालिका २ स्थित खानी खोलाबाट छिम्केश्वरी डाँडामा केबलकार निर्माणको परियोजना अघि बढाएको हो । केबलकार निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार भैसकेको मुढिमाइ छिम्केश्वरी दर्शन पालिका प्रमुख सञ्चालक शिवप्रसाद शर्माले जानकारी दिए । छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रबिन्दु बनाउने उद्देश्यसहित केबलकार निर्माण गर्न लागिएको हो । उनका अनुसार केबलकारको सुरुवाती मार्ग पृथ्वीराजमार्गको आबुँखैरेनी गाउँपालिका वडा २ स्थित खानी खोलामा पर्छ । कम्पनीले त्यहाँ ४३ रोपनी जग्गा खरिद गरिसकेको छ । केबलकार हिड्ने जग्गाका लागि समेत स्वीकृती लिइसकेको छ । बटम स्टेशनबाट एक हजार आठ सय मिटर पार गरेपछि खर्कमा केबलकारको ‘ट्रान्जिट स्टेशन’ रहनेछ । ‘नेपालमकै पहिलो पटक हामीले यस्तो प्रविधिको केबलकार निर्माण गर्न लागिएको हो, यस्तो परियोजना दक्षिण एसियामै छैन्’, उनले भने । त्यहाँ २ मिनेट केबलकार रोकिन्छ, त्यसपछि त्यही रोपमा केबलकार छिम्केश्वरी मन्दिर जान्छ, खर्कमा रोकिएको बेलामा मानिसहरुले बीच भागमा रहेको मन्दिर दर्शन गर्न तथा केबलकारबाट झर्न र चढ्न पाउँछन् । कम्पनीले मिड स्टेशनमा ९० रोपनी जग्गा खरिद गरिसकेको छ । यस्तै, कम्पनीले छिम्केश्वरी मन्दिर परिसरमा सामुदायिक जग्गाका लागि अनुमति लिइसकेको छ भने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआई) लिने प्रक्रियामा रहेको छ । ३ अर्ब १० करोड लगानीमा बन्ने कम्पनीले केबलकार निर्माणका लागि मात्रै ३ अर्ब १० करोडभन्दा बढी रुपैयाँ खर्च गर्ने जनाएको छ । कम्पनीले खर्कमा नै सांस्कृतिक रिसोर्ट समेत बनाउने तयारी थालेको छ । जसका लागि १९० रोपनी जग्गा समेत भाडामा लिने तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष शर्माले बताए । तर उक्त रिसाेटका लागि रकम छुट्टाइनसकिएकाे उनकाे भनाइ छ । समुन्द्रि सतहबाट २ हजार २ सय मिटर पार गरेपछि माथिल्लो स्टेशन अर्थात छिम्केश्वरी मन्दिर पुगिन्छ । केबलकारकाे लम्बाइ ३ हजार ६ सय मिटर रहेकाे छ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरखा कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । विशेषगरी नयाँ वर्ष र होलीको अवसरमा विभिन्न जिल्लाबाट भक्तजन छिम्केश्वरीसम्म पुग्ने गरेका छन् । पृथ्वीराजमार्गस्थित आँबुखैरेनीबाट लाब्दीसम्म २५ किमि कच्ची सडकमा जीप यात्रा र त्यसपछि करिब २ घण्टाको पदयात्रामार्फत छिम्केश्वरी पुग्न सकिन्छ । हिडेरै जानका लागि साढे ३ घण्टाभन्दा बढी समय लाग्ने गरेकोमा केबलकार सञ्चालनमा आएपछि १५ मिनेटमा नै छिम्केश्वरी मन्दिर पुग्न सकिने अध्यक्ष शर्मा बताउँछन् । उनका अनुसार छिम्केश्वरीबाट अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमालसँगै हिमालयको रेञ्नको अवलोकन गर्न समेत सकिन्छ । लाब्दीमा होमस्टे बनाइने छिम्केश्वरी मन्दिरभन्दा तल पर्ने लाम्बीमा होमस्टे निर्माण गर्ने कम्पनीले तयारी थालेका अध्यक्ष शर्माले बताए । छिम्केश्वरी मन्दिरमा दर्शन गरेपछि मन्दिर वरपर बस्न नहुने धार्मिक मान्यता रहेको उनको भनाइ छ । ‘मन्दिरमा दर्शन गरेपछि देवी रिसाउँछिन भन्दै बस्न नहुने परम्परा रहेछ, हामीले लाम्बी भन्ने स्थानमा मन्दिर दर्शन गर्न गएका धार्मिक पर्यटकलाई लक्षित गर्दै होमस्टे बनाउने तयारी थालेका छौँ, उनले भने । उनका अनुसार लाब्दीमा हाल गुरुङ समुदायका मानिसको बसोबार धेरै रहेको छ । ‘गुरुङ समुदायको संस्कृतिलाई प्रवद्र्धन गरी स्थानीयको जिवनस्तर उकास्ने हाम्रो योजना छ, कम्पनीले होमस्टे तथा होटल निर्माणका लागि साझेदारी गर्छ’, उनले भने । छिम्केश्वरी र बन्दिपुर जोड्ने छिम्केश्वरी र बन्दिपुरलाई जोड्न लाब्दी भन्ने स्थानबाट फु ट्रेल तथा साएकल लेन बनाइने उनले बताए । ‘हाम्रो योजना तनहुँका पर्यटकीय स्थलहरुलाई जोड्नु हो, छिम्केश्वरी र बन्दिपुर दुबै पर्यटकीय गन्तव्य हुँन, दुबैलाई जोड्दा पर्यटकीय गतिविधिसँगै स्थानीय उत्पादनले बजार पाउनभन्ने हाम्रो चाहना हो’, उनले भने । उनका अनुसार बन्दिपुरबाट लाब्दी गाउँ २७ किलोमिटरको दुरीमा पर्छ । ‘हामीले बन्दिपुर र आबुँखैरेनीलाई एउटा कम्प्याट जोन बनाएर स्थानीयको आयस्तर माथि उठाउँदै पर्यटकीय गन्तव्य बनाउन लागेका छौँ’, उनले भने ।